Sunday, June 9, 2013

निरन्तरतामा क्रम भंग

नेपालका हास्यव्यंग्य कलाकार अझै 'मिमिक्री आर्टिस्ट'का लागि पहिलेको समय दुःखको थियो । किनभने, नेताहरूका विषयमा हँसाउनका लागि कृष्णप्रसाद भट्टराईको लवज र गिरिजाप्रसाद कोइरालाको 'म के भन्छु भने' भन्ने मात्र उपलब्ध थिए । तर, जब जनयुद्धलाई थाँती राखेर माओवादी नेता सहर आए, यिनले आफूसँग एक-एक थेगो लिएर आए । प्रचण्डको कुम ढल्काइ होस् वा बाबुरामको मुख बिगाराइ, हरेक नेता यस्ता बोट भएका छन्, जसमा लटरम्मै थेगो फलेका छन् । 

कुम हल्लाउँदै जब पहिलोपटक प्रचण्डले 'मने' भने, त्यसले मिमिक्रीको अनन्त सम्भावनाको ढोका खुलेझैं भयो । कुनै बेला सर्वमान्य नेता गणेशमान सिंहले पनि यस्तै 'माने' भन्थे । तर, प्रचण्डले कुम र टाउको हल्लाएर यसमा मसला थपिदिए । यसका साथै जब उनले ज्यान मर्काउँदै 'हामीलाई लाग्छ' भने यो पनि एउटा थेगो बन्यो । यसलाई झन् व्यापक बनाउने काम गरे माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले । उनले गण्डक प्रदेशको लवजमा 'हामीलाई लाइरा'छ' भनेर यसलाई अझ चल्तीको बनाइदिए । अलि कम मेहनत गर्ने कलाकारका लागि दर्शक हँसाउँन यस्तै थेगोले सजिलो बनाइदिएका छन् ।



माओवादी आन्दोलनले नेपाली समाजमा के कति परिवर्तन ल्यायो त्यो अलग खोजको विषय हो । यो आन्दोलनले नेपाली भाषामा केही कम चल्तीका शब्दलाई चलनचल्तीमा भने ल्यायो । मौलिक अर्थ र उच्चारणका साथ माओवादी नेताहरूले यी शब्दलाई 'जार्गन'को हैसियत दिलाए । यस्तै एउटा शब्द थियो- 'छलांग ।' र अर्को शब्दावली थियो 'ढाडमा टेकेर टाउकोमा हान्ने ।' 

प्रचण्डका विरोधीले भन्ने गरेजस्तो बिहान एउटा र दिउँसो अर्को कुरा बोले पनि नबोले पनि प्रचण्ड बेलाबेेला आफ्नो राजनीतिक रणनीति बदल्ने गर्छन् । त्यसबेला उनी भन्छन्, 'निरन्तरतामा क्रम भंग ।' वास्तवमा यो कम्युनिस्ट शब्दावली थिएन । सामान्य अर्थमा एउटा प्रक्रिया अन्त्य गरी अर्को प्रक्रियामा प्रवेश गर्न यो प्रयोग गरिएको हो । सशस्त्र युद्ध समाप्त गरी शान्तिपूर्ण खुला राजनीतिमा आएपछि उनले यो वाक्य प्रयोग गरेका थिए । त्यसपछि धेरैले यो सामान्य बोलीचालीमा पनि प्रयोग गरेको पाइयो । सहरियाहरूलाई इङ्गित गर्न 'सुकिलामुकिला' र गाउँलेलाई 'मैलाधैला' शब्दको प्रयोग आफू सरकारबाट हटेपछि उनले ल्याए । खुलामञ्चको सभामा उनले गाउँले अर्थात् 'मैलाधैला' लाई हेपे 'भ्याकुर लखेटाइ' गर्ने चेतावनी सुकिलामुकिलालाई दिएका थिए । त्यसपछि कलेजदेखि कार्यालयसम्म र अरू क्षेत्रमा पनि एकअर्कालाई प्रयोग गर्न यी शब्द सर्वसाधारणले पनि प्रयोग गर्न थालेका थिए । 

'भद्रगोलमा गोल हुन्छ' भन्ने शब्द पनि उनले प्रयोगमा ल्याए । प्रचण्ड सकभर अरूले बुझ्न नसक्ने कम्युनिस्ट शब्दावलीभन्दा फरक खालका शब्द र बोली ल्याउँछन् । राजनीतिक सहमति नभइरहेको बेला हुने निर्णयलाई यो वाक्य प्रयोग गरेका हुन् । या, उनले देशमा भाँडभैलो भएको बेला नयाँ रणनीति ल्याएर जित हात पार्ने भनाइ हो । उनको यो भनाइ खेलकुद जगत्मा मात्र होइन, प्लस टुको जेनेरेसनमा पनि घुसेको थियो । पछिल्लो समयमा प्रचण्डले पहिलेजस्तो 'मने' थेगोलाई प्रयोग गर्न कम गरेका छन् । बोल्दाखेरी कुम, टाउको र जीउ हल्लाउन कम गरेका छन् । तर, पनि अन्य राजनीतिक नेताभन्दा उनको 'बडी ल्याङ्ग्वेज' भने आकर्षक छ । उनी 'रुँदारुँदै हाँस्ने र हाँस्दाहाँस्दै रुने' नेता हुन् । सशस्त्र युद्धका बेला उनले यो वाक्य निकै प्रयोग गरेका थिए । माओवादीतर्फ ठूलो क्षति भएको बेला रुने र अर्को कुनै आक्रमणमा जित हात पार्दा तुरुन्तै हाँस्नुपर्ने स्थितिको चित्रण उनले यो वाक्यबाट गरेका हुन् ।

उपाध्यक्ष बाबुराम भट्टराई आफ्नो भनाइमा प्रायः उखान प्रयोग गर्छन् । तिखो बोलीवचन भएका उनले आफ्नो भनाइ पुष्टि गर्न उखान प्रयोग गर्छन् । 'हलेदो भनेर चिनेपछि किन का्ेट्याउनु' उनले कांग्रेस, एमालेका सन्दर्भमा धेरैचोटि प्रयोग गरेका छन् । उनले सबभन्दा तिखो प्रहार एमालेमाथि गर्दै आएका छन् । जस्तो, एमालेको निर्णय गर्ने क्षमतामा प्रश्न उठाउँदै 'तेस्रोलिङ्गी' भन्दिए । त्यसलाई व्याख्ाा गर्दै उनले एमालेको कुनै लिङ्गबिनाको पार्टी भन्न पछि परेनन् ।

माओवादीमा हाँस्न नजान्ने नेतामा कुनै बेला उनी पर्थे । तर अहिले हाँस्न नजाने पनि मुस्काउन जानेका छन् । उनलाई मुस्काउन पत्नी एवं नेतृ हिसिला यमीले सिकाएकी हुन रे ! पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री भए, बाबुराम अर्थमन्त्री । त्यसबेला उनले आर्थिक वृद्धिलाई यसरी व्याख्या गरेका थिए, 'सर्पजस्तो घिसि्रने होइन, भ्यागुताको उप|m्याइमा अघि जानुपर्छ ।' सरकारसँग दोस्रो वार्ताको बेला बाबुरामको बोलीमात्र होइन, टोपी पनि चर्चित बन्यो । लेनिनले प्रयोग गरेको टोपीलाई नेपालमा बाबुराम टोपी भन्न थालियो ।

एमाओवादीका अर्को उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रयोग गर्ने धेरै थेगो प्रचण्डसँग मिल्छन् । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनले 'भूमिगत' शैलीमा अन्तर्वार्ता दिए । आवाज मात्र सुन्दा उनलाई धेरैले प्रचण्डको बोलीसँग मिलेको बताउँथेे । त्यसबेला उनले 'मने' थेगो निकै प्रयोग गर्थे, अहिले कम गरेका छन् । उनी सार्वजनिक भएपछि बोली मात्र होइन, कुम हल्लाउने शैली पनि प्रचण्डसँग मिल्यो । प्रचण्डको नक्कल गरेको आरोप लागेपछि भने उनले कम गरे । तर अहिले पनि उनले 'मने' थेगो प्रयोग गर्न छाडेका छैनन् । 'हामीलाई लाग्छ' भन्ने वाक्य पनि उनी प्रयोग गर्छन् । त्यसो त एमाओवादीका केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूले यो वाक्य प्रयोग गर्छन् । अलग भएर अर्को माओवादी गठन गरेका मोहन वैद्यको सबभन्दा चर्चित थगो हो, 'भनेर भन्नुस् ।' खुलामञ्चमा भाषण गर्दा होस् या बन्द प्रशिक्षण दिन उनी यो शब्दावली प्रयोग गर्छन् । अन्तर्वार्ता दिने बेलामा समेत वाक्यको अन्त्यमा 'भनेर भन्नुस्' नभनी टुङ्गाउँदैनन् । कम्युनिस्टका ठेट शब्द प्रयोग गर्न रुचाउने उनी परम्परागत 'जार्गन' लाई आफ्नो लेखन र अभिव्यक्तिमा प्रयोग गर्छन् । शान्ति प्रक्रियामा आएपछि प्रचण्डका जेल, कपाल, कुम, जुँगा र थेगोहरू निकै हिट थिए । प्रचण्डको त्यो बेलाको 'ग्ल्यामर'मा कमी आएर हो कि किन हो आजभोलि न उनी पहिले जत्तिको सिर्जनशील रहे, न उनका ती 'सहउत्पादन'हरू नै लोकपि्रय हुन सकेका छन् । 

प्रकाशित मिति: २०७० जेष्ठ २५ १०:०९

No comments: