Thursday, March 21, 2013

एमाओवादीको निर्वाचन अभियान सुरु


काठमाडौ, चैत्र ८ - एमाओवादीले आगामी निर्वाचनका लागि औपचारिक तयारी सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन घोषणापत्र मस्यौदा लेखनका लागि उपाध्यक्ष बाबुराम भट्टराई र निर्वाचन उम्मेदवार छनोटका लागि महासचिव पोस्टबहादुर बोगटीको संयोजकत्वमा दुई समिति गठन गरेको छ ।   'आज -बुधबार) देखि पार्टीको चुनावी अभियान सुरु भएको छ,' प्रवक्ता अग्नि सापकोटाले भने, 'पार्टी अब पूर्णरूपमा चुनावी अभियानमा लाग्छ ।' भट्टराई नेतृत्वको चुनावी घोषणापत्र लेखन समितिमा कृष्णबहादुर महरा, गोपाल किराँती, लेखराज भट्ट, विश्वभक्त दुलाल, विश्वनाथ शाह, धर्मदत्त देवकोटा, डिल्लीराज खनाल र शशी श्रेष्ठ सदस्य छन् । बोगटी नेतृत्वको उम्मेदवार छनोट समितिमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हिसिला यमी, लीलामणि पोखरेल र प्रभु साह छन् । सापकोटाले दुवै समितिले छिट्टै काम सुरु गर्ने जनाए । 'दुवै समितिलाई यथाशक्य छिटो आफ्नो काम सक्न बैठकले निर्णय गरेको छ,' उनले भने ।
बैठकले 'विशेष प्रस्ताव' पारित गर्दै असार पहिलो साताभित्र निर्वाचन घोषणा गर्न माग गरेको छ । 'राजनीतिक सहमतिको आधारमा राजनीतिक गतिरोध अन्त्य गरी चुनावी सरकार गठन भएकामा हार्दिक स्व्ागत गर्दछ,' पारित प्रस्तावमा भनिएको छ, 'असार ७ गतेभित्र निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछ ।' बैठकले निर्वाचनविरुद्ध हुने सबै षड्यन्त्र असफल पार्दै निर्वाचन अभियानमा लाग्न अपिल गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीशको नेतृत्वमा मन्त्रिपरिषद् गठन गरी निर्वाचनमा जाने सहमतिले सबैको जित भएको उल्लेख गर्दै असारमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताए ।
'राजनीतिक दलबीच भएको सहमतिका आधारमा निर्वाचनमा जाने निर्णय देश र जनताको जित हो,' उनको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, 'चुनावलाई असफल पार्ने कुनै क्रियाकलाप भए नेपाली जनतालाई सह्य हुँदैन ।' उनले असारको पहिलो साता निर्वाचन हुने वातावरण बनाउन सबै केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिए । 'असार पहिलो साता निर्वाचनको वातावरण बनाउन हामी सबै पार्टी पंंक्ति लाग्नुपर्छ,' दाहालको भनाइ थियो, 'निर्वाचन भएपछि मात्रै देशमा सही रूपमा निकास हुनेछ ।'
दाहालले बैठकमा सम्पूर्ण शक्तिका साथ निर्वाचनमा जाँदा पार्टीले दुई तिहाइ बहुमत ल्याउन सक्ने दाबी गरेको एक सदस्यले जनाए । 'प्रधानन्यायाधीश नेतृत्वमा सरकार बनाउनेदेखि सत्य निरूपण तथा मेलमिलाप आयोग गठन, निर्वाचन, बाधा अड्काउ फुकाउ अध्यादेश र ११ बुँदे राजनीतिक सहमति आफ्नो पार्टीको एजेन्डाअनुसार भएको छ,'
दाहालको भनाइ थियो, 'पार्टी राष्ट्रिय राजनीतिको मूलधारमा स्थापित हुन सकेको र चुनौती पनि उत्तिकै रहेकाले सजगताका साथ कदम चालिनुपर्ने अवस्था छ ।' बुधबार सुरु भएको बैठकमा दाहालले राजनीतिक सहमतिबारे व्याख्या गरेका थिए ।
बैठकले महाधिवेशनमा पारित भएको 'पुँजीवादी क्रान्ति' को कार्यदिशा लिएको राजनीतिक प्रतिवेदनमा आएका सुझाव समेटी अन्तिम रूप दिनुका साथै केन्द्रीय समितिलाई पूर्णता दिनेछ । पार्टी विधानमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख भए पनि महाधिवेशनले २ सय ४१ सदस्यीय आयोजक समितिमध्ये ९६ जनालाई मात्र केन्द्रीय समितिमा चयन गरेको थियो । यो बैठकले अब ५३ केन्द्रीय सदस्य थप्ने छ । डेढ सय वैकल्पिक केन्द्रीय सदस्य पनि थप्ने छ । केन्द्रीय समितिमा महिला, दलित, मधेसी र उत्पीडित क्षेत्रलाई प्राथमिकता दिइने माओवादीले जनाएको छ । बैठकले पोलिटब्युरो, स्थायी समिति र सचिवहरूको समेत टुंगो लगाउने छ ।
केन्द्रीय समिति बैठक चलिरहँदा अन्तरपार्टी महिला सञ्जालले असारमा निर्वाचन हुनुपर्ने माग गर्दै पार्टीका सम्पूर्ण निकायमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग गरेको छ ।
 कान्तिपुरमा प्रकाशित मिति: २०६९ चैत्र ८ ०८:३५ 

No comments: