Sunday, January 27, 2013

एमाओवादी महाधिवेशनमा प्रतिस्पर्धा गर्न नपाइने


काठमाडौ, माघ १४ - एमाओवादी महाधिवेशनमा खुला प्रतिस्पर्धा चाहने नेताहरू प्रजातान्त्रिक अभ्यासबाट वञ्चित हुने भएका छन् । केन्द्रीय सदस्यहरूको निर्वाचन नगराई चयन गर्ने सहमति अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच भएपछि नेताहरूले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् ।
पार्टीभित्र गुट/उपगुट अन्त्य गर्ने नाममा केन्द्रीय सदस्य चयन गर्ने समझदारी बनेको हो । जसका कारण कुन नेता कति लोकपि्रय छ भन्ने थाहा नहुने भएको छ । यस समझदारीलाई लिएर निर्वाचनमा जानुपर्छ भन्ने युवा नेताहरू सार्वजनिक रूपमा बोल्न सकेका छैनन् । मुख्य तीन नेताको कोटामा नपर्ने डरका कारण उनीहरूले निर्वाचनका पक्षमा आवाज उठाउन नसकेका हुन् । 'को नेताको हैसियत के छ भन्ने परीक्षण हुन जरुरी थियो । महाधिवेशनमा निर्वाचनै नहुने भएपछि राम्रा/नराम्रा नेताको हैसियत एकै हुने भयो,' निर्वाचन चाहने एक युवा नेताले भने, 'हामी निर्वाचन चाहनेहरू पनि नेताको कोटामा नपरिएला भन्ने डरले बोल्न सकिँदैन ।'
एमाओवादीले करिब २२ वर्षपछि हुन लागेको महाधिवेशनमा पार्टीभित्र नयाँ लोकतान्त्रिक अभ्यास सुरु गरेको दाबी गर्दै आएको छ । अध्यक्ष र उपाध्यक्षद्वयको पछिल्लो सहमतिले आन्तरिक लोकतन्त्र शब्दमै सीमित गराउने ती नेताले बताए । महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यका लागि नाम प्रस्ताव गर्ने र त्यसलाई सहभागीले अनुमोदन गर्ने कार्यविधि बनाइएको छ । अब दाहाल, भट्टराई र श्रेष्ठको खेमा बाहिरका नेता जतिसुकै सक्षम भए पनि केन्द्रीय सदस्य चयन हुन निकै गाह्रो पर्ने देखिएको छ । विभिन्न जातजाति, क्षेत्र र महिलाबाट केन्द्रीय सदस्य हुन केही सहज हुनेछ । त्यो पनि तीन नेताको भागबन्डाका आधारमा चयन हुनेछ । निर्वाचन नहुने करिब निश्चित भए पनि सहभागी प्रतिनिधिबाट निर्वाचन आयोग बनाइनेछ । जसको काम तीन नेताले छानेका नेताहरूलाई 'लालछाप' लगाउनु हुनेछ ।
महाधिवेशन हलमा कसैले निर्वाचनका लागि उम्मेदवार दर्ता गराउने हिम्मत गर्नु त्यो दुस्साहस हुनेछ । तीन शीर्ष नेताको समझदारीविपरीत गएर निर्वाचन माग गर्नेलाई 'बलपूर्वक' उम्मेदवारी फिर्ता गराइनेछ ।
प्रवक्ता अग्नि सापकोटाले केन्द्रीय समिति सकभर सहमतिका आधारमा चयन हुने उल्लेख गर्दै निर्वाचनमा जाने अवस्था आए आयोग गठन हुने बताए । राजनीतिक कार्यदिशाबारे पार्टीभित्र अन्तरसंघर्ष नभएकाले केन्द्रीय सदस्य चयनमा सहमति भएको हो । शनिबारसम्म भएका ५५ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि सहमतिमै भएकाले केन्द्रमा विवादको सम्भावना छैन ।
महाधिवेशन आयोजक समिति सदस्य वामदेव छेत्रीले केन्द्रीय समितिका लागि निर्वाचन नहुने करिब निश्चित भएको बताए । 'निर्वाचन हुन्न जस्तो छ,' उनले भने, 'सहमतिमै केन्द्रीय सदस्य चयन हुने थाहा पाएका छौं ।' महाधिवेशनमा निर्वाचन नै नहुने भएपछि खास उत्साह नहुने अर्का एक नेताले बताए । 'नेता आन्तरिक वा बाह्य निर्वाचनमा परीक्षण हुनुपर्छ,' उनले भने, 'त्यसकारण प्रतिनिधिमा खास उत्साह आउला जस्तो लाग्दैन ।'
महाधिवेशनले केन्द्रीय सदस्यका साथै अध्यक्ष, उपाध्यक्ष -२ वा ३) महासचिव १, सचिव -१ वा २) र कोषाध्यक्ष १ का साथै केन्द्रीय सदस्य चयन गर्नेछ । अब बन्ने केन्द्रीय सदस्यका आकांक्षी धेरै भएकाले डेढ सयभन्दा ठूलो जम्बो समिति बनाउनुपर्ने बाध्यता छ ।
प्रकाशित मिति: २०६९ माघ १४ ०९:०

No comments: