Saturday, July 20, 2013

दाहालको नियति- दुई सौताको लोग्नेजस्तो

  • एमाओवादी विस्तारित बैठक


काठमाडौं, श्रावण ५ - यो साता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पदत्याग गरेका बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अडानका कारण निकै तनावमा रहे ।  
उनले दुई सौताको लोग्नेजस्तो नियति भोग्नुपर्‍यो यो साता । भट्टराईको कुरा माने श्रेष्ठ बिच्किने, श्रेष्ठको कुरा माने भट्टराई चिढिने भएकाले दाहाल तनावमा परेका थिए । दुवैको कुरा मान्ने अवस्था थिएन । भट्टराईले अध्यक्ष दाहालको नेतृत्वमा सबै नेता केन्द्रीय सदस्य हुनुपर्ने र श्रेष्ठले केन्द्रीय पदाधिकारी कायम राख्नुपर्ने अडान राखे । त्यसैले दाहालले बीचको बाटो खोजे, भट्टराईको त्यागपत्र अस्वीकार गर्ने (जुन प्रस्तावमा श्रेष्ठको समर्थन छ) र आफ्नो नेतृत्वमा सबै नेतालाई केन्द्रीय सदस्यमा झार्ने । उनले संविधानसभाको दोस्रो निर्वाचनसम्मका लागि अन्तरिम सांगठनिक व्यवस्थापन गर्ने प्रस्ताव शुक्रबार भएको प्रथम विस्तारित बैठकमा पेस गरेका छन् ।
असार दोस्रो साता केन्द्रीय समिति बैठक चलिरहेका बेला भट्टराईले उपाध्यक्षबाट पदत्याग गर्ने प्रक्रिया नमिलेको र त्यो समय सान्दर्भिक नभएको भन्दै दाहालको प्रस्तावमा उनको त्यागपत्र अस्वीकार गरेको उल्लेख छ । 'बाबुरामजीको पदत्याग नियत र भावना राम्रो हुँदाहुँदै पनि प्रक्रिया र समयसन्दर्भका हिसाबले सही भएन,' दाहालको दस्तावेजमा उल्लेख छ, 'त्यसकारण त्यागपत्रलाई विस्तारित बैठकले अस्वीकार गर्दछ ।'
उनले आफ्नो अध्यक्षतामा अरू सबै नेताहरू केन्द्रीय सदस्य रहने प्रस्ताव बैठकमा पेस गरेका छन् । संविधानसभा निर्वाचनपछि सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अघि सारेका छन् । दाहालको 'विशेष सांगठिनक तथा राजनीतिक प्रस्ताव' लाई भट्टराईको पूर्ण समर्थन रहेको उनी निकट स्रोतले जनाएको छ ।
उपाध्यक्ष श्रेष्ठ भने दाहालको प्रस्तावप्रति सन्तुष्ट छैनन् । भट्टराई र श्रेष्ठको अडानका कारण आफू अप्ठ्यारोमा परेको भन्दै दाहालले आफ्नो प्रस्ताव पेस गर्न दिन दुवै नेतालाई आग्रह गरेको स्रोतले जनाएको छ । श्रेष्ठले हेटौंडा महाधिवेशनले गरेको निर्णय विस्तारित बैठकले संशोधन गर्न नसक्ने भन्दै केन्द्रीय पदाधिकारी -दाहाल, उपाध्यक्ष श्रेष्ठ, महासचिव पोस्टबहादुर बोगटी र वरिष्ठ नेताका रूपमा भट्टराई) रहनुपर्ने बताउूदै आएका थिए । शुक्रबारको पदाधिकारी र ब्युरो प्रमुखहरूको बैठकमा लामो छलफलपछि श्रेष्ठले दाहालको प्रस्तावलाई आलोचनात्मक समर्थन गरेको स्रोतको भनाइ छ ।
मंगलबार वरिष्ठ नेता बस्न तयार भएका भट्टराई पार्टी ब्युरोहरूका बैठकमा दाहाल पक्षका नेताहरूले आलोचना गरेपछि कुनै पनि हालतमा कार्यकारी पदमा नर्फकने भन्दै कुरा फेरेको स्रोतको भनाइ थियो । ब्युरो बैठकमा दाहाल निकट नेताहरूले पद त्यागेर वरिष्ठ नेता पाउने भए आफू पनि राज्य र जिल्ला तहमा त्याग गर्न तयार रहेको भन्दै भट्टराईमाथि व्यंग्य गरेका थिए । त्यो व्यंग्य निकै बिझेपछि भट्टराईले सामाजिक सञ्जाल टि्वटरमार्फत आफू वरिष्ठ नेता नबन्ने सार्वजनिक गरेका थिए ।
'वरिष्ठ नेता बन्ने प्रस्ताव बाबुरामकै थियो,' स्रोतले भन्यो, 'पदाधिकारी कायम राख्ने प्रस्ताव नारायणकाजीको थियो ।' महाधिवेशनले चयन गरेका पदाधिकारी कायम रहनुपर्नेमा महासचिव पोस्टबहादुर बोगटी थिए । उनलाई दाहालले विश्वस्त बनाएपछि अध्यक्ष मात्र राखेर सबै नेता केन्द्रीय सदस्य राख्न उनी सहमत थिए ।
महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । महाधिवेशनले गरेको निर्णय विस्तारित बैठकले परिवर्तन गर्नु वैध मानिूदैन । दुई उपाध्यक्षको चेपुवामा परेर दाहालले महाधिवेशनको निर्णय मिचेर प्रस्ताव विस्तारित बैठकमा पेस गरेका छन् । यो प्रस्तावमा अधिकांश विस्तारित बैठकमा प्रतिनिधिहरूको समर्थन भएकाले पारित हुने बलियो हुने सम्भावना छ ।
भट्टराईले उपाध्यक्ष पद त्याग गरेपछि वरिष्ठ नेता बन्दा पदका लागि गरेको ठहर्ने भएकाले अरू सबै नेताहरूलाई घटुवा गरेर भए पनि अध्यक्ष दाहालको नेतृत्वमा निर्वाचनसम्मका लागि सबै नेता केन्द्रीय सदस्य बन्नुपर्नेमा जोड दिएका थिए । दाहालको पछिल्लो प्रस्तावले भने श्रेष्ठ पक्षलाई चिढाउने छ । उनीहरूले महाधिवेशनको म्यान्डेट भत्काएको भन्दै बारम्बार प्रश्न उठाउने तयारी गरेका छन् ।
२०६१ सालमा भएको चुनवाङ बैठकमा माओवादीले सबै नेताको एक तह घटुवा गरेको थियो । यस पटक पदाधिकारी, स्थायी र पोलिटब्युरोमा प्रस्तावित नेताहरूको समेत घटुवा भएको छ । दाहालबाहेक सबै नेता केन्द्रीय सदस्य भएका छन् । नेताहरूबीच स्थायी, पोलिटब्युरो र पूर्ण केन्द्रीय सदस्यका लागि लडाइू गरेपछि दाहालले अघिल्लो केन्द्रीय समिति बैठकमा ल्याएको प्रस्ताव फिर्ता भएको थियो ।
ललितपुरको खन्ना गार्मेन्टमा शुक्रबार सुरु विस्तारित बैठकमा दाहालले हेटौंडा महाधिवेशनले राजनीतिक कार्यदिशा निश्चित गरे पनि त्यहीअनुसार सांगठनिक कार्यदिशा नहुूदा समस्या आएको बताएका थिए । 'विकसित राजनीतिक कार्यदिशाअनुसार सांगठिक कार्यदिशा बन्न सकेन, त्यसकारण समस्या आएको हो,' उनले बैठक उद्घाटन गर्दै भने, 'यो विस्तारित बैठकपछि पार्टी एकताबद्ध भएर जानेछ ।'
उपाध्यक्ष पदत्याग गरे पनि महासचिव पोस्टबहादुर बोगटीले भट्टराईलाई उपाध्यक्षको हैसितले सम्बोधन गर्न बोलाएका थिए । त्यसबेला हाूसोले हल गुन्जिएको थियो । बैठकमा बोल्दै भट्टराईले आफ्नो पदत्याग समस्या नभएको उल्लेख गर्दै समाधान दिने बताए । 'पदत्याग समस्या नभएर समाधान हो,' उनको भनाइ थियो, 'त्याग गरे एकताबद्ध भएर जानुको विकल्प छैन ।' उनले दाहालको नेतृत्वमा एकठिक्का भएर जानुपर्ने बताए । 'पार्टीमा ऐंझेरु उमि्रएका छन्, तिनलाई फालेर सुदृढ गरेर जानुपर्छ,' उनको भनाइ थियो ।
उपाध्यक्ष श्रेष्ठले सांगठनिक आधारमा नेताहरूको कार्यशैली, आचरण सुधार नगरे ठूलो कांग्रेस र एमाले बन्ने खतरा भएको बताए । 'अब राष्ट्रिय सम्मेलन गरी सांगठनिक विधि, प्रक्रिया कस्तो हुने तय गर्नुपर्छ,' उनले भने, 'राजनीतिक कार्यदिशा र सांगठनिक कार्यदिशा अन्तरविरोध कायम भए पार्टी दक्षिणपन्थी बन्ने खतरा छ,' उनको भनाइ थियो ।
 कान्तिपुरमा २०७० श्रावण ५ १२:२४
-

No comments: