Monday, September 12, 2011

सेना समायोजन अघि बढाए बैद्यले प्रतिवाद गर्ने

गंगा बीसी
काठमाडौ, भाद्र २६ - माओवादीले लडाकु समायोजन अघि बढाउने-तयारी गरेका बेला पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षले प्रतिवादको तयारी गरेको छ । असोज तेस्रो साता हुने केन्द्रीय समिति बैठकअघि प्रक्रिया अघि नबढाउन वैद्य पक्षले संस्थापन पक्षलाई दबाब दिइरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई केन्द्रीय समिति बैठकअघि नै शान्ति प्रक्रिया अघि बढाउने तयारीमा छन् । त्यसका लागि यही साता कांग्रेस-एमालेसँग सहमति जुटाउन अनौपचारिक छलफल भइरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए । 'कांग्रेस-एमालेसँग अनौपचारिक कुराकानी भइरहेको छ,' उनले कान्तिपुरसँग भने, 'अध्यक्ष र प्रधानमन्त्री प्रक्रिया छिटो अघि बढाउने तयारीमा हुनुहुन्छ ।'
वैद्य पक्षका स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले लडाकु शिविर र कन्टेनरका साँचो -ुझाउने कार्य नसच्याए शान्ति प्रक्रिया अघि बढ्न नसक्ने बताए । 'दाहाल र बाबुरामले साँचो बुझाउने कार्य पुनर्विचार गर्नुपर्छ,' उनले कान्तिपुरसँग भने, 'पार्टी नीतिविपरीत भएको निर्णय नसच्याई अघि बढे सशक्त विरोध हुनेछ ।'
प्रधानमन्त्रीका सल्लाहकार पौडेलले साँचो विवादले लडाकु समायोजन अघि बढाउन खासै फरक नपर्ने बताए । 'पार्टीभित्रको विवादले खास असर गर्दैन,' उनले भने, 'मुख्य कुरा कांग्रेस-एमालेसँग सहमति हुनुपर्छ, छलफल त्यतातिर केन्दि्रत छ ।'
वैद्य पक्षले साँचो विवादबारे गल्ती महसुस गर्न थालेको संस्थापन पक्षको दाबी छ ।  प्रवक्ता दीनानाथ शर्माले साँचो विवाद चर्काउन नहुने महसुस वैद्य पक्षले गर्न थालेको बताए । उनले प्रतिपक्ष दल कांग्रेस-एमालेले नचाहे मात्र शान्ति प्रक्रिया अवरुद्ध हुने बताए ।
यही साता समायोजनमा दलहरूबीच सहमति नभए माओवादीले तय गरेको ४५ दिनको समयसीमाभित्र लडाकु पुनर्वर्गीकरण प्रभावित हुने भएकाले दाहाल र भट्टराई सहमति जुटाउने कसरतमा छन् ।
संस्थापन र वैद्य पक्षले साँचो विवादबारे देशव्यापी छुट्टाछुट्टै भेला जारी राखेका छन् । दाहाल र भट्टराईले समायोजनबारे धर्य गर्न भन्दै नेता, कार्यकर्तालाई मिलेर काम गर्न निर्देशन दिएका छन् भने वैद्य र महासचिव रामबहादुर थापाले साँचो बुझाउने कार्य गलत भन्दै सचेत रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: २०६८ भाद्र २६ ०८:३८

No comments: