Sunday, October 21, 2012

दसैं मनाउन प्रचण्ड रिसोर्टमा


काठमाडौं, कार्तिक ५ - दसैं मनाउन दैनिक हजारौं व्यक्तिले राजधानी छाडिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने सिन्धुपाल्चोक भोटेकोसी किनारमा रहेको एक रिसोर्टतिर पुगेका छन् । उनी त्यहाँ एक दिन बसेर दसैं मनाउँदैछन् ।
नेपाली राजनीतिका 'खेलाडी' दाहाल रमाइलो छुट्टी मनाउने कार्यक्रमअन्तर्गत उनी शनिबार सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन् । एमाओवादी प्रवक्ता एवं सिन्धुपाल्चोक स्थायी घर भएका अग्नि सापकोटाले पार्टी अध्यक्ष दाहालका लागि दसंै मनाउने चाँजोपाँजो मिलाएका हुन् । 'विशुद्ध आराम गर्न आउनु भएको हो,' उनले कान्तिपुरसँग भने, 'अरू केही कार्यक्रम छैन ।'
दाहालसँग पत्नी सीता, सहयोगी, सुरक्षाकर्मी, प्रवक्ता सापकोटा र उनकी पत्नी छन् । 'एक हिसाबले यो पारिवारिक कार्यक्रम जस्तो पनि हो' सापकोटाले भने, 'पार्टी कार्यकर्तासँग पनि खासै भेटघाट छैन ।' आइतबार दिउँसो राजधानी र्फकने कार्यक्रम रहेको उनले जानकारी दिए । दाहाल सुकुटे गएको काभ्रे र सिन्धुपाल्चोक प्रहरीले पनि ढिलो गरी जानकारी पाएको थियो । राजनीतिक तनाव कम गर्न र छुट्टी मनाउन बेलाबेला रिसोर्ट तथा होटल जाने उनको पुरानै बानी हो । दसंैंका बेला राजनीतिक छलफल र वार्ता नहुने भएकाले समयको सदुपयोग गर्दै सुकुटे रिसोर्टतिर लागेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आफू संयोजक रहेको 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' को बैठकलगत्तै उनी सिन्धुपाल्चोकतिर लागेका थिए । एमाओवादी पार्टीभित्र चरम अन्तरसंघर्ष भएका बेला गत चैतमा सुकुटे रिसोर्टमा स्थायी समिति बैठक भएको थियो । त्यसबेला स्थायी समिति सदस्यहरूले टेन्टभित्र रात बिताएर अर्को दिन अन्तरसंघर्ष कायम भएकै बेला दाहाल, भट्टराई र मोहन वैद्यले फरक-फरक डुंगामा र्‍याफटिङ गरेका थिए । सुकुटे रिसोर्टबाट सुरु भई स्वदेशी र विदशीले र्‍याफ्टिङको रमाइलो लिन्छन् । रिसोर्टमा खरको छानोमुनि पाल (टेन्ट) टाँगेर आवास व्यवस्था छ । राजधानीदेखि गाडीमा तीन घन्टाको यात्रामा सुकुटे रिसोर्ट पुग्न सकिन्छ भने प्रति 'टेन्ट' को २ हजार ३ सय ८० देखि ३ हजार ८ सय २५ रुपैयाँसम्म पर्छ । सुकुटे भोटेकोसीको माछाका लागि चिनिएको ठाउँ पनि हो । नेपाली राजनीतिमा जहिले पनि नयाँ-नयाँ प्रस्ताव ल्याएर तरंग ल्याइरहने दाहाल घुमफिरका सोखिन हुन् । करिब साढे तीन वर्षअघि प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै राजधानीको उत्तरी क्षेत्र लप्सीफेदीमा रहेको रिसोर्ट पुगेर तनाव कम गरेका थिए । त्यसो त उनी शान्ति प्रक्रियामा आएलगत्तै भक्तपुरका रिसोर्टमा लामो समय बसेका थिए । राजधानी उपत्यका वरपरका प्रायः सबै होटल तथा रिसोर्टमा धेरै रात बिताउने नेतामा उनी पर्छन् । यस वर्ष नेपाली नयाँ वर्षको मौकामा धुलिखेल, जेठमा नगरकोट र असोजमा पोखरा रिसोर्टमा पुगेका थिए । उनले धेरैचोटि रिसोर्टमा बसेर राजनीतिक दस्ताबेज लेखेका थिए ।
जनविद्रोहको नीति लिइरहेकै बेला दाहालले २०६८ असारमा थानकोट नजिक रहेका डाँडामा रहेको रिसोर्टमा नयाँ राजनीतिक दस्ताबेज लेखी शान्ति र संविधानको कार्यदिशा लिएका थिए ।
दाहालको रिसार्ट बास
२०६९ बैशाख धुलिखेल
२०६९ जेठ नगरकोट
२०६९ असोज पोखरा
२०६९ कात्तिक सुकुटे

प्रकाशित मिति: २०६९ कार्तिक ५ १२:१७

No comments: