Tuesday, September 13, 2011

लडाकुको साँचो विवादको साचो कुरा


"प्रचण्ड र बाबुरामको पक्षमा बहुमत भए पनि वैद्यलाई एक्ल्याएर समस्याको समाधान निक्लन सक्दैन ।"

गंगा बीसी
कन्टेनरका साँचो प्रधानमन्त्रीको संयोजकत्वमा रहेको विशेष समितिलाई बुझाउने निर्णयले माओवादीमा भूकम्प ल्यायो । उपाध्यक्ष मोहन वैद्य पक्ष आफ्नै पार्टीको संस्थापन पक्षविरुद्ध उत्रिए । आफू शान्ति र संविधानकै पक्षमा भएको दाबी गरेका वैद्यले साँचो बुझाउने निर्णयको किन विरोध गरे ? शान्ति र संविधावनको जति कुरा गरे पनि वैद्यको राजनीतिक कार्यदिशा जनविद्रोह नै हो । उनी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराईले भनेजस्तो शान्ति  र संविधानको पक्षमा न हिजो थिए न आज छन् न भोलि हुनेछन् । अहिले शान्ति प्रक्रिया अघि बढ्दा उनले साँचोको बहाना निकालेर मसाल जुलुस गर्नुको कारण त्यही हो । उनलाई यो प्रक्रियाबाट आफूले चाहेजस्तो संविधान र शान्ति प्रक्रिया सफल हुनेमा विश्वास छैन । गत मंसिरको पालुङटार बैठकमा उनले प्रचण्डलाई जनविद्रोहको लाइनमा ल्याउन सफल भए । तर कार्यान्वयनको दिशामा माखो पनि मारेनन् । त्यसपछि प्रचण्डले 'बोल्ड डिसिजन' लिए र शान्ति र संविधानको पक्षमा खुलेरै लागे ।
कार्यदिशा जतिसुकै राम्रो भए पनि त्यो कार्यान्वयनमा गएन भने त्यसको कुनै अर्थ रहँदैन । वैद्यको जनविद्रोह पनि एउटा सुन्दर सपना त भयो तर व्यवहारमा कार्यान्वयन हुने छाँट देखिएन । विगतलाई फर्केर हेर्ने हो भने बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरेको चुनबाङ बैठकको कार्यदिशामा वैद्य सहमत छैनन् । त्यतिबेला उनी भारतको जेलमा थिए । आफ्नै पार्टीभित्रको गडबडीले आफू जेल परेको आशंका उनको मनमा कहीं न कहीं छँदैछ । त्यसपछि २०६४ मा भएको विस्तृत शान्ति सम्झौता गर्नु गलत ठान्छन् उनी । त्यसबेला पार्टी केन्द्रीय समिति बैठकले विस्तृत शान्ति सम्झौता गरी युद्ध समाप्त नगरी सशस्त्र युद्धलाई समाप्त गरिएको वैद्य पक्षको भनाइ छ । चुनबाङ बैठकको जगमा भएको १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र पछिल्लो सेना समायोजनको विषयमा वैद्यको सहमति छैन । पछिल्लो साँचो बुझाउने कार्यको विरोध गर्नु त्यसको पछिल्लो कडी हो ।
संस्थापन पक्षले शिविर र कन्टेनरको साँचो बुझाएपछि वैद्यले यो केवल साँचोको मात्र प्रश्न नभएको टिप्पणी गरे । साँचोको पछाडि ठूलो राजनीतिक अर्थ भएको पनि उनले बताए । लडाकू शिविर र हतियारको साँचो भनेको सिंगो शान्ति प्रक्रियाको साँचो पनि हो । लडाकू शिविर र हतियारको साँचो बुझाउनु भनेको शान्ति प्रक्रियाको ताला खुल्ने प्रक्रिया सुरु हुनु हो । जुन कुरा वैद्यलाई मन परेको छैन र उनी सडकमा उत्रिएका हुन् । त्यसकारण उनले विरोध गरेका हुन् । उनी आवेगमा आएर गरेको कुरा पनि होइन, उनले जनविद्रोहको जुन राजनीतिक कार्यदिशा लिएका छन्, उनले त्यसलाई पछ्याएका मात्र हुन् । शान्ति प्रक्रिया अघि बढ्दै गयो भने पनि उनको विरोध प्रक्रिया जारी रहनेछ । त्यसबेला उनले पार्टी फुटाउने धम्कीसमेत दिनेछन् ।
उनले जुन कार्यदिशा लिएका छन्, त्यसमा उनी इमानदार पनि छन् । उनको राजनीतिक इमानदारितालाई पार्टीभित्र राम्रै प्रशंसा भइरहेको छ । तर, उनीसँग एउटा विचित्र विशेषता छ । त्यो के हो भने उनी क्रान्तिको मोडेललाई समयनाकूल परिमार्जन गर्न हिच्किचाउँछन् । आफूले शास्त्रीय रूपमा पढेको क्रान्तिको मोडेलभन्दा तलमाथि भयो भने धोका हुने उनमा डर छ । उनी राजनीतिक इमानदार नेता हुँदाहुँदै पनि समयानुकूल चल्न नसक्ने नेता हुन् । प्रचण्ड र बाबुरामजस्तो समयानुकूल अघि बढ्ने प्रवृत्ति कम भएका कारण उनीमाथि जडसूत्रवादी नेताको आरोप लाग्दै आएको छ । पछिल्लोपटक उनले जडसूत्रवादको नमुना देखाए । यदि साँचो विवादकै कारणले शान्ति प्रक्रिया धरापमा पर्‍यो भने त्यसको दोष सबभन्दा वैद्यमाथि जानेछ ।
सेना समायोजन विशेष समितिलाई साँचो बुझाउने कार्यको विरोध गरी वैद्य पक्षले लडाकूको समर्थन लिने प्रयास गरे । सात शिविरमा रहेको हतियार कन्टेरनरको साँचो दुई दिनमा विशेष समितिका प्रतिनिधिलाई बुझाइयो । एकजना पनि लडाकू कमान्डरले साँचो बुझाउने कार्यको विरोध गरेनन् । बरु शान्ति प्रक्रिया अघि बढाउने पार्टी निर्णयको लडाकूले स्वागत गरे र उनीहरूमा एउटा उत्साह थपियो । शान्ति प्रक्रिया र विशेष गरी लडाकूसँग गाँसिएको साँचो बुझाउने कार्यको विरोध गरी वैद्यले लडाकूको सहानुभूति लिन खोजेका थिए । उनलाई त्यसमा खास सफलता मिल्न सकेन । किनभने प्रचण्ड र बाबुरामले साँचो बुझाउनुअघि लडाकूहरूको मनोविज्ञान बुझेरै त्यो निर्णय गरेका थिए । वैद्यले भनेजस्तो लडाकूको विसर्जन गर्न लागेको आरोपको स्वयं लडाकू कमान्डरले खण्डन गरे । साढे चार वर्षभन्दा बढी समयदेखि शिविरमा कठिन परिस्थितिमा बसेका लडाकूका लागि शान्ति प्रक्रिया अघि बढ्नु दुःखको कुरा होइन, खुसीको कुरा हो । युवा अवस्थाको उत्पादनशील समय युद्धमा होमेका लडाकूहरू अब सुरक्षित भविष्य सुनिश्चित गर्न चाहन्छन् । उनीहरू सम्मानजनक समायोजन र पुनःस्थापनामा जान चाहन्छन् । उनीहरूको भविष्य पनि त्यसरी नै सुरक्षित हुन्छ । अब लडाकूहरू क्रान्तिकारी 'रोमान्टिसिज्म'मा फस्न चाहँदैनन्, आफ्नो सुदूरभविष्य सुरक्षित गर्ने प्रक्रियाको समर्थनमा बढ्न चाहन्छन् ।
माओवादीमा विवाद बढ्दै गयो भने शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्दैन । प्रचण्ड र बाबुरामको पक्षमा बहुमत भए पनि वैद्यलाई एक्लाएर समस्याको समाधान निक्लन सक्दैन । माओवादीले यसअघि नै तय गरेको काम कारबाहीमा एकरूपता विचारमा विविधता भन्ने विधिलाई सही ढंगले लागू गर्न सके मात्र बढ्न सक्छ । पार्टीका वरिष्ठ उपाध्यक्ष वैद्यको विचारलाई सुरक्षित नगरे पार्टीमा विग्रह आउने खतरा हुन्छ । किनभने वैद्यको पार्टीभित्र हाल पनि बलियो पकड छ । प्रचण्ड-बाबुरामले वैद्यको विचारलाई सम्मान गर्दै शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अघि बढाउनुपर्छ । लडाकू शिविर र हतियार कन्टेनरकोे साँचो बुझाउने विवाद समाधान गर्ने साँचो पनि प्रचण्ड र बाबुरामसँग छ । दुवैले होसियारीपूर्वक पार्टीभित्रको गाँठोलाई चाँडोभन्दा चाँडो फुकाएर तीन महिनाभित्र मुलुक र जनताको पक्षमा काम गर्ने अग्निपरीक्षा उत्तीर्ण गर्नुपर्छ ।

No comments: