Saturday, September 6, 2014

Tibet from my eye

Lhasa city

भाद्र २० - 

तिब्बत जानुअघि यसको सदरमुकाम ल्हासा र तातोपानी नाका खासाबारे सुनेको हो । तिब्बतबारे खासगरी नेपालमा बेलाबेला हुने गरेका 'तिब्बतविरोधी' गतिविधिले काठमाडौंमा चर्चा पाउँथ्यो । त्योभन्दा बढी खासै थाहा थिएन । रुचि पनि थिएन ।

'विश्वको छानो' को रूपमा चिनिएको तिब्बतको प्रमुख क्षेत्रको स्थलगत भ्रमणले सुनेको भन्दा देखेकोमा धेरै अन्तर ल्याइदियो । तिब्बत ओर्लनेबित्तिकै चौडा र सफा सडक, सडकको वरिपरि हरियाली र प्रायः एउटै आकारका भवनले ल्हासाको वैभव देखाउँछ । चीनको मातहतमा रहेको स्वायत्त क्षेत्रबारे त्यति धेरै जानकारी बाहिरी संसारबाट पाउनु पनि सजिलो थिएन र छैन । यो आफैंमा 'बन्द' क्षेत्र पनि हो ।



'तिब्बत खुला गर्ने गरी विकास भएको छैन,' कम्युनिस्ट पार्टीका तिब्बत ब्युरो प्रमुख वे काङ भन्दै थिए, 'अलि धेरै विकास भएपछि क्रमशः खुला गर्दै लैजान्छौ ।'

अपार्टमेन्ट र रेस्टुरेन्ट संस्कृति बढ्दै गएको छ । बेलुका छ बजेपछि सहरका रेस्टुरेन्टमा सपरिवार भेटिने तिब्बतीहरू बिस्तारै पश्चिमा संस्कृतिलाई पछ्याउँदै छन् । ल्हासा, सिगात्सेलगायत प्रमुख सहरमा रात्रिजीवन पनि छ । युवायुवतीहरूलाई रातभर मोजमस्तीसँग घुम्न छुट छ । 'कडा परिश्रम गर, अनि मस्ती गर' तिब्बतीहरूको नारा बनिसकेको छ । बढ्दै गएको आम्दानी, विकसित हुँदै गएको तिब्बतलाई  परम्परागत साङ्लोले बाँध्न सक्दैन ।

चिनियाँ सरकारले तिब्बतीहरूलाई आफ्नै दुनियाँमा रमाउने वातावरण सिर्जना गरिदिएको छ । स्तरअनुसारको जागिर दिनु र जागिरअनुसारको तलब दिनु उसको घोषित नीति हो । कुनै पनि तिब्बती काम, माम र दाम (आम्दानी) मा यति व्यस्त होस् कि उसले अरू कुरा सोच्नै फुर्सद नहोस्, उसको नीति छ । त्यो कार्यान्वयन गर्दै आएको छ ।

सन् २०२० मा तिब्बतलाई विकासको एउटा चरणमा पुर्‍याउने योजना सरकारको भनाइ छ । 'यो तिब्बत विकास हुने चरणमा छ, सन् २०२० मा तिब्बत आउनुभयो भने विकास भएको केही देख्न पाउनुहुनेछ,' तिब्बत स्थानीय सरकारका उपकार्यकारी प्रमुख वु यिङचीले ल्हात्सास्थित आफ्नो भव्य कार्यालयमा भन्दै थिए, 'अहिले निर्माणाधीन अवस्थामा छ ।'

नेपाली सञ्चारकर्मीलाई तिब्बतले विकासमा मार्दै गरेको फड्को देखाउने चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको उद्देश्य थियो । त्यसमा सांस्कृतिक सम्पदाको संरक्षण, तिब्बतमा धर्मको संरक्षणलगायतलाई पनि केन्द्रमा राखिएको थियो । एक साता तिब्बतमा रहँदा हाम्रो आँखा भने मुख्यगरी विकासप्रति केन्दि्रत हुन्थ्यो । हामी विकासका भोका थियौ, त्यस्तै विकास आफ्नो देशमा भएको कल्पना गथ्र्यौं ।

बेइजिङ हुँदै ल्हासा आइपुगेका हाम्रा अर्थमन्त्री रामशरण महतसँग जम्काभेट भयो, होटलको लबीमा । 'तिब्बत कस्तो लाग्यो मन्त्रीज्यू ?' हाम्रो स्वाभाविक जिज्ञासा थियो । थकित मुद्रामा रहेका महतले भने, 'हामीले कुरा धेरै गर्‍यौं, चिनियाँहरूले विकास गरे ।' पटकपटक अर्थमन्त्री भइसकेका महतको त्यो स्वाभाविक स्वीकारोक्ति थियो ।

ल्हासादेखि सिगात्से सहरको यात्राको क्रममा जे-जे देखिए, ती अनौठा लागे । फुत्तफुत्त उठेका सुख्खा पहाड र त्यसको फेदी हुँदै बनेको चौडा सडकको यात्रा रमाइलो थियो । भौगोलिक प्रतिकूलतालाई चिर्दै भएको विकास र त्यससँगै हरियाली बढाउने योजना गजबको रहेछ । ल्हासादेखि करिब ग्याङत्से कान्टीसम्मको यात्राले हाम्रो ध्यान तान्यो । यात्राका क्रममा देखिएका हिमालको दृश्यले लोभ्याउनु स्वाभाविक थियो । त्यसमा पनि सुविधासम्पन्न सडकमा हिमाली क्षेत्रको यात्रा आफैंमा गजब हुने नै भयो । बेलाबेलामा हाई अल्टिच्युडले टाउको दुख्नेबाहेक मन चङ्गा भएको थियो ।

समुद्र सतहदेखि करिब ५ हजार मिटर उचाइ रहेको कारुअलो हिमनदी र हिमालको दृश्य अनौठो थियो । जहाँ प्रकृति र विकासको गजबको संगम थियो । विकासले प्राकृतिक जटिलतालाई पनि कहिलेकाहीँ पछार्दो रहेछ भन्ने नमुना थियो । तस्बिर लिएको निश्चित शुल्क तिर्नुपर्ने भए पनि हामीले परेन । त्यो सिगात्से जाने पर्यटक मार्ग रहेछ । अलि अघि बढेपछि याम्चो हिमताल देखियो । फेवा, बेगनास, रारा, तिलिचो, स्यार्पु तालको देशका बासिन्दाको नाताले चासो लाग्नु स्वाभाविक थियो ।

चिनियाँ र तिब्बती भाषामा तालबारे जानकारी दिइएको रहेछ, पूर्वपश्चिम लम्बाइ १ सय ३० किलोमिटर, उत्तर दक्षिण ७० र कुल क्षेत्रफल ६ सय ३८ वर्गकिलोमिटर । अनुवादकका सहाराले यो जानकारी पाएपछि एकछिन अक्कमक्क पर्नु स्वाभाविक थियो । करिब २ घन्टा गाडीबाट याम्चोको किनाराकिनारै गुडेपछि यो ओझेलमा पर्‍यो । 'कहाँ आए, आएजस्तो भयो यार । प्रकृति र विकासको संगम देखेर छक्कै परियो,' लगातार तस्बिर लिंदै गरेको सहकर्मी देवान राई भन्दै थिए, 'तिब्बत भनेको सुन्दरताका हिसाबले पनि अझै रहस्यमै रहेछ ।'

कृषि क्रान्ति 

तिब्बतमा स्वाभाविक रूपमा पशुपालन क्रान्ति भइरहेको छ । किनकि त्यहाँका बासिन्दाको प्रमुख काम पशुपालन हँुदै आएकाले चीनमै एक नम्बरमा पर्छ । कृषिका लागि भने तिब्बतको भौगोलिक बनावट र प्रकृति प्रतिकूल छ । तर, प्रकृतिलाई चुनौती दिने गरी कृषि क्रान्तिको थालनी सुरु भएको देखियो । कृषिप्रधान देशका बासिन्दाका लागि रुचिको विषय थियो, त्यो ।

ग्यात्से काउन्टीमा पर्ने समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा रहेको 'रेड रिभर भ्याली' तिब्बतको अन्न भण्डार मानिन्छ । जहाँ, जौ, आलु, सागपात उत्पादन हुन्छ । त्यो क्षेत्रमा नमुना कृषि प्रदर्शनी पार्क बनाइएको छ, जहाँ मौसमको प्रतिकूलताका बेलासमेत तिब्बतमा नफल्ने तरकारी फलाउने अभियान सुरु गरिएको छ । 'तिब्बतमा कृषि विकासका लागि थालिएको नमुना हो,' ग्यात्से जिल्ला प्रमुख भन्दै थिए, 'यसका लागि करिब १८ करोड युआन लगानी भएको छ ।' हिउँ पर्ने मौसममा सिरकजस्तै बाक्लो त्रिपालको सुरुङमा ओढाएर काँक्रो, मुला, गोलभेंडा, काउली, च्याउलगायत तरकारीको व्यावसायिक खेती सुरु भएको छ । जहाँ फलेको तरकारी भण्डारणका लागि विशाल चिस्यान केन्द्र पनि बनाइएको छ । सरकारको सहयोगमा यसमा निजी संस्थाले काम सुरु गरेको उनले बताए । तिब्बतमा उत्पादन भएको तरकारीको भाउ बेइजिङलगायत अन्य सहरमा महँगो पर्छ । रेड रिभर भ्यालीमा परम्परागत कृषिको विकासका लागि सरकारले सिंचाइको पनि राम्रो व्यवस्था गरेको कृषकले बताए । जसले परम्परागत जौ, आलुको उत्पादन बढेको छ ।

रेलको कथा

ल्हासा सिगात्से रेल नेपालका लागि पनि चासोको विषय थियो । संयोग नै पर्‍यो, नेपाली सञ्चारकर्मी सिगात्से पुगेका बेला रेलसेवा उद्घाटन भयो । सिगात्सेबाट नेपालको सिमाना केरुङ जोड्ने चिनियाँ अधिकारीको योजना छ, त्यहीअनुसार सर्वेक्षण भइरहेको छ ।

ल्हासादेखि सिगात्सेसम्म २ सय ५१ किलोमिटर लामो रेलमार्ग ५ वर्षमा पूरा गर्ने योजना भए पनि चार वर्षमा सम्पन्न भई सेवा सुरु भयो । काठमाडौंको माइतीघर तीनकुने सडकभन्दा एक वर्षअघि निर्माण थालिएको यो रेल सेवा एक वर्षअघि पूरा भई सेवा सुरु भइसक्यो । तर तीन वर्ष बितिसक्दा पनि माइतीघर-तीनकुने सडक पूरा भएको छैन । ल्हासा सिगात्से रेलसेवा तीन साताअघि सुरु भइसकेको छ । करिब ४२ प्रतिशत सुरुङ मार्गमा हिंड्ने यो रेल प्रतिघन्टा एक सय २० घन्टाको गतिले हिंड्छ । भाडा आधा सस्तो र समय आधा छिटो । ल्हासाबाट सिगात्से पुग्न ४५ सुरुङ पार गर्नुपर्छ ।

रेलमार्गमा पर्ने स्थानीयले रेलसेवामा जागिर पाएको सिगात्सेस्थित रेल सेवाकी सुधार उपनिर्देशक मायु फुङ्गले जानकारी दिइन् । तिब्बतमा रेल गुडाउनु स्वयं चीन सरकारले गौरवको विषय मान्छ । तिब्बत र नेपाल सीमा रेलमार्गले जोड्नु उनीहरूको रणनीतिक विषय पनि हो । चिनियाँ उच्च अधिकारीहरू यसलाई प्राथमिकतामा राखेको बताउँछन् ।

ल्हासामा सुन होइन, विकास

नेपालीमा उखान छ, 'ल्हासामा सुन छ, कान मेरो बुच्चै ।' तर सुन होइन, आफ्नै आँखाले विकास देखेपछि भन्नुपरेको छ, 'ल्हासामा विकास छ, हाम्रोमा कुरै ।' तिब्बत कोङ्का अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गरेको यात्रा बेइजिङ, गोन्जाओ हुँदै काठमाडौं फर्किंदा मनमा लागिरह्यो, 'नेपालमा राजनीतिक क्रान्ति पूरा भयो, विकास क्रान्ति कहिले ?'

प्रकाशित मिति: २०७१ भाद्र २१ ११:००

No comments: