Sunday, January 20, 2013

एकीकृत माओवादीले विद्रोहात्मक धक्का दिने


काठमाडौ, माघ ८ - फुटेर गएको नेकपा-माओवादीले 'जनयुद्धको जगमा जनविद्रोह' को कार्यदिशा लिएकै बेला एकीकृत माओवादीले पनि 'विद्रोहात्मक धक्का अनिवार्य' भएको राजनीतिक नीति लिएको छ । त्यसका लागि उसले सरकारबाट हस्तक्षेप बढाउने, सडकमा मोर्चाबन्दी गर्नेलगायत उपाय अवलम्बन गर्ने भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा 'क्रान्तिलाई निर्णायक विजय' गर्न विद्रोहात्मक धक्का अनिवार्य भएको उल्लेख गरेका छन् । महाधिवेशन आयोजक समितिको बैठकले पारित गरेको दस्तावेजमा विद्रोहको नीतिलाई जोड दिइएको हो ।
'जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने तथा समाजवादी क्रान्तिको तयारी गर्ने कार्यक्रमलाई पार्टीले चार आधार (राजनीतिक, सांगठनिक, आर्थिक र प्राविधिक) निर्माणको रणनीतिक योजनासँग जोडेर अगाडि बढाउन ध्यान दिनैपर्छ । चार आधार निर्माणको योजनाभन्दा बाहिर गरिने विशुद्ध आर्थिक विकासको कुराले समाजलाई क्रान्तिकारी रूपान्तरण होइन, सुधारवादको चक्रब्यूहमा फसाउने छ,' दस्तावेज भन्छ, 'पार्टी स्पष्ट छ कि जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको आरम्भ जनबलको ऐतिहासिक पहलबिना असम्भव छ । क्रान्तिको निणर्ायक विजयका लागि जनताको विद्रोहात्मक धक्का अनिवार्य छ ।'
मोहन वैद्यले नेतृत्व गरेको माओवादीले एमाओवादी संशोधनवादी भएको आरोप लगाइरहेकै बेला दाहालले संविधानसभाबाट नयाँ संविधानमा प्राप्त उपलब्धिलाई संस्थागत गरी अघि बढ्नु आवश्यक भएको उल्लेख गरेका छन् । तत्कालीन कार्यसूची 'संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुनिश्चित गर्ने' उसको नीति छ । 'राजनीतिक सहमतिका साथ घोषित उपलब्धिहरू संस्थागत गर्न प्रतिक्रियावादी र संशोधनवादीहरूका तर्फबाट लगातार व्यवधान खडा गरिएमा सम्भव भएसम्म माथिबाट सरकारले हस्तक्षेप बढाउँदै लाने र मुख्य रूपमा सडकबाट संघीय गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिहरूको व्यापक मोर्चा कायम गर्दै शक्तिशाली आन्दोलन सृष्टि गरी क्रान्तिलाई पूर्णता दिन आवश्यक उपायहरू अवलम्बन गर्न पार्टी तयार रहनुपर्छ,' दस्तावेजमा उल्लेख गरिएको छ, 'त्यस प्रकारको क्रान्ति इतिहासमा भएका कुनै पनि देशका क्रान्तिको यान्त्रिक नक्कल गरेर होइन, ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा विकसित गरिने मौलिक रणनीतिबाट मात्र सम्भव छ । नेपालको आजको अवस्थामा नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको संघर्षलाई उत्पादनका निमित्त संघर्षलाई जोड्दै जनवादी क्रान्तिलाई पूर्णता दिने रणनीति हासिल गर्नुपर्छ ।'
दाहालले जनविद्रोहका लागि पूर्वलडाकुहरूको भूमिका महत्त्वपूर्ण हुने जनाएका छन् । 'जनसमुदायको क्रान्तिकारी चेतनालाई निरन्तरता दिँदै राज्यसत्तामा उनीहरूको हस्तक्षेप र विद्रोहलाई सम्भव बनाउन पूर्वजनमुक्ति सेनाको भूमिका महत्त्वपूर्ण हुन्छ ।' संविधानका विवादित विषय र संविधानसभाबाट संविधान घोषणाको प्रक्रियामा सहमति नभएसम्म सरकार छाड्नु आत्मघाती हुने दस्तावेजमा उल्लेख छ । 'संविधानसभाका विवादित विषय र संविधानसभाबाट संविधान घोषणा प्रक्रियामा सहमति नभएसम्म सरकार छाड्ने वा बदल्ने कुरा सहमति र निकासका लागि आत्मघाती हुनेछ,' दस्तावेजमा उल्लेख छ, 'संविधानका विवादित विषय र घोषणा प्रक्रियामा सहमति भएमा राष्ट्रिय सहमतिको सरकार गठनका निमित्त तयार रहने कुरामा पार्टी स्पष्ट हुनुपर्छ ।'
उसले कांग्रेस, एमालेले सरकार परिवर्तनको मुद्दालाई अघि सारेकाले सहमति हुन नसकेको उल्लेख गर्दै विपक्षीले सहमतिको ढोका बन्द गर्ने प्रयास गरेको निष्कर्ष निकालेको छ ।
नेकपा-माओवादीले दिएको कार्यदिशा आत्मघाती या फुटवादी भएको एमाओवादीको निष्कर्ष छ । 'किरण पक्षको भन्ने गजरे जस्तै तुरुन्तै विद्रोह वा युद्धमा गए त्यो भयानक आत्मघाती कदम हुनेछ र यदि त्यसो नगरी विद्यमान प्रक्रियाभित्रै प्रतिक्रियावादीहरूसँग साँठगाँठमै तल्लिन रहने हो भने त्यो फुटवादी र संशोधनवादीका रूपमा पतन हुनेछ ।'
यस्तै हो भने विद्रोह: दाहाल
काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौता तोड्ने क्रम सुरु भएको दाबी गर्दै विद्रोहमा जाने बताएका छन् । राजधानीको कीर्तिपुरमा नेवाः एकता दिवस कार्यक्रममा आइतबार दाहालले यस्तो चेतावनी दिएका हुन् ।
'जसरी राजनीतिक घटनाक्रम अगाडि बढ्दै छ, चाहे त्यो बेलायतमा कर्णेल कुमार लामाको गिरफ्तारी होस् या अहिले हाम्रो विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरूपण तथा बेपत्ता आयोग बनाउन छाडेर एउटा/एउटा केस उठाउने प्रयास होस् । यसले के देखाउँछ भने शान्ति सम्झौतालाई तोडिँदै छ । शान्ति सम्झौतालाई एक थरीले तोड्दै छन्,' उनले भने, '१२ बुँदे समझदारीमा भएको जातीय, क्षेत्रीय र लैंगिक रूपले उत्पीडनको अन्त्य गर्ने एउटा समावेशी समानुपातिक राज्यको पुनर्संरचना गर्ने भन्ने मान्यतालाई तोडिँदै छ ।
यदि यसरी नै तोडिन्छ भने नेपाली जनताले एकदिन हिजोका सारा सम्झौता तोडेर विद्रोहमा जानेछन्, त्यो अधिकार छ । आज पनि भन्छु त्यो अधिकार जनतालाई छ ।'
उनले एमाओवादीलाई एक्ल्याउने काम गरे सह्य नहुने चेतावनीसमेत दिए । 'एकमात्र माओवादीलाई कर्नरमा पार्ने र नेतृत्वलाई अप्ठ्यारोमा पार्ने र नेपाली जनताको परिवर्तनलाई खेलबाड गर्ने षड्यन्त्र भयो भने विद्रोहको पूरै अधिकार छ,' उनको भनाइ थियो, 'मुठ्ठीभरका यो परिर्वतनको प्रक्रिया रोक्न लागेका केही तथा कथित बुद्धिजीवी पूरै शक्तिका साथ ज्यान छाडेर लागेका छन् ।'
उनले कांग्रेस, एमाले नै चुनाव नचाहेको जनाए । 'अहिले माओवादी पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईकै नेतृत्वमा सरकारमा गएर चुनावमा जान केले रोक्यो ? तपाईंहरूलाई केले रोकेको छ ?' उनको प्रश्न थियो ।
आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले आफ्नो पार्टी हाल पनि सहमतिकै पक्षमा भएको र आवश्यक परे आन्दोलनमा आउन आग्रह गरे । 'माओवादी पार्टी अहिले पनि सहमतिकै लागि प्रयत्नरत छ । सहमतिद्वारा निर्वाचन वा पुनःस्थापनाको विकल्पबाट संविधान बनाउने सम्भावना छ,' उनले भने, 'संघीयता, धर्म निरपेक्षता, सामाजिक न्याय, गणतन्त्र यो सबै धरापमा पारिँदै छ, खबरदार यो धरापमा पार्नेहरूका विरुद्ध नेपाली जनता फेरि एकपटक आँधीहुरी बनेर उठ्नुपर्ने अवस्था आउन सक्छ ।'

कान्तिपुरमा प्रकाशित मिति: २०६९ माघ ८ ०८:४० 

No comments: