Thursday, February 9, 2012

किन हुन्छ प्रचण्डमाथि प्रहार ?

गंगा बीसी
 
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बेलाबेला आफूमाथि चौतर्फी आक्रमण भइरहेको बताउने गरेका छन् । माओवादी प्रमुख भएका कारण उनीमाथि वैचारिक र राजनीतिक आक्रमण हुनु अस्वाभाविक पनि होइन । तर प्रचण्डले अवश्य पनि हेक्का राखेको हुनुपर्छ, कुन अवस्थामा उनीमाथि आक्रमण भएको छ ?
जब मुलुकको राष्ट्रिय राजनीतिमा संकट आउँछ, त्यसबेला एउटा राष्ट्रि्रय नेताको खोजी हुन्छ । जब प्रचण्डले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने कुरा गर्छन्, पार्टीको दायराभन्दा बाहिर गएर त्याग गर्ने बताउँछन्, तब मुलुकले आशाको आँखाले उनीतिर हेर्छ । उनी राष्ट्र्रकै नेता बन्ने लक्षण देखिन्छ । तर जब प्रचण्डले 'जनविद्रोह'को हुंकार छाड्छन्, त्यसबेला मुलुक फेरि स्तब्ध हुन्छ । प्रचण्ड राष्ट्रको होइन, एउटा गुटको नेता बन्न पुग्छन् । त्यसैबेला उनीमाथि राजनीतिक र वैचारिक आक्रमण बढी हुन्छ । अनि प्रचण्ड भावुक बन्छन् र भन्छन्- मलाई चौतर्फी घेराबन्दी गरेर आक्रमण गरिँदैछ ।
माओवादीका खरिपाटी वा पालुङटार बैठकमा प्रचण्डको अनुहारमा जनविद्रोहको लाली चढेको थियो । तर त्यो लाली उनलाई खासै सुहाएन । बन्दुक, बारुद र गोलीले होली खेल्ने बेला उनलाई युद्धको, जनविद्रोहको लाली खुबै सुहाउँथ्यो । अहिले उनलाई जनविद्रोहको लाली चढेको अनुहार सुहाउँदैन । विस्तृत शान्ति सम्झौता गरेपछि उनलाई शान्ति र संविधान बोकेकै अनुहार सुहाउँछ । तर बेलाबेलामा उनी विद्रोहतिर ढल्कन खोज्छन् । गत साउनमा उनले साहसिक निर्णय गरे, जनविद्रोहको कार्यदिशा स्थगित गर्ने । त्यसबेला उनले त्यसलाई 'बोल्ड डिसिजन' भने । त्यो बोल्ड डिसिजन नै थियो । त्यसपछि उनले शान्ति र संविधानलाई केही गतिसमेत दिए । धेरैलाई लाग्यो, प्रचण्ड राष्ट्रकै नेता बन्ने बाटोमा छन् । पार्टीभित्र मोहन वैद्य पक्षको चर्को विरोधबीच उनले आफ्नो गतिलाई कमी गरेनन्, बरु अझै बढाए । वैद्य पक्षले कडा प्रहार गरे पनि अन्य थुप्रैले उनको प्रशंसा गरेका थिए ।
प्रचण्डप्रति जति अपेक्षा छ, त्यति नै आक्रोश आउनु अस्वाभाविक होइन । उनले बाटो बिराउँदा निम्तिने आक्रोशलाई आक्रमणको रूपमा बुझे भने भूल हुनेछ । आखिर शान्ति र संविधानको बाटो लिएको बेला उनले कम्ती स्याबासी पाएका होइनन् । गत साउनयता उनले कतिपय अवस्थामा पार्टीको दायरा नाघेर पनि शान्ति र संविधानका पक्षमा कदम चाले । उनले ती कदम माओवादी पार्टीका लागि भनेर गरेका थिएनन्, मुलुकका लागि गरेका थिए । उनले भन्दै र गर्दै गए- मुलुकका लागि गरेको त्याग र बलिदानलाई अन्यथा ठानिन्छ भने म शान्ति र संविधान टुंगोमा पुर्‍याएर संन्यास लिन तयार छु ।
पछिल्लो समयमा प्रचण्डले प्रधानमन्त्री हुने मोह त्यागिसकेका छन् । यसलाई धेरैले राजनेता बन्ने संकेतका रूपमा बुझे । उनले संविधान निर्माण हुनुअघि प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । त्यो त्यागले मुलुकलाई निकासको बाटोतिर लैजाने दाबी गरेका थिए । हुन पनि उनले प्रधानमन्त्रीको मोह त्यागेपछि शान्ति र संविधानले केही गति लिएको थियो । त्यसयता एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका
छन् । यसो हुनुमा प्रचण्डको त्याग थियो । मुलुकले संक्रमणकाल पार नगर्दासम्म प्रचण्डको त्याग आवश्यक छ, जुन उनले पनि बुझेको हुनुपर्छ ।
प्रचण्ड विस्तृत शान्ति सम्झौताका एकमात्र जीवित हस्ताक्षरकर्ता हुन् । त्यो सम्झौताको मूलमर्म शान्ति प्रक्रियालाई टुंग्याउनु र नयाँ संविधान लेखन पूरा गर्नु हो । अहिलेसम्म यी दुवै काम अधुरै छन् । यसको अर्थ प्रचण्डको काम पनि अधुरै छ । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि यो अभिभारा प्रचण्डको काँधमा आएको छ । उनी आफैंले पनि स्वीकारेको कुरा हो यो । तर बेलाबेला उनी जिम्मेवारीबाट भाग्न खोजेजस्तो देखिन्छ । धेरैको चाहना उनले द्वैध चरित्र त्यागुन् भन्ने छ । दुइटा डुंगामा खुट्टा राख्ने प्रवृत्ति न प्रचण्डको हितमा छ, नत राष्ट्रको ।
माओवादी अध्यक्ष प्रचण्डलाई कांग्रेस सभापति सुशील कोइरालाले 'हिरो हुने मौका नगुमाउन' भनिरहेका छन् । माओवादी बाहेकले उनलाई राजनेता बन्न सुझाव दिइरहेका बेला माओवादी उपाध्यक्ष मोहन वैद्यले चाहिँ राजनेता होइन, विश्व सर्वहाराको नेता हुन हौस्याएका छन् । प्रचण्ड स्वयम्ले राजनेता र विश्व सर्वहारा नेतामा खास फरक नपाएको बताएका
छन् । यसको अर्थ हो, उनी राजनेता बन्न चाहन्छन् । प्रचण्ड राजनेता बन्ने सुनौलो अवसर पनि यतिबेला छ । किनभने नेपाली राजनीतिको साँचो अहिले धेरै हदसम्म उनकै हातमा छ । उनले त्यो साँचो दायाँ घुमाउँदा नेपाली राजनीतिको गाँठो फुक्छ, बायाँ घुमाउँदा अझ जेलिएर जान्छ । त्यसलाई कतातिर घुमाउने, उनकै भूमिकामा भर पर्छ । प्रचण्ड राजनेता बन्ने कि एउटा कम्युनिष्ट पार्टीको अध्यक्षमात्रै रहने भन्ने पनि यसमै निर्भर छ ।
प्रचण्ड राजनेता हँुदा पार्टीको नेता पनि रहन सक्छन्, तर पार्टीको नेतामात्र हँुदा राजनेता बन्न सक्दैनन् । त्यसका लागि उनले दुइटा काम अनिवार्य गर्नुपर्छ । पहिलो, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, दोस्रो संविधान लेखेर मुलुकलाई स्थायी बाटोमा लैजाने । पहिलेजस्तै विद्रोही नेता बन्ने हो भने त उनीसामु जनविद्रोहको बाटो पनि छ । हुन त उनले पार्टी केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जनविद्रोह गर्ने प्रयास असफल भएको स्वीकारिसकेका छन् । शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याएर हुने चुनावबाट अघि बढ्ने जनाएका छन् । यदि अहिले पनि उनको बुझाइ यही हो भने उनी सही बाटोमा छन् । यसैले उनको र सबैको हित गर्छ ।
प्रचण्डले जनताको चाहनाअनुसार शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याएर संक्रमणकालको अन्त्य गर्नुपर्छ । उनले बाटो बिराए भने राजनीतिक र वैचारिक प्रहार अहिलेभन्दा तीव्र हुनेछ । गतिरोधको गाँठो फुकाएर शान्ति/संविधान टुंग्याए भने नेताबाट राजनेता बन्ने अवसर आउनेछ

No comments: