Saturday, June 25, 2011

अन्तरसंघर्ष रहिरहे शान्ति र संविधान असम्भव’

गंगा बीसी
काठमाडौ, अषाढ ११ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको अन्तरसंघर्ष समाधान भए मात्र शान्ति र संविधान निष्कर्षमा पुग्ने बताएका छन् ।
अन्तरसंघर्ष समाधान गर्न बसेको केन्द्रीय समिति बैठकमा उनले त्यसको व्यवस्थापन, नेताहरूको उचित कार्यविभाजन र सरकारमा समानुपातिक र समावेशी प्रतिनिधित्व भए समस्या समाधान हुने बताएका हुन् ।
'पार्टीभित्रको अन्तरसंघर्ष हल गरी एकताबद्ध भए बाहिरको संघर्ष जित्न सकिन्छ,' उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'त्यसकारण हामीले अन्तरसंघर्ष व्यवस्थित गरी शान्ति र संविधान सुनिश्चित गर्नुपर्छ ।'
'अन्तरसंघर्ष व्यवस्थित गर्ने विधि, नेताहरूको वैज्ञानिक कार्यविभाजन, सरकारमा समावेशी र समानुपातिक सहभागिताबारे यही केन्द्रीय कमिटीले निर्णय गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ,' दाहालको भनाइ थियो, 'शान्ति र संविधानबारे अझै स्पष्ट गर्न जरुरी छ ।'
उनले सांगठनिक क्षेत्रमा कार्यविभाजन नमिल्दा र अन्तरसंघर्ष व्यवस्थित हुन नसक्दा नराम्रो सन्देश गएको बताए । सरकारमा समावेशी मन्त्री पठाउने निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै समाधानको सुझाव दिन केन्द्रीय सदस्यहरूलाई आग्रह गरे ।
प्रवक्ता दीनानाथ शर्माका अनुसार दाहालले अन्तरसंघर्ष समाधानका लागि पार्टीभित्र आन्तरिक मञ्च -फोरम) चलाएर महाधिवेशनमा जानेबारे सुझाव माग गरेको जनाए । 'अन्तरसंघर्ष समाधान गर्न महाधिवेशनबारे सुझाव माग गर्नुभएको छ,' उनले भने, 'महाधिवेशनबारे केन्द्रीय कमिटीले छलफल गरोस् भन्नुभएको छ ।'
माओवादीभित्र शान्ति र संविधानको कार्यनीतिप्रति उपाध्यक्ष मोहन वैद्य पक्षले फरक मत राख्दै जनविद्रोहमा जोड दिइरहेका बेला महाधिवेशनबाट निकास निकाल्नेबारे छलफल सुरु भएको हो ।
उनले संविधानसभाको म्याद थपेपछि शान्ति र संविधान निर्माणमा माओवादी लचक भए पनि कांग्रेसलगायत अन्य दलका कारण प्रक्रिया अघि बढ्न नसकेको 'वर्तमान परिस्थिति' को राजनीतिक समीक्षा गर्ने जानकारी दिए । 'शान्ति र संविधान प्रक्रिया अघि बढाउन हामी प्रतिबद्ध, जिम्मेवार र संवेदनशील भएर अघि बढ्यौं,' दाहालको भनाइ थियो, 'हामी जति जिम्मेवार छौं, कांग्रेस-एमाले जिम्मेवार नदेखिएका कारण प्रक्रिया अघि बढ्न सकेन ।'
 संविधानसभा विघटन हुनबाट जोगिए पनि भदौमा त्यो खतरा नटर्ने उनको विश्लेषण थियो । कांग्रेस जिल्ला सभातिहरूको जेठ अन्तिम साता काभ्रेको धुलिखेलमा भएको भेलापछि परिस्थिति बिगि्रएको उनले बताए । त्यसले गर्दा भदौ १४ मा संविधानसभा विघटन हुने खतरा भएकाले त्यसलाई बचाउन पार्टी लाग्नुपर्ने उनले जनाए ।
'भदौसम्म संविधानसभा विघटन गर्ने खतरा नटरेको अध्यक्षले बताउनुभयो,' एक केन्द्रीय सदस्यले भने, 'यसलाई विघटन हुनबाट बचाउनुपर्छ ।' त्यसका लागि उनले भदौअघि नै शान्ति र संविधानबारे केन्द्रीय समिति बैठकले ठोस निर्णय गर्नु आवश्यक रहेको जनाए ।
करिब पौने घन्टा बोलेका दाहालको मुख्य जोड शान्ति र संविधानमै थियो । यो विषयलाई पनि उनले पार्टी अन्तरसंघर्षसँग जोडेर व्याख्या गरेका थिए ।
प्रवक्ता शर्माले सबै समस्या समाधानका लागि पार्टी एक हुनुपर्ने दाहालले बताएको जनाए । 'अध्यक्ष प्रचण्डले देशको वर्तमान राजनीतिक स्थिति र पार्टीभित्रको अन्तरसंघर्षको स्थितिबारे
सामान्य रिपोर्टिङ गर्दै दक्षिणपन्थी प्रतिगामी शक्तिहरू आगामी भदौ १४ सम्म आलटाल गरेर समय व्यतित गर्ने र शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रियालाई समाप्त पार्ने योजनाबद्ध षड्यन्त्रमा लागेको महसुस भएको बताउनुभयो,' उनले भने, 'वर्गसंघर्ष र अन्तरसंघर्षका चुनौती हल गर्दै शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रियाको रक्षाका लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने ऐतिहासिक चुनौती एनेकपा (माओवादी) को अगाडि उपस्थित रहेको कुरा प्रस्ट पार्नुभयो ।' स्थायी र पदाधिकारी बैठकबाट अनौपचारिक सहमति जुटाउने बैठक कम्तीमा तीन दिनका लागि स्थगन गरिएको पनि उनले जनाए ।
उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री झलनाथ खनालले पाँचबुँदे सहमतिअनुसार
राजीनामा दिई माओवादी नेतृत्वमा सरकार बन्नुपर्ने बताइरहेकै बेला दाहालले भने माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना न्यून भएको बताए ।
'यो सरकार परिवर्तन गरेर हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना न्यून छ,' दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'बरु आलोपालो सरकारमा सहमति गरी राष्ट्रिय सरकारको स्वरूप दिन सकिन्छ कि ?' उनले यो सरकारमा कांग्रेस नआउने स्पष्ट भइसकेको भन्दै यस्तो बताएका हुन् । त्यसपछि मात्र राष्ट्रिय स्वरूपको सरकार बन्ने उनको विश्लेषण थियो ।
वैद्य पक्षका सचिव सीपी गजुरेलले एजेन्डामा प्रवेश गरेपछि मात्र विस्तृत छलफल हुने बताए । 'अध्यक्षले राखेको कुरामा खासै विमति राख्ने छैन,' उनले कान्तिपुरसँग भने, 'एजेन्डामा प्रवेश गरेपछि विस्तृत छलफल हुन्छ ।' केन्द्रीय कमिटी बैठक हुनुअघि केन्द्रीय पदाधिकारी र स्थायी समितिको बैठक बसेको थियो । बैठकमा वैद्य पक्षले सैद्धान्तिक र व्यावहारिक निर्णय केन्द्रीय कमिटीले गर्नुपर्ने धारणा राखेपछि दाहालले सबै निर्णय यही बैठकले गर्ने बताएका थिए ।
 महासचिव रामबहादुर थापाले 'भदौ १४ वरिपरि दक्षिणपन्थीहरू प्रतिविद्रोहको घनिभूत तयारीमा लागेकाले त्यसको मुकाबिला गर्न वर्गसंघर्ष र अन्तरसंघर्षका जटिलताहरूलाई समाधान गर्न यो केन्द्रीय समितिले महत्त्वपूर्ण निर्णय लिने बताएका थिए । 

प्रकाशित मिति: २०६८ अषाढ ११ ०९:०९ 
 

No comments: