Saturday, October 13, 2012

दाहालका बदलिंदा प्रस्तावले निकास देला ?

काठमाडौं, आश्विन २७ - पटक पटक रणनीति  फेर्न पोख्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल ले यो साता फेरी फरक एजेन्डा अघि सारे-  सहमति भएका विषय समेटेर संविधान जारी गर्ने र बिवादित विषयको टुंगो अर्को संसद वा जनमत संग्र्रहबाट लगाउने ।
संविधानसभा बिघटन भएको साढे तीन महिनामा उनले फरक फरक प्रस्ताव ल्याउनुको रणनीति के हुन सक्छ ? राजनीतिक विश्लेषकहरु भन्छन्-   उनको यो कांग्रेस र एमालेभित्र खेल्ने चालबाजी हो । उनी एकातिर कांग्रेसका एउटा डफ्फालाई खुसी पार्न संविधानसभा पुनःस्थापनामा जोड दिइरहेका छन् भने अर्कातिर एमालेलाई खुसी पार्न चुनावको बिकल्प पनि रहेको बताइरहेका छन् । विश्लेषकको तर्कमा, दाहाल राजनीतिक निकास होइन माघमा हुने महाधिवेशनसम्मै यही सरकारलाई निरन्तरता दिन चाहन्छन् । त्यसैले उनले महिनैपिच्छे फरक फरक एजेण्डा अघि सारेर उन समय खपत गरीरहेका हुन् ।
उनको पछिल्लो प्रस्तावले कांग्रेसलाई अलमल्ल पारेको छ । उनका पछिल्ला अभिव्यक्तिसगै कांग्रेसभित्र दुई प्रभावशाली नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल पुनःस्थापनाको पक्षमा झन् खुलेर लागेका छन् भने सभापति सुशील कोइराला अन्यमनस्क छन् ।
संविधानभसा बिघटन भएपछि सुरुमा दाहालले संघीयताका विषयमा सहमति गरी संविधानसभा पुनःस्थापनामा जोड दिए । त्यसपछि ताजा निर्वाचनमा जाने तयारी गरे र मधेशी र साना दलसंग गठबन्धन बनाए । अहिले बिवादित विषय पछि अर्को संसद वा जनमत संग्रहले टुंगो लगाउने गरी संविधान जारी गर्न पुनःस्थापनाको प्रस्ताव गरेका छन् । ताजा निर्वाचनको निर्णय गरेर बसेको एमालेका लागि पनि निर्वाचनमै जान सकिने विकल्प खुलै राखेका छन् ।
यसरी अनेकथरी प्रस्ताब ल्याउन थालेपछि विपक्षी कांग्रेस एमाले भने दाहालका कुराप्रति नै शशंकति हुन थालेका छन् । अझ रोचक पक्ष त के भने पछिल्लो पटक दाहालले संविधानसभा बिघटन हुनुअघि बिवादित विषय बाकी राखेर संविधान जारी गर्ने कांग्रेसकै प्रस्ताव अघि सारेका हुन् । निकट नेताहरुका अनुसार दाहाल यसै पनि प्रायः धेरै विकल्प लिएर नै अघि बढ्छन् ।
एमाओवादी नेता टोपबहादुर रायमाझीले निर्वाचनको कुरा गरे पनि पार्टीहरु तयार नभएकाले संविधानसभा पुनःस्थापना प्रमुख बन्दै गएको बताए । 'निर्वाचनको कुरा गरे पनि पार्टीहरु र तिनका पूर्व सभासद्हरु चुनावमा जान तयार भएनन्, चार वर्ष संविधान बनाउन नसकेको हुनाले जिल्ला जान नैतिक समस्या पनि पर्‍यो' अर्घाखाूची रहेका उनले कान्तिपुरसंग टेलिफोनमा भने, 'अब संविधानसभा पुनःस्थापना गरी बिवाद बाँकी राखेर भए पनि संविधान जारी गर्नु राम्रो हुन्छ । नमिलेका विषय निर्वाचनपछि बन्ने संसद वा जनमत संग्रहले टुंगो लगाउन सकिन्छ ।'
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले सहमति भएको ९० प्रतिशत संविधानको उपलब्धि जोगाउनु बुद्धिमानी हुने बताए । 'चार वर्ष लगाएर भएका संविधानका ९० प्रतिशत सहमति जोगाउनु अहिलेको आवश्यकता हो' उनले भने । एमाओवादी पार्टी बिभाजन भएकाले निर्वाचनमा जान हच्किएको विपक्षीहरुको आरोपको दाहालले खण्डन गरिसकेका छन् । 'पार्टी बिभाजन भएकाले निर्वाचनमा जान डराएको भन्ने प्रचारबाजी आएका छन्' उनले भने, 'अन्तिम विकल्प निर्वाचन भए पनि त्यसअघि पनि संविधान जारी गर्न सकिन्छ ।'
 कांग्रेस सभापति कोइरालासंग संविधानसभा पुनःस्थापनाबारे दुई दिन छलफल गरी दाहाल बेल्जियममा पार्टीको कार्यक्रमका लागि बिहीबार उडे । कोइराला पार्टी कार्यक्रममा पश्चिम नेपालमा छन् । 'हामीले दुई दिन सल्लाहमै बाहिर जाने निर्णय गरेका हौ' दाहालको भनाइ थियो ।

प्रकाशित मिति: २०६९ आश्विन २७ १२:४६

No comments: