Saturday, April 30, 2011

UCPN Maois new decesion

मोडियो माओवादीको बाटो


गंगा बीसी
 
काठमाडौ, वैशाख १७ - 'जनविद्रोह' को गोरेटोमा हिँडेको करिब ६ महिनापछि शुक्रबारबाट माओवादी 'शान्ति र संविधान' को बाटोतर्फ मोडिएको छ । गत मंसिर पहिलो साता 'पालुङटार प्लेनम' बाट जनविद्रोह मार्ग समातेको माओवादीको साता लामो केन्द्रीय समिति बैठकले शुक्रबार शान्ति र संविधानालाई केन्द्रबिन्दुमा राखेको अध्यक्ष पुष्पकमल दाहालको 'तत्कालीन राजनीतिक प्रस्ताव' बहुमतले पारित गरेको हो ।
दाहालको प्रस्ताव पारित भएपछि यसअघि पार्टीले सारेको जनविद्रोहको कार्यदिशा औपचारिक रूपमा स्थगित हुन पुगेको छ । दाहालविरुद्ध छुट्टै प्रस्ताव ल्याएका उपाध्यक्ष मोहन वैद्यको जनविद्रोहको तयारीमा लाग्नुपर्ने प्रस्ताव भने अल्पमतमा परेको छ । आफ्नो प्रस्ताव पारित नभए पनि बहुमतबाट पारित शान्ति र संविधानको प्रस्तावलाई कार्यान्वयनमा लैजान वैद्य सहमत भएका छन् । दाहालको प्रस्तावको मूलभावना शान्ति र संविधान मुख्य र जनविद्रोह सहायक मान्ने र कांग्रेस-एमालेसँग मिलेर संविधानको एकीकृत मस्यौदा बनाउने विषयमा असहमति जनाउँदै वैद्यले फरक मत (नोट अफ डिसेन्ट) लेखेका छन् ।
 जेठ १४ सम्म पार्टीले ल्याउने कार्यक्रममा आफ्नो पक्षको सहमति भए पनि राजनीतिक परिस्थितिको मूल्यांकनमा आफ्नो असहमति भएको वैद्यले बताए । 'अध्यक्षको वर्तमान परिस्थितिको मूल्यांकनमा मेरो असहमति हो,' वैद्यले बैठकको निर्णयपछि कान्तिपुरसँग भने, 'मेरो फरक मतलाई पहिले नै तय भएको विधिबाट तलसम्म लैजाने कुरा हुन्छ ।'
 यसअघि अर्का उपाध्यक्ष बाबुराम भट्टराईको अध्यक्ष दाहालविरुद्ध ल्याएको शान्ति र संविधानलाई मुख्य जोड दिने फरक मतलाई पाँचबुँदे विधिमार्फत पार्टीको स्थानीय तहसम्म लैजाने निर्णय भएको थियो । यसपटक पनि वैद्यको फरक मतलाई त्यसरी स्थानीय तहसम्म छलफलका लागि लिइने छ ।
 केन्द्रीय कमिटी बैठकमा वैद्यले दाहालको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आफ्नो फरक मत जाहेर गरेका थिए । उनले लिखित विस्तृत फरक मत भने अब बस्ने बैठकमा राख्ने छन् । दाहालको प्रस्ताव पारित भएलगत्तै वैद्यले आफूनिकट नेताहरूसँग लिखित प्रस्तावका विषयमा छलफल गरेका थिए । संविधानसभाबाट 'जनमुखी' संविधान बन्न नसक्ने भन्दै वैद्यले जनविद्रोहको विकल्प अघि सारेका थिए ।
 आफ्नो प्रस्ताव पारित भएलगत्तै शुक्रबार 'समाचार' नामक पत्रिकाको विमोचन गर्दै दाहालले केन्द्रीय कमिटी बैठकको निर्णयले खुसीको सञ्चार गराएको बताए । 'नेपाली जनताले चाहेजस्तो शान्ति र संविधान बनाउने पार्टीले भर्खरै निर्णय गरेको छ,' उनले भने, 'यसले नेपाली जनतामा खुसी ल्याएको छ ।'  केन्द्रीय कमिटी बैठकले दाहालको प्रस्ताव पारित गरे पनि शान्ति र संविधान सफल पार्न गरिने कार्यक्रम ल्याउन दुवै पक्ष सहमत भएका छन् । 'शान्ति र संविधानका लागि हुने कार्यक्रम दुवै प्रतिवेदनमा समान भएकाले पारित भएको छ,' बैठकपछि स्थायी समिति सदस्य देव गुरुङले भने, 'सैद्धान्तिक विषय मात्र बहुमतले पारित भएको छ ।'
 दुवै प्रस्तावमा बोल्ने क्रममा एक सय ४८ जना केन्द्रीय सदस्यले धारणा राख्ने क्रममा करिब एक सय बढीले दाहालको प्रस्तावलाई समर्थन गरेका थिए । त्यसकै आधारमा उनको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिएको थियो । दाहाल, वैद्य र भट्टराईबीच सहमति जुटाउन पटक-पटक प्रयास भएको थियो ।  पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पार्टी 'युद्धस्तरमा शान्ति र संविधानको पक्षमा लाग्ने' निर्णय भएको बताए । 'शान्ति र संविधानमा केन्दि्रत भएर कार्यक्रम गर्ने निर्णय हो,' उनले कान्तिपुरसँग भने, 'अब शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने जिम्मेवारी माओवादीकै हो ।'
जनविद्रोहलाई स्थगित गरेको आफ्नो प्रस्ताव पारित भएपछि अध्यक्ष दाहाल उत्साहित भएका छन् । उनले शुक्रबारै कांग्रेस, एमालेका नेताहरूसँग संवाद थालेको उनीनिकट नेताहरूले बताएका छन् ।
'समायोजन मोडालिटी पहिलो काम’
केन्द्रीय समिति बैठकले विशेष गरी शान्ति र संविधानलाई अघि बढाउने निर्णय गरेको छ । कांग्रेसले शान्ति प्रक्रिया अघि बढाए मात्र संविधानका कामले तीव्रता पाउने बताइरहेकै बेला उसले लडाकु समायोजन र पुनःस्थापनाको मोडेललाई प्राथमिकता दिने भएको छ ।
'सेना समायोजनको मोडेल र संविधानको एकीकृत मस्यौदा बनाउने हाम्रो मुख्य जोड रहनेछ,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'त्यसबारे प्रमुख राजनीतिक दलसँग ढिलो नगरी छलफल अघि बढाइने छ ।' लडाकु समायोजनको मोडालिटी तय भइसकेपछि मात्र लडाकुको समायोजन हुन चाहने र पुनःस्थापना हुनेको समूह विभाजन अघि बढाउने छ ।





"शान्ति र संविधानका लागि एक भएर जान्छौं"
                                                          –मोहन वैद्य

तपाईंको प्रस्ताव अल्पमतमा पर्‍यो, अब कसरी अघि बढ्नुहुन्छ ?
अध्यक्षले ल्याएको प्रस्तावको मूलभावना बहुमतले पारित भएको छ । उहाँ र मेरो प्रस्तावमा उल्लेख भएका कार्यक्रम मिलाएर एउटै बनाउने कुरा पनि भएको छ । सेना समायोजन र संविधान निर्माणको कुरामा एक भएर जाने निर्णय भएको छ ।
तपाईंले फरक मत राख्नुभएको छ, त्यो के हो ?
अध्यक्षले वर्तमान परिस्थितिको जुन मूल्यांकन गर्नुभएको छ । प्रतिक्रान्ति रोक्न शान्ति र संविधानमा जोड दिनुभएको छ । प्रतिक्रान्ति रोक्न अरू पनि उपाय छन् । त्यसमै मेरो असहमति हो । शान्ति र संविधानसभाका कार्यक्रमबाहेक अरू विषयमा मेरो असहमति छ ।
अब फरक मतलाई कसरी लैजानु हुन्छ ?
अध्यक्षको प्रस्तावका मूलभावनामा मेरो फरक मत हो । फरक मत पार्टीको तल्लो निकायसम्म लैजाने विधि हामीले पहिले नै तय गरिसकेका छौं । त्यही विधिअनुसार मेरो फरक मतलाई तलसम्म लैजाने कुरा हुन्छ ।
पारित प्रस्ताव कार्यान्वयनमा तपाइको सहयोग रहन्छ ?
दुवै दस्तावेजमा शान्ति र संविधानका लागि गर्ने कार्यक्रममा हाम्रो सहमति भएको छ । असहमत भए पनि पारित प्रस्ताव कार्यान्वयन गर्ने कुरा हुन्छ । पहिले तय विधिअनुसार अघि बढ्छौं ।

कान्तिपुरमा  प्रकाशित मिति: २०६८ वैशाख १७ 
 

No comments: