Saturday, July 30, 2011

माओवादी सरकारबाट बाहिरिए पछि के हुन्छ ?

गंगा बीसी
काठमाडौं, श्रावण १४ -

माओवादीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार राति साढे ८ बजे प्रधानमन्त्री झलनाथ खनाललाई बालुवाटारमा भेटी आफ्ना मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएका हुन् ।

 प्रमुख सत्ता साझेदार माओवादीका सबै मन्त्रीले राजीनामा दिएपछि सरकार संकटमा परेको छ । केन्द्रीय कमिटीको निर्णयअनुसार नयाँ मन्त्रीको शपथग्रहण गराउन नमानेकाले माओवादीले सबै मन्त्रीले राजीनामा दिने

निर्णय गरेको हो ।

 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादीका सबै मन्त्रीले सामूहिक राजीनामा दिएको जानकारी दिए । 'माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीको संयुक्त राजीनामापत्र बुझाउनुभयो,' उनले भने, 'प्रधानमन्त्रीले राजीनामा समाधान नभएको भन्दै सहमतिमा आउन आग्रह गर्नुभएको छ ।'

आफ्ना मन्त्रीको संयुक्त राजीनामा पत्र बुझाउँदै दाहालले शपथग्रहणका लागि अझै विचार गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री खनालले भने राजीनामा स्वीकृत गर्ने/नगर्नेबारे केही नबताएको माओवादीले जनाएको छ । माओवादीले आइतबार बेलुकासम्म अल्टिमेटम दिएको छ ।

 दाहालले भौतिक योजनामन्त्री टोपबहादुर रायमाझी, स्वास्थ्य तथा जनसंख्यामन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मा, शान्ति तथा पुनर्निर्माणमन्त्री विश्वनाथ साह, भूमिसुधारमन्त्री रामचरण चौधरी, राज्यमन्त्रीहरू हकिकल्लाह खाँ, देवी खड्का, धर्मशिला चापागाईंको संयुक्त राजीनामा बुझाएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा र सूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटाले यसअघि नै राजीनामा दिएका हुन् । माओवादीको भागमा पहिले ११ र पछि एक थप गरी १२ मन्त्रालय परेका थिए । शनिबार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वको नयाँ मन्त्रीको टोलीलाई शपथग्रहण नगराएको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरेको थियो ।

'हाम्रो निर्णयअनुसार प्रधानमन्त्री खनालले नयाँ मन्त्रीको शपथग्रहण नगराएकाले शनिबार नै सबै मन्त्रीले राजीनामा दिने निर्णय भएको छ,' बैठकपछि प्रवक्ता दीनानाथ शर्माले भने, 'आइतबारसम्म पनि हाम्रो आग्रहलाई बेवास्ता गरियो भने कठोर कदम चालिनेछ ।' माओवादीले आइतबार स्थायी समिति बैठक गरी खनाल सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा निर्णय गर्ने शर्माले बताए ।

 खनालसँगको भेटमा दाहालले आफ्ना मन्त्रीको शपथग्रहण गराए सेना समायोजनलगायतका प्रक्रिया अघि बढाउन समस्या नहुने बताएका थिए । दाहाल निकट स्रोतका अनुसार खनालले 'मिलाएर' शपथग्रहण गराउने बताएका थिए । दाहालले भने पार्टीले राजीनामा नदिने निर्णय गरिसकेकाले पर्खन नसकिने बताएका थिए । खनालले सेना समायोजनसम्बन्धी प्रक्रिया अघि बढाएर नयाँ मन्त्री थप्ने प्रस्ताव गरे पनि माओवादीले अस्वीकार गरेको थियो ।

उपाध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीका लागि आइतबार बेलुकासम्म समय भएको बताए । बालुवाटार जानुअघि माओवादी मन्त्रीहरूले दाहाललाई राजीनामा दिएका थिए । माओवादीमा कार्यविभाजनको विवाद चुलिएपछि उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा मन्त्री पठाउने निर्णय गरेको थियो । उता माओवादीभित्र नयाँ टोली

पठाउन कमजोरी भएको भन्दै पार्टीको नेतृत्वमा राष्ट्रिय सरकारको पहल गर्नुपर्ने कुरा उठ्न थालेको छ । दाहाल पक्षले उपप्रधान तथा गृहमन्त्री महराको नेतृत्व परिवर्तन गर्नु कमजोरी भएको बताएको छ । 'महराको नेतृत्व फिर्ता गर्ने निर्णयले यो अवस्था ल्याएको हो,' दाहाल निकट एक नेताले भने, 'मन्त्रीको टोली नेतृत्व परिवर्तन गर्नु कमजोरी थियो ।'

कान्तिपुरमा प्रकाशित मिति: २०६८ श्रावण १४ ०७:४७

No comments: