Monday, October 29, 2012

UCPN Maoist General convention without choosing district chief

काठमाडौं, कार्तिक १३ - एकीकृत माओवादीको महाधिवेशन हुने/नहुनेमा अझै आशंका कायम रहेका बेला उसले जिल्ला नेतृत्व चयनबिना नै माघमा महाधिवेशन गर्ने तयारी गरेको छ । उसको केन्द्रीय पदाधिकारी बैठकले महाधिवेशन प्रतिनिधि चयन गर्न मात्र हाल जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनअघि जिल्ला नेतृत्व चयन गर्दा 'अस्वस्थ' प्रतिस्पर्धा हुने भएकाले उसले चलाखीपूर्ण ढंगले तत्काल स्थगित गरेको हो । महाधिवेशनपछि मात्र उसले जिल्ला समितिहरूको नेतृत्व चयन गर्ने कार्यविधि बनाएको छ । एमाओवादी प्रवक्ता अग्नि सापकोटाले महाधिवेशनपछि जिल्ला नेतृत्व चयन गर्न सहज हुने भएकाले हाललाई स्थगित गर्ने निष्कर्ष निकालिएको बताए । 'अब हुने जिल्ला सम्मेलनले महाधिवेशन प्रतिनिधि मात्र चयन गर्छ,' उनले भने, 'महाधिवेशनपछि केन्द्रीय परिषद्, राज्य र जिल्ला परिषद् बनाएपछि जिल्ला नेतृत्व चयन गर्छ ।' एमाओवादीमा जिल्ला तहको नेतृत्वका लागि अहिलेदेखि नै दौडधुप सुरु भएकाले उसले स्थगित गरेको हो ।
महाधिवेशन आयोजक समिति सदस्य देवेन्द्र पौडेलले जिल्ला अधिवेशनलाई संसदीय चुनाव जस्तो हुन नदिन महाधिवेशनपछि नेतृत्व चयन गर्ने निधो भएको बताए । 'पार्टी जिल्ला अधिवेशनलाई संसदीय चुनावजस्तो बनाउनु हुँदैन भनेर स्थगित गरिएको हो,' उनले भने, 'जिल्ला नेतृत्वका लागि अनावश्यक प्रतिस्पर्धा हुन नदिन र विचारमा केन्दि्रत गर्न महाधिवेशनपछि मात्र चयन गरिनेछ ।'
उसको महाधिवेशन अघि र त्यसपछि गरी जिल्ला अधिवेशन दुई पटक हुनेछ । जिल्ला नेतृत्व चयन स्थगित भएपछि राज्य समितिको नेतृत्व पनि महाधिवेशनपछि हुनेछ । आइबार बिहान बसेको केन्द्रीय पदाधिकारी बैठकले महाधिवेशन कार्यविधिलाई यसको आयोजक समितिमा लैजाने निर्णय गरेको छ ।
यसअघि प्रस्तावित महाधिवेशन कार्यविधिमा केन्द्रीय तहका नेताहरू तल्लो समितिमा गएर चयन हुनुपर्ने प्रावधानलाई केन्द्रीय पदाधिकारी र संगठन विभागको बैठकले संशोधन गरेको छ । 'महाधिवेशन आयोजक समितिका सदस्यहरू सम्बन्धित समितिमा पदेन हुने कार्यविधिमा प्रावधान छ,' प्रवक्ता सापकोटाले भनाइ छ ।
महाधिवेशनमा प्रत्यक्ष चुनाव गर्ने कि मनोनीत गर्ने भन्नेमा पनि बहस सुरु भएको छ । विगतमा केन्द्रीय समितिमा मनोनीत गर्दा नेताहरूले नजिकका नेतालाई बढुवा गरेकाले प्रत्यक्ष चुनाव गरी नेतृत्व चयन गर्नुपर्ने आवाज उठेको छ । महाधिवेशनको कार्यविधिबारे मंसिर ६ गते बस्ने महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । त्यही बैठकले केन्द्रीय समितिको संरचनालाई अन्तिम रूप दिने छ । प्रत्यक्ष चुनावबाट चयन वा मनोनीत गर्ने टुंगो पनि त्यही बैठकले लगाउने छ । तर, आदिवासी/जनजाति, पिछडिएको क्षेत्रका लागि भने केन्द्रीय समितिमा मनोनीतको प्रावधान विधानमा राख्ने तयारी उसको छ ।
प्रवक्ता सापकोटाका अनुसार महाधिवेशनको तयारीका लागि करिब ५० प्रतिशत गाउँ सम्मेलनहरू भइसकेका छन् । त्यस्तै करिब ८० प्रतिशत सदस्यता नवीकरण भइसकेको छ । हाल करिब पौने तीन लाख सदस्यता नवीकरण भएको केन्द्रीय कार्यालयले जनाएको छ । मंसिरको पहिलो साता हुने महाधिवेशन आयोजक समितिको बैठकपछि जिल्ला सम्मेलन हुनेछन् । महाधिवेशनका लागि यसअघि बनाएको कार्यतालिका प्रभावित भए पनि माघ १४ गते महाधिवेशन सुरु गर्ने तयारी एमाओवादीको छ । महाधिवेशनमा करिब एक हजार पाँच सय प्रतिनिधि चयन गर्ने तयारी उसको छ ।
केन्द्रीय कार्यालयले तयार गरेको महाधिवेशन कार्यविधिमा बढीमा एक सय ५० सदस्यीय केन्द्रीय समिति बनाउने सुझाव दिएको छ । केन्द्रीय समितिमा अटाउन नसकेकाहरूलाई केन्द्रीय परिषद्मा समेट्न प्रावधान पनि उसले ल्याउँदै छ । हाल एमाओवादीको २ सय ५० सदस्यीय महाधिवेशन आयोजक समिति छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई कार्यकर्ताका सामूहिक व्यवस्थापन तथा उत्पादनको जिम्मेवारी दिएको छ ।
एमाओवादीले कार्यकर्ताको आर्थिक व्यवस्थापन गर्न उत्पादन गर्ने नीति अनुसार यो निर्णय गरेको हो । उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई अर्थ, विकास र योजना र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अनुशासन विभागको जिम्मेवारी दिएको छ । एमाओवादीको महाधिवेशन २१ वर्षदेखि भएको छैन

No comments: