Monday, September 22, 2014

मेरा ती दिन


समयको गति एकनासको हुन्छ, मान्छेको गति भने सधैं एकनासको हुँदैन । कहिले छिटो, कहिले सुस्त । यसरी अघि बढ्छ मान्छेको गति । समयकोे गतिलाई पकड्न खोज्ने प्रयास भने भइरहन्छ । ती दिन त्यस्तै थिए । लाग्थ्यो समयको गति नाप्ने मात्र होइन, जित्न सकिन्छ भन्ने भ्रम नभएको होइन । कति जितियो, कति हारियो, त्यसको लेखाजोखा गर्ने समय सायद भएको छैन । कुरा ती दिनका हुँदै थिए, जतिबेला ग्रामीण परिवेश छिचोल्दै नौ डाँडा काटेर समथर भूभाग झर्नु थियो । एकदम बिरानो लाग्ने त्यो भूभागमा पाइला टेक्दा कुनै नयाँ ‘देश’मा पुगेजस्तो ।
हुन त त्यो भूमि आफ्नै थियो । तर बिरानो लागिरहेको किन ? मनमा यस्ता प्रश्न नउठेका होइनन् । परिवेश नयाँ थियो । भूगोल नयाँ थियो । पात्रहरु नयाँ थिए । सबै नयाँ–नयाँ लाग्ने । कता–कता आफू पनि नयाँजस्तो । नयाँ देशको नयाँ यात्री जस्तो । उच्च शिक्षाको नयाँ यात्रा थियो त्यो । त्यो देशभित्रको नयाँ देश थियो । त्यो देशको विश्वविद्यालयमा पाइला राखेको दिन मनमा अंकुरण भएका विचारहरु महान लाग्थ्यो । महान भए भएनन्, खुट्याउन सक्ने अवस्था अहिले पनि छैन । त्यसबेला रुकुम एउटा नचिनिएको भूगोल जस्तो थियो । जहाँ गरिबी, अशिक्षा, असमानताले ग्रस्त पारेको थियो ।
alone_yatriबिरानो भूगोलको पाइला मेरा लागि नौलो थियो । आमाले बनाइदिएको रोटी झोलामा र खल्तीमा तीन हजार बोकेर आँखामा आशाका किरण लिएर ओर्लेको थिएँ म– दाङ । मसँग एउटा झोलाबाहेक केही थिएन भौतिक वस्तु । थियो त केवल आशा र विश्वासको महासागर । जसले मलाई तानेर ल्याइपु¥याएको थियो– दाङको महेन्द्र क्याम्पसमा ।
त्यसबेला कसले पत्याउने पहाडबाट झरेका, सरकारी स्कूल पढेका नवआगन्तुक विद्यार्थीलाई । न रहनसहन मिल्ने, न बोलीभाषा, न उठबस नै । भेडा भेडातिर, बाख्रा बाख्रातिर भनेजस्तो पहाडतिरका एक ठाउँ, सहर बजारका एक ठाउँ हुनु स्वभाविक थियो । अजंगको रुपमा उभिएको सीमारेखा तोड्न अजंगको पहाड चढेजस्तै थियो । पहाडी संस्कृतिमा हुर्केकाहरुका लागि धैर्य भएर मौन संघर्ष गर्नुको विकल्प थिएन । एकजना रुकुमबाट क्याम्पस पढ्न झरेकी छात्राले स्कर्ट लगाएर क्याम्पस जाँदा हाँसको बथानमा बकुल्लो भएको मलाई अहिले पनि आँखा अगाडि झलझली याद आउँछ । हाल स्कर्ट लगाउनेहरु बढ्न थालेका छन् । आखिर पढ्नु नै थियो, नपढी सुखै थिएन । त्यहीं चेतना बोकेर झरेका थियौं ।
समयको रफ्तारसँग बग्नु नै थियो । खल्ती रित्तो हुँदा साहुजीले उधारो नदिदा भोगेका दुःख, पीडा हाल सुखद सम्झनाको रुपमा छन् । कापी, कलम र किताब उधारो लिन खासै समस्या थिएन । प्रगति पुस्तक सदनका दाइ ‘मधुसूदन वैद्य–जिन्दावाद !’
रोल्पाबाट झरेका साथी नवीन बिभासले भाजीको सागमा झोल हालेर डेक्चीभरि पकाएको स्वाद अहिले पनि जिब्रोले बिर्सेको छैन । आजभोलि उनले निम्तो गर्दा त्यहीं भनिन्छ, ‘झोल हालेको भाजी (काठमाण्डौंमा रायो)को साग पकाउनू है ।’ तर उनले आजभोलि मरिगए झोल हालेको भाजीको सागको तरकारी पकाउदैनन् ।
समय जबर्जस्त घोराहीको माटोसँग परिचित गराउँदै थियो । वातावरण अलि खुकुलो बन्दै थियो । रझेनामा सुशील गौतम सरको घरमा डेरा नबसेको भए सायद कता पो पुुगिन्थ्यो होला । त्यो डेरा घरको प्रभाव र वातावरणले अक्षरको खेती गरेर खान सिकायो । सुशील सरको कहिलेकाहीं आवेग र कहिले भावनामा पनि गहिरो माया लुकेको हुन्थ्यो । त्यो माया सायद जिन्दगीमा कहिलै बिर्सन सकिदैन होला । जसरी आपतको बेला ओतमात्र होइन, जागिर दिएर हिम्मत र साहस दिनुभयो । तिनै कदममा अलिकति कदम थपेर काठमाडौंमा ताल मिलाउन सकिएको छ । त्यसबेला प्रेरणाको स्रोत नारायण गुरु, प्रताप सर, अमर गिरीलगायत पनि हुनुहुन्छ ।

०००
ती दिनलाई अहिले पनि सलाम गर्न मन लाग्छ । जसले अभावको बेला संघर्ष गर्न सिकाए । सजिलो भएको बेला सहज हुने बनायो । आखिर जिन्दगी सुख र दुःखको मिलन न रहेछ । दुःखलाई सुखमा बदल्नु पनि जीवनको कला रहेछ । दिमागमा कसले हाल्दियो थाहा छैन, ‘दुःखमा बाँच्न सिक, बाँकी कुरा मिल्दै जान्छ ।’ ती घोराहीका दिन त्यस्तै थिए । प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने नीति लिएका रहेछौं त्यसबेला । एक दिनको बाटो हिडेर सरकारी बैंकबाट ड्राफ्ट गरी पठाएको रुपैयाँ महिना दिनपछि हात पर्दा खुशीको सीमा नै हुन्थेन । अहिले भए मिनेटमा खल्तीमा पथ्र्यो होला पठाएको पैसा । समय–समयको बात होला त्यो पनि । समयले बीए दोस्रो वर्ष पुग्ने बेला आफ्नै खुट्टामा उभिन सिकायो । किसान बाबालाई राहत भो, छोरो आफै पढ्न सक्ने भयो ।
महेन्द्र क्याम्पस पढ्ने बेलामा कविता लेख्ने भूत चल्यो ! त्यसबेलाका कविता के मनमा जे आयो त्यही लेख्थे । मनमा लागेका कुरा कविताको फम्र्याटमा लेखिन्थ्यो । तैपनि जोस अचाक्ली । कविता नामको अनुच्छेद लेखेर सुनाइहाल्ने वा काठमाडौंका साप्ताहिक पत्रिकामा हुलाकबाट पठाउने नियमित दिनचर्या थियो । काठमाण्डौंका सम्पादकहरु हैरान हुन्थे होला । छापिनु छैन, तैपनि हरेक साता पठाइरहने जाँगर कस्तो होला ? आजभोलि काठमाडौंमा ती सम्पादकसँग कहिलेकाहीं भेट हुन्छ । त्यसबेला खुब कविता लेख्नुहुन्थ्यो, अहिले लेख्नुहुन्न ? मेरो जवाफ हुन्छ, ‘त्यसबेला कविता लेखिन्थ्यो, छापिदैनथ्यो, अहिले कविता लेखिन्न, छाप्ने ठाउँ धेरै छ ।’ यो पनि समयको खेल हो । कहिलेकाहीं नवीन बिभास उर्फ किरण पुन र हामी ठट्टा गर्छौं, ‘हामी ओझेलमा परेको चर्चित कवि हौं ।’ अहिले कवि र कविताको कुरा हुँदा गर्वसाथ चारजना मिलेर ‘मौसमका हरफहरु’ नामक संयुक्त कविता संग्रहको चर्चा गर्न पछि पर्दैनौं । आखिर कविताको नाममा देखाउने संग्रह त्यही हो । टीकाराम उदासी, नवीन विभास, उदय जीएम र म मिलेर ‘बहादुरी’का साथ त्यो संग्रह प्रकाशित गरेका थियौं । राप्ती अफसेट प्रेसमा छापेको पैसा चुक्ता गर्न सायद अझैं केही रकम बाँकी होला । बाँकी भए पनि त्यो मिनाहा भइसक्यो होला ।
पत्रकार कसरी बन्नुभयो ? यो प्रश्नको उत्तर दिन मलाई कुनै गाह्रो छैन । किनकि म पढेर वा तालिम गरेर पत्रकारितामा लागेको होइन । घोराही झर्दा मलाई पत्रकारितको ‘प’ पनि थाहा थिएन । समयले मानिसलाई परिबन्दमा यसरी पार्छ कि त्यसले कहिले सही बाटोतिर लान्छ, कहिले गलत । सशस्त्र द्वन्द्व चर्केको बेला थियो । एक साँझ सुशील सरको घरको बैठक कोठाको दृश्य झलझली याद आउँछ । ‘मलाई घरबाट पैसा आउने अवस्था छैन, युद्ध चर्केको छ, घर जान सकिदैन । यहाँ बसेर पढ्ने केही उपाय छ कि सर ?’ मेरो कुरा सुनेर सुशील सर भावुक हुनुभयो । एकछिन सोचेर भन्नुभयो, ‘भोलिदेखि गाउँघर साप्ताहिकमा आउनुहोला ।’
मैले जागिर नै पाएँ भन्ने एकिन थिएन । अर्को दिन गाउँघरको कार्यालयमा गएँ । त्यहाँ कसैलाई थाहा रहेनछ । बेलुका गाउँघरको बोर्ड बैठकले मलाई जागिर दिने निर्णय गरेछ । मेरो जीवनलाई मोड दिएको घटना यही हो । म पत्रकारितामा व्यावसायिक रुपमा लागेको घटना पनि यही हो । सुशील सरको घरमा डेरा नभएको भए म के हुन्थें, केही टुंगो थिएन । सायद, अहिले कुनै उच्च माविकोे हेडमास्टर हुन्थें कि ?
मैले त्यसबेला जागिर होइन, सायद जीवन पाएको थिएँ कि ? म भन्न सक्दिनँ । अहिले पनि म गाउँघर पत्रिकाको धरातलमा टेकेर हिडिरहेको छु । जब म न्युजरुममा बस्छु, ती दिन सम्झन्छु । अहिलेको न्युजरुम भव्य छ, त्यसबेलाको न्युजरुम सानो थियो तर त्यसमा मजा बेग्लै थियो ।
०००
अहिले पनि रुकुममा बस्ने मेरा ७० वर्ष नाघेका बालाई छोराले के काम गर्छ भन्ने खास जानकारी छैन । २०५४/०५५ तिर झन् मेरो पत्रकारिताबारे मेरा बालाई कुन चरीको नाम हो थाहा हुने कुरै भएन । ती दिनमा मेरा बा खुशीचाहिं थिए । किनकि छोराले सहरमा जागिर पायो, पैसा पठाउनु पर्दैन । बूढा गफ लाउदै हिडे पनि होलान् छोराले जागिर पायो भनेर ।
ती दिनमा सुख दुःखमा सँगै हुन्थ्यौं, घोराही नयाँबजारमा पसल गरिबस्ने नवीन विभास (कहिलेकाहीं पाइन्ट उधारो दिन्थे), चियाका पारखी उदय जीएम, जाजरकोटका साथी गुमानसिंह राना (युद्धमा मारिए) आदि । कविता लेख्न थालेपछि नवीन, उदय, टीकाराम उदासी, खम्बु चन्द, शशीराम ओली गोष्ठीतिर दौडेको अहिले पनि याद छ । अग्रज साहित्यकारहरुको नाम लिन आवश्यक भएन । किनकि उहाँहरुले हामीलाई खासै वास्ता गर्नुहुन्नथ्यो ।
हजारौं माइलको यात्रा पनि आखिर एक पाइलाबाट सुरु हुन्छ । अहिले पनि ‘भूतपूर्व चर्चित’ साहित्यकारमा दरिएका साथीहरु सँगै छौं । यात्रा जारी छ, यो यात्रा कहाँ पुग्छ, ठेगान छैन । ती दिनमा चालेका पाइला अहिले पनि आधारस्तम्भ हुन् । तिनलाई चाहेर पनि बिर्सन सकिदैन ।
http://saugat.nayayougbodh.com/?p=800

No comments: