Tuesday, January 22, 2013

एमाओवादीको विदेश नीति भारतसँग नभिड़ने


काठमाडौ, माघ ९ - सशस्त्र युद्धका बेला भारतविरुद्ध 'सुरुङ युद्ध' को तयारी गरेको एमाओवादीले भारतसँग 'एकता र संघर्ष' को नीति अवलम्बन गरेको छ ।
माघ २० गतेदेखि हुने महाधिवेशनमा पेस गर्ने राजनीतिक दस्तावेजमा अध्यक्ष पुष्पकमल दाहालले भारतबारे कूटनीतिक भाषा प्रयोग गरी सन्तुलित नीति बनाउने प्रयास गरेका छन् ।
विदेश विभाग इन्चार्ज राम कार्कीले भने भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको दाबी गर्दै दुवै छिमेकी चीन र भारतप्रति सन्तुलित धारणा राख्ने विदेश नीति रहेको दाबी गरे । 'भारतलाई हेर्ने नीतिमा परिवर्तन भएको होइन,' उनले कान्तिपुरसँग भने, 'दुवै छिमेकीलाई उत्तेजित पार्नु हुँदैन । यसको अर्थ भारतसँग लम्पसार पर्ने भन्ने होइन ।'
दाहालको दस्तावेजमा भारतलाई विस्तारवादी शक्तिकै रूपमा परिभाषित गरे पनि भाषा भने नरम छ । पार्टीको विदेश नीति राष्ट्रिय सुरक्षासँग गाँसिएकाले एकता र संघर्षको नीति अपनाउने प्रस्ताव दाहालले महाधिवेशनमा गर्दैछन् । 'राष्ट्रिय सुरक्षाको कुरा गर्दा साम्राज्यवाद -अमेरिका) तथा विस्तारवाद -भारत) सँग एकता र संघर्षको नीति अपनाउँदै, आजको शताब्दी जहाँ सुरक्षाको सन्दर्भमा हातहतियार, गोलाबारुद भन्दा पनि इलेक्ट्रोनिक सुरक्षाको सवाल अहं भएर आएको छ,' दस्तावेजमा दाहालले लेखेका छन्, 'छिमेकी देशहरूसँग अनाक्रमक सन्धि सम्पन्न गरी सुरक्षाको प्रत्याभूति तथा उनीहरूका आन्तरिक मामलामा तटस्थ रहने नीति लिइनेछ ।'
एमाओवादीले राष्ट्रियताका मुद्दामा कूटनीतिक र जनपरिचालन दुवै नीति अघि सारेको छ । राष्ट्रियताअन्तर्गतको शीर्षकमा दस्तावेजमा दुवै नीति अपनाउने अध्यक्ष दाहालले उल्लेख गरेका छन् ।
'सरकारका तर्फबाट सीमा समस्या, सन् १९५० लगायतका असमान सन्धि सम्झौताजस्ता संवेदनशील मुद्दामा ठोस कूटनीतिक पहल बढाउनुका साथै पार्टीले जनपरिचालनमार्फत आन्तरिक र बाह्य रूपमा राष्ट्रियतालाई सुदृढ गर्दै पूर्ण स्वाधिनता हासिल गर्ने ठोस योजना बनाई लागू गर्नेछ,' उनले लेखेका छन्, 'यसो गर्दा वैदेशिक नीति, राष्ट्रिय आर्थिक नीति, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय जलस्रोत नीतिको व्यवस्थित विकास जरुरी छ । तत्काल ज्वलन्त समस्याहरूका विषयमा जनपरिचालन गर्दै महाधिवेशनका दौरानमा उपरोक्त विषयहरूमा अझ ठोस र व्यवस्थित नीति र योजना विकास गर्नु पार्टीको तात्कालीन कार्यक्रम हुनेछ ।'
प्रवक्ता अग्नि सापकोटाले सरकारको नेतृत्व गरेको पार्टी भएकाले सन्तुलित भाषा प्रयोग गरिएको उल्लेख गर्दै भारतलाई हेर्ने पुरानै नीति कायम भएको जनाए । 'भारतलाई हेर्ने नीति विल्कुल परिवर्तन भएको होइन,' उनले भने, 'सरकारको नेतृत्व गरेको ठूलो पार्टी भएको हुनाले सन्तुलित भाषा मिलाइएको हो ।' उनले दुवै छिमेकीलाई सन्तुलनमा राखी अघि बढ्नु पार्टीको नीति भएको जनाए ।
महाधिवेशनमा छलफलका लागि प्रस्तुत अन्तर्राष्ट्रिय सम्बन्ध/विदेश नीति शीर्षकमा छिमेकीलगायत सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने उल्लेख छ । 'राष्ट्रिय हित र पारस्परिक लाभका आधारमा छिमेकीलगायत सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राखिनेछ,' एमाओवादीको विदेश नीति छ, 'छिमेकी देशहरूसँग अनाक्रमण सन्धि सम्पन्न गरी सुरक्षाको प्रत्याभूति तथा उनीहरू बीचका आन्तरिक मामिलाहरूमा तटस्थ रहने नीति लिइनेछ ।'
उसको विदेश नीतिमा नयाँ संविधान प्रारम्भ भएको एक वर्षभित्र विशेष गरी भारतसँग भएका सन्धि पुनरावलोकनका लागि पहल गर्ने उल्लेख छ । 'संविधान प्रारम्भ भएको एक वर्षभित्र विगतका सबै सन्धि सम्झौता पुनरावलोकन गरी राष्ट्रिय हित प्रतिकूल रहेकाहरू खारेज गर्ने र राष्ट्रिय हित अनुकूलका नयाँ सन्धि सम्झौता गरिनेछ,' भनिएको छ । दस्तावेजमा चीनबारे कुनै चर्चा छैन ।
श्रेष्ठ असन्तुष्ट अध्यक्ष दाहालले राजनीतिक दस्तावेजमा भारतप्रति लक्षित गरी ल्याएको विदेश नीतिप्रति उपाध्यक्ष नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । गत साता सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकमा राष्ट्रियताका विषयमा दस्तावेजमा भारतप्रति नरम नीति लिएको भन्दै उनले असन्तुष्टि जनाएको स्रोतले बतायो ।
श्रेष्ठले भारतका कारण नेपालको राष्ट्रियता कमजोर रहेको दाबी गर्दै उसप्रति नरम नीति लिन नहुने बताएका थिए । भारतसँगको सम्बन्धबारे प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचना गर्दै आएका उनले भारतबारे दस्तावेजमा थप्न सुझाब दिएका थिए ।


प्रकाशित मिति: २०६९ माघ ९ ०८:३९ 

No comments: