Tuesday, July 12, 2011

बादलले पनि प्रचण्डलाई छाडे


गंगा बीसी


काठमाडौ, अषाढ २९ - माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिँदै आएका महासचिव रामबहादुर थापा उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई समूहमा सहभागी भएका छन् । पार्टीको सामूहिक नेतृत्व पद्धतिलाई व्यवहारमा कार्यान्वयन गर्ने भन्दै उनले खेमा परिवर्तन गरेका हुन् ।
 वैद्य-भट्टराई खेमाले मंगलबार ललितपुरको एक रेस्टुरेन्टमा आयोजना गरेको गोप्य छलफलमा थापा सहभागी भए । छलफलमा उनले अध्यक्ष दाहालतिर संकेत गर्दै एउटै नेता सर्वेसर्वा भएकाले पार्टीको कार्यदिशा कार्यान्वयन हुन कठिन हुने बताएको सहभागी एक नेताले बताए ।
'एकजना नेताले सबै जिम्मेवारी लिँदा सामूहिक नेतृत्व अभिव्यक्त हुँदैन,' थापाको भनाइ उद्धृत गर्दै ती नेताले भने, 'त्यसकारण कार्ययोजना ठीक ढंगले अघि बढाउन कार्यविभाजन ठीक ढंगले हुन जरुरी छ ।' थापा निकट स्रोतका अनुसार उनी पार्टी 'सही मार्गमा हिँडाउन' सामूहिक पद्धति स्थापित गर्न लागेका हुन् । उनी हाल महासचिव भए पनि खास जिम्मेवारी नपाएका कारण दाहालप्रति असन्तुष्ट भएका हुन् । एक वर्षअघि असारमा गोंगबुमा भएको वैद्य-भट्टराईको गोप्य भेलामा थापा सहभागी भएका थिए । त्यसलगत्तै दाहालले आफू पार्टीभित्रै घेराबन्दीमा परेको अभिव्यक्ति दिएका थिए ।
वैद्य र भट्टराईले कार्यविभाजनलाई प्रमुखताका साथ उठाइरहेका बेला थापाले त्यसलाई समर्थन गरेका छन् । वैद्य र भट्टराईले थापालाई सैन्य इञ्चार्जको प्रस्ताव गरेका छन् । हाल सैन्य इञ्चार्जको पदमा वर्षमान पुन छन् ।
'सामूहिक नेतृत्वको धेरै पटक नीतिगत निर्णय भए पनि लागू हुन नसकेको र ठीक ढंगले कार्यविभाजन हुनुपर्छ भन्नेमा महासचिवको समर्थन छ,' छलफलमा सहभागी सचिव सीपी गजुरेलले जानकारी दिए, 'ठीक कार्यविभाजन नभएको हुनाले कार्यदिशा अलपत्र परी आन्दोलन विसर्जनको दिशातिर गएको महसुस भयो ।'
भेलामा बुधबार बस्ने केन्द्रीय समिति बैठकमा संसदीय र संयुक्त मोर्चा प्रमुखमा भट्टराई, संगठन विभाग प्रमुखमा वैद्य र सैन्य इञ्चार्जमा थापालाई प्रस्ताव गर्ने अनौपचारिक निर्णय भएको स्रोतले जनाएको छ ।
पार्टीभित्र अन्तरसंघर्ष चर्किंदै गइरहेका बेला थापा तटस्थ बस्ने र निणर्ायक अवस्थामा अध्यक्ष दाहाललाई समर्थन गर्दै आएका छन् । यसपटक भने वैद्य र भट्टराई पक्षको भेलामा आफैं सहभागी भएर थापाले दाहाललाई प्रतिकूल हुने गरी अभिव्यक्ति दिएका हुन् ।
 छलफलमा वैद्यसँग कार्यगत एकता हुनुको रहस्य पनि खोलेका थिए । 'फरक विचार हँुदैमा मिल्नै हुँदैन भन्ने गलत हो,' भट्टराईको भनाइ थियो, 'उहाँ -वैद्य) ले पनि शान्ति र संविधान हुँदैहुँदैन भन्नुभएको छैन, मैले पनि यही नै अन्तिम लक्ष्य हो भनेको छैन ।' उनले कार्यदिशा कार्यान्वयन हुन नसक्नुको प्रमुख कारण उचित कार्यविभाज नभएको तर्क गरेका थिए । तीनै नेताले अध्यक्षबाट दाहालको विकल्प खोजेको नभई सामूहिक नेतृत्वको अभिव्यक्ति दिन चाहेको बताएका थिए ।
उपाध्यक्ष वैद्यले भट्टराईसँग एकता हुनुलाई 'विपरीतको तत्त्वको एकत्व' भएको उल्लेख गरे । उनले दाहालले पार्टीमा एकाधिकार चलाएको आरोप लगाउँदै त्यसलाई तोड्नुपर्ने बताए । 'पार्टीमा एक व्यक्तिको एकाधिकार नतोडेसम्म पार्टी अघि बढ्न सक्दैन,' उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'पार्टी सामूहिक पद्धतिमा गएर मात्र समस्या हल गर्न सकिन्छ ।' उनले कार्यादिशाको प्रयोग, उचित कार्यविभाजन, नेतृत्व प्रणाली र पार्टी अनुशासन प्रमुख चुनौती भएको बताए । उनले दाहाललाई आवश्यकभन्दा बढी जिम्मेवारी दिएर विगतमा गल्ती गरेको जनाए ।
'अध्यक्षलाई आवश्यकभन्दा स्थापित गरी गल्ती गर्‍यौं कि ?' उनले भने, 'जसका कारण अध्यक्षमा दम्भ बढ्यो र पार्टी अघि बढ्न सकेन ।' माओवादीले २०६५ पुसमा पार्टी सामूहिक पद्धतिमा जाने निर्णय गरेको थियो । छलफलमा वैद्य-भट्टराई पक्षका ६५ जना केन्द्रीय सदस्यको सहभागिता थियो । अरू १० जना सदस्य काठमाडौं बाहिर भएकाले सहभागी हुन नसकेको एक नेताले बताए । केन्द्रीय समिति बैठकमा बहुमत पुग्नका लागि ७४ जना आवश्यक पर्छ । वैद्य र भट्टराई पक्षले आफूहरूसँग ७५ जना रहेको दाबी गरे पनि दाहाल पक्षले अझै पनि बहुमत आफूसँग भएको जनाएको छ ।
 भेलालगत्तै भट्टराई, वैद्य र थापा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग छलफल गर्न उनको निवास ललितपुर झम्सिखेलामा पुगेका थिए । उपाध्यक्ष श्रेष्ठले छलफलमा केन्द्रीय समिति बैठकलाई सफल बनाउनेबारे छलफल भएको जानकारी दिए । दाहालबाट टाढिएका उनले पार्टीलाई एकताबद्ध गरी सबै नेताको उचित कार्यविभाजन हुनुपर्नेमा जोड दिँदै आएका छन् ।


'नेतृत्व कमजोर पार्न घेराबन्दी'
उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको गठबन्धन अध्यक्ष पुष्पकमल दाहाललाई कमजोर पार्ने भएको आरोप दाहाल पक्षले लगाएको छ ।
 'अध्यक्षले राष्ट्रिय स्वाधीनता, शान्ति र संविधानको झन्डा उठाइरहेका बेला चौतर्फी घेराबन्दीमा पार्नु मुख्य नेतृत्वलाई कमजोर गराउनु हो,' दाहाल निकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले कान्तिपुरसँग भने, 'अहिलेको विशिष्ट अवस्थामा विपरीत धु्रवका पक्ष एक ठाउँमा रातारात उभिनु रहस्यमय छ ।' उनले संसदीय दलको नेता परिवर्तन गर्नुका पछाडि गम्भीर कुरा लुकेको बताए । 'शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउने बेलामा दलको नेता फेर्ने प्रस्ताव गम्भीर छ,' उनको भनाइ छ, 'यो बेला दलको नेता फेर्ने कुराले नेपाली जनताको विश्वास घटाउँछ ।' उनले अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकमा शान्ति, संविधान र राष्ट्रियतासम्बन्धी धारणा राखेपछि समाधान हुने विश्वास व्यक्त गरे ।

कान्तिपुरमा प्रकाशित मिति: २०६८ अषाढ २९ ०८:४६ 

No comments: