Saturday, February 8, 2014

एमाओवादीमा निर्वाचन/ दाहाललाई फाइदा, भट्टराई र श्रेष्ठलाई घाटा

काठमाडौ, माघ २५ - ओवादीले प्रत्यक्ष निर्वाचन विधिबाट प्रतिनिधि चयन गर्ने प्रावधान ल्याएपछि त्यसको असर नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई पर्ने भएको छ । प्रत्यक्ष निर्वाचनबाट नेता चयन हुने विधि ल्याउनुपर्ने प्रस्ताव ल्याएका भट्टराई र अर्का नेता श्रेष्ठलाई 'गुटबन्दी' का कारण असर पर्ने भएको हो । यही साता सकिएको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य र राष्ट्रिय सम्मेलन प्रतिनिधि सम्बन्धित जिल्लाबाट चयन हुनुपर्ने निर्णय गरिसकेको छ । एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय भट्टराई र श्रेष्ठ गरी तीन 'गुट' छ । पार्टीमा बलिया दाहाल पक्षको प्रभाव स्थानीय स्तरसम्म पर्ने भएकाले त्यसको प्रत्यक्ष मार भट्टराई र श्रेष्ठलाई पर्ने देखिएको हो ।

यसअघि भागबन्डाका आधारमा नेता मनोनयन गर्ने परम्परालाई तोड्दै उसले प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधि चयन गर्ने विधि ल्याएको हो । यो विधि वैशाख १८ देखि हुने राष्ट्रिय सम्मेलन र त्यसअघि हुने जिल्ला सम्मेलनमा लागू हुनेछ । यसअघि दाहाल, भट्टराई र श्रेष्ठले आपसी समझदारीमा बाँडफाँडका आधारमा नेताको चयन गर्ने जिम्मेवारी दिँदै आएका थिए । दाहालको तुलनामा भट्टराई र श्रेष्ठको सांगठनिक अवस्था कमजोर भएकाले प्रत्यक्ष चुनाव हुने अवस्थामा उनीहरूका कम प्रतिनिधि चयन हुनेछन् ।
हालसम्म केन्द्रमा कायम रहेको गुटबन्दी छोटो समयमा अन्त्य गर्न कठिन भएकाले राष्ट्रिय सम्मेलनअघि स्थानीय स्तरसम्म त्यसको असर देखिने छ । केन्द्रीय समितिले राष्ट्रिय सम्मेलनको घोषणा गरेपछि स्थानीय तहमा कसलाई जिताउने र हराउने भन्ने राजनीति सुरु भइसकेको छ । केन्द्रमा भट्टराई र श्रेष्ठले पार्टीभित्र 'वैचारिक र सांगठनिक संघर्ष' चलाएकाले दाहाल पक्षका कार्यकर्ता रुष्ट छन् । उनीहरूले भट्टराई र श्रेष्ठ पक्षका प्रतिनिधि हराउने कसरत गर्न थालेको एक नेताले बताए ।
जिल्लाबाट प्रतिनिधिका रूपमा चयन हुन भट्टराई र श्रेष्ठलाई गाह्रो नपरे पनि यसअघि मनोनयनबाट केन्द्रमा पुगेका नेतालाई गाह्रो पर्ने देखिएको छ । भट्टराई र श्रेष्ठको संगठन मिथिला (धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सर्लाही), भोजपुरा (बारा, पर्सा र रौतहट) र अवध (नवलपरासी, कपिलवस्त र रूपन्देही) मा अन्य जिल्लाको तुलनामा बलियो छ । हालकै गुटबन्दी स्थानीय निकायसम्म कायम रहे यी जिल्लाबाहेक अन्य जिल्लामा भट्टराई र श्रेष्ठका प्रतिनिधि निर्वाचित हुन कठिन छ ।
भट्टराई पत्नी एवं नेतृ हिसिला यमीले फरक विचार समूहको आधारमा राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्न खोजिए दुर्भाग्य हुने बताइन् । 'फरक विचार समूहको आधारमा प्रतिनिधि चयन गर्न खोजे राम्रो हुँदैन,' उनले भनिन्, 'कुनै पूर्वाग्रहबिना प्रतिनिधि चयन हुने अवस्था हुनुपर्छ ।' उनले गुटगत राजनीति अन्त्य गरी कार्यक्षमताका आधारमा प्रतिनिधि चयन हुनुपर्ने धारणा राखिन् ।
दाहाल निकट नेता हरिबोल गजुरेलले प्रत्यक्ष निर्वाचित हुने विधिले 'गुटको बलमा टिकेकाहरू' पराजित हुने बताए । 'पार्टीमा गुट कसरी अन्त्य गर्नेबारे केन्द्रदेखि नै पहल गर्नुपर्छ,' उनले भने, 'क्षमतावान, कार्यकर्तासँग भिजेका नेताहरू पराजित हुँदैनन्, उनीहरू निर्वाचित भएर आउँछन् ।' श्रेष्ठ निकट नेता विश्वनाथ साहले प्रमुख नेताहरूले गुट अन्त्य गरी पार्टी पुनर्गठन गर्ने प्रतिबद्धता जनाएकाले त्यसलाई व्यवहारमा उतार्नुपर्ने जनाए ।
 

प्रकाशित मिति: २०७० माघ २५ ०१:५०

No comments: