Thursday, July 21, 2011

What is being into UCPN Maoist ?

गंगा बीसी
काठमाडौ, श्रावण ६ - माओवादीमा संसदीय दलको नेता परिवर्तन गर्ने लगायतका प्रमुख विषयमा सहमति नभए बहुमतबाट टुंग्याइने भएको छ । उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाले सकेसम्म दलको नेतासहित अन्य कार्यविभाजन सहमतिका आधारमा गर्ने, नभए अल्पमत/बहुमतबाट टुंग्याउने तयारी गरेका छन् ।


अध्यक्ष पुष्पकमल दाहालले दलको नेता छोड्न बिहीबार असहमति जनाएपछि वैद्य-भट्टराई पक्षले बहुमतबाटै टुंग्याउने तयारी गरेका हुन् । उनीहरूले केन्द्रीय समिति र संसदीय दलमा आफूसँग बहुमत पुगेको दाबी गर्दै दाहालमाथि दल नेता छाड्न बिहीबार स्थायी समिति बैठकमा दबाब सृजना गरेका थिए ।
वैद्य पक्षीय सचिब सीपी गजुरेलले सहमतिमै सबै कार्यविभाजन टुंग्याउने गृहकार्य भइरहेको उल्लेख गर्दै सहमति नभए बहुमतबाट टुंग्याउने बताए । 'कार्यविभाजनको प्रमुख विषय दलको नेता हो, सकभर सहमतिमा कार्यविभाजन गर्ने गृहकार्य भइरहेको छ,' उनले कान्तिपुरसँग भने, 'दल नेता लगायतको कार्यविभाजन मिलेन भने बहुमतबाट टुंग्याइन्छ ।' उनले कार्ययोजना र कार्यविभाजन प्याकेजमै निर्णय गर्नुपर्ने जनाए । दाहालले शान्ति र संविधानको कार्ययोजना टुंग्याएर मात्र कार्यविभाजनमा जाने अडान कायम राखेका छन् । त्यसले गर्दा बिहीबार कुनै सहमति नभई बैठक शुक्रबार बस्ने गरी स्थागित गरिएको छ ।
कार्यविभाजनमा कुरा मिलाउन बिहीबार करिब तीन घन्टा स्थायी समितिको बैठक बसे पनि कुनै निष्कर्षमा पुगेन । त्यसपछि करिब १५ मिनेट चलेको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले सहमति भइनसकेको उल्लेख गर्दै थप गृहकार्य आवश्यक भएको जनाएका थिए । 'कहिले कुरा मिलेमिले जस्तो, कहिले दूरी बढेजस्तो देखिएको छ,' उनलाई उद्धृत गर्दै पोलिटब्युरो सदस्य अग्नि सापकोटाले भने, 'उहाँले अझै बहस आवश्यकता भएको देखिएको जानकारी दिनुभयो ।' उनले शान्ति र संविधानको कार्ययोजनामा छलफल गरेपछि मात्र त्यसको निष्कर्षअनुसार कार्यविभाजन गर्नु उपयुक्त हुने अध्यक्ष दाहालको प्रस्ताव यथावत् रहेको जनाए ।
दाहालनिकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले केन्द्रीय समिति बैठकमा आइपर्ने परिस्थितिको सामना गर्ने तयारीमा दाहाल भएको बताए । 'चारैतिरबाट अध्यक्षलाई एक्ल्याउने प्रयास भएपछि पार्टीभित्र र बाहिरबाट समर्थन प्राप्त भएको छ,' उनले भने, 'केन्द्रीय समितिमा आइपर्ने परिस्थिति सामना गर्ने तयारीमा अध्यक्ष हुनुहुन्छ ।'
बैठकमा स्थायी समिति सदस्यहरू अमिक शेरचन, लीलामणि पोख्रेल र दीनानाथ शर्माले बुधबार धोबीघाटमा भएको भेला र दाहालविरुद्ध भएको हस्ताक्षर अभियानको आलोचना गरेपछि दाहाललाई केही राहत मिलेको हो । शेरचनले स्थायी समितिले सहमतिका लागि गृहकार्य भइरहेको जानकारी दिँदै अन्तिम फैसला केन्द्रीय कमिटीले गर्ने बताए ।
'अहिले आएका सबै एजेन्डामा स्थायी समितिमा छलफल भयो, सहमति भइसकेको छैन,' उनले भने, 'सबै कुराको फैसला केन्द्रीय समिति बैठकले गर्छ ।'
भट्टराई निकट स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले स्थायी समिति बैठक सौहार्दपूर्ण वातारणमा भएको दाबी गर्दै कार्यविभाजनमा छलफल केन्दि्रत भएको बताए । 'नेतृत्व सामूहिक गर्ने कि केन्द्रीकृत गर्ने विषयमा बहस जारी छ,' उनले दल नेता परिवर्तन गर्ने सम्बन्धमा छलफल भइरहेको संकेत गर्दै भने, 'कुरा अझै टुंगिइसकेको छैन । छलफल जारी छ ।'
वैद्य-भट्टराई पक्षको भेलाले भट्टराईलाई दलको नेता, वैद्यलाई संगठन विभाग प्रमुख, श्रेष्ठलाई पार्टीको तर्फबाट सरकारको नेतृत्व र महासचिव थापालाई सैन्य इन्चार्ज बनाउने निर्णय गरिसकेको छ । दाहालको शान्ति र संविधानको कार्ययोजनामा भने कसैको खासै विवाद छैन । पद बाँडफाँड विवादका कारण उनले अघि सारेको कार्ययोजनामा छलफल हुन सकेको छैन ।

केन्द्रीय सदस्यहरू हैरान
कान्तिपुर संवाददाता
काठमाडौं- माओवादीका वरिष्ठ नेताहरू विवाद मिलाउन केन्द्रीय कार्यालय पेरिसडाँडामा लामो छलफल गरिरहेका बेला बाहिर चौरमा भेला भएका केन्द्रीय सदस्यहरू भने हैरान देखिन्थे । उनीहरूले कार्यालयबाहिर पोलेको मकै खाँदै 'क्रान्तिका लागि गम्भीर गृहकार्य भइरहेको' भन्दै आफ्नै नेताहरूको व्यंग्य समेत गरेका थिए ।
असार १० मा सुरु केन्द्रीय समिति बैठक पार्टीभित्रको चर्को विवादका कारण निष्कर्षमा पुग्न नसकेका बेला केन्द्रीय सदस्यहरू दिनहुँ गुटका बैठकमा गएर समय बिताउँदै आएका छन् । 'केन्द्रीय कमिटी बैठक बस्दैन, बसे पनि १०-१५ मिनेटमा सकिन्छ,' एक केन्द्रीय सदस्यले भने, 'आफ्नो गुटको बैठकमा गयो, बस्यो ।' अर्का केन्द्रीय सदस्यले राजधानीमा आफ्नो डेरा नभएकाले अर्काकोमा जाँदाजाँदा हैरान भएको गुनासो
गरे । उनले आफू धनी गुटको सदस्य नभएकाले दैनिक खर्च चलाउन समेत गाह्रो भइसकेको जनाए ।
माओवादी अनिणर्ीत हुँदा जनतामा नराम्रो सन्देश गएको पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले बताए । 'बैठक निष्कर्षमा नपुग्दा कार्यकर्ता र जनतामा राम्रो सन्देश गएको छैन,' उनले भने । दाहाल पक्षीय अर्का पोलिटब्युरो सदस्य गोपाल किराँतीले पार्टीभित्र पार्टी जन्मिरहेको बताए । 'पार्टीभित्र अनेक पार्टी जन्मिरहेका छन्,' उनले भने


कान्तिपुरमा प्रकाशित मिति: २०६८ श्रावण ६

No comments: