Saturday, February 4, 2012

माओबादीमा घोचपेच

काठमाडौं, माघ २१ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई 'पाहुना' प्रशिक्षकका रूपमा देशव्यापी प्रशिक्षणमा सहभागी भए ।
उनीहरूले त्यहाँ कुनै लामो सैद्धान्तिक व्याख्या गरेनन्, बरु ठट्यौली तरिकाले एकले अर्काेलाई व्यंग्य गरे । एकले अर्कोलाई 'खेदो' नखन्ने विधि बनाएपछि तीनै नेताले व्यंग्यको सहारा लिनुपर्‍यो ।
दाहाल, वैद्य र भट्टराई हेलिकप्टर, जहाज चढेर त्यही दिन राजधानी र्फकने गरी प्रशिक्षणमा सहभागी भएका हुन् । फुटको मानसिकतामा पुगेका कार्यकर्तालाई तीन नेता एक ठाउँमा देखाउन उनीहरू पाहुना प्रशिक्षकजस्तै कार्यक्रममा सहभागी हुँदै आएका छन् । माघको पहिलो साता राजधानीको खन्ना गार्मेन्टबाट सुरु भएको प्रशिक्षण शुक्रबार विराटनगरमा पुगेर सकिएको छ ।
प्रशिक्षणमा वैद्य र भट्टराईबीच बढी व्यंग्य चल्यो, त्यसका रमिते बने दाहाल । वैद्यले भट्टराईको नेतृत्वको सरकारलाई बढी व्यंग्य गरे । 'यो सरकार नखाऔं भने दिनभरिको सिकार खाआंै भने कान्छा बाउको अनुहार भएको छ,' वैद्यको भनाइ थियो, 'आफैंले बनाएको सरकारलाई नफाल्न सकिन्छ, न समर्थन ।' यो व्यंग्य सुनेपछि भट्टराईले आफू पार्टीको सिपाही भएकाले फिर्ता हुन पनि तयार भएको प्रशिक्षणकै दौडानमा बताए । 'म पार्टीको सिपाही हुँ, पार्टीले निर्णय गरे कुर्सीमा बसिरहन मलाई मन छैन ।'
यसअघिका प्रशिक्षणजस्तो कार्यदिशाबारे चर्को बहस किन भएन ? पोलिटब्युरो सदस्य अग्नि सापकोटा सडक, टोलटोल पोखिएको पार्टी एक गराउनु मुख्य काम भएकाले शान्ति र संविधान कि जनविद्रोह भन्नेमा चर्को बहस भएन । 'परिस्थिति धेरै बिगि्रइसकेको थियो,' उनले भने, 'सडक, टोलटोलमा पोखिएको पार्टीलाई एकता बनाउन तत्कालीन योजनामा मात्र प्रशिक्षण भयो । यसको मुख्य उद्देश्य एकताको वातावरण बनाउनु थियो ।'
केन्द्रको झगडाको प्रभाव तल्लो समितिमा यसरी पर्‍यो कि धेरै जिल्ला तहका नेताबीच बोलचालसमेत बन्द थियो । प्रशिक्षणमा उनीहरूले केन्द्रमा शीर्ष नेता मिल्ने तल कार्यकर्ता लडाउने भनी गुनासो गरेका थिए । 'तपाईंहरू रातारात झगडा गर्नुहुन्छ, रातारात मिल्नु हुन्छ,' उनीहरूको गुनासो थियो, 'हाम्रो बोलचाल बन्द छ, हाम्रा मन फाटेका छन्, कसरी जोड्नुहुन्छ ?'
अर्का पोलिटब्युरो सदस्य नारायण शर्माले वैचारिक एकता कायम गर्न 'विधि' पार्टी एक भएको बताए । 'दुई लाइन संघर्षका क्रममा नेता तथा कार्यकर्ताका मन फाटे पनि जोड्ने वातावरण बन्दै गएको छ,' उनले भने, 'अहिले फरक विचारलाई छलफल गर्ने विधिमा एकता भएको छ । विस्तारै वैचारिक राजनीतिक एकता हुने वातावरण बन्दै जान्छ ।' राजनीतिक र वैचारिक कार्यनीतिमा बहस गरेको भए बनेको एकता पनि भत्कने खतरा थियो । जसरी पनि पार्टी एकता गराउन नेताहरू वैचारिक बहसतिर गएनन् । आफ्नो कुरा भन्नै परे, आरोप नलगाई कुरा राखे । 'पार्टी एकता गराउन हामीले विचार, राजनीति र कार्यनीतिको बहस गरेनौं,' पोलिटब्युरो सापकोटाले थपे, 'तत्कालको कार्यनीतिमा बहस गर्नुको अर्थ पार्टी एक बनाउने र शान्ति संविधानलाई अघि बढाउने हो । प्रशिक्षणमा नेताहरूले 'यो आवश्यकताको एकता' भएको बताए ।
 दाहाल र भट्टराईबीच करिब डेढ वर्षअघि भएको अन्तरसंघर्षपछिका प्रशिक्षणमा राजनीतिक कार्यदिशाबारे चर्को राजनीतिक र वैचारिक बहस भएको थियो । यसपटक त्यो रूपमा नहुनुको कारण जसरी पनि पार्टी जोगाउने उद्देश्य थियो ।
जेठ १४ गतेसम्मका लागि फरक मतलाई खुला छलफलमा लाने सहमति भएपछि माओवादीका प्रशिक्षण पार्टी एक भएको सन्देश कार्यकर्तालाई दिनका लागि मात्र भएका जस्ता देखिन्छन् । आ-आफ्नो कार्यदिशालाई थाती राखेर एकता गरेका नेताहरू आ-आफ्नो अडानमा भने कायम छन् । वैद्य जनविद्रोहको नीति र दाहाल-भट्टराईले शान्ति र संविधानको बाटो छाडेका
छैनन् । दाहालले 'जनविद्रोह' को नीति लिएको जस्तो देखिए पनि त्यो केबल पार्टी एकताका लागि लिइएको कदम हो । दाहालले यसलाई 'सर्प पनि मर्ने लौरो पनि नभाँचिने' हतियारको रूपमा लिएका छन् । जनविद्रोहको शब्दावली राख्दैमा पार्टी एकता हुने भएकाले सहमतिको साझा प्रस्तावमा उनले त्यसै गरे ।
तीनै नेताले भने, 'घेराबन्दीमा परिएकाले मिल्नुको विकल्प थिएन’
विराटनगर- माओवादी शीर्ष नेताहरूले पार्टीको आन्तरिक एकत 'आवश्यकताको मिलन' भएको बताएका छन् । 
कुम जोडाएर बसेका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्षहरू बाबुराम भट्टराई र मोहन वैद्यले कार्यकर्ता प्रशिक्षणमा आफ्ना तर्क बलियोसँग राखे । 'अन्तरलाइन संघर्ष' लाई मत्थर पार्ने उद्देश्यले माओवादीका तीनवटा राज्य समिति सदस्य स्तरभन्दा माथिका कार्यकर्तालाई प्रशिक्षण र कोचिला राज्य समितिभित्रका जिल्ला कमिटी सदस्यहरूको छुट्टाछुट्टै प्रशिक्षणमा बोल्दै तीनै जना नेताले पार्टीभित्र फरक मतलाई एकातिर राख्दै वर्तमान कार्ययोजनामा मात्र सहमति भएको जिकिर गरिरहेका थिए ।
तीनै जना नेताको एउटै भनाइ थियो, 'यो एकता आवश्यकताको मिलन हो, परिवर्तन नचाहने शक्तिहरूको घेराबन्दीमा परिसकेकाले मिल्नुको विकल्प थिएन ।' बन्द प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल मिल्नुको विकल्प नरहेको बताए । उनले भने, 'मिल्न सक्ने बुँदामा मिलाएर जाने, मिलाउन नसक्ने बुँदामा संवाद गरेर अघि बढ्ने, संवादमा पनि नमिले जनतासम्म जाने, जनतामा जाँदा पनि नमिले नयाँ विधिको खोजी गर्ने विन्दुमा मिलेका छौं ।'
बन्द सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष वैद्यले यो मिलाइ विश्वमा अन्यत्र कतै नभएको मिलाइको संज्ञा दिँदै यो मिलनलाई अन्तिम पटकको मिलन भएको जिकिर गरेको सहभागी एक स्रोतले
बताए । शिविरका चाबी बुझाउनेदेखि बिप्पा सम्झौतासम्म आइपुग्दाका आफ्ना फरक मत यथावत् रहेको भन्दै तत्कालीन कार्यक्रममा मात्र सहमतिसाथ अघि बढ्ने कुरामा मात्र मिलन भएको वैद्यको भनाइ थियो । विद्रोहको विकल्प नरहेको भन्दै जुन बाटोबाट हिँडे पनि  विद्रोहमा नगई सुखै नभएको उनको भनाइ थियो ।
प्रधानमन्त्री एवं अर्का उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानको बाटो छाडे पार्टीलाई क्षति हुने भन्दै यसको कार्यभार माओवादीको काँधमा रहेकाले पूरा गर्नुपर्नेमा जोड दिए । उनले अहिले संघीयतालगायत कुरामा अन्य राजनीतिक दलसँग कुरा नमिलेकाले त्यहाँ संघर्ष गरिरहेको बताए । 'यो मिलन चाहनाको नभई आवश्यकताको हो, पार्टीमा षड्यन्त्र गर्नभन्दा संघर्ष गर्न सबैले सिक्नुपर्छ,' भट्टराईले भने, 'पार्टी एक भएमात्र क्रान्ति सम्भव हुन्छ भन्ने कुरा सबैलाई हेक्का हुनु जरुरी छ ।'
लामो समय अन्तरसंर्घषपछि तिनै नेतालाई एकसाथ देख्दा कार्यकर्ता उत्साहित देखिन्थे । 'यो नाटकमात्र नहोस्, बन्द सत्र हुने हल अघिल्तिर भेटिएका एक जिल्ला नेताले भने, 'यो एकतालाई व्यवहारमा उतारेमात्र कार्यकर्ताहरूमा विश्वासको दियो जाग्ने छ ।'
पार्टीभित्रको 'अन्तरसंघर्ष' विभाजनको विन्दुसम्म पुगेपछि केन्द्रीय समितिको बैठकमार्फत विवादको व्यवस्थापन गरेको माओवादी पार्टी एकताको सन्देश दिने उद्देश्यले ब्युरोस्तरसम्म प्रशिक्षण कार्यक्रममा लागेको छ ।
अध्यक्ष दाहाल, उपाध्यक्षहरू भट्टराई र वैद्य एकसाथ विराटनगर विमानस्थलमा उत्रिएका
थिए । विमानस्थलबाट भट्टराई सरकारी गाडीमा तीनपैनीस्थित कोचिला राज्य समितिको कार्यालय पुगेका थिए । अन्य कार्यक्रममा जाँदासमेत दाहाल-वैद्यले एउटै गाडीमा बसेर कार्यकर्तालाई एकताको सन्देश दिन खोजेका थिए । साँझ उनीहरू त्यही गाडीमा विमानस्थल पुगेका थिए ।
दाहाल र भट्टराईका बीचमा बसेका वैद्यलाई संवाददाताहरूले दुई जनाको चेपुवामा परेर मिल्नु भएको हो भन्ने प्रश्न गर्दा हाँसो छाएको थियो । सँगै रहेका दाहाल र भट्टराई हाँस्दासमेत मौन रहेका वैद्यले संघर्ष र एकता जारी रहने उत्तर दिएका थिए ।

No comments: