Thursday, January 24, 2013

महाधिवेशनमा प्रचण्ड, बाबुराम र नारायणकाजीले विवाद नगर्ने


-दाहाल पक्षका ६० प्रतिशत-
-भट्टराईका २५/३० प्रतिशत-
-श्रेष्ठका १०/१५ प्रतिशत-
महाधिवेशनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले भागबन्डाका आधारमा प्रतिनिधि चयन थालेका छन् । महाधिवेशनले तय गर्ने कार्यसमिति पनि सहमतिमै चयन गर्ने समझदारी भएको स्रोतले बतायो ।
स्रोतका अनुसार हालसम्म चयन भएका महाधिवेशन प्रतिनिधिमा अध्यक्ष दाहाल पक्षका करिब ६० प्रतिशत, प्रधानमन्त्री तथा उपाध्यक्ष भट्टराई पक्षका २५ देखि ३० प्रतिशत र अर्का उपाध्यक्ष श्रेष्ठ पक्षका १० देखि १५ प्रतिशत छन् । बिहीबारसम्म ३७ जिल्लामा अधिवेशन सकिएका छन् ।
तीन नेताबीच राजनीतिक कार्यदिशाबारे खासै मतभेद नभएकाले कार्यविभाजनमा आउन सक्ने विवादलाई ध्यानमा राखी यस्तो समझदारी भएको हो ।
प्रवक्ता अग्नि सापकोटाले सहमतिमै प्रतिनिधि चयन भइरहेको जानकारी दिए ।
'सहमतिमै महाधिवेशन प्रतिनिधि चयन भइरहेको छ,' उनले भने, 'विवाद देखिएको छैन ।' महाधिवेशनमा विवाद नदेखियोस् भनेर जिल्ला तहमै तीन नेताले मिलाउने समझदारी गरेका छन् ।
नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा हुने भएपछि जिल्ला सम्मेलन दुई चरणमा गर्ने निर्णय गरिएको थियो । हाल भइरहेका सम्मेलनले महाधिवेशन प्रतिनिधिमात्र चयन गरेको छ । केन्द्रीय कार्यालय सचिव हितराज पाण्डेले हालसम्म सम्पन्न ३७ जिल्लाका प्रतिनिधि चयन सर्वसम्मत भएको बताए ।
केन्द्रीय समिति जम्बो हुने
महाधिवेशनले दाहाललाई अध्यक्ष, भट्टराई र श्रेष्ठलाई उपाध्यक्ष पदमा चयन गर्ने करिब निश्चित छ । महासचिवका लागि पोस्टबहादुर बोगटी र कृष्णबहादुर महराको चर्चा छ । बोगटीलाई उपाध्यक्ष बनाएमा महरा महासचिब बन्ने छन् । महरालाई महासचिव बनाउनेबारे विवाद भए महासचिव बोगटी हुने सम्भावना छ । सचिव र कोषाध्यक्षबारे हालसम्म चर्चा सुरु भएको छैन ।
महाधिवेशनले वरिष्ठ पोलिटब्युरो सदस्यहरूलाई स्थायी समितिमा तान्नेछ । प्रवक्ता अग्नि सापकोटा, नेताहरू हरिबोल गजुरेल, देवेन्द्र पौडल स्थायी समितिमा बढुवा हुने सम्भावना छ ।
एक नेताका अनुसार पूर्ण र वैकल्पिक गरी दुई सय ५० जनाको केन्द्रीय समिति बन्ने सम्भावना छ । सल्लाहकार समितिलाई खारेज गरी केन्द्रीय समितिमा समेट्ने तयारी भएको छ । त्यसबारे छलफल भइरहेको नेताहरूले बताए ।
६ देखि ८ करोड खर्च लाग्ने
तयारीबारे जानकारी लिन र स्थानीय प्रशासन, सम्बन्धित निकायसूग छलफल गर्न हेटौंडा आइपुगेका प्रवक्ता अग्नि सापकोटाले महाधिवेशनका लागि ६ देखि ८ करोड खर्च लाग्ने बताए । आर्थिक विभाग संयोजक देवेन्द्र पौडेलका अनुसार सुरुमा ५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो । धेरैजसो रकम चन्दा र महाधिवेशन प्रवेश शुल्कबाट उठाइने जानकारी उनले दिए ।
'नेवाः राज्य समितिबाट २ करोड, प्रतिनिधि पर्यवेक्षकबाट एक करोड र बाूकी रकम अन्य राज्य समितिबाट उठ्नेछ,' उनले भने, 'प्रतिनिधि पर्यवेक्षकको प्रतिव्यक्ति ५ हजार लाग्ने छ ।'
सापकोटाले महाधिवेशनस्थल र बसोबास व्यवस्थापनको ८० प्रतिशत तयारी पूरा भएको जनाए । 'बाँकी काम ५ दिनभित्र सम्पन्न भइसक्छ,' उनले भने ।  
कार्यालय मुख्य सचिव तथा महाधिवेशन व्यवस्थापन समिति संयोजक पाण्डेले महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी करिब तीन हजार सहभागी हुने बताए । प्रतिनिधि, पर्यवेक्षक र पार्टीका नेतालाई हेटौंडा औद्योगिक क्षेत्रभित्र बस्ने र खाने व्यवस्था मिलाइएको छ । करिब दुई हजार थान सिरक, डस्ना र तकिया भाडामा लिने व्यवस्थ्ाा मिलाइएको र एक हजार थान बनाउन दिइएको आयोजक समितिले जनाएको छ ।
२ सय ४६ रोपनीमा फैलिएको उद्योगका भौतिक पूर्वाधारलाई मर्मत गर्नुका साथै जंगलमा परिणत परिसरलाई बस्नयोग्य बनाइएको जिल्ला इन्चार्ज सोनामसिंह स्याङतानले बताए ।
२०४८ मा चितवनको माडीमा भएको छैटौं महाधिवेशनको २१ वर्षपछि अहिले हेटौंडामा हुन लागेको हो ।
प्रकाशित मिति: २०६९ माघ १२ १२:३९ 

No comments: