Tuesday, July 12, 2011

दाहाल किन अप्ठ्यारोमा ?

गंगा बीसी
अषाढ २८ - भट्टराई र वैद्य दुवै पक्षले करिब एक महिना लगाएर १५९ जनाको हस्ताक्षर गरेपछि दाहाल सांकेतिक रूपमा अल्पमतमा परे । यसैबीचमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहले पनि दाहाललाई काँध थाप्न छाड्यो । त्यसपछि दाहाल साँच्चै अप्ठ्यारोमा परे । यतिखेर दाहाल सामु वैद्यको जनविद्रोहको कार्यनीति र भट्टराईको शान्ति संविधानको राजनीतिक कार्यदिशा छन् । अब कसरी अघि बढ्लान् माओवादी अध्यक्ष दाहाल ?


काठमाडौं- एकीकृत पार्टीको नेतृत्व सम्हालेको करिब २० वर्षपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र पहिलोपटक अप्ठ्यारो स्थितिको सामना गर्नु परेको छ ।
विगतमा कहिले उपाध्यक्ष मोहन वैद्य र कहिले अर्का उपाध्यक्ष बाबुराम भट्टराईको समर्थनमा 'शक्तिशाली' अध्यक्ष हुँदै आएका दाहाल यतिबेला भने दुवै उपाध्यक्षको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
राजनीतिक मुद्दामा विवाद भएका कारण दाहाल अप्ठ्यारोमा परेका भने होइनन् । नेताहरूको उचित कार्यविभाजनका विषयलाई लिएर वैद्य र भट्टराईको गठबन्धन भएपछि दाहाललाई त्यसको सामना गर्न कठिन परेको हो ।
जनविद्रोहको कार्यनीति लिएका वैद्य र शान्ति, संविधानको नीति लिएका भट्टराई एक भई संसदीय दलमा स्पष्ट बहुमत पुगेकाले त्यसको सामना गर्न दाहालले राजनीतिक कार्यदिशा अघि बढाउने रणनीति लिनुपर्ने बाध्यता छ । भदौ १४ सम्म पार्टीले अघि सारेको शान्ति र संविधानको कार्यदिशा अघि बढाउन भट्टराईको पूर्ण समर्थन रहेकाले कार्यविभाजन पहिले गर्नुभन्दा कार्यदिशा अघि बढाउनु दाहालका लागि बलियो हतियार हो ।
सरकारको नेतृत्व भट्टराईलाई दिने निर्णय केन्द्रीय कमिटीले गरे उनले आफूलाई साथ दिने दाहालको विश्वास छ । त्यसकारण उनले भट्टराई अडिग हुँदै आएको शान्ति र संविधान निर्माणको एजेन्डालाई बुधबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकको पहिलो नम्बरमा राख्ने तयारी गरेका छन् ।
वैद्य र भट्टराई पक्षबाट दाहाललाई संसदीय दलको नेताबाट हट्न बाध्य पारियो भने शान्ति र संविधान धरापमा पर्ने दाहाल पक्षको विश्लेषण छ । 'अध्यक्षलाई दलको नेताबाट हटाउने काम भयो भने मुलुकका लागि दुर्भाग्य हुनेछ,' दाहाल निकट पोलिटब्युरो सदस्य जनार्दन शर्माले कान्तिपुरसित भने, 'त्यस्तो गरियो भने शान्ति, संविधान अप्ठ्यारोमा पर्छ । त्यसकारण दलको नेता फेर्ने प्रस्ताव अस्वाभाविक र असान्दर्भिक छ ।'
भट्टराई पक्षका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले भने नेताको जिम्मेवारी हेरफेर भएमा शान्ति र संविधान अघि बढाउन अझ सहज हुने तर्क गरे । उनले शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउनेमा आफ्नो पक्षको विमति नभएको भन्दै दलको नेता हेरफेर गर्दैमा फरक नपर्ने जनाए । 'नयाँ आधारमा कार्यविभाजन भयो भने पार्टी सञ्चालन, शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउन झन् सजिलो हुन्छ,' उनले कान्तिपुरसँग भने, 'संसदीय दलको नेता बाबुरामजी, संगठन विभाग प्रमुख किरण (वैद्य) र जनमुक्ति सेनाको जिम्मा बादल (महासचिव रामबहादुर थापा) भए राम्रो हुन्छ भनेको हो । अध्यक्षलाई दलको नेताबाट हटाउने भनेको होइन, उचित कार्यविभाजन गरौं भन्ने प्रस्ताव हो ।' वैद्यले यसअघि पनि संगठन विभाग प्रमुख भए पनि अधिकार प्रयोग गर्न सकेका थिएनन् ।
संविधानसभाको म्याद थपेको करिब दुई सातासम्म दाहाल सजिलो अवस्थामा थिए । भट्टराईलाई साथ लिएर शान्ति र संविधानको पक्षमा फटाफट निर्णय गरेको भए अहिले दाहाललाई अप्ठ्यारो पर्ने थिएन । पार्टीभित्र कार्यविभाजनको मुद्दा नचर्किंदै भट्टराईलाई विश्वासमा लिन नसक्नु नै दाहालको कमजोरी रह्यो । जब वैद्य पक्षले माओवादी नेताको दोहोरो सुरक्षा हटाउने स्थायी समिति निर्णयको चर्को विरोध गर्दै लडाकुलाई बिसर्जन गर्न थालेको आरोप लगाए, त्यसपछि दाहालका अप्ठ्यारा दिन सुरु भएका हुन् । शान्ति र संविधान निर्माणलाई तीव्रता दिएका दाहाल आफूमाथि गम्भीर आरोप लागेपछि हच्किए । उता उपाध्यक्ष भट्टराईलाई आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बन्ने पुरानै चाहना बल्भिmयो ।
 प्रधानमन्त्री झलनाथ खनालको सरकार बन्ने बेलामा गतिलो मन्त्रालय नदिएको र मन्त्रीहरूको टोली समावेशी नबनाएको आक्रोशलाई वैद्य पक्षले कार्यविभाजनको प्रश्नसँग जोडेर यसबीचमा भट्टराईसँग अघोषित एकता गर्न पुगे । दुवै पक्षले करिब एक महिना लगाएर एक सय ५९ जनाको हस्ताक्षर गराई दाहालमाथि सांकेतिक रूपमा अल्पमतमा परेको दबाबसमेत दिए । यसैबीचमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहले पनि दाहाललाई काँध थाप्न छाड्यो । त्यसपछि दाहाल साँच्चै अप्ठ्यारोमा परेका हुन् ।
दाहाल आफू कमजोर हुने गरी कार्यविभाजन गर्ने मनस्थितिमा नभएको उनी निकट नेताहरूले बताएका छन् । त्यो पक्षको संसदीय दलको नेता छाडेमा उनी कमजोर हुने विश्लेषण छ । वैद्य र भट्टराईले दाहाललाई पार्टी अध्यक्षको हैसियतमा राखी अन्य नेताहरूले शक्तिशाली जिम्मेवारी लिनुपर्ने दबाब दिँदै आएका छन् । 'कार्यविभाजनका नाममा अहिले दलको नेताबाट अध्यक्षलाई हटाउने कुराले कसैको हित गर्दैन,' दाहाल निकट शर्माले भने, 'नेतृत्व कमजोर हुने गरी कार्यविभाजन पनि हुन सक्दैन ।' उनले दाहाल बहुमतमा भएको दाबी गर्दै वैद्य र भट्टराई पक्षले अल्पमतमा परेका हल्ला चलाएको आरोप लगाए । भट्टराई पक्षका पोलिटब्युरो पौडेलले भने, अध्यक्ष दाहालको नेतृत्वमाथि कसैले प्रश्न नउठाएको बताए । 'अध्यक्षको नेतृत्वबारे कसैले प्रश्न उठाएको छैन,' उनले भने, 'फरक विचार राख्दैमा कार्यविभाजन गर्नु हुँदैन भन्नु गलत हो ।'
अध्यक्ष दाहाल उपाध्यक्ष भट्टराईलाई संसदीय दलको उपनेता दिएर सरकारको नेतृत्वका लागि पार्टीमा निर्णय गराउने पक्षमा छन् । त्यस्तै हाल दलको उपनेता रहेका उपाध्यक्ष श्रेष्ठलाई आगामी सरकारको शक्तिशाली मन्त्रालयको जिम्मा दिएर निकास निकाल्न दाहालले गृहकार्य थालेका छन् ।
'बाबुरामजीलाई उपनेता बनाएर प्रधानमन्त्रीका लागि पठाउने, उपाध्यक्ष नारायणकाजीलाई सम्मानजनक रूपमा सरकारमा पठाउन सकिन्छ,' दाहाल निकट एक वरिष्ठ नेताले कान्तिपुरसँग भने, 'यो मान्य हुन्न भने जनविद्रोहको नीति लिएका किरण (वैद्य) र शान्ति र संविधानको नीति लिएका बाबुरामजीको गठबन्धन अध्यक्षलाई विस्थापित गर्नका लागि हो भन्ने बुझ्नुपर्छ ।'
राजनीतिक कार्यदिशालाई लिएर चर्किएको विवाद नेताहरूको कार्यविभाजनमा केन्दि्रत भएपछि वैद्य र भट्टराईले एक नेता एक पदको अवधारणासहित दाहाललाई चर्को दबाब सिर्जना गरेका छन् ।
 

No comments: