Sunday, March 3, 2013

What is being in Nepal ?


काठमाडौ, फाल्गुन २१ - प्रमुख दलहरू सर्वोच्च अदालतको फैसलाअगावै बाधा अड्काउ फुकाउसहित प्रधानन्यायाधीशलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को नेतृत्व सुम्पने गृहकार्यमा लागेका छन् । प्रधानन्यायाधीशले सहमति नजनाएकाले भने उनीहरू ठोस टुंगोमा पुग्न नसकेका हुन् ।
प्रमुख चार राजनीतिक शक्तिका नेताहरूको आइतबार बालुवाटारमा बसेको बैठकले २२ गते बाधा अड्काउ फुकाउसहित संवैधानिक अड्चन फुकाउने र त्यसको २४ घन्टाभित्रै प्रधानन्यायाधीशलाई नेतृत्व दिने छलफल भएको तमलोपा अध्यक्ष महन्थ ठाकुरले बताए । 'आज -आइतबार) को छलफल अनुसार २२ गते बाधा अड्काउ फुकाउने र त्यसको २४ घन्टाभित्र प्रधानन्यायाधीशलाई नेतृत्व दिइसक्ने कुरा भएको छ,' उनले भने । प्रधानन्यायाधीशलाई नेतृत्व दिनेबारे सर्वोच्चमा परेको रिटमाथि २४ गते फैसला हुँदैछ । त्यो फैसलाअगावै नेताहरूले नेतृत्व दिने तयारी गरेका हुन् ।
बैठकमा कांग्रेस-एमालेले बाधा अड्काउ फुकाउ र प्रधानन्यायाधीशलाई नेतृत्व दिने काम एकैपटक हुनुपर्ने अडान राखेका थिए । सत्तारूढ दलहरूले भने बाधा अड्काउ फुकाउने काम अगाडि गर्नुपर्ने अडान राखेका थिए ।
 दलहरूबीच नेतृत्व दिनेमा करिब टुंगो लागे पनि अन्य विवादित विषय टुंगेका छैनन् । शान्ति प्रक्रिया, मतदाता नामावली र नागरिकतासम्बन्धी विषयको टुंगो लाग्न बाँकी छ । मतदाता नामावली र नागरिकताबारे त्यति ठूलो विवाद नरहेकाले शान्ति प्रक्रियासम्बन्धी विषयकै कारण सहमति अल्झाएर राख्ने पक्षमा नरहेको नेताहरूले बताएका छन् । 'प्याकेजमै सबै विषय टुंग्याउँछौं, समस्या हुँदैन,' ठाकुरले भने ।
बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जतिसक्यो छिटो अन्तरिम चुनावी सरकार गठन गर्न दलहरू गृहकार्यमा लागेको बताए । उनले सकेसम्म सोमबार नै सहमति गर्ने प्रयास भइरहेको जनाए । 'जतिसक्यो छिटो चुनावी सरकार गठन गर्ने गृहकार्यमा लागेका छौं,' उनले कान्तिपुरसँग भने, 'यसमा सम्बन्धित पक्षसँग छलफल हुनेछ ।'
उनले दलहरू घन्टा गनेर सहमतिको प्रयासमा लागेको दाबी गरे । कांग्रेस केन्द्रीय सदस्य एवं कार्यदल सदस्य मिनेन्द्र रिजालले भने सहमतिमाथि नै शंका व्यक्त गरे ।
'बैठकमा कुनै नयाँ कुरा भएन, यसअघिको बैठक जहाँ टुंगिएको थियो, त्यहाँभन्दा अघि बढ्न सकेको छैन,' उनले भने ।
स्रोतका अनुसार प्रधानन्यायाधीश खिलराज रेग्मीले अदालतको निर्णयअघि नेतृत्व लिन अप्ठ्यारो हुने नेताहरूलाई सम्झाएका छन । फागुन २४ अघि प्रधानन्यायाधीश सरकार प्रमुख नबन्ने स्थितिमा रहेको भन्दै माओवादीले त्यसअघि नै बाधा अड्काउ फुकाएर जान बैठकमा प्रस्ताव गरेको थियो ।
कांग्रेस-एमालेले भने बाधा अड्काउ फुकाउने र शपथ खुवाउने काम एकैदिन हुनुपर्ने अडान राखेका छन् । 'माओवादीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनेभन्दा आफंै टिकिरहने रणनीतिमा रहेको हामीलाई शंका छ,' रिजालले भने, 'माओवादी इमान्दार हुने हो भने प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन गाह्रो छैन । तर अरू दललाई उपयोग गर्ने दुराशय रचेको हो भने त्यो पूरा हुने छैन । ्रधानन्यायाधीशलाई देखाएर आफ्नो योजना कार्यन्वयन गर्न खोजेको शंका छ । त्यसैले बाधा अड्काउ फुकाउने र सरकारप्रमुख बनाउने सहमति एकैचोटि हुनुपर्छ ।'
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालालाई आइतबार बिहान टेलिफोन गरी छिटो सहमति गर्न छलफलका लाग बोलाएका थिए । राजधानी बाहिर रहेका कोइराला आउन नभ्याए पनि कांग्रेस उपसभापति रामचन्द्र पौडेललगायत नेता अपराह्न बालुवाटार बैठकमा सहभागी भएका थिए ।
दाहालले आइतबार बिहान राष्ट्रपति रामवरण यादवलाई भेटी छिटो सहमति नभए जेठमा निर्वाचन गर्न गाह्रो हुने भन्दै छिटो टुंगोमा पुग्नुपर्ने बताएका थिए । उनले सहमतिका लागि आवश्यक वातावरण मिलाइदिन यादवलाई आग्रह गरेका थिए ।
उता एमाओवादी प्रवक्ता अग्नि सापकोटाले सत्य निरूपण तथा मेलमिलाप आयोग विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानअनुसार बनाउन सकिने उल्लेख गर्दै निर्वाचनमा जान यसले नरोक्ने बताए । 'सत्य निरूपण तथा मेलमिलाप आयोगमा कुरा नमिले पनि चुनावमा जाने बाटो रोकिँदैन,' उनले पार्टी केन्द्रीय कार्यालयमा संवाददाताहरूसँग भने, 'कांग्रेस-एमाले अहिले आयोगमा सहमति हुँदैन भने लामो समय लिएर छलफल गरौं भनेका छन् ।'
छिटो नयाँ सरकार : भट्टराई
प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरू जतिसक्यो छिटो सरकार गठन गर्न सहमत भएको बताएका छन् । दलहरूको बालुवाटार बैठकलगत्तै सामाजिक सञ्जाल टि्वटरमार्फत कान्तिपुर संवाददाताको प्रश्नमा उनले यस्तो बताएका हुन् । 'दलहरू जतिसक्यो छिटो नयाँ सरकार गठन गर्न सहमत छन्,' उनले भने, 'सर्वोच्चको फैसलाअघि कि पछि भन्नेमा फरक धारणा छ ।' सर्वोच्चले २४ गते फैसला गर्नुअघि सरकार गठन गरे जेठमा निर्वाचन गर्न सजिलो हुने भन्दै एमाओवादी, मधेसवादी दलले त्यसअघि नै सरकार गठन गर्नुपर्ने बताउँदै आएका छन् ।
प्रकाशित मिति: २०६९ फाल्गुन २१ ०९:१५ 

No comments: