Monday, January 28, 2013

राष्ट्रियताबारे श्रेष्ठको फरक मत

काठमाडौ, माघ १५ - 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राष्ट्रियताका सम्बन्धमा भारतलाई हेर्ने दृष्टिकोणबारे उपाध्यक्ष नारायणकाजी श्रेष्ठको फरक मत रहेको छ । उनले आफ्नो सुझाव राजनीतिक दस्तावेजमा नसमेटे फरक मत ल्याउने तयारी गरेका छन् ।

दाहालले महाधिवेशन आयोजक समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा भारतसँग 'नरम' नीति अपनाएको भन्दै दुईपक्षीय लगानी प्रवर्द्धन सम्झौता -बिप्पा) लगायतका विषय दस्तावेजमा नसमेटेको भन्दै असहमति व्यक्त गरेका थिए । उनले त्यो असहमतिलाई महाधिवेशनमा राख्ने तयारी गरेको श्रेष्ठले सोमबार कान्तिपुरसँग बताए । 'मैले महाधिवेशन आयोजक समितिको बैठकमा स्पष्टसँग राखेको छु कि बिप्पालगायत विषय दस्तावेजमा छुटेका छन्,' उनले कान्तिपुरसँग भने, 'यी विषय महाधिवेशनमा छलफल हुनुपर्छ । अध्यक्षले मैले उठाएका विषय दस्तावेजमा समेट्नुपर्छ ।' यसअघि भारतविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने दाहालले आफ्नो दस्तावेजमा सांकेतिक रूपमा विरोध गर्दै कूटनीतिक 'संघर्ष' गर्ने उल्लेख गरेका छन् । उपाध्यक्ष श्रेष्ठले पार्टी र भारतीय खुफिया एजेन्सी 'रअ' लगायतसँगको सम्बन्धबारे पनि समीक्षा हुनुपर्ने कुरा उठाएका छन् । 

दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईसँग 'रअ' का प्रतिनिधिसँगको भेटघाट र कुराकानीप्रति संकेत गर्दै उनले ती सबै विषयको समीक्षा हुनुपर्ने बताए ।

'राष्ट्रिय स्वाधीनताको दृष्टिकोण अडानबारे हामीले आत्मसमीक्षा गर्नुपर्छ,' उनको भनाइ छ, 'भारतीय खुफिया एजेन्सीसँगको सम्बन्धबारे पनि समीक्षा गर्नुपर्छ ।' उनले भारतसँग आपसी सहयोगको सम्बन्ध हुन जरुरी रहेको उल्लेख गर्दै अनावश्यक हस्तक्षेपको विरोध गर्ने नीति पार्टीले लिनुपर्ने जिकिर गरे । अध्यक्ष दाहालले आफ्नो सुझावलाई आफ्नो दस्तावेजमा समेट्ने विश्वास गर्दै नसमेटे आफ्नो फरक मत महाधिवेशनमा राख्ने जानकारी दिए ।

'अध्यक्षको दस्तावेजमा मेरो फरक मत समेटिएन भने राष्ट्रियताबारे महाधिवेशनमा आफ्नो धारणा राख्छु,' उनले भने, 'यो कुरा अध्यक्ष र बाबुरामजीले सोचेर एउटै धारणा ल्याउनु राम्रो हुन्छ ।' उनलाई भारतलाई हेर्ने दृष्टिकोणबारे भट्टराईको प्रभाव दस्तावेजमा परेको बुझाइ छ । दाहालले राजनीतिक दस्तावेजमा भारतसँग एकता र संघर्षको नीति लिनुपर्ने बताएका छन् । 'राष्ट्रिय सुरक्षाको कुरा गर्दा साम्राज्यवाद तथा विस्तारवाद -एमाओवादीले भारतलाई भन्छ) सँग एकता र संघर्षको नीति अपनाउँदै आजको शताब्दी जहाँ सुरक्षाको सन्दर्भमा हातहतियार, गोलाबारुद्धभन्दा पनि इलेक्ट्रोनिक सुरक्षाको सवाल अहम् भएर आएको छ,' उनले लेखेका छन्, 'संयुक्त राष्ट्रसँग बडापत्र पञ्चशीलताको सिद्धान्त, असंलग्नता, समानता, राष्ट्रिय हित र पारस्परिक लाभका आधारमा छिमेकीलगायत संसारका सबै देशहरूसँग मैत्रीपूर्ण राखिनेछ ।' प्रधानमन्त्री भट्टराई र परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठबीच भारतलाई हेर्नेबारे चर्को मतभेद हुँदै आएको छ । मन्त्रिपरिषद् बैठकमा समेत भारतसँग सम्बन्धित निर्णय गर्दा भट्टराई र श्रेष्ठबीच मतभेद हुने गरेको छ । जसका कारण भट्टराई र श्रेष्ठबीच चर्काचर्की हुने गरेको एक मन्त्रीले जानकारी दिए । प्रवक्ता अग्नि सापकोटाले राष्ट्रियताबारे दाहाल र श्रेष्ठबीच मतभेद नभएको दाबी गरे । 'राष्ट्रियतबारे हाल पार्टीमा मतभेद छैन,' उनले भने, 'उहाँ -श्रेष्ठ) को प्रस्तुतिमा कहिलेकाहीं फरक देखिन्छ ।' उनले चीन, नेपाल र भारतबीच रणनीति समझदारी गरी अघि बढ्ने पार्टीको मुख्य नीति रहेको बताए । प्रधामन्त्री भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बिप्पाबारे उप्रधानमन्त्री समेत रहेका श्रेष्ठको फरक धारणा भए पनि त्यसको प्रभाव पार्टीमा नपरेको बताए । 

महाविधेशनमा चीनबाट उच्च अधिकारी आउने एमाओवादीको महाधिवेशनमा चीनबाट उच्च अधिकारी सहभागी हुने भएको विदेश विभाग इन्चार्ज राम कार्कीले जानकारी दिए । उनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका वरिष्ठ अधिकारी आउनेबारे मंगलबार निश्चित हुने जनाए । 'चीनबाट वरिष्ठ अधिकारी महाधिवेशनमा सहभागी आउने सम्भावना छ,' उनले भने, 'त्यसबारे मंगलबार निश्चित हुनेछ 

No comments: