Monday, June 10, 2013

एमाओबादीमा ६५ वर्ष नाघेपछि रिटाइर्डको व्यवस्था

काठमाडौं, जेष्ठ २७ - एमाओवादी महासचिब पोष्टबहादुर बोगटीलाई उपाध्यक्षमा बढुवा गरी कृष्णबहादुर महरा वा वर्षमान पुनलाई महासचिब बनाउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत भएको छ । हेटौडा महाधिवेशनपछि सचिब पदमा बिवाद भएकाले केन्द्रीय पदाधिकारीहरु नियुक्त हुन सकेका छैनन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट प्रस्तुत भएको प्रस्तावमा बोगटी, महरा, टोपबहादुर रायमाझीलाई उपाध्यक्ष बनाएर पुनलाई महासचिव र गिरिराजमणि पोख्रेललाई सचिव चयन गर्ने उल्लेख भएको स्रोतले जनाएको छ । त्यस्तै हिसिला यमीलाई कोषाध्यक्ष बनाउने प्रस्ताव छ ।
दोस्रो प्रस्तावमा बोगटीलाई महासचिवमा कायम राखेर महरा, पुन, रायमाभी र पोख्रेललाई सचिव र यमीलाई कोषाध्यक्ष बनाउने छ । तेस्रो प्रस्तावमा बोगटीलाई उपाध्यक्ष बनाएर महरालाई महासचिव बनाउने र पुन, रायमाझी र पोख्रेललाई सचिव र यमिलाई कोषाध्यक्ष बनाउने उल्लेख छ ।
हेटौडा महाधिवेशनका बेला महराले महासचिवको दाबी दाहालसमक्ष राखे पनि उनीभन्दा बरिष्ठ नेताहरुले बिरोध जनाएपछि हुन सकेको थिएन । त्यसपछि महराले आफू मात्र सचिव हुनुपर्ने जिकिर गर्दै आएका थिए । रायमाझी, पुन र पोख्रेलले आफ्नो दावी नछाडेपछि यो प्रक्रिया त्यसै रोकिएको थियो ।
एमाओवादीभित्र गुटबन्दीको अन्त्य भने पनि दाहाल, उपाध्यष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आआफ्ना नेताहरुलाई माथि तान्न कसरत गरेका थिए ।
त्यसै गरी ४८ जना पूर्ण केन्द्रीय सदस्य थपिने भएका छन् । हाल एक सय एक पूर्ण र एक सय ३५ वैकल्पिक केन्द्रीय सदस्य छन् । १७ देखि २५ जनासम्मको स्थायी समिति र ५१ जनाको पोलिटब्युरो बनाउने प्रस्ताव बैठकमा पेश भएको छ ।
६५ वर्ष नाघेपछि रिटाइर्डको व्यवस्था
महरा कार्यदलले तयार पारेको सुझाब प्रस्तावमा ६५ वर्ष पुरा गरेका नेताको रिटायर्डको प्रावधान राखिएको छ । कम्युनिस्ट पार्टीमा एउटै नेता नमर्दासम्म पद ओगटीरहने परम्परालाई तोड्ने भन्दै यस्तो प्रावधान राखिएको हो ।
एकै पदमा दुई कार्यकालसम्म जिम्मेवारी पूरा गरिसकेका ६५ वर्ष नाघेका पाका नेता-कार्यकर्तालाई सक्रिय राजनीतिबाट बिदा गरेर स्तरअनुसार सल्लाहकार वा संरक्षकको भूमिका दिन पनि कार्यदलले सुझाएको छ ।
 त्यस्तै १५ वर्ष पेशेवर पार्टीमा लागेको, उत्पीडित वर्ग, क्षेत्र र जाति र समुदायका नेतालाई केन्द्रीय समिति वा सोभन्दा माथि ल्याउने प्रवाधान राखिएको छ । त्यसैगरी जिल्ला समितिमा १० वर्ष पूर्णकालीन भई काम गरेको हुनुपर्ने छ ।
 कार्यदलले नेता तथा कार्यकर्ताको बढुवा र जिम्मेवार बाडफाटमा निश्चित मापदण्ड नहुदा समस्या उत्पन्न भएको निश्कर्ष निकाल्दै मापदण्ड तोकेको हो ।
'पुँजीवादी क्रान्तिको बहस चीन र भारतमा पनि'
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललेहेटौडा महाधिवेशनले पारित गरेको 'पुँजीवादी क्रान्ति' को कार्यदिशाबारे चीन र भारतमा समेत बहस भएको बताएका छन् । आइतबारदेखि सुरु भएको पूर्ण केन्द्रीय समिति बैठकमा उनले यो जानकारी दिएका हुन् ।
उनले पार्टीले लिएको कार्यदिशा सही भएको दाबी गर्दै दुई छिमेकी देशले समेत स्वीकारेको बताए । 'हैटौडा महाधिवशेनले लिएको कार्यदिशाबारे चीन र भारतमा समेत बहस भएको छ' उनले भने, 'उनीहरुले यसलाई सकरात्मक रुपमा लिएका छन् ।' उनले आफ्नो चीन र भारत भ्रमणबारे बैठकलाई जानकारी गराउूदै पार्टीले लिएका कार्यदिशाले मुलुकको आर्थिक विकास गर्ने दाबी गरेका छन् । उनले आफूले अघि सारेको त्रिदेशीय साझेदारीको अवधारणाले चीन र भारतको ठूलो लगानी भित्रिने संभावना भएको दाबी गरे ।
हेटौडा महाधिवेशनले जनवादी क्रान्तिको कार्यदिशा त्यागेर पुजीवादी क्रान्तिको कार्यदिशा लिएको थियो ।
बैठकमा बोल्दै दाहालले कांग्रेस र एमालेको 'रवैया' ले कात्तिक, मंसिरमा निर्वाचन गर्न अवरोध भइरहेको आरोप लगाउूदै दलहरुबीच सहमति नभए सरकार अघि बढ्नु पर्ने बताए । 'कांग्रेस, एमालेकोको रैबैयाका कारण कात्तिक मंसिरमा निर्वाचन गर्न अवरोध भइरहेको छ' उनको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, 'सरकार निर्वाचन गर्न केन्दि्रत भएको पाएको छ । त्यसैले दलहरुबीच सहमति भएन भने सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।' उनले दलहरुबीच सहमति नहुने अवस्थामा सरकारले निर्णय गर्नु व्यबहारिक हुने जनाए ।
हैटौडा महाधिवेशनपछि पार्टी एकतावद्ध भएको उल्लेख गर्दै दाहालले बैठकमा औपचारिक रुपमा नवप्रवेशी रामचन्द्र झा, उर्मिला अर्याल र लक्की शेर्पालाई स्वागत गरेका थिए । झा र अर्याललाई पूर्ण र शेर्पालाई वैकल्पिक केद्रीय सदस्यमा मनोनित गरिएको छ । तिनैजना एमालेबाट र्एमाओवादीमा प्रवेश गरेका हुन् ।
बैठकमा नेता दाहाल संयोजक रहेको समितिले उत्पादन तथा निर्माया योजना, कृष्णबहादुर महराले संगठन सुदृढीकरण, टोपबहादुर रायमाझीले 'जनयुद्धकालीन मुद्दा' का बिषयमा, केन्द्रीय सदस्य हितराज पोण्डेले केन्द्रीय सदस्यको वैयक्ति विवरण प्रतिवेदन पेश भएको थियो । ती प्रतिवेदनमाथि असार २७, २८ र २९ गते छलफल गरी ३० गते पुनः बैठक बस्ने छ ।

प्रकाशित मिति: २०७० जेष्ठ २७ १२:
- See more at: http://www.ekantipur.com/np/2070/2/27/full-story/369729.html#sthash.4bFk7HDb.dpuf

No comments: