Sunday, September 7, 2014

एमाओवादी मोर्चाले सम्झ्यो पृथ्वीनारायण

काठमाडौ, भाद्र २२ - पृथ्वीनारायण शाह जन्मेको पुस २७ गते राष्ट्रिय एकता दिवस पहिला धुमधाम मनाइन्थ्यो। जनआन्दोलनपछि बनेको सरकारले त्यसलाई नमनाउने निर्णय गर्‍यो। भर्खर शान्ति प्रक्रियामा आएको माओवादीले सामन्तवादी राजतन्त्रका सुरुवात गर्ने राजा भएको भन्दै रद्द गर्न दबाब दिएको थियो।
त्यही एमाओवादीको जातीय मोर्चाले यसपालि राष्ट्रिय एकता दिवस मनाउने भएको छ। मोर्चाका महासचिव गोपाल किराँतीले नेपाल एकीकरण गर्नु राम्रो भएको तर्क गरे । 'एकीकरण राम्रो कुरा हो, त्यसकारण पृथ्वीनारायणलाई सम्झन लागिएको हो,' उनले भने, 'यो सम्झनु भनेको मुलुक नयाँ एकीकरणको सुरुवात गर्नु पनि हो।'
मोर्चाको बैठकले पृथ्वीनारायणले जुन उद्देश्यका लागि एकीकरण गरेको भए पनि त्यसले नेपाल एक गराउन महत्त्वपूर्ण काम गरेको निचोड निकालेको हो। किराँतीले
यो अभियानले सबै जातजाति, क्षेत्रलाई एकीकरण हुन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पुस २७ गते नयाँ राष्ट्रिय एकीकरणको पक्षमा जनप्रदर्शन, प्रतिरोध सभा गरिनेछ।'
उनले पृथ्वीनारायणको शासन सामन्ती भएकाले न्याय नगरे पनि उनको एकीकरण गर्ने काम भने प्रशंसनीय भएको बताए। 'नेपाल एकीकरणबारे विगतमा चासो दिन छाडियो,' उनले भने, 'अब यसलाई नयाँ एकीकरण अभियानका रूपमा अघि बढाउनुपर्छ।' उनले एकीकरण स्मरण गर्नु कसैको जयजयकार नभएको पनि टिप्पणी गरे।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही समयअघि भारतीय प्रधानमन्त्री काठमाडौं आएका बेला भएको भेटमा दौरासुरुवाल लगाएका थिए। अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराईलगायतले पनि बेलाबेला ढाका टोपी लगाउने गरेका छन्। गोरखा घर भएका नेता भट्टराईले पनि विगतमा पृथ्वीनारायणको एकीकरणको प्रसंग कोट्याउँदै सकारात्मक भएको बताइसकेका छन्।
एमाओवादी भने यसमा कुनै निष्कर्षमा पुगेको छैन। 'पृथ्वीनारायणलाई सम्झने मोर्चाको निर्णय हो,' प्रवक्ता दीनानाथ शर्माले भने, 'पार्टीमा यसबारे छलफल भएको छैन।' किराँतीले भने एकीकरण गर्ने व्यक्तिलाई पार्टीले नै सम्झनुपर्ने धारणा राखे।
प्रकाशित मिति: २०७१ भाद्र २२ ०८:११ 

No comments: