Monday, July 18, 2011

बैद्य र भट्टराईबिरुद्ध प्रचण्डको नयाँ रणनीित

काठमाडौ, श्रावण २ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजनको काममा लिइने उचित कदमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुन सक्ने बताएका छन् । साथै उनले सहमतिको सरकार बन्न नसक्ने स्थितिमा यही सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले केन्द्रीय समिति बैठकमा 'तात्कालिक कार्ययोजना' शीर्षकको दस्तावेज प्रस्तुत गर्दै सेना समायोजनको पुनर्वर्गीकरण प्रक्रिया प्रारम्भसँगै पार्टीको नेतृत्वमा सहमतिको सरकार गठनको पहल गर्ने जनाएका छन् । 'सेना समायोजनका सन्दर्भमा पुनर्वर्गीकरण प्रक्रियाको प्रारम्भसँगै पार्टी नेतृत्वमा सहमतिको सरकार गठनको पहल तीव्र पार्नुपर्छ,' उनले भनेका छन्, 'सेना समायोजनको काममा लिइने उचित पहलले मात्र हाम्रो नेतृत्वमा सरकार गठनको पहललाई परिणामुखी बनाउन सम्भव छ । सहमतिको सरकार नबन्दासम्म वा नबन्ने स्थितिमा वर्तमान सरकारलाई नै प्रभावकारी बनाउन पहल गर्नका साथै सहमतिअनुसार अब हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणका लागि आवश्यक तयारी आरम्भ गर्नुपर्छ ।' उनले राजनीतिक पक्षलाई पनि यसै सरकारमा सामेल गराई सहमतिको स्वरूप प्रदान गर्न ठोस पहल गर्नुपर्ने बताएका छन् ।
'यो कुरा पनि त्यति नै स्पष्ट छ कि हाम्रो नेतृत्वमा बन्ने सरकारले मात्र सेना समायोजनको काम प्रभावकारी र सम्मानजनक ढंगले पूरा गर्न सक्छ,' उनको भनाइ छ । उनले यही सरकारको काम प्रभावकारी बनाउन समावेशी र समानुपातिक बनाउन आवश्यक रहेको जनाएका छन् । उनले नेपाली सेनाको महानिर्देशक सशस्त्र बल हुने, समायोजन हुने लडाकुको संख्या, पद मिलान, प्रभावकारी जिम्मेवारी लिनेलगायत उल्लेख गरेका छन् ।
'शान्ति सम्झौताको मर्मअनुसार सम्मानजनक सेना समायोजनका निम्ति सकारात्मक वातावरण तयार पार्ने पार्टीको गम्भीरता र तत्परता स्पष्ट गर्न गरिएको दोहोरो सुरक्षा प्रणालीको अन्त्य गर्ने तथा गाडीहरूलाई नियमन गर्ने केन्द्रीय कार्यालयको निर्णय अनुमोदन र पूर्ण कार्यान्वयन सुनिश्चित गर्ने,' उनले प्रस्ताव गरेका छन्, 'सेना समायोजन र संविधान निर्माणको कामलाई साथसाथै अगाडि बढाउने योजना र कार्यतालिकाको निर्माण गर्न जोड दिने ।'
 वैद्य, भट्टराई र थापाले उठाउँदै आएको कार्यविभाजनको मुद्दालाई दाहालले खासै प्राथमिकता दिएका छैनन् ।  
मन्त्री टोली फेरिने
माओवादीले आफ्ना मन्त्रीको टोलीलाई पुनर्गठन गर्ने तयारी गरेको छ । केन्द्रीय पदाधिकारी बैठकले शनिबार बनाएको कार्यदलले सकभर मन्त्री टोलीलाई पुनर्गठन गरी नयाँ नेताको नेतृत्वमा मन्त्री पठाउनु पर्ने प्रस्ताव गरेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै मन्त्रीले राजीनामा गरी टोली परिवर्तन गर्न छलफल भइरहेको बताए । श्रेष्ठ वा सचिव सीपी गजुरेलको नेतृत्वमा यही वा नयाँ बन्ने सरकारमा मन्त्री पठाउनेबारे माओवादीमा व्यापक छलफल भएको छ । त्यसमा कम्तीमा ३३ प्रतिशत महिला र जातीय, क्षेत्रीय आधारमा मन्त्री पठाउने तयारी भइरहेको एक नेताले बताए ।
वैद्य-भट्टराई पक्ष असन्तुष्ट
अध्यक्ष पुष्पकमल दाहालको कार्ययोजनाप्रति उपाध्यक्षद्वय वैद्य र भट्टराई पक्षले असन्तुष्टि जनाएका छन् । उनीहरूले उनको कार्ययोजना पुरानै भएको उल्लेख गर्दै उचित कार्यविभाजन नभएसम्म जस्तोसुकै राम्रो कार्ययोजना भए पनि लागू हुन नसक्ने टिप्पणी गरेका छन् ।
वैद्य पक्षीय स्थायी समिति सदस्य देव गुरुङले दाहालको शान्ति, संविधान र पार्टीसम्बन्धी कार्ययोजना पुरानै भएको प्रतिक्रिया दिए । 'कार्ययोजनामा पुरानै कुरा दोहोरिएका छन्, यस्ता प्रस्ताव धेरै पारित भएका छन् तर कार्यान्वयन भएका छैनन्,' उनले कान्तिपुरसँग भने, 'कार्ययोजना कार्यान्वयन हुने नेताहरूको कार्यविभाजनमा भर पर्छ । अध्यक्षले ठोस प्रस्ताव ल्याउँछु भन्नुभएको छ । त्यसपछि मात्र ठोस रूपमा भन्न सकिन्छ ।'
भट्टराई पक्षीय पोलिटब्युरो सदस्य राम कार्कीले कार्ययोजना मूर्त नभएको बताए । 'नेताहरूको उचित कार्यविभाजन नभएसम्म जतिसुकै राम्रो कार्ययोजना भए पनि लागू हुँदैन,' उनले भने, 'कार्यविभाजन हेरेरै मात्रै समर्थन गर्ने/नगर्ने टुंगो लाग्छ ।'
दाहाल पक्षीय पोलिटब्युरो सदस्य जनार्दन शर्माले भने अध्यक्षको कार्ययोजना शान्ति र संविधान अघि बढाउन तथा पार्टीको अन्तरसंघर्ष व्यवस्थित गर्न ठोस रूपमा आएको बताए ।

कान्तिपुरमा प्रकाशित मिति: २०६८ श्रावण २ ०८:३१

No comments: