Tuesday, June 4, 2013

Bhattarai fired at western powers

काठमाडौ, जेष्ठ २१ - एमाओवादी उपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चरम दक्षिणपन्थी, वामपन्थी र पश्चिमा शक्तिहरूले नेपालमा संविधानसभा निर्वाचन नचाहेको बताएका छन् । भारत र चीन नेपालमा तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा एउटै धारणा रहेको उल्लेख गर्दै उनले निर्वाचनविरुद्ध पश्चिमा शक्तिको सहयोगमा गरैसरकारी संस्थाको सल्बलाहट बढेको टिप्पणी गरेका छन् ।
राजनीतिक दलका बैठकहरू बिनानिष्कर्ष भइरहेका बेला भट्टराईको यस्तो भनाइ आएको हो । 'चरम दक्षिणपन्थी शक्तिहरूले भाँडभैलो भइराखोस्, सरकार असफल होस् भन्ने चाहेका छन्,' उनले आफ्नै निवास सानेपामा कान्तिपुरसँग सोमबार भने, 'पश्चिमा शक्तिले उत्तर दक्षिणमा आफ्नो प्रभाव विस्तार गर्नका लागि नेपालमा छिर्ने प्वाल खोजिरहेका छन् । त्यसबाट आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने छ ।'
त्यसैले पश्चिमा शक्ति नेपालमा निर्वाचन होस् भनेर प्रतिबद्ध नभएको उल्लेख गर्दै उनले भने, 'पश्चिमाहरूको सहयोग प्राप्त एनजीओ/आईएनजीओको गतिविधि हेर्दाखेरि सरकार र निर्वाचनविरुद्ध माहोल बनाउन खोजिरहेका छन् । तिनै शक्तिको स्वार्थ निर्वाचनविरोधी भइरहेको छ ।'
भारत र चीनले भने तोकिएकै समयमा संविधानसभा निर्वाचन होस् भन्ने चाहेको उनले बताए । 'नेपालका उत्तर र दक्षिण छिमेकीहरूले आफ्नै खालका राष्ट्रिय हितका लागि नेपालमा स्थायित्व आवश्यक छ भन्ने ठानेका छन्, उनले भने, 'नेपालमा स्थिरता भयो भने उत्तरतिरको छिमेकीको पनि सुरक्षा चासो सम्बोधन हुन्छ, दक्षिणको छिमेकीलाई पनि खुला सिमाना भएकाले उसको सुरक्षालगायतको चासो छ ।'
भट्टराईले उच्चस्तरीय राजनीतिक समिति बैठक निष्कर्षविहीन भइरहेको भन्दै अबको केही दिन सहमति हुन नसके सरकारले निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन आवश्यक भएको बताए । 'दलहरूले सहमति नदिने हो भने सरकार अनिर्णयको बन्दी भएर बस्न मिल्दैन । सरकार बदनाम बन्दै जान्छ । अर्को दलहरूको सहमतिबिना सरकारले निर्णय गर्दै गए निरंकुश भएर जाने खतरा हुन्छ । त्यसैले सहमति बनाएर सरकारलाई सुझाव दिऔं भन्ने हाम्रो प्रस्ताव हुन्छ,' उनले थपे, 'मलाई व्यक्तिगत रूपमा लाग्ने कुरा के हो भने यसरी सरकारलाई अनिर्णयको बन्दी बनाएर राख्ने हो भने सरकारले आफ्नो निर्णय गरेर जानुपर्छ । आफूले निर्णय पनि नगर्ने र सरकारलाई पनि गर्न नदिने हो भने प्रक्रियाको विरोधीलाई बल पुर्‍याउँछ ।'
उनले दलहरूबीच भएको ११ र २५ बुँदे सहमतिका आधारमा सरकारले अध्यादेश जारी गरेर निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए । 'सहमति भए ठीकै छ, भएन भने सरकारलाई जिम्मा दिऔं,' उनले भने, 'सहमति भएन भने जे निर्णय सरकारले गर्छ मानांै भन्यौं कांग्रेस, एमालेले मानेनन् ।'
 सोमबार उच्चस्तरीय राजनीतिक समिति बैठकमा कांग्रेस, एमालेले आलटाल गरिरहेको आरोप उनले लगाए । 'सहमतिकोे दिशामा तत्परताका साथ निर्णय लिने देखिएन । आलटाल गर्ने काम भइरहेको छ । त्यसले चुनाव नचाहने शक्तिलाई बल पुर्‍याएको छ,' उनले भने, 'कांग्रेस, एमालेको नेतृत्वले तदारुकता देखाएको छैन, त्यसले हामीलाई चिन्तित बनाएको छ । यसरी दिन सार्दै गएपछि मिति घोषणा ढिला भएपछि जनतामा वितृष्णा पैदा हुन्छ । अनि सरकारप्रति प्रश्न उठ्न थाल्छ । यसले राम्रो संकेत गर्दैन ।'
उनले कांग्रेस, एमालेले रेग्मी सरकारलाई असफल पार्न थ्रेसहोल्डलगायत अडान ल्याएको आरोप लगाए । 'यो सरकारलाई असफल पार्न र चुनाव हुन नदिन कांग्रेस, एमालेले अडान ल्याएको महसुस मलाई भएको छ,' उनको भनाइ थियो ।
रेग्मी निर्वाचन गर्न प्रतिबद्ध भए पनि घेराबन्दी सुरु भइसकेको उनको भनाइ थियो । 'खिलराज रेग्मी निर्वाचन गराउन प्रतिबद्ध हुनुहुन्छ । उनको सफलता/असफलता निर्वाचन गराउनमा भर पर्छ,' उनले भने, 'मेरो नेतृत्वको सरकारलाई जुन शक्तिले घेराबन्दी गरेर निर्वाचन हुन दिएको थिएन, त्यही शक्तिले खिलराजीको शक्तिलाई पनि घेरा हाल्न खोजेको छ ।' उनले पुरानै ऐनका आधारमा अध्यादेश अघि बढाउनुपर्ने उल्लेख गर्दै पछिल्लो पटक कांग्रेस, एमाले ११ र २५ बुँदे सहमतिबाट भाग्न खोजेको बताए ।
प्रकाशित मिति: २०७० जेष्ठ २१ ०८:३६
- See more at: http://www.ekantipur.com/np/2070/2/21/full-story/369362.html#sthash.yMgzaODu.dpuf

No comments: