Sunday, June 30, 2013

Mahara said- Baidhya's Maoist will join hands in comming election


असार १५ - 
एमाओवादी नेता कृष्णबहादुर महरा एक वर्षअघि पार्टी फुट्दै गर्दा एकताका पक्षमा खुब लागेका थिए । विभाजन भइसकेपछि पनि उनले दुई माओवादी जोड्ने भरमग्दुर प्रयास गरे । गत साता पनि उनले मिल्न नसके कम्तीमा चुनावी मोर्चा बनाउनुपर्छ भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यबीच आफ्नै निवासमा वार्ता गराए । त्यो वार्तापछि उनले निष्कर्ष निकाले, माओवादीका केही माग पूरा गरे निर्वाचनमा आउँछ । दुई माओवादीबीच चुनावी मोर्चा बन्ने उनको दाबी छ । पार्टी महासचिव हुने चर्चा भए पनि सचिवमै सीमित हुनुपर्ने बाध्यतालाई उनले घुमाउरो हिसाबले असन्तुष्टि जनाउँदै भने, 'विभाजन मिलाउने उत्तम उपाय निर्वाचन हो ।' यसै सन्दर्भमा महरासँग कान्तिपुरका गंगा बीसीले शनिबार गरेको कुराकानीः



एमाओवादी र माओवादीबीच एकताको खुबै प्रचार गरिएको छ, त्यो सम्भव छ ?

२०६२ पछि माओवादीमा विभाजन सुरु भयो । हामीले माओवादीको विभाजन खास गरी गत वर्षपछि पैदा भएको स्थितिलाई असहज रूपमा लिएका छौं । पार्टीगत रूपमा एकताको सम्भावना नै छैन भन्दिनँ । तर, तत्काल गाह्रो छ । दुई पार्टी बनिसके, दुई दृष्टिकोण बनिसके । राजनीतिक अलग धार र कार्यक्रम छन् । वातावरण बन्दै जाँदा र देशको राजनीतिमा आउने परिवर्तन र तत्कालीन कार्यनीति के हुने भन्ने धेरै महत्त्वपूर्ण हुन्छ । तत्कालीन राजनीतिक कार्यनीतिका दृष्टिकोणले आगामी चुनावमा के गर्ने भन्नेबारे हामी छलफलमा छांै । त्यो विषयमा पार्टीगत रूपमा नयाँ धु्रवीकरण हुन सक्छ । कोसिस जारी छ । प्रतिक्रियावादी शक्तिहरूको बीचमा व्यापक धु्रवीकरण भयो भने सबै माओवादी एक ठाउँमा आउन सक्छन् । नेपालमा सबै वामपन्थी शक्ति एकै ठाउँमा आउनुपर्छ । त्यति मात्र होइन, अहिले राष्ट्रिय एकताको पनि खाँचो छ । राष्ट्रिय एजेन्डामा सम्पूर्ण देशभक्त, गणतान्त्रिक शक्तिहरू सबै एकै ठाउँमा हुनुपर्छ । तर अहिले नै पार्टी र राष्ट्रिय एकताको वातावरण बनिसकेको छैन ।

एमाओवादीले मात्र एकहोरो एकताको कुरा गरेको देखिन्छ नि ?

वैद्यजीहरू एकताको विरोधी हुनुहुन्न । उहाँले वस्तुगत यथार्थभन्दा सैद्धान्तिक र वैचारिक बढी विश्लेषण गर्नुभएको छ । हामीले आफ्नो कार्यदिशा स्पष्ट राखेकै छौं । तत्कालीन राजनीतिक मुद्दामा हामी केन्दि्रत छौं । हामीलाई बढी एकताको खाँचो छ । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा सहमत हुनेहरूको मोर्चा बन्नुपर्छ । क्रान्तिका बाँकी कार्यभार पूरा गर्नुपर्छ हामीले भनेका छौं । वैद्यहरू दीर्घकालीन रणनीतिमा बढी केन्दि्रत हुनुहुन्छ, तत्कालीन कार्यनीतिमा कम ध्यान दिनुभएको छ । यसले गर्दा हामीले एकता खोजेजस्तो देखिएको हो ।

एमाओवादी अध्यक्ष दाहाल र माओवादी अध्यक्ष वैद्यबीच पार्टी एकताका लागि गोप्य वार्ता भएको हो ?

दुई अध्यक्षबीच कुराकानी खुला रूपमा भएको छ । दुवै अध्यक्षले तीन दशकभन्दा बढी एउटै पार्टीमा बिताउनुभएको थियो । यो पार्टी निर्माणमा दुवैको महत्त्वपूर्ण भूमिका छ । एकले अर्कालाई राम्ररी बुझ्नुभएको छ । तर अस्तिको वार्ता तत्कालीन परिस्थितिमा बढी केन्दि्रत भयो । खासगरी आगामी चुनावलाई केन्द्रबिन्दुमा राखेर बहस भएको छ । अध्यक्ष दाहालले आगामी निर्वाचनमा सहभागी हुन केके आवश्यक वातावरण बनाउनुपर्छ भन्दै निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ । वैद्यले निर्वाचनको वातावरण बनेको छैन, मागहरू पूरा हुन सकेका छैनन् । यही स्थितिमा निर्वाचनमा सहभागी हुन सकिँदैन भन्नुभयो । अहिले पनि निर्वाचन विरोधीका रूपमा उहाँहरू प्रस्तुत हुनुभएको छैन । उहाँहरूले राखेका कतिपय सर्तहरू हेर्न सकिन्छ । केही माग पुनर्विचार गर्न पनि सकिन्छ । त्यो विषयमा राजनीतिक दलले लचकतासाथ सोच्नुपर्छ । उहाँहरूले पनि अहिले पूरा हुन नसक्ने मागमा लचकता अपनाउनुपर्छ । यसो भयो भने उहाँहरू निर्वाचनमा सहभागी हुने सम्भावना छ । 

माओवादीले त सरकार परिवर्तनको मुद्दा पनि अघि सारेको छ, त्यो पनि पूरा गर्नुपर्छ भन्नुभएको हो ?

यो प्रक्रियालाई भत्काएर अर्को प्रक्रियामा जान अहिले सम्भावना छैन । वैद्यजीहरूलाई पनि यो प्रक्रियामा आउन गाह्रो परेको छ । त्यसैले बीचको विकल्प खोज्न जरुरी छ । यो प्रक्रियामा सहभागी नहुने भए उहाँहरूले निर्वाचन बिथोल्ने, बहिस्कार वा युद्धको बाटो अपनाउनुपर्नेछ । त्यसो हुन नदिन सरकार पक्षका राजनीतिक पार्टीहरूले कहाँनेर लचकता अपनाएर सहज बाटो खोज्न लाग्नुपर्छ । सबै पार्टी निर्वाचनमा आउने वातावरण खोज्नुपर्छ । 

माओवादीले यो प्रक्रियालाई पूरै अस्वीकार गरेको अवस्थामा कुरा कसरी मिल्छ ?

हामीले पनि क्रान्तिका कार्यभार बाँकी छन् भनेका छौं । उहाँहरू पनि त्यही भन्नुहुन्छ । तर हामीले अहिलेको अवस्थामा टेकेर बढ्ने भनेका छौं, उहाँहरूले त्यसलाई न्यूनीकरण गर्नुभएको छ । युद्ध, विद्रोह अहिले सम्भव छैन । अहिले नै युद्ध गर्नुपर्छ भन्नेे पक्ष माओवादीभित्र छ । मेरो बुझाइमा क्रान्तिकारी धारको रक्षा गर्ने सन्दर्भमा बढी आएको हो जस्तो लाग्छ । उहाँहरूले दोस्रो संविधानसभा निर्वाचनमा सहभागी हुने कुरामा विमति छैन । अहिलेको प्रक्रियामा सहभागी हुन उहाँहरूमा ठूलै समस्या हुन्छ जस्तो लाग्दैन । माओवादीका धेरै नेताको भनाइ खिलराज रेग्मीको नेतृत्वमा हुने संविधानसभा निर्वाचनमा भाग लिंदैनौं भन्ने छ । यसको अर्थ अर्को सरकार भए संविधानसभा निर्वाचनमा भाग लिन्छौं भनेको हो । प्रक्रियाका बारेमा हामी छलफल गर्न सक्छौं । 

वैद्यहरू निर्वाचनमा आउन यो सरकार परिवर्तन गर्नुपर्छ भन्नुभएको हो ?

अहिले सरकार परिवर्तनको अनावश्यक झमेला गर्नु हँुदैन । यो सरकारले मंसिर ४ गते निर्वाचनको घोषणा गरेको छ । निर्वाचनपछि सरकार स्वतः परिवर्तन हुन्छ । मानांै मंसिरमा निर्वाचन भएन भने माओवादीले सशस्त्र युद्ध गर्ने शक्ति आर्जन गर्नुभएको भए ठिकै छ । तर उहाँहरूसँग युद्ध गर्ने विचार होला, तर सशस्त्र युद्ध गर्न सक्नुहुन्न । हामीले राजनीतिक उपलब्धिलाई संस्थागत गरेर अघि जाने भनेको छ । संक्रमणकाल लम्ब्याएर सरकार बीचमा फेरेर जानु भनेको अति दक्षिणपन्थीले फाइदा लिने अवस्था हुन्छ ।

माओवादी नेताहरू पार्टी फुटाएकाले पछुताएका हुन् ? 

नेतृत्व तहले स्वीकार गरेको थाहा छैन । तर कार्यकर्ताको ठूलो हिस्सा पार्टी विभाजन गर्नुहुन्न भन्ने देखिन्छ । दुवै पार्टीका कार्यकर्ताले पार्टी विभाजन किन गर्नुभयो भनेर औंला ठड्याउँछन् । नेतृत्व तहले प्रत्यक्ष रूपमा पछुतो मानेको छैन । पार्टी फुटको औचित्य पुष्टि गर्ने प्रयास हुन्छ । अन्तर्यमा जसले जे भने पनि व्यक्तिगत फाइदा लिने तत्त्वबाहेक कसैलाई फाइदा भएको छैन । अध्यक्ष दाहालले हिजो पनि पार्टी नफुटोस् भनेर प्रयास गर्नुभयो । अहिले एकताका लागि पनि प्रयास गरिरहनुभएको छैन । फुटेर जानेलाई पनि कारबाही भएन । यदि पार्टी एकता हुन्छ भने वैद्यजीलाई अध्यक्ष बन्न दाहालले भन्नुभयो । अहिले पनि पार्टी फर्किनुस् भनिरहनुभएको छ । वैद्यजी पनि एकताकै पक्षमा हुनुहुन्छ । पार्टी विभाजनपछि अलि गाह्रो भयो भन्ने महसुस गर्नुभएको छ । पार्टी विभाजनबाट प्रतिक्रियावादीले फाइदा उठाउनु हँुदैन भन्नेमा उहाँ पनि सचेत हुनुहुन्छ ।

माओवादी विभाजन हुन उत्तर/दक्षिण शक्तिको प्रभाव पर्‍यो भनिन्छ नि ?

बाह्य शक्ति त लागि नै रहन्छन् । उत्तर दक्षिणको कुरा होइन, हाम्रा विपक्षीहरू जहिले पनि पार्टी विभाजन भएपछि बलियो हुने सपना देख्छन् । हाम्रा विपक्षीहरू कोसिस पनि गर्छन् । उत्तर दक्षिण आआफ्ना ढंगले लागेको होला, हामी पुष्टि गर्न सक्दैनौं । त्यो मुख्य कुरा होइन । मुख्य कुरा आफैंभित्रको हो । त्यसकारण पार्टी एकता हुन नसक्नुमा अरूलाई दोष दिएर उम्किन मिल्दैन । हामी उत्तर वा दक्षिणबाट किन प्रभावित भयौं ? तिनको खेलमा हामी किन पर्ने ? प्रभाव छैन भन्न म सक्दिनँ ।

दुई माओवादीले चुनावमा सहकार्य गर्ने सम्भावना छ ?

म त्यसलाई नकार्न सक्दिनँ । उहाँहरूले निर्वाचनबारे ठोस निर्णय गर्नुभएको छैन । उहाँहरूले यथास्थितिमा निर्वाचनमा भाग नलिने भन्नुभएको छ । सरकार पक्षीय पार्टीले कति लचकता अपनाउँछन्, त्यहाँ भर पर्छ । 

एमाओवादीले माओवादीलाई चुनावमा नल्याउने रणनीतिमा लागेको आरोप छ नि ?

यो गलत कुरा हो । हामी त के भन्छौं भने निर्वाचनमा भाग लिएर मिलेर जानुपर्छ । हामी चुनावी सहकार्य गर्न सक्छौं । वैद्यहरू एक ठाउँमा उठ्नुहोला, हामी अर्काे ठाउँमा उठौंला । हाम्रो भोट काटिने होइन, हामी प्रतिस्पर्धी हुनु हुँदैन । कुरा मिल्छ भने दुई माओवादी भनेको दर्शनिक रूपमा एउटै हो । 

माओवादीबिनाको निर्वाचन सम्भव छ ?

पूर्वराजाले अस्ति यो निर्वाचन सरोकारको विषय भने रे । उनले निर्वाचनमा सकारात्मक धारणा राख्नुपर्छ । उनको भनाइको अर्थ हो, कि चुप लागेर बस्ने कि निर्वाचनमा अवरोध पुर्‍याउने । माओवादीले निर्वाचन बिथोल्ने कोसिस गर्नु हँुदैन । निर्वाचन बिथोल्दा जनतालाई फाइदा हुने भयो भने ठिकै छ । अर्को कसैले फाइदा हुने गरी निर्वाचन बिथोल्नुभयो भने घातक परिणाम आउन सक्छ । उहाँहरूले केही हदसम्म निर्वाचन विथोल्न नसक्ने भन्ने हुँदैन । आखिर निर्वाचन बिथोलेर कसलाई फाइदा ? उहाँहरूले फाइदा लिन सक्नु हुन्न ।

प्रमुख निर्वाचन आयुक्तले नै आशंका व्यक्त गर्नुभयो भन्ने कुरा आएको छ । मंसिरमा निर्वाचनबारे आशंका किन छ ? 

यदि प्रमुख निर्वाचन आयुक्तले त्यसो भन्नुभएको हो भने आपत्तिजनक छ । आयुक्तजस्तो पदमा बसेर निर्वाचन मंसिरको निर्वाचनप्रति आशंका व्यक्त गर्नु गम्भीर कुरा छ किनकि निर्वाचनको तयारी भइरहेको छ । असारमा प्राविधिक रूपमा निर्वाचन भएन, मंसिरमा के कारणले हुँदैन भनेर पुष्टि गर्न सक्नुपर्छ । चैतमा निर्वाचन गर्ने भनेको निर्वाचन गर्न नचाहनु हो । निर्वाचन नहुने आधार देख्दिनँ । निर्वाचन आयोग, सरकारलाई पर्याप्त समय छ । अरू पार्टी निर्वाचनमा आउनेछन् । 

प्रसंग बदलौं, एमाओवादीमा पदको लडाइँ चर्कै देखियो त ?

मैले धेरै अस्वाभाविक रूपमा लिएको छैन । हामीलाई बाह्य परिस्थितिको संश्लेषण गर्न जति गाह्रो भएको छ, मुलुक संक्रमणकालको पीडाले गुजि्रइरहेको छ । मुुलुकले नयाँ संविधान खोजेको छ । यो पीडा सबैले भोगेका छन् । यही कुरा हाम्रो पार्टीमा प्रतिबिम्बित भएको छ । हेटांैडा महाधिवेशनमा हामीले नयाँ कार्यदिशाको संश्लेषण गर्‍यौं । यो कार्यदिशाअनुसार संगठन मिलाउन गाह्रो भएको छ । नयाँ कार्यदिशालाई बुझ्ने र बुझाउने पर्याप्तता भएन । नेताहरूले कार्यकर्तालाई नयाँ कार्यदिशाको स्पि्रट यो हो भनेर बुझाउन नसकेको जस्तो, कार्यकर्ताले बुझ्न नसकेको जस्तो भएको छ । यसको मिलनबिन्दु भेटिएको छ । त्यसकारण सांगठनिक रूपमा गाह्रो भएको जस्तो भएको हो । 

अर्को हाम्रो पार्टीमा बाहिर परिवर्तन भनेजस्तै रूपान्तरण हुन आवश्यक छ । एकता त्यतिबेला सम्भव हुन्छ, जतिबेला हामी नयाँ आधारमा जान्छौं । नयाँ आधारमा जाँदा सबैले आआफ्नो अस्तित्व खोज्छन् । हाम्रो पार्टीमा पनि नेताहरूले अस्तित्व खोजेका छन् । नेताहरूमा पनि बदलिने चाहना छ, रूपान्तरण हुन अझ बाँकी भएको जस्तो, अस्तित्व खोजेको जस्तो भएको छ । अस्तित्व खोज्दा व्यक्तिमा जान्छ । अनि भागबन्डामा जान्छ । कार्यदिशालाई स्पष्ट गरेपछि व्यक्तिगत अस्तित्वमा जाँदैन । जनयुद्धका बेलामा कतिपय साथीहरू पछाडि बस्नुभयो, पृष्ठभूमिमा बस्नुभयो । नयाँ युवा पुस्ता अघि आयो र जनयुद्ध अघि बढायो । आज अर्को परिस्थिति छ । अहिले जनयुद्धमा लागेका साथीहरूको भूमिका केही नभएको जस्तो देखिएको होला । यो बेठिक कुरा हो । यो सबै कुरा जनयुद्धको जगमा भएको छ । जनयुद्धको जगमा गणतन्त्र आएको हो । जति गरे पनि नयाँ परिस्थितिको मुख्य पाटो जनयुद्ध हो । केन्द्रीय समिति पद विभाजन ठोस हुन नसक्नुको कारण त्यही हो । अध्यक्ष प्रचण्डको नेतृत्वमा भएका पार्टी हामीले एकअर्कालाई रूपान्तरण गर्न मद्दत गर्नुपर्छ । 

पद विभाजनका लागि त्यति लामो गृहकार्य पनि काम लागेन नि ?

व्यापक गृकार्य भयो । त्यो अपर्याप्त भयो भन्ने पुष्टि भयो । मेरो व्यक्तिगत धारणा भन्ने हो भने प्रक्रियामा लिएर विधि बनाऔं । महाधिवेशनमा चुनावमा गएको भए नेताहरूले टाउको दुखाउनुपर्ने थिएन । हामी गएनौं । गत वर्ष संविधानसभा सहमति हुन्छ कि भनेर इमानदारपूर्वक लागियो सहमति भएन । प्रक्रियामा गएको भए संविधान बन्थ्यो । त्यो लोकतान्त्रिक बाटो थियो । हार्नेले आफू कमजोर रहेछु भन्ठान्थ्यो, जित्नेले पनि थाहा पाउँथ्यो । यही कुरा अहिले हाम्रो पार्टीमा त्यहाँ जानुपर्ने आवश्यकता देखिन्छ । नेताहरूले आत्मकेन्दि्रत भएर मात्र गृहकार्य गर्नुभयो भन्ने लाग्दैन । सबै पक्ष विचार गर्नुभयो । मिलाउन सक्नुभएन । हामी अलि मनोगत भइयो । हामीले आफ्ना वरिपरिका मान्छे परे कि परेनन् हेर्न थाल्यौं । अथवा नेताले आफ्नो संरक्षण गरे कि गरेनन् भनेर हेर्न थाले । त्यसकारण उत्तम उपाय भनेको निर्वाचनमा जाने हो । 

तपाईंले महासचिव पदको दाबी गरिरहनुभएको छ रे नि ?

मैले महासचिव कतै पनि कोही नेतासँग माग गरेको छैन । यो भ्रम साफ होस् । तर महासचिव हुने चर्चा बाहिरभित्र भयो । पार्टी भित्रैबाट यो प्रभावित भयो । महरा महासचिव बनाउने इच्छा कतैबाट भयो होला । जसले महासचिव हुनुपर्छ भनेर चाहना राख्थे, उनीहरूकै असफलता हो भन्ने लाग्छ, यदि मलाई महासचिव बनाउन चाहेको हो भने । यदि होइन भने मलाई महासचिव हुन दिएनन् भन्ने छ, उहाँहरूले आफ्नो अवस्था स्पष्ट गर्नुपर्छ । नेताहरू कसैप्रति मेरो दोषारोपण होइन । अहिलेको महासचिव मभन्दा वरिष्ठ हुनुहुन्छ । आवश्यकताले म महासचिव होउँला वा नहोउँला भविष्यको कुरा हो । यदि विवाद छ भने कार्यकर्तामाझ बुझे हुन्छ । म कुनै पनि जिम्मा जहाँ बसेर पनि गर्छु । मैले सक्रिय भूमिका जनयुद्धदेखि नै खेलिरहेको छु । मलाई कुनै पदमा नराखेर जिम्मा दिए पनि हुन्छ । पदले भूमिकामा कमी हँुदैन । 

  

katipur daily प्रकाशित मिति: २०७० असार १६ ०८:४३

No comments: