दसैंमा गाउँमा कमेरो, रातो माटोले लिपेर दुलहीजस्तो सजाएका घरको बास नामी रिसोर्टभन्दा कम हुँदैन।
'गाउँको दसैं पो दसैं, सहरको दसैं के दसैं?' दसैंको मुखमा आजभोलि यस्तो भनेको प्रशस्त सुनिन्छ। दसैंको अवसरमा गाउँ नसम्झनेहरू कमै होलान्। सहरमा सरिसकेकाहरू पनि दसैंमा एकपटक गाउँ नसम्झि रहन सक्दैनन्। किनकि गाउँ अब सम्झनलायक भएका छन्। गाउँ साँच्चिकै रमाइला भएका छन्।
त्यसैलेे त हाम्रो गाउँप्रतिको मोह बढ्दै गएको छ। दसैंको प्रसंगमा हालै काठमाडौंमा घर भएको साथीको छोराले भनेछ, 'बाबा गाउँ जाने टिकट किन्नुभयो?' उसले भनेछ, 'हाम्रो घर काठमाडौंमा हो, गाउँ जानु पर्दैन।' अनि छोराले रिसाउँदै भनेछ, 'सबै साथीहरू गाउँ जाँदैछन्। हामी पनि गाउँ जानुपर्छ, भोलि गएर गाउँ किन्नु है। अनि टिकट पनि किन्नु।' यो कुरा सुनेर काठमाडौंवासी साथी छक्क परेछन्। उनलाई गाउँको महत्त्वले झल्यास्स बनाएछ।
कुनै बेला यस्तो समय थियो, गाउँ भनेपछि मान्छेहरू नाक खुम्च्याउँथे। गाउँ एउटा अभिषप्त ठाउँ जस्तो व्यवहार गर्थे। सहर बस्नमा गर्व गर्थे, सहरमा बसेर गाउँको हुर्मत लिन्थे। समय बदलिएको छ, अब ती दिन छैनन्। गाउँ र सहरको संयोजनमा रमाउने प्रवृत्ति बढेको छ। हाल गाउँ जान पाउँदा गर्व ठान्छन्। गाउँ जान नपाउँदा काठमाडौंवासीको एक छोराले जसरी आफ्नो बाबालाई गाउँ जान दबाब दिन्छन्, त्यसकै एउटा उदाहरण हो।
गाउँ र सहरको संयोजनले मात्र मान्छे खुसी हुने बेला आइसकेको रहेछ। कम्तीमा पनि दसैं, तिहारको बेला गाउँ सम्झनु सकारात्मक कुरा हो। दसैं र गाउँ एकअर्काप्रति गाँसिएका छन्। यसले सहर केन्दि्रत प्रवृत्तिलाई कम गर्दै लगेको छ। गाउँका विकास र त्यहाँको वातावरणले सहरवासीलाई लोभ्याउँदै लगेको छ। विगतको तुलनामा गाउँको परिभाषा फेरिएको छ। सुन्दर कला संस्कृति, सफा वातावरण, रमाइलो परिवेश, विकासतिर पाइला बढाइरहेको हालको परिभाषा हो। सहरको परिचय गाउँको ठीक विपरीत छ। सभ्यता हराउँदै गएको छ, वातावरण प्रदूषित हुँदै गएको छ, परिवेशमा विकृति आउँदै गएको छ। मानवीयताको ह्रास हुँदै गएको छ। सहकार्यको संस्कृति गायब हँुदैछ। यस्तो बेलामा गाउँको गरिमा बढ्नुपर्छ, बढिरहन्छ। कसैले रोक्न सक्दैन।
बहुसंख्यक मान्छे गाउँमै हुर्केका हुन्। 'गाउँले' भनेर हेप्ने जमाना पनि कुनै बेला नभएको होइन, तर अब त्यो अन्त्य भएको छ। आफू गाउँले भएको गर्व गर्ने बेला आएको छ। माथि उल्लेख गरेको सहरमा जन्मे-हुर्केको बच्चाले गाउँ जाने उत्कट चाहनाले पनि गाउँप्रतिको मोह तीव्र बढेको देखिन्छ। सहरियाहरूलाई पनि गाउँप्रति वितृष्णा छैन, कुनै बेला मेसो मिलाएर उनीहरू गाउँ जान चाहन्छन्। गाउँमा पक्कै पनि केही छ र सहरियाहरू गाउँप्रति आकषिर्त छन्। भर्जिन गाउँको कथा जति लेखे पनि नयाँ हुन्छ, सहरका कथा पुराना भइसके। गाउँ नयाँ छन्, सहर पुराना हुने क्रममा छन्। त्यसैले त मान्छेहरू नयाँको खोजीमा छन्। नयाँ खोज्दै गाउँतिर दौडिरहेका छन्। सहरतिर दौडेकाहरू पनि गाउँतिर र्फकने क्रम सुरु भएको छ। दसैंको मौकामा गाउँतिर दौडनेहरूको प्रसंग अझ बेग्लै हो।
दसैंमा गाउँमा कमेरो, रातो माटोले लिपेर दुलहीजस्तो सजाएका घरहरूको बास नामी रिसोर्टभन्दा कम हुँदैन। अर्गानिक खानेकुरासँंग पाँचतारे होटलको परिकारसंँग तुलना हुनसक्ने कुरै भएन। त्यसमा सहरजस्तो धनी र गरिबको खाडल पनि त्यहाँ देखिँदैन। घरमा जे छ, त्यसकै आधारमा दसैं मनाउने प्रचलन अझ सुन्दर छ। सहरजस्तो हरेक कुराको लेनदेन नगदमा त्यहाँ हुँदैन। सम्बन्धको मूल्य नगदमा कारोबार हुँदैन र त गाउँमा एकआपसको सम्बन्ध सुमधुर छ। सहरको जस्तो बनावटी सम्बन्ध त्यहाँ छ्रैन। जे छ, आफ्नै मौलिकतामा छ। गाउँको मौलिकामा रमाउनुको मजा नै बेग्लै।
सहर पस्दा गाउँ बिर्सन खोज्नेहरू चाहेर पनि सक्ने अवस्थामा छैनन्। उनीहरूले कम्तीमा दसैं, तिहारको बेला बिर्सन सक्दैनन्। किनकि दसैंको बेला जो सहर रहन्छन् वा रहन बाध्य हुन्छ, उनीहरूले गाउँ सम्झनैपर्छ। राजधानीबाट २० लाखभन्दा मान्छे दसैंमा गाउँ फर्किन्छन्। उनीहरू रहरले गाउँ फर्केका हुन्, बाध्यताले होइन। बरु यतिबेला मान्छे बाध्यताले सहर पस्छन्, गाउँ जाँदैनन्।
कतिपय गाउँलाई सहरको झिल्काले छुन थालेको छ। जब सहर गाउँ पस्छ, गाउँको मौलिकता हराउँदै जान्छ। मौलिकता हराएको गाउँ र रङ उडेको फूल उस्तै हो। गाउँलाई जबर्जस्त सहर बनाउने खोज्दा त्यसको सुन्दरता खोसिने कुराको कमैले मात्र ख्याल गरेको पाइन्छ। गाउँको विकास होस् तर गाउँ आफ्नै मौलिकतामा रहनुपर्छ। सबै गाउँ सहरजस्ता हुन्, तर विकृत सहरजस्ता गाउँ नहुन् भन्ने कुरामा गाउँलेहरू सजग हुन आवश्यक छ। यसको अर्थ सहरलाई आआफ्नो मौलिकतामा विकास गर्न सकिँदैन भन्ने होइन।
दसैं, तिहारको अवसरमा मात्र गाउँ जानुपर्छ भन्ने मान्यता पनि गलत हो। दुर्गम क्षेत्रको हकमा त्यो लागू होला। जहाँ सहजै पुग्न सकिन्छ, ती ठाउँमा अरु बेला पनि गाउँ जाने रुचि बढाउनु आवश्यक छ। गाउँमा बस्नेहरू सहरप्रति रुचि बढ्नु अस्वाभाविक होइन, सहरमा बस्नेको गाउँप्रति रुचि बढ्नु महत्त्वपूर्ण कुरा हो। गाउँ अहिले पनि सोझा र इमानदार छन्। सिंहदरबारले हेपेका गाउँहरू अझै पनि निमुखाजस्ता लाग्छन्। उनीहरूको बोली हामीले नबोले कसले बोल्छ?
राजधानीमा पनि सबै सहर कहाँ छ? त्यहाँ पनि सिधासादा गाउँ छन्। सिंहदरबारको आँखा गाउँसम्म प्रत्यक्ष पुग्न अझै धेरै समय लाग्छ। सिंहदरबारको स्रोत पनि घुम्ती-घुम्ती पार गरी गाउँ पुग्छ। चुहिँदै गाउँ पुग्छ। चुहिएको स्रोतले गाउँमा गोरेटो बाटो बन्छ, सानो सडक बन्छ, धारा, पँधेरो बन्छ। तैपनि गाउँको मुहार उज्यालिन्छ। गाउँको मुहार उज्यालिएको दिन गाउँमा बस्ने साइँलाको अनुहारमा बेग्लै चमक हुन्छ। साइँलाहरूको अनुहारमा चमक आउने दसैं नै आउनुपर्ने केही कारण छैन। हरेक दसैंमा साइँलाका गाउँहरू उज्याला भइरहेका छन्। वर्षभरि गाउँ उज्यालिएको बेला मुलुकको मुहार चम्किनेछ।
No comments:
Post a Comment