Wednesday, April 20, 2011

दाहालद्वारा जनविद्रोहको कार्यदिशा स्थगित

गंगा बीसी

काठमाडौ, वैशाख ८ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल 'जनविद्रोह' को कार्यदिशा कार्यान्वयन गर्ने अवस्था नभएको भन्दै शान्ति र संविधानको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने मुख्य कार्यभारसहितको प्रस्ताव अगाडि सारेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा भएको पोलिटब्युरो बैठकमा बुधबार प्रस्तुत उनको यो प्रस्तावलाई उपाध्यक्ष बाबुराम भट्टराईले समर्थन जनाएका छन् । अर्का उपाध्यक्ष मोहन वैद्यले भने यसलाई अस्वीकार गर्दै केन्द्रीय समिति बैठकबाट टुंग्याउन माग गरेका छन् ।

दाहालले संविधानसभाको समयसीमा नजिकिँदै गर्दा 'संक्रमणकालीन कार्ययोजना' का रूपमा शान्ति र संविधानलाई टुंगोमा पुर्‍याएर अग्रगामी निकास निकाल्नुपर्नेमा जोड दिएका हुन् । पालुङटार बैठकले पारित गरेको 'जनविद्रोह' लाई मुख्य कार्यभार मानेको राजनीतिक दस्तावेज परिमार्जन गर्दै दाहालले यस्तो कार्ययोजना ल्याएका हुन् ।

पोलिटब्युरो बैठकमा प्रस्तुत तीन पृष्ठको 'तत्कालीन राजनीतिक प्रस्ताव' को शान्ति र संविधानमा जोड दिने मूलमर्मलाई अर्का उपाध्यक्ष भट्टराईले समर्थन गरेको एक पोलिटब्युरो नेताले जानकारी दिए । यसअघि विद्रोहको कार्यदिशाप्रति असहमति जनाउँदै भट्टराईले 'नोट अफ डिसेन्ट' लेख्दै आएका थिए ।

'संविधानसभा विघटन भए लोकतन्त्र विघटन हुने खतरा छ,' दाहालको राजनीतिक प्रतिवेदन उद्धृत गर्दै एक नेताले भने, 'शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याएर अग्रगामी निकास निकाल्नु अहिलेको मुख्य कार्यभार हो ।' उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सेना समायोजन र पुनःस्थापनाको मोडेलमा छलफल गरी अघि बढ्नुपर्ने बताएका छन् ।

शान्ति र संविधानलाई निष्कर्षमा पुग्न नदिने षड्यन्त्र भइरहेको उल्लेख गर्दै दाहालले संविधानसभाको म्याद समाप्त हुने दिन हेरेर प्रतिगामीहरूले षड्यन्त्रलाई तीव्रता दिएकाले जनविद्रोहको कार्यदिशा तत्कालका लागि थाती राखेका हुन् । वैद्यले पालुङटार बैठकको मूलमर्म विपरीत अध्यक्ष दाहालले एक्कासि राजनीतिक प्रस्ताव ल्याएको भन्दै त्यसलाई अस्वीकार गरी केन्द्रीय समितिमा छलफलमा लैजान माग गरेका थिए ।

'पदाधिकारी बैठकमा राजनीतिक प्रस्ताव ल्याउने कुरै भएको थिएन, ल्याउनुभयो अध्यक्षको अधिकारको कुरा हो,' वैद्यपक्षीय सचिव सीपी गजुरेलले कान्तिपुरसँग भने, 'पालुङटार बैठकपछि पार्टीले बनाएको कार्यदिशामा हेरफेर गर्नुभएको हुनाले किरण -वैद्य) र मैले केन्द्रीय कमिटीमा लैजाने

कुरा राख्यांै ।'

शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा वैद्यले फरक मतसहितको छुट्टै प्रतिवेदन पेस गर्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ । तर दाहाल र भट्टराई पक्षको स्पष्ट बहुमत रहेकाले केन्द्रीय समितिले दाहालले पेस गरेको प्रतिवेदन सहज रूपमा पारित हुने स्रोतको भनाइ छ । केन्द्रीय समितिमा कुरा नमिले वैद्य पक्षले राष्ट्रिय भेला वा महाधिवेशन माग गर्ने सम्भावना छ ।

उपाध्यक्ष वैद्यले शान्ति र संविधान निष्कर्षमा पुग्न नदिने षड्यन्त्र भइरहेको भन्दै विद्रोहमा जोड दिनुपर्ने बुधबारको बैठकमा अडान राखेका थिए । 'पालुङटार बैठकपछि पार्टीले लिएको कार्यदिशाको मूलमर्म अध्यक्षको प्रस्तावमा ठीक ढंगले आएको छैन,' वैद्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'यसमा सहमत हुन सकिन्न र केन्द्रीय समिति बैठकमै बहस गर्नुपर्छ ।'

केन्द्रीय समितिबाट बहुमतद्वारा पारित जनविद्रोहको मुख्य र शान्ति-संविधान सहायक भएको कार्यदिशालाई अर्को केन्द्रीय समिति बैठकले मात्र बदल्न सक्छ । वैद्य र गजुरेलबाहेक उपाध्यक्ष भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिव पोस्टबहादुर बोगटीले दाहालको राजनीतिक प्रस्तावप्रति समर्थन जनाएका थिए ।

'केन्द्रीय कमिटीले पारित गरेको कार्यदिशालाई पोलिटब्युरोले परिवर्तन गर्न सक्दैन,' गजुरेलले भने, 'त्यसकारण केन्द्रीय समिति बैठक बोलाएका हांै ।'

उपाध्यक्ष भट्टराईले केही विषयमा असहमति भए पनि अध्यक्ष दाहालले ल्याएको प्रस्ताव सकारात्मक भएको जनाएका थिए । 'वस्तुगत तरिकाले अध्यक्षले पछिल्लो राजनीतिक समीक्षा गरी प्रतिवेदन ल्याउनुभएको छ,' भट्टराईको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, 'यो प्रस्ताव सकारात्मक छ ।'

भट्टराईले पार्टीमा स्थायी गुट बनाउन नहुने उल्लेख गर्दै विषयवस्तुअनुसार समर्थन र विरोध हुने भन्दै मुलुकलाई निकास दिन दाहालको प्रस्ताव सकारात्मक भएको टिप्पणी गरेका थिए । दाहालको राजनीतिक प्रस्तावलाई भट्टराईले समर्थन गरेपछि वैद्य पक्ष सशंकित भएको स्रोतहरूले उल्लेख गरेका छन् ।

दाहालको प्रस्तावमा माओवादी संविधानसभाको सबभन्दा ठूलो पार्टी भएको हुनाले जिम्मेवारीबोधका साथ अगाडि बढ्न नयाँ प्रस्ताव ल्याइएको उल्लेख छ । 'नेपालको राजनीति माओवादी केन्दि्रत भएको हुनाले बढी जिम्मेवार हुनुपर्छ,' दाहालको भनाइ थियो, 'सेना समायोजन र पुनःस्थापना प्रक्रिया अगाडि बढेन भने संविधानले पनि गति लिन सक्दैन ।' ती नेताका अनुसार पालुङटार बैठकपछि केन्द्रीय समितिले लिएको जनविद्रोहको कार्यदिशापछि मुलुक जटिलतामा फसेको महसुस गरी दाहालले 'त्याग' का रूपमा नयाँ प्रस्ताव ल्याएका हुन् । उनले यो कार्यदिशा राजधानीको चिसापानीस्थित एक रिसोर्टको एकान्तमा गई तयार पारेका थिए ।

दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले पार्टीले जनविद्रोहको कार्यदिशा छाडेको नभई संक्रमणकालीन कार्ययोजना ल्याएको बताए । 'शान्ति र संविधानलाई कसरी निष्कर्षमा पुर्‍याउन सकिन्छ भनेर यो कार्ययोजना ल्याएका हौं,' उनले भने, 'जनविद्रोह छाडेको होइन ।' प्रस्तावमा दाहालले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन जनपरिचालन गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

शान्ति र संविधानलाई

निष्कर्षमा पुग्न नदिन मुलुकमा बम विस्फोटको शृंखला जारी राखी संविधानसभा बिथोल्ने प्रयत्न भइरहेको निष्कर्ष निकाल्दै

दाहालले संविधानसभाको म्याद थप्ने/नथप्ने अनिश्चय भएको उल्लेख गरेका छन् । उनले संविधानसभाको बाँकी अवधिमा राजनीतिक निकासका लागि प्रयास गर्नुपर्ने जनाएका छन् ।

मन्त्री चयन मुद्दा ओझेलमा

अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यबीच तत्कालीन कार्ययोजनाबारे असहमति भएपछि मन्त्री चयनको मुद्दा ओझेलमा परेको थियो । गृहमन्त्री चयनको विवाद अब भने कार्ययोजनासम्म पुगेको छ । प्रवक्ता दीनानाथ शर्माले मन्त्री चयनको विषय 'झिनोमसिनो' भएको टिप्पणी बैठकपछि गरे । केन्द्रीय समितिमा दाहालको प्र्रतिवेदनमाथि लामो छलफल हुने भएकाले मन्त्री चयनको मुद्दा थप ओझेलमा परेको हो । मन्त्री चयनको विवाद केन्द्रीय पदाधिकारी, स्थायी, पोलिटब्युरो हँुदै केन्द्रीय समितिसम्म पुगेको छ ।

प्रकाशित मिति: २०६८ वैशाख ८ ०८:३३

No comments: