Sunday, June 30, 2013

Why Baburam sacrificed his Vice-chairman post ?

तपाइर्ले किन उपाध्यक्ष पद त्याग गर्नुभएको ?

हामीले नयाँ उत्तराधिकारी निर्माण गर्ने नयाँ संश्लेषण गरेका छां । कम्युनिस्ट पार्टीमा आजीवन पद ओगट्नु ठीक होइन भनेर मैले पहिलेदेखि नै भन्दै आएको छु । म हालसालै ६० वर्ष पनि पुगें । त्यसकारण स्वैच्छिक रूपमा पद त्याग गरेको हुँ । पद त्यागे पनि निरन्तर पार्टी र क्रान्तिमा योगदान गर्ने छु । मैले पार्टीबाट राजीनामा गरेको होइन, पद मात्र त्यागेको हुँ ।

विवाद भएर पद त्याग गर्नुभएको होइन ?

मैले सकारात्मक ढंग -पोजेटिभ टोन) बाट पद त्याग गरेको हो । यसमा कुनै विवाद छैन । पार्टीको औपचारिक पदमा नरहेर पनि काम गर्न सकिन्छ भन्ने संस्कार बसाल्न खोजेको हुँ । त्यसैले लिखित रूपमै पद त्यागको जानकारी गराएको छु ।

एमाओवादीमा पदबारे चर्को विवाद भइरहेका बेला त्याग गर्दा असन्तुष्ट भएको पुष्टि हुँदैन ?

मैले नेतृत्वका बीचमा विवाद भएर पद छाडेको होइन । हामीले केन्द्रीय समितिमा सर्वसम्मत रूपमा सांगठनिक प्रस्ताव राखेका हौं । त्यसमा छलफल जारी छ । हामी पुराना नेताले ठाउँ छाडेपछि नयाँका लागि ठाउँ बन्छ । अहिले मैले छाडें, विस्तारै अध्यक्ष -दाहाल) ले पनि छाड्ने नीति हाम्रो छ । मैले कसैप्रति लक्षित गरी पद छाडेको होइन ।



विवाद चर्किएपछि पद त्याग 



काठमाडौ, असार १५ - 
एमाओवादीमा पद विभाजनबारे विवाद चर्किएपछि उपाध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा नेताहरूको बढुवाप्रति चर्को असन्तुष्टि भइरहेका बेला उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै पद त्यागको घोषणा गरेका हुन् ।

शनिबार बैठक सुरु हुनासाथ भट्टराईले लिखित रूपमै पद त्याग गरेको जानकारी गराएका थिए । आफूले उपाध्यक्ष पद छाडे पनि पार्टीको काममा सक्रिय रहने उनले बताएका थिए । बैठकमा पदीय भागबन्डाप्रति व्यापक असन्तुष्टि जनाइरहेका माओवादी नेताहरूले आवश्यक परे पदका लागि पार्टीभित्र चुनाव गर्नुपर्ने मागसमेत गरेका छन् । 

भट्टराईले पद त्यागे पनि राजीनामा शब्द प्रयोग गरेका छैनन् । 'आजीवन एउटै पदमा रहने परम्परालाई अन्त्य गर्न मैले पद छाडेको हुँ,' उनले कान्तिपुरसँग भने, 'तर पार्टीबाटै राजीनामा गरेको होइन ।' उनले अध्यक्ष पुष्पकमल दाहाललगायतले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जाने प्रक्रियाको सुरुआत यसबाट भएको बताए । 'विस्तारै अध्यक्षले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियाको थालनी पनि हो,' उनले भने । 

पद त्यागको घोषणालगत्तै पूर्वस्थायी समिति, राज्यसमिति इञ्चार्जहरूको बैठकमा नेताहरूले फिर्ता लिन भट्टराईलाई आग्रह गरेका थिए । 'बाबुरामजीले सकारात्मक सोचाइबाटै पद त्याग गरेको घोषणा गरे पनि फिर्ता लिन आग्रह गरिएको छ,' मधेस इञ्चार्जसमेत रहेका नेता हरिबोल गजुरेलले भने, 'उहाँले मात्रै पद त्याग गरेर नयाँ पुस्तामा तत्काल नेतृत्वमा आइहाल्ने अवस्था छैन ।'

बैठकमा भट्टराईले हेटौंडा महाधिवेशनले पारित गरेको उत्तराधिकारी निर्माण गर्ने नीतिलाई कार्यान्वयन गर्न आफूले पद त्याग गरेको बताएका थिए । फिर्ता लिन दबाब भए पनि उनले फिर्ता लिने/नलिनेबारे बैठकमा केही नबताएको एक नेताले जानकारी दिए । भट्टराईले २०६२ मा चुनवाङ बैठकमा पनि अध्यक्ष दाहालसँग असहमति भएपछि पदबाट राजीनामा दिएका थिए ।

केन्द्रीय पदाधिकारीले सहमतिका आधारमा पेस गरेको सांगठिनक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले विरोध गरेको अर्को दिन भट्टराईले स्वेच्छाले पद त्यागको घोषणा गरेका हुन् । बैठकमा पद त्याग घोषणाका क्रममा उनले पार्टीमा पदका लागि होडबाजी भइरहेका बेला पुराना नेताहरूले ठाउँ छाड्नु उपयुक्त हुने बताएका थिए । केन्द्रीय समितिमा नेताहरूले युद्ध लडेका नेताहरूको उचित मूल्यांकन नभएको भन्दै निर्वाचनबाट पदमा बढुवा गर्न माग गरेका थिए । एमाओवादी हेडक्वार्टरले पेस गरेको सांगठनिक -पद विभाजन) प्रस्तावको यति ठूलो मात्रामा यसअघि विरोध भएको थिएन ।

प्रवक्ता अग्नि सापकोटाले भट्टराईको कदमले पार्टीमा गम्भीर प्रकृतिको बहस सुरु भएको बताए । 'पार्टीमा गम्भीर प्रकृतिको बहस छ,' उनले भने, 'बाबुरामजीले लिखित रूपमा कुरा राख्नुभएको छ, पार्टीमा छलफल जारी छ ।' 

शुक्रबार नेता जनार्दन शर्मा र पूर्वलडाकु कमान्डरहरूले सांगठनिक प्रस्तावमाथि असहमति जनाउँदै चर्को विरोध गरेका थिए । उनीहरूले भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठप्रति संकेत गर्दै विरोध जनाएका थिए । भट्टराई र श्रेष्ठ निकट केही नेताहरू दुई तह बढुवा भएकाले असन्तृष्टि जनाएका थिए । त्यसको प्रतिवादका लागि भट्टराईले पद त्याग घोषणा गरेको हुन सक्ने एक नेताले बताए ।

झाको चेतावनी 

त्यस्तै एमालेबाट प्रवेश गरेका रामचन्द्र झाले आफूले सचिव पद नपाए एमाओवादी छाड्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । उनलाई स्थायी समितिमा ल्याउने प्रस्ताव गरेपछि उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको थियो । शनिबारको बैठकमा भने झा दिनभर बसेका थिए ।

भट्टराईको पद त्याग र अन्य नेताहरूको विरोधमा समाधान गर्न एमाओवादीले बैठक आइतबार अपराह्न बोलाएको छ । त्यसअघि पूर्वस्थायी समिति बैठकमा यसबारे छलफल हुनेछ ।

No comments: