Friday, February 1, 2013

दीर्घकालीन जनयुद्धको कार्यदिशा छाड्दै एमाओवादी


हेटौंडा, माघ २० - २१ वर्षपछि हुन लागेको एमाओवादी महाधिवेशनले 'नयाँ जनवादी क्रान्ति' त्याग गरी 'पुँजीवादी जनवादी क्रान्ति' को कार्यदिशा लिने भएको छ ।
एकता महाधिवेशनसमेत भनिएको २०४८ मा चितवनको माडीमा भएको छैटौं महाधिवेशनले पारित गरेको दीर्घकालीन जनयुद्धको कार्यदिशालाई एमाओवादीले यही महाधिवेशनबाटै औपचारिक रूपमा छाड्दै छ । एमाओवादी सातौं महाधिवेशन हरित औद्योगिक नगरी हेटौंडामा शनिबार सुरु हुँदैछ ।
मुलुकबाट राजतन्त्रको अन्त्य भई अर्धसामन्ती व्यवस्थाको करिब अन्त्य भएको र त्यसको अवशेषमात्र बाँकी भएको ठहर गर्दै एमाओवादीले पँुजीवादी क्रान्तिको बाटो लिन लागेको हो ।
अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमा पेस गर्ने राजनीतिक दस्तावेजमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी पुँजीवादी क्रान्ति पूरा गर्ने उल्लेख गरेका छन् । 'संविधानसभाबाट जनपक्षीय संविधान सुनिश्चित गर्नु यथार्थमा जनवादी क्रान्तिकै केही आधारभूत कार्यहरू पूरा गर्नु तथा तिनलाई संस्थागत गर्नु हो,' उनले दस्तावेजमा भनेका छन्, 'जनताको आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने तथा सामन्ती अवशेष र नवऔपनिवेशिक शोषणको अन्त्य गरी पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभारलाई नयाँ र मौलिक ढंगले पूरा गर्ने अवसरका रूपमा प्रयोग गर्नुछ ।'
संयोग नै भन्नुपर्छ, पुँजीवादी क्रान्तिको कार्यदिशा लिने महाधिवेशन पनि हेटांैडा औद्योगिक क्षेत्रमा हुँदैछ । 'अर्धसामन्ती आर्थिक अवस्थाबाट पुँजीवादी आर्थिक अवस्थातिर अग्रसर समाज, औपनिवेशिक अवस्थाबाट पूर्ण स्वाधीनताको अवस्थातिर अग्रसर राष्ट्रिय आन्दोलन एवं संक्रमणकालीन राजनीतिक परिस्थितिमा सर्वहारा वर्गीय राजनीतिक नेतृत्वको बलियो उपस्थितिको आजको ठोस स्थिति जनवाद र समाजवादबीचको दूरी पूरै घट्न गएको यथार्थमा हाम्रो पार्टी स्पष्ट हुन जरुरी छ,' एमाओवादीको आगामी कार्यदिशामा उल्लेख छ, 'यस दृष्टिले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने रणनीति स्वतः समाजवादी क्रान्तिको तयारीको रणनीति बन्न पुग्दछ ।'
'मुलुकको राजनीति पुँजीवादतिर ढल्किएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र पुँजीवाद हो,' महाधिवेशन आयोजक समिति सदस्य हेमन्तप्रकाश ओलीले भने, 'त्यसकारण अब पुँजीवादी जनवादी क्रान्ति आवश्यक परेको हो ।'
एमाओवादीले पुँजीवादी क्रान्तिका लागि उत्पादन (किसान) र निर्माण (मजदुर) संघर्षबाट गर्न सकिने रणनीति लिएको छ । 'नेपालको आजको अवस्थामा नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको संघर्षलाई उत्पादनका निमित्त संघर्षसँग जोड्दै पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिने रणनीति हासिल गर्नुपर्छ ।'
एमाओवादी नेता राम कार्कीले कम्युनिस्ट नेतृत्वमा हुने भएकाले पुँजीवादी जनवादी क्रान्ति भनिएको उल्लेख गरे । 'कम्युनिस्टको नेतृत्वमा हुने भएकाले पुँजीवादी जनवादी क्रान्ति भनिएको हो,' उनले भने, 'यो नयाँ जनवादी क्रान्ति नै हो ।' उनले यो क्रान्ति समाजवाद उन्मुख हुने बताए । प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष बाबुराम भट्टराईले मुलुकमा आर्थिक क्रान्ति गर्ने विचार ल्याएको ५ वर्षपछि एमाओवादीले औपचारिक रूपमा पुँजीवादी क्रान्तिको बाटो लिन लागेको हो ।
फुटेर गएको मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले जनयुद्धको जगमा नयाँ जनवादी क्रान्ति गर्ने निर्णय गरिरहेकै बेला एमाओवादीले पुँजीवादी क्रान्तिको कार्यदिशा लिन लागेको हो । तर पुँजीवादी क्रान्तिका लागि बल प्रयोगलाई भने उसले अनिवार्य ठानेको छ ।
'क्रान्तिको निणर्ायक बीजका लागि जनताको विद्रोहात्मक धक्का अनिवार्य हुन्छ,' एमाओवादीको दस्तावेजमा भनिएको छ ।
२२ वर्षपछि पनि दाहालकै दस्तावेज २०४८ मा चितवनको माडीमा किसानबीच भएको एकता महाधिवेशनमा तत्कालीन एकता केन्द्रका शक्तिशाली महामन्त्री र हाल हेटौंडामा एमाओवादीका शक्तिशाली अध्यक्षको हैसियतले २२ वर्षपछि दाहालले नै राजनीतिक दस्तावेज प्रस्तुत गर्दैछन् ।
माडीमा उनले दीर्घकालीन जनयुद्धका लागि सबै तयारी गर्ने कार्यदिशा पास गराएका थिए भने हेटौंडामा पुँजीवादी क्रान्ति पूरा गर्ने कार्यदिशा पारित गराउँदै छन् । माडीमा दाहाल, निर्मल लामा र रूपलाल विश्वकर्माबीच अन्तरसंघर्ष थियो । यतिबेला दाहाल, भट्टराई र नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा छ । माडीमा दीर्घकालीन जनयुद्धको कार्यदिशा किसानबीचमा पारित भएको थियो भने हाल पँुजीवादी क्रान्तिको कार्यदिशा मजदुरबीच गर्दैछन् ।
रंगियो हेटौंडा हरित सहरका रूपमा परिचित हेटौंडा नगर एमाओवादी महाधिवेशनको झन्डा, ब्यानर र गेटले राताम्य बनेको छ । व्यवस्थापक संयोजक हितराज पाण्डेले तयारी पूरा भएको जनाए । पहिलो चरणमा हेटांैडा-४ हुप्राचौरमा उद्घाटन हुनेछ । उनले ६० प्रतिशत महाधिवेशन प्रतिनिधि शुक्रबारसम्म हेटौंडा आइसके भने शनिबार बिहानसम्म सबै आइसक्ने बताए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायत नेताहरू राजधानीबाट हेटांैडा हिँडिसकेका छन् । करिब ३ हजार प्रतिनिधिमध्ये ३ सय पूर्वलडाकु पनि सहभागी छन् । महाधिवेशन सुरक्षाका लागि १४ सय सुरक्षाकर्मी परिचालन भएको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । महाधिवेशनस्थल हेटौंडा कपडा उद्योग परिसरमा रहेको बन्दसत्र हलमा सुरक्षा वाक थ्रु गेट राखिएको छ । महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
सुरक्षामा वाईसीएलले ६ सय स्वयंसेवक परिचालन गरेको संयोजक गणेशमान पुनले जानकारी दिए । वाईसीएलले बन्दसत्रको भित्री र सरकारी सुरक्षाकर्मीले बाहिरी सुरक्षा गर्नेछन् । स्थानीय प्रशासनले हेटौंडा बजारमा बेलुका ६ देखि बिहान ६ बजेसम्म मदिरा बेचबिखन र सेवन निषेध गरेको छ ।
अध्यक्ष दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री भट्टराई, अर्का उपाध्यक्ष एवं उपप्रधानमन्त्री श्रेष्ठलगायतलाई औद्योगिक क्षेत्रमा खाने र बस्ने व्यवस्था मिलाइएको छ । स्वदेशी र विदेशी पाहुनालाई होटलमा बस्ने व्यवस्था छ भने नेता, प्रतिनिधि र पर्यवेक्षकका लागि बन्द र आंशिक २६ उद्योगका हल र पाहुनाघरमा बस्ने व्यवस्था छ । तर सबैलाई खाने व्यवस्था महाधिवेशन स्थलमै गरिएको छ ।
विपक्षी दलद्वारा सहयोग
एमाओवादीको महाधिवेशनलाई स्थानीय विपक्षी दलहरूले सहयोग गरेका छन् । उनीहरूले सरकारको आलोचना गरे पनि महाधिवेशनका लागि आवश्यक सहयोग गरेको जनाएका छन् । प्रवक्ता अग्नि सापकोटाले विपक्षी दलहरू कांग्रेस, एमालेलगायत जिल्ला कार्यालयमा गई सहयोगको आग्रह गरेपछि उनीहरूले सघाएका हुन् । कांग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेले सरकारसँग लडाइँ भए पनि एमाओवादीको महाधिवेशनमा सहयोग रहने बताए ।

No comments: