Saturday, February 15, 2014

BABURAM PERMANENT OPPONENT LEADER


baburam
काठमाडौ, फाल्गुन ३ -एमाओवादी नेता बाबुराम भट्टराईले पछिल्लोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध फेरि फरक मत राखे । योसहित उनले एक दर्जनभन्दा बढी पटक प्रचण्डविरुद्ध आवाज उठाइसकेका छन् । उनले पार्टीभित्र विद्रोहीको छवि बनाएका छन् । संसद्मा एमाओवादी प्रमुख प्रतिपक्षी भएका बेला बाबुरामलाई हेर्दा यस्तो लाग्छ, पार्टीभित्रका प्रमुख प्रतिपक्षी उनी नै हुन् ।
दोस्रो संविधानसभामा पार्टीले गतिलै पराजय भोगेपछि सबैलाई लागेको थियो, यो हारले माओवादी नेताहरूलाई एक ठाउँमा ल्याइदिनेछ । तर,  बाबुरामले प्रचण्डविरुद्ध फरक मत सार्वजनिक गरे । 'एउटा व्यक्ति दुईपटकभन्दा बढी पदमा बस्नु हुँदैन । निर्वाचनको हारको मुख्य जिम्मा मूल नेतृत्वले लिनुपर्छ ।' दुई दशकभन्दा बढी समयदेखि पार्टी प्रमुख भइरहेका प्रचण्डप्रति यो भनाइ सीधै लक्षित थियो । यसले प्रचण्डलाई भित्रभित्रै निकै आक्रोशित बनायो तर सार्वजनिक रूपमा उनको आलोचना गरेनन् । बाबुराम प्रायः अरूले के सोच्छन् वा भन्छन् भन्ने कुराको वास्ता गर्दैनन् । आफूलाई ठीक लागेको कुरा गर्छन् । त्यसबाट बेलाबेला आलोचनामा पनि पर्छन् । राजनीतिका ट्याक्टिससँगै बाबुराम विचारविर्मश र बुद्धिविलासमा पनि रुचि राख्छन् । यो रुचि बढी भएका बेला उनले आफ्नो राजनीतिक बाटो बिराउँछन् भन्नेहरू पनि छन् ।
बाबुरामलाई यतिबेला आफ्नो पार्टी 'एमालेभन्दा खासै फरक हुन नसकेको' महसुस भएको हुन सक्छ । त्यसकारण उनले वामवृत्तबाट छुट्टै पहिचानको पार्टी आवश्यक भएको औल्याउन थालेका छन् । उनले एमाओवादी पार्टी नयाँ मोडेलअनुसार अघि नबढे योभन्दा पनि खराब हालत हुन्छ भन्ठानेका छन् । हालस्कुल विभाग र प्रकाशन तथा प्रशारण विभागको जिम्मा लिएका उनको स्थानीयस्तरदेखि नै नेता निर्वाचित भएर आउनुपर्ने प्रस्ताव हालै केन्द्रीय समितिले पारित गरेको छ । तर, उनको यो प्रस्ताव स्वयं उनी पक्षका नेता, कार्यकर्ताका लागि घातक हुने खतरा छ ।
पछिल्लो समय उनले कतिपय विषय पार्टीमा प्रस्ताव नराखी फेसबुक र ट्विटरबाट सार्वजनिक गर्छन् । 'सामाजिक सञ्जालभित्रको समुदायलाई समेट्न म आफ्ना कुरा फेसबुक र ट्विटरबाट सार्वजनिक गर्छु,' उनको भनाइ छ । उनले आफ्नो धारणा सार्वजनिक गरेपछि प्रचण्डपुत्र प्रकाशले बाबुरामलाई 'फेसबुके' नेता भन्नसम्म भ्याए ।
आफूमाथि आइपर्ने जोखिम मोलेर भए पनि उनले सशस्त्र युद्धकै बेला प्रचण्डविरुद्ध आवाज उठाएका थिए । २०६१ साल कात्तिकमा बाबुरामले अध्यक्ष प्रचण्डलाई सम्बोधन गरी केन्द्रीय कार्यालयमा चारबुँदे फरक मत दर्ता गराए भने त्यसको एक महिनापछि मंसिरमा केन्द्रीय समितिमा असहमतिका १३ बुँदा राख्दा उनी कारबाहीमा परे । सजाय दिएर जनसेनाको नजरबन्दमा रहेका उनले त्यसबेला 'जनसेनाको घेराबन्दीमा बस्न पाउनु गौरवको विषय' भएको बताएका थिए । पार्टीमा गुट-उपगुटले घर गरेको भन्दै 'स्वस्थ दुई लाइन संघर्ष' को आवश्यकता औल्याएपछि त्यसबेला उनी कारबाहीमा परेका थिए । उनी र प्रचण्डबीच २०६२ असोज, कात्तिकमा सम्झौता भएपछि दुवै नेताले एक अर्कामा विलय भएको घोषणा गरेका थिए । आफंै कारबाहीमा पर्ने गरी फरक मत राख्नुको कारणचाहिँ प्रचण्डको केन्द्रीकृत शक्तिलाई अरू नेतामा विकेन्द्रीकरण गर्नु थियो । उनको यो पार्टीलाई लोकतान्त्रिक दिशामा अघि लैजाने कसरत नै थियो । उनले हाल पनि पार्टी लोकतान्त्रीकरण र शक्ति बाँडफाँडको कुरा उठाइरहेका छन् ।
२०६२ सालमा प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्ड र बाबुराम एउटै खैरो पोसाकमा थिए । त्यसपछिका हरेक बैठकमा मात्र होइन, नयाँबजारस्थि प्रचण्ड निवासमा समेत केही महिना एउटै घरमा दुवै सँगै बसे । पुस २४, २०६६ मा जब प्रचण्डले बाबुरामलाई भारतले प्रधानमन्त्री बनाउन चाहेको बताए, बाबुरामले भने, 'बरु मर्न तयार छु, अन्याय र गलत कामविरुद्ध आत्मसमर्पण गर्दिनँ ।'
२०६६ मंसिरमा भक्तपुरको चर्चित खरिपाटी बैठकमा एक ठाउँमा उभिएका प्रचण्ड र तत्कालीन उपाध्यक्ष बाबुरामबीच हाल पनि विश्वास र शंकाको सम्बन्ध छ । २०७१ वैशाख १८ गते तय गरिएको राष्ट्रिय सम्मेलन र त्यसपछि गर्ने महाधिवेशनसम्म पनि दुई नेताबीच यही शंका र विश्वासको सम्बन्ध रहनेछ । 'मेरो आफ्नो धारणा राष्ट्रिय सम्मेलनसम्म लैजान्छु' उनले यही साता कान्तिपुरसँग भने, 'म पदको होइन, विचारको संघर्ष गर्छु । विचारले नै पार्टीलाई बलियो बनाउन सक्छ, त्यसका लागि म जहिले पनि आफ्नो विचार राख्छु ।'
प्रचण्डलाई कहीँ न कहीँ बाबुरामले अध्यक्ष पद ताकेको शंका छ भने बाबुरामलाई प्रचण्डले निरन्तर आफूलाई पेल्दै आएजस्तो लाग्छ । बेलाबेला प्रचण्डभन्दा बाबुराम बढी आक्रोशित हुनुको अर्को कारणचाहिँ शान्ति र लोकतान्त्रिक बाटोमा पार्टीलाई ल्याउनु आफ्नो प्रमुख भूमिका भए पनि उचित अवसर नपाएको भन्ने भावना हो । प्रधानमन्त्री भइसकेका उनले अब पाउने अवसर भनेको पार्टी अध्यक्ष मात्र हो ।
प्रचण्डको बुझाइमा वैचारिक संघर्षको नाममा शक्ति प्राप्त गर्ने बाबुरामको चाल हो । बाबुरामको विद्रोही स्वभावलाई उनले 'मोही माग्ने ढुंग्रो लुकाउने' संज्ञा दिन्छन् । 'बाबुरामले हालसम्म शक्तिका लागि संघर्ष गरेको देखिन्छ' प्रचण्ड निकट एक एक नेताको भनाइ छ । २०६८ असारको अन्तिम साता तत्कालीन उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग 'धोवीघाट' मोर्चा गरेको केही समयपछि उनी प्रधानमन्त्री भएका थिए । धोवीघाट मोर्चा विशुद्ध प्रचण्डको शक्ति केन्द्रीकरणविरुद्ध थियो ।
२०७० माघमा पनि उनले ११ बुँदाको फरक मत ल्याए । त्यसमा उनले एउटै व्यक्ति शक्तिशाली बनाउने कुराको विरोध गरे । 'एक्काईसौं शताब्दीमा जनवादको विकास'को अवधारणा/प्रस्तावअनुरूप 'सामूहिकताको केन्द्रीकृत अभिव्यक्ति' को रूपमा पार्टी/सत्ताको नेतृत्व प्रणालीको विकास गर्न, एउटै व्यक्तिमा असीमित शक्ति/सत्ता केन्दि्रत गर्ने र लामो समय जिम्मेवारीमा रहने प्रथा/प्रवृत्तिको अन्त्य गर्नुपर्ने' माग गरे । उनले पार्टी र सत्तामा चक्रीय प्रणाली अघि सारे ।
एमाले अध्यक्ष झलनाथ खनाल २० माघ २०६७ मा प्रधानमन्त्री भएपछि भट्टराईले निरन्तर प्रचण्डविरुद्ध 'नोट अफ डिसेन्ट' लेखे । फरक मतका बाबजुद उनी पक्षधर सांसदले खनालको पक्षमा मतदान गरेका थिए । त्यसबेला पनि प्रचण्ड र बाबुरामबीच टकराव देखिएको थियो । त्यसबेला बाबुरामलाई प्रधानमन्त्रीको उम्मेदवार हुने चाहना थियो, तर प्रचण्ड आफैं प्रधानमन्त्रीको उम्मेदवार भएर पछि खनाललाई समर्थन गरेपछि उनी आक्रोशित बनेका थिए ।
०६१ साल भदौमा अध्यक्षले पार्टी, सैन्य र मोर्चाको एकल नेतृत्व लिएको भन्दै बाबुरामले असन्तुष्टि जनाएका थिए । त्यसबेला संयुक्त क्रान्तिकारी परिषद्बाट राजनीनामा गरेका थिए । त्यो नै बाबुरामको पार्टीभित्रको ठूलो विद्रोह थियो ।


प्रकाशित मिति: २०७० फाल्गुन ३ ११:५४

No comments: