Sunday, October 28, 2012

UCPN Maosit forwarded written proposal

काठमाडौं, कार्तिक ११ - एमाओवादीले संविधानसभा पुनःस्थापना गर्न कांग्रेस र एमालेसँग लिखित प्रस्ताव अघि सारेको छ । केन्द्रीय पदाधिकारी बैठकबाट शनिबार निर्णय गराई अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइराला र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवास पुगेर र एमाले अध्यक्ष झलनाथ खनाललाई सिंहदरबारमा भेट गरी संविधानसभा पुनःस्थापनालाई प्राथमिकता दिई प्रस्ताव अघि सारेका हुन् ।
पुनःस्थापनामा सहमति हुन नसके आगामी वैशाखसम्म निर्वाचन गर्ने गरी सहमति खोज्न पनि उनले प्रस्ताव गरेका छन् । एमाओवादीको यो प्रस्तावलाई कांग्रेस-एमालेले 'नयाँ कुरा नभएको' भन्दै निर्वाचनमा जानु उपयुक्त हुने जवाफ दिएका छन् । तर उनीहरूले प्रमुख दलको बैठकमा प्रस्तावमाथि छलफल गर्न सकिने बताए ।
दाहालको प्रस्ताव सम्बन्धमा एमाले अध्यक्ष खनालले निर्वाचनमा जानु उपयुक्त हुने बताएको जनाए । 'प्रचण्डजीको खास नयाँ प्रस्ताव केही थिएन । संविधानसभा पुनःस्थापना गरेर चुनावमा जाऔं, राम्रो हुन्छ भनेर छोटो प्रस्ताव दिनुभएको छ,' उनले ईकान्तिपुरसँग भने, 'मैले जटिलतातिर जानुभन्दा ताजा निर्वाचनमा जाऔं भने । यो प्रस्तावबारे छलफल गरौं भन्ने कुरा भयो ।'
एमाले वरिष्ठ नेता नेपालले संविधानसभा पुनःस्थापना गरी संविधानका सहमति भएका विषय मिलाएर संविधान जारी गर्ने प्रस्ताव गरेको जनाए । 'छिट्टै यसबारे टुंगो गरौं । सहमतिका साथ संविधान जारी गरेर नै चुनावमा जाऔं र बाँकी कुरा टुंगो लगाउन सहमतिको सरकार पनि बनाउँ भन्ने कुरा भयो,' उनले ईकान्तिपुरसँगको कुराकानीमा भने, 'होइन चुनावमै जाने हो भने यही सरकारलाई कायम राखौं भन्नुभयो । मैले यो दोस्रो कुरालाई ठाडै अस्वीकार गरिदिएँ । हुँदैन भनें ।' 
उनले जेठ २ मा भएको सहमतिबाट एमाओवादी पछि हटेकाले पत्याउन गाह्रो भएको जनाए । 'अब हामी त्यो पत्याउँदैनौं । पहिला पनि यसो गरौं भन्नुभो सहमति गरियो । फेरि उहाँ पछाडि हट्नु भयो । कुन मितिमा गरेको सहमति उहाँले मान्नुभएको छ ?' उनको भनाइ छ, 'फेरि पनि बसौं भनेका छौं । बसेर, छलफल गर्नुको विकल्प छैन । सहमतिबाहेक अरू उपाय छैन ।'
कांग्रेस सभापति कोइरालाले अध्यक्ष दाहालको प्रस्तावबारे प्रतिक्रिया दिँदै पत्याउने आधारै नभएको जनाए । 'अध्यक्ष दाहालको प्रस्तावमा विश्वासिलो आधार र पत्याउन सकिने अवस्था देखिएन,' उनले भने, 'बोली र व्यवहारमा फरक भएको र पटक-पटक आफूहरूलाई धोका दिएकाले विश्वास गर्ने आधार छैन । कांग्रेसलाई संविधानसभा वा संसद् पुनःस्थापना कुनै हालतमा पनि मान्य छैन ।' संविधानसभा पुनःस्थापना भए कांग्रेसलाई सरकारको नेतृत्व दिन सकिने प्रस्ताव गरे पनि कोइरालाले सरकार विघटन पहिलो सर्त बताएका थिए । 'निर्वाचनमा जान वर्तमान सरकारको विघटन भई नयाँ सहमतिको सरकार निर्माण हुनु आवश्यक छ,' उनको भनाइ थियो ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले केन्द्रीय पदाधिकारी बैठकले संविधानसभा पुनःस्थापनाको एजेन्डालाई एक नम्बरमा राखेर अन्य दलसँग छलफल चलाउने निर्णय गरेको बताए । 'पार्टीले संविधानसभा पुनःस्थापनालाई एक नम्बरमा राखेको छ,' उनले भने, 'संविधानसभा पुनःस्थापना भई संविधान जारी भए मात्र लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्छ र जनतालाई सार्वभौम बनाउन सकिन्छ ।'
दाहालले संविधानसभा पुनःस्थानामा सहमति भए विघटित संविधानसभाले गरेका ९० प्रतिशत काम सुरक्षित हुने र त्यसले नै अन्य सहमतिको ढोका खोल्ने प्रस्ताव कांग्रेस-एमालेसँग गरेका हुन् । संविधानसभा पुनःस्थापनामा सहमति हुन नसके निर्वाचनमा जान ढिलाइ गर्न नहुने भनाइ एमाओवादीको छ ।
'संविधानसभा पुनःस्थापना हुनै सकेन भने अब निर्वाचनमा जान ढिलाइ गर्न हुँदैन भन्ने प्रस्ताव गरेका छौं,' सापकोटाको भनाइ छ, 'विज्ञहरूको सुझावसहित अध्यादेशमा सहमति गरेर भए पनि आगामी वैशाखमा निर्वाचनमा जानुपर्नेमा जोड दिएका छौं ।' निर्वाचनमा जाने अवस्थामा यही सरकारको निरन्तरता हुनुपर्ने दाहालको जिकिर छ ।
'निर्वाचनमा जाने भए लोकतान्त्रिक मूल्यमान्यताअनुसार यही सरकारलाई निरन्तरता दिऔं,' दाहालले भनेका छन्, 'बरु मन्त्रिपरिषद्को कार्यविभाजनमा ध्यान दिन सकिन्छ ।' मुलुकमा आर्थिक संकट आउन नदिन बजेटमा पनि सहमति गर्नु अति आवश्यक भएको दाहालले बताएका छन् । 'बजेटमा सहमति नभए मुलुकमा आर्थिक संकट आउँछ,' दाहालको भनाइ थियो, 'त्यसकारण एक तृतीयांश बजेट सकिनुअघि नै सहमति गर्न जरुरी छ ।'


प्रकाशित मिति: २०६९ कार्तिक ११ ०१:१६

No comments: