Sunday, October 23, 2011

माओबादीमा बबण्डर

गंगा बीसी
काठमाडौ, कार्तिक ६ - प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसंग दिल्लीमा लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा) गरी स्वदेश नफर्कंदै उनको पार्टीभित्र चर्को बिवाद सुरु भएको छ । मधेशी मोर्चासंग भएको चार बुँदे सहमति र हतियारका कन्टेनरको साँचो बुझाउने बिवाद नसेलाउँदै माओवादीमा बिपा बिवाद थपिएको हो ।
प्रधानमन्त्री भट्टराईले अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा उक्त सम्झौता गरे पनि अर्को उपाध्यक्ष मोहन बैद्य र महासचिब रामबहादुर थापा आक्रोशित भएका छन् । बैद्य पक्षले सम्झौताले भारतीय हस्तक्षेपको आधार तयार पारेको आरोप लगाउँदै भट्टराईले पार्टी निर्णय बिपरित गरेको समेत दाबी गरेको छ ।  भट्टराई स्वयंले जोखिम मोलेर गरेको सम्झौता राष्ट्रघाती नभई भारतसंगको आथिर्क सम्बन्धमा ठूलो ढोका खोलेको’ दाबी गरिरहेका बेला बैद्यले ‘आश्चर्यजनक’ भएको बताएका छन् । आर्थिक उन्नति नभई राष्ट्रियता बलियो नहुने तर्क गर्दै आएका भट्टराईले आफू प्रधानमन्त्री भएको मौकामा बिपा सम्झौता गरेका हुन् ।
बैद्यले शनिबार ईकान्तिपुरसंग कुरा गर्दै यो सम्झौताले मुलुकको अर्थतन्त्र भारतको चंगुलमा फसेको बताए । ‘यो सम्झौताले भारतका लागि हस्तक्षेपको पुरै आधार बन्यो’ उनले भने– ‘यसले देश र जनताको लागि हित गर्दैन ।’ उनले यसले तेश्रो मुलुकका लागि प्रतिकुल असर गर्ने उल्लेख गर्दै मुलुकमा भारतको एकाधिकार बढाउने बताए । ‘अब नेपालको लगानीमा भारतको एकाधिकार हुने छ’ उनको भनाइ छ– ‘यस्तो सम्झौता गर्न उहाँलाई म्यान्डेट थिएन । उहाँले किन सम्झौता गर्नुभयो, हामी आश्चर्यमा परेका छौ ।’
मुलुक संक्रमणकालीन अवस्थामा उद्योगधन्दामा हड्ताल हुने र त्यस्तो उद्योगको पुरै संरक्षणको जिम्मा लिन सक्ने अवस्था नभएको बताए । ‘संक्रमणकालीन अवस्थमा उद्योगहरु बन्द भइहाल्छन्’ उनले भने– ‘यो बिवादास्पद मात्र होइन, एकदम गलत सम्झौता हो ।’
माओवादी स्थायी समिति बैठकले भ्रमण सद्भावना बनाउन निर्देशन दिए पनि भट्टराईले उल्लंघन गरेको बैद्य पक्षको भनाइ छ । उक्त पक्षले भारतप्रति भट्टराई नरम भएको आरोप गर्दै बिपा सम्झौता गरेको निष्कर्ष निकालेका छन् । बिपा सम्झौताबारे छलफल गर्न बैद्य पक्षको शनिबार बैठक बसेको थियो । बैठकले सम्झौता राष्ट्रघाती भएको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको एक नेताले बताए । यसअघि मधेशी मोर्चासंग भएको चार बुँदे सम्झौतालाई राष्ट्रघाती भएको भन्दै आन्दोलन गरेको थियो ।
बैद्यले यसरबारे आगामी केन्द्रीय समिति बैठकमा छलफल गर्ने जनाए । ‘यो पार्टी निर्णय बिपरित भएको छ’ उनले भने– ‘यसबारे पार्टीभित्र छलफल नहुने कुरै आएन ।’
संस्थापन पक्षले भने सम्झौता पार्टीको सहमतिमा   दाबी गरेको छ । सम्झौता गर्नुअघि र त्यसपछि उत्पन्न प्रतिक्रियाबारे भट्टराईले अध्यक्ष दाहालसंग टेलिफोनमा कुराकानी गरेका थिए । भट्टराईले शनिबार बिहान दाहालसंग टेलिफोनमा कुरा गर्दै बीपाबारे स्पष्ट पारेका थिए ।
दाहाल निकट पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले बिपा सम्झौता पार्टीको सहमतिमा भएको जनाए । ‘यो सम्झौता पार्टीको सहमतिमा भएको छ’ उनले भने– ‘यसबारे अध्यक्षसंग कुराकानी भएको छ ।’ उनले ‘मुलभूत रुपमा’ सम्झौता ठिक भएको बताएका छन् । ‘दोहोरो कर तिर्नु नपर्ने सम्झौता गरेको भए राम्रो हुन्थ्यो’ उनले कान्तिपुरसंग भने– ‘जुन सम्झौता भयो, यो मूलभूत रुपमा सही छ ।’ उनले आफ्नो कुरा मनाउन भारतका पनि केही चासो मानिदिन यो सम्झौता गरेको हुन सक्ने जनाए ।
प्रकाशित मिति: २०६८ कार्तिक ६ १२:१४

Saturday, October 15, 2011

प्रभुको प्रभाव | चौतारी | ekantipur.com

प्रभुको प्रभाव | चौतारी | ekantipur.com

बाबुरामलाई निल्नु न ओकल्नु

काठमाडौ, आश्विन २७ -
प्रतिपक्षी कांग्रेस-एमालेले मात्र होइन, माओवादीले नै रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा मागेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री बाबुराम भट्टराई यतिबेला अलमलमा परेका छन् । त्यसमाथि केन्द्रीय सदस्य एवं भूमिसुधारमन्त्री प्रभु साहलाई नहटाई संसद् चल्न नदिने कांग्रेस-एमालेको अडानले स्थिति थप जटिल पारिदिएको छ ।

प्रधानमन्त्रीको हैसियतले भण्डारीलाई तत्काल राजीनामा गराउन उनी सक्दैनन् । त्यस्तै पार्टीले बचाउ गर्ने निर्णय गरेका साहलाई मन्त्रीबाट हटाउँदा उनी भित्रैबाट अप्ठ्यारोमा पर्नेछन् । यसकारण भट्टराई तत्काल दुवै मन्त्रीलाई हटाएर प्रतिपक्षको माग र पार्टीको निर्णय कार्यान्वयन गर्न सक्ने अवस्थामा छनैन् । तैपनि उनले सरकारका तर्फबाट छिट्टै धारणा सार्वजनिक गर्ने मनस्थिति भने बनाएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले छिट्टै भट्टराईले धारणा स्पष्ट गर्ने जानकारी दिए । 'प्रतिपक्षको माग र पार्टी निर्णयबारे प्रधानमन्त्री गम्भीर हुनुहुन्छ,' उनले कान्तिपुरसँग भने, 'यसबारे एक-दुई दिनमै केही निर्णय गर्नुपर्ने हुन्छ ।'

शान्ति प्रक्रियाबारे छिट्टै सहमति हुने नेताहरूले बताइरहेकै बेला भट्टराईका थाप्लोमा दुई मन्त्रीको राजीनामा विषय गहु्रँगो बोझ बनेको छ ।

पत्रिकामा समाचार र पाठकपत्र आएकै भरमा ध्यानाकर्षण गर्ने प्रधानमन्त्रीलाई दुई मन्त्रीको राजीनामाको माग थामिनसक्नु गरी उठेको छ । निकटका केही नेताले समेत दुवै मन्त्रीलाई राजीनामा गराउनु उपयुक्त विकल्प हुने सुझाव दिन थालेका छन् ।

 पौडेलले दुवै मन्त्रीबारे संसद्मा समेत प्रश्न उठेकाले छिट्टै समाधान नगरे ढिला हुने जनाए । 'दुवै मन्त्रीलाई नैतिक प्रश्न उठेको छ,' उनको भनाइ थियो, 'यसबारे विशेष गरी मधेसवादी दलहरूसँग कुरा भइरहेको छ ।' मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ नेतालाई तत्काल राजीनामा

गराउँदा सत्ता समीकरणमा दरार उत्पन्न भई सरकार संकटमा पर्ने अड्कल पनि उनले गरे ।

 'विगतका सहमति र सत्ता समीकरणको विषय पनि छ,' उनले भने, 'हत्तपत्त निर्णय गर्नुभन्दा सोचविचार गरी निर्णय गर्नु उपयुक्त हुन्छ भन्ने लागेको छ ।'

 मन्त्री साहको राजीनामाको विषय प्रधानमन्त्रीका लागि झन् जटिल

बनेको छ । भट्टराई पक्षका कतिपय नेताहरूले पार्टीभित्र र बाहिरको षड्यन्त्रका कारण साहलाई फसाइएको बताएका छन् र उनीहरूले भट्टराईसँग त्यही धारणा राखेका छन् ।

 भट्टराई पक्षीय पोलिटब्युरो सदस्य एवं भोजपुरा राज्य समिति इन्चार्ज भीमप्रसाद गौतमले साहलाई पार्टीभित्र पनि षड्यन्त्र भएको बताए । 'प्रभुजीलाई पार्टीभित्रबाट पनि षड्यन्त्र भएको छ,' उनले वैद्य पक्षतिर संकेत गर्दै भने, 'उहाँ मधेसको खम्बा भएको र मन्त्री भएको देख्न नचाहने तत्त्व पनि पार्टीभित्रै

छन् ।' साहलाई बचाउ गर्ने पार्टी निर्णय र गौतमको कुरा विश्वास गर्ने हो भने भट्टराई साहलाई राजीनामा गराउने पक्षमा छैनन् ।

 प्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादवले साहविरुद्ध पार्टीभित्रबाट षड्यन्त्र भएको उल्लेख गर्दै छानबिन गर्नुपर्ने विचार व्यक्त गरे । 'प्रभुजीलाई पार्टीभित्र र बाहिरबाट षड्यन्त्र भएको छ,' उनले भने, 'भित्रको षड्यन्त्रका विषयमा पार्टीले छानबिन गर्नुपर्छ ।' भट्टराईले दुई मन्त्रीबारे जति छिटो समाधान गर्छन्, उति नै लडाकु समायोजन प्रक्रिया अघि बढ्छ । उनले त्यसो गर्न सकेनन् भने लडाकु समायोजन प्रक्रिया राजीनामा विवादका कारण अवरुद्ध हुनेछ । भट्टराईसामु दुई मन्त्रीको राजीनामा गराउनु जति सहज छ, अन्य विकल्प त्यति नै गाह्रो छ । किनकि अन्य विकल्प प्रतिपक्ष कांग्रेस-एमालेले मान्ने सम्भावना एकदम कम छ ।



प्रकाशित मिति: २०६८ आश्विन २८ ०८:३८

Wednesday, October 12, 2011

माओबादीमा अस्थाई समाधान

काठमाडौ, आश्विन २६ - संस्थापन र उपाध्यक्ष मोहन वैद्य पक्षले बोलाएको छुट्टाछुट्टै भेला स्थगित गरी माओवादीले केन्द्रीय समिति बैठक बोलाएपछि विवादको अस्थायी समाधान भएको छ । पदाधिकारीको बैठकमा केन्द्रीय समिति कात्तिक १७ गते बोलाउने सहमति
भएपछि माओवादीमा बाहिर सहमति भएको देखिएको छ तर भित्र भने संघर्ष जारी राखिने भएको छ ।
दुवै पक्षले उस्तै भेला गर्दा पार्टी फुट्ने खतरा महसुस गरी उसले मध्यमार्गी विकल्प निकालेको हो । केन्द्रीय समिति बैठकअघि एकले अर्कोलाई आरोप/प्रत्यारोप नगर्ने, सरकारको विरोध सार्वजनिक रूपमा नगर्ने, शान्ति र संविधानबारे निर्णय वार्ता टोली (पदाधिकारी) ले गर्नेलगायतका सहमति दुई पक्षबीच भएको छ । तर हतियारका कन्टेनरको साँचो बुझाउने निर्णय र मधेसी मोर्चासँग भएका चारबुँदे सहमतिबारे विवाद भने कायम छ । यी विवाद आगामी केन्द्रीय समिति बैठकमा खुलेरै छलफल गर्ने सहमति पनि नेतृत्वले गरेका छन् ।
पछिल्लो समयमा संस्थापन (अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई) को चर्को आलोचना गरिरहेको वैद्य पक्षले केन्द्रीय समिति बोलाउनु सकारात्मक भएको भन्दै केन्द्रीय समिति बैठकमा आफ्नो मत राख्ने जनाएको छ । 'सकारात्मक प्रक्रियाको सुरुआत भएको छ,' स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले कान्तिपुरसँग भने, 'बाहिर विवादास्पद काम नगर्ने र पार्टीभित्र पनि छलफल जारी राख्ने कुरा भएको छ । हाम्रा धारणा केन्द्रीय समिति बैठकमा राख्छांै ।'
संस्थापन पक्षका पोलिटब्युरो सदस्य जनार्दन शर्माले पार्टी फुटको खतरा समाधान गर्न पछिल्लो निर्णय गरिएको बताए । 'पार्टी फुटको तहसम्म भ्रम सिर्जना भएपछि संस्थापनबाट कदम चालिएको हो,' उनले भने, 'अब जिम्मेवारीपूर्वक पार्टी एकताबद्ध बनाउने प्रयास अध्यक्षबाट पहल भएको छ ।' उनले पार्टीको यो निर्णयले शान्ति प्रक्रिया अघि बढाउन सहज हुने उल्लेख गरे । 'यो अवधिमा शान्ति प्रक्रिया अघि पछिल्लो निर्णयले काम गर्छ,' उनको भनाइ छ ।
प्रवक्ता दीनानाथ शर्माले केन्द्रीय समितिले पार्टीमा देखिएका समस्याको समीक्षा गरी निर्णय गर्ने बताए । 'यसबीचमा पार्टीभित्रबाट गर्न हुने र नहुने सबै काम भएका छन्,' उनले भने, 'सबैले आत्मसमीक्षा गरी निर्णय हुन्छ, त्यो निर्णय कार्यान्वयनमा जान्छ ।
आगामी केन्द्रीय समिति बैठकले पार्टीको भविष्य निर्धारण गर्ने चन्दको भनाइ छ । 'त्यो बैठकबाट पार्टी रूपान्तरण, एकताको विकासको आधार पनि बनाउन सक्छ, फुटको आधार पनि बनाउन सक्छ,' उनको भनाइ छ,  'जे हुन्छ, अब बैठकमै हुन्छ ।' केन्द्रीय समिति बैठक स्थगित गरी राष्ट्रिय प्रशिक्षण बोलाएपछि वैद्य पक्षले समानान्तर भेला बोलाएको थियो । शान्ति प्रक्रियाअन्तर्गत लडाकु समायोजनको आधार तयार गर्न कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने कार्य पार्टी निर्णयविपरीत भएको भनी वैद्य पक्षले भ्रम सिर्जना गरेको भन्दै त्यसलाई स्पष्ट गर्न प्रशिक्षण बोलाएको थियो ।
यसबीचमा पार्टी र सरकारविरुद्ध वैद्य पक्षले सडक आन्दोलन गरेको थियो । विवादले यतिसम्म चरम रूप लिएको थियो कि वैद्य र महासचिव रामबहादुर थापाले पार्टीकै लेटरप्याडमा संस्थापन पक्षविरुद्ध वक्तव्य निकालेका थिए । वैद्य पक्षले देशव्यापी रूपमा छुट्टै संगठन बनाउने गृहकार्यसमेत सुरु गरेका थिए ।
संस्थापन पक्ष केन्द्रीय समिति बैठक बस्नुअघि नै वैद्य पक्षको असहमतिबीच लडाकु समायोजन प्रक्रियालाई गति दिने तयारीमा छन् । यस विषयमा कांग्रेस, एमालेसँग वार्ता गर्दा सबै वार्ता टोली (वैद्य, थापा, सचिव सीपी गजुरेलसमेत) सहभागी गराउने नेताहरूबीच सहमति भएको छ । लडाकु समायोजन अघि बढाउन खोज्दा उनीहरूको विरोध रहने भएकाले त्यसबेला अवरोध आउने सम्भावना छ ।

Monday, October 10, 2011

माओबादी फुट्ने संकेत

गंगा बीसी
काठमाडौ, आश्विन २३ - माओवादीको संस्थापन पक्षले राष्ट्रिय प्रशिक्षण तय गरेको अघिल्लै दिन असोज २८ गते वैद्य समूहले समानान्तर भेला बोलाएपछि पार्टी फुटको आरोप-प्रत्यारोप चलेको छ । 
दुवै पक्षले एकअर्कोलाई पार्टी फुटाउन लागेको आरोप लगाउँदै आन्तरिक रूपमा आ-आफ्नो तयारी थालेका छन् । वैद्य समूहले संस्थापन पक्षले एकपक्षीय ढंगले राष्ट्रिय प्रशिक्षण बोलाई पार्टी फुटको घोषणा गरेको आरोप लगाएको छ । संस्थापन पक्षको प्रशिक्षणलाई कमजोर पार्न उसले राष्ट्रिय भेला बोलाएको हो । आक्रोशित संस्थापन पक्षले प्रशिक्षण झन् भव्य बनाउने तयारी गरेको नेताहरूले बताए । माओवादीमा चुलिएको विवादले पार्टी फुटको दिशातिर उन्मुख हुन थालेको पार्टीकै नेताहरूले अनुमान गरेका छन् ।
पार्टी निर्णयअनुसार प्रशिक्षण बोलाए पनि त्यसलाई प्रतिवाद दिने उद्देश्यले भेला बोलाउनुलाई संस्थापन पक्षले 'गलत' भनेको छ भने वैद्य समूहले राष्ट्रिय प्रशिक्षण तोक्नु 'दुर्नियतपूर्ण' भनेको छ ।
संस्थापन पक्षका स्थायी समिति सदस्य वर्षमान पुनले प्रशिक्षणको मुखमा वैद्य पक्षले अलग्गै भेला बोलाउनु बेठीक भएको उल्लेख गर्दै उनीहरूले फरक विचार प्रशिक्षणमै राख्नुपर्ने बताए । उपाध्यक्ष वैद्यले सहिद, बेपत्ता परिवार र जनताको चाहनाअनुसार पार्टी फुटाउन नहुने उनको भनाइ थियो । 'प्रशिक्षणको मुखमा अलग्गै भेला बोलाउनु बेठीक हो,' उनले भने, 'किरण (वैद्य) जीले सहिद, बेपत्ता र जनताको चाहनाअनुसार पार्टी फुट्न दिनुहुने छैन ।'
वैद्यपक्षीय स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले केन्द्रीय समिति बैठक नबोलाई राजनीतिक बहसबाट वञ्चित गरी संस्थापनले पार्टी फुटको घोषणा गरेको आरोप लगाए । 'केन्द्रीय समिति बैठक गरी बाटो बिराएको राजनीतिक बहस गर्न वञ्चित गरिएको छ,' उनले कान्तिपुरसँग भने, 'केन्द्रीय समितिमा छलफल गर्नुको सट्टा उल्टो प्रक्रियाबाट प्रशिक्षण तोकी मूल नेतृत्वबाटै पार्टी फुटको घोषणा गरेको देखिएको छ ।' यसअघि वैद्य समूहले असोज ४ गते राजधानीमा राष्ट्रिय भेला गरी संस्थापन पक्ष दक्षिणपन्थी भएको र मुलुकलाई सिक्किमीकरणको दिशातिर लगेको आरोप लगाएको थियो ।
दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले समानान्तर भेलालाई महत्त्वहीन भन्दै त्यसको औचित्य नभएको बताए । समानान्तर भेला गर्नु फुटको संकेत भएको उनको भनाइ छ । 'समानान्तर भेलाको मूल्य, मान्यता र औचित्य छैन,' उनले कान्तिपुरसँग भने, 'पार्टी पद्धतिविपरीत भेला बोलाउनु फुटतिरको संकेत हो ।'
चन्दले भने संस्थापन पक्षको प्रशिक्षणमा आफूहरू सहभागी नहुने उल्लेख गर्दै समानान्तर भेला बोलाइएको बताए । '२८ गतेको भेला पनि २९ गतेकै जस्तै हो । यसमा सबै राज्य समितिका सदस्य सहभागी हुन्छन्,' उनले भने, 'हामीले सबैलाई सहभागी बनाउनेछौं ।'
पुनले चाहिँ २८ गते वैद्य विचार समूहको भेला भए पनि राष्ट्रिय प्रशिक्षणमा सहभागी गराउन कुराकानी थाल्ने बताए । 'किरणजीको विचार समूहको भेला भए पनि २९ को राष्ट्रिय प्रशिक्षणमा सहभागी गराउन छलफल गर्नेछौं ।' उनले कुनै विषय चित्त नबुझे महाधिवेशनमा जानुपर्ने बताए । 'कुनै विषयमा चित्त नबुझे महाधिवेशनमा जान सकिन्छ । माघ, फागुनमा महाधिवेशन गर्ने भनिएको छ,' उनले भने, 'त्यहाँ पनि चित्त नबुझे जनतामाझ जान सकिन्छ । तर पार्टी फुट्न दिनु हुँदैन, एकताबद्ध बनाउनुपर्छ ।'
पुनले प्रशिक्षणमा वैद्य पक्षलाई सहभागी गराउने प्रयास गरिने बताए पनि चन्दले बहिष्कार गर्ने जनाएका छन् । 
वैद्य समूहले समानान्तर भेला मात्र नभई देशव्यापी रूपमा समानान्तर समिति बनाइरहेकाले पार्टी फुटाउने तयारी गरेको संस्थापन पक्षको आरोप छ । 'वैद्य पक्षका गतिविधिले पार्टी फुटाउने तयारी देखिएको छ,' संस्थापन पक्षका एक नेताले भने, 'उनीहरू पार्टी मिलाउने होइन, फुटाउने निहुँ खाज्दै हुनुहुन्छ ।' मध्यमार्गी नेताका रूपमा देखिएका स्थायी समिति सदस्य अमिक शेरचनले पार्टी फुटाए अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यको भलो नहुने बताए । उनले राष्ट्रिय प्रशिक्षण केन्द्रीय समितिको निर्णयअनुसार भएकाले चर्काउन नहुने बताए ।
'पार्टी फुटाएर कसैको भलो हुँदैन,' उनले भनाइ थियो, 'अन्तरविरोधहरू हल गर्ने विधि बनाउन सकिन्छ तर विवाद चकाएर समाधान हुँदैन ।' उनले विवाद नचर्काउन दुवै पक्षलाई दबाब दिएको बताए ।
बहस जनतामै पुग्छः वैद्य
दाङ- माओवादी उपाध्यक्ष मोहन वैद्यले पार्टीविरुद्ध सडक आन्दोलन नयाँ प्रयोग भएको र विवादको विषय जनतामै लैजाने बताएका छन् ।
'यस्ता आन्दोलन चीनमा पनि भएका छन् र अन्यत्र पनि छन्,' पत्रकार महासंघ जिल्ला शाखाले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, 'यहाँ पनि नयाँ प्रयोग गर्न खोजेका छौं । यो जटिल परिस्थिति पनि हो ।'
हतियारका कन्टेनरको साँचो बुझाउने र मधेसी मोर्चासँग भएको सहमतिका विषयमा आवाज उठाउनैपर्ने भएकाले सडकमा आएको उनले बताए । 'केही कुरा भित्र पनि हुन्छन् । भित्र हुन नसकेका कुरा सडकबाट हुन्छन्,' वैद्यले भने, 'पार्टी र सरकारले केही काम गर्दा मलाई पनि बोलाउनुपर्‍यो । एक्लै गर्न थालेपछि के गर्नु ? पार्टीभित्र नमिलेका कुरामा अझ गहिरो छलफल हुन्छ । बहस जनतासम्मै पुग्छ ।'
असोज २९ मा गर्न थालेको राष्ट्रिय प्रशिक्षण दाहाल पक्षको मात्रै भएको उनले बताए । 'भेला प्रशिक्षण गर्नलाई पार्टीमा निर्णय हुनुपर्छ । त्यसबारे निर्णय भएको छैन,' वैद्यले भने, 'त्यो दाहाल पक्षको मात्रै कार्यक्रम हुन्छ । हाम्रो सहभागिता हुँदैन ।'
पार्टी सम्झौतावादमा फस्छ कि भन्ने चिन्ताले मतभेद सुरु भएको उनले बताए । '२००७ साल, ०४६ साल जहिले पनि सम्झौतामा आन्दोलन सकिएका छन् । यसपटक त्यसैगरी क्रान्ति सकिन्छ कि भन्ने डर भयो,' उनले भने, 'तर हामी क्रान्तिको झन्डा झुक्न दिँदैनौं । जनताका लागि लडेको सेनालाई अपमानजनक ढंगले समायोजन हुन दिँदैनौं ।'
जग्गा फिर्ता गर्ने सरकारी निर्णय गलत भएको पनि उनले बताए । 'सुकुम्बासी, किसानलाई वैकल्पिक व्यवस्था नभएसम्म जग्गा फिर्ता नगर्ने पार्टीको निर्णय नै हो । त्यसको विपरीत यो निर्णय भयो,' उनले भने, 'यसको विरोधमा हामी आवाज उठाउँछौं ।'
वैद्यले पत्रकार सम्मेलनका लागि घरबाहिर नजाने भनेपछि पत्रकार महासंघले घोराही-११ रतनपुरस्थित उनका भाइको घरमै कार्यक्रम आयोजना गरेको थियो । वैद्यका साथमा थारूवान राज्य समिति सदस्य हेमराज शर्मा डायमन्ड, सभासद शिवराज गौतम र जिल्ला सेक्रेटरी सुवास पुनलगायत केही कार्यकर्ता मात्र थिए ।
प्रकाशित मिति: २०६८ आश्विन २३ ०९:५०

भारत माओबादी सम्बन्ध सुधार ?

 गंगा बीसी
माओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतप्रति आक्रामक नभएको एक वर्ष नाघिसकेको छ । उनी अचेल नेपाल-भारतको सम्बन्ध राजनीतिक र कूटनीतिक तवर सुधार्नुपर्ने कुरा गर्छन् । के उनले भारतसँग सम्बन्ध सुधार गरेका हुन् ? अथवा कूटनीतिक तवरले संघर्ष गर्ने रणनीतिमा लागेका हुन् ?
कुनै बेला दाहालले राजधानीका सडकबाट भारतसँग खुलेआम संघर्षको घोषणा गरेका थिए । उनले माधव नेपाल सरकारको पालामा नेपालको मामलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई प्रमुख मुद्दा पनि बनाए । त्यसबेला भारत विरुद्ध देशव्यापी आन्दोलन भएको थियो । एमाले अध्यक्ष झलनाथ खनालको सरकार बनेपछि भने माओवादी भारतप्रति केही नरम हुनथाल्यो । प्रचण्डले त्यसबेला उक्त सरकारलाई नेपालीको सरकारको संज्ञा दिँदै आफ्नो जित भएको भन्न पछि परेनन् । किनकि उनको त्यागबाट र भारतले नचाहँदा-नचाहँदै त्यो सरकार बनेको थियो । त्यसबेला प्रचण्डले आफ्नो राजनीतिक विजय भएको महसुस गरे । भारतको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयास भएको उनको विश्लेषण थियो । खनाल सरकारको राजीनामापछि माओवादी भारतप्रति अझै नरम बन्यो, किनकि भारतको सुझावमा चल्ने संयुक्त मधेसी मोर्चाको समर्थनमा उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो । प्रचण्डले त्यसबेला आफ्नो रणनीति सफल भएको महसुस गरे ।
माओवादीप्रति कडा व्यवहार प्रदर्शन गरेका भारतीय राजदूत राकेश सुद कार्यकाल पूरा गरी दिल्ली फर्के । सुद गएपछि राजदूत जयन्तप्रसाद काठमाडौं आएका छन् । यतिबेला न माओवादीले भारतको आलोचना गरेको छ, न जयन्तले माओवादीप्रति विवादास्पद अभिव्यक्ति दिएका छन् । माओवादीले भारतलाई हेर्ने नीतिमा परिवर्तन गरेको हो या भारत माओवादीप्रति नरम नीति लिएको हो ? प्रश्न उब्जिएको छ । यद्यपि भारत र माओवादी पक्षको व्यवहार हेर्दा लाग्छ, दुवै पक्षबीच सम्बन्ध सुधारको प्रयास सुरु भएको छ ।
माओवादीमा भारतलाई हेर्ने दुई विचार छन् । मोहन वैद्य पक्ष भारतप्रति आक्रामक र संस्थापन नरम देखिएका छन् । पछिल्लो समयमा माओवादीले दुई छिमेकी चीन र भारतको बीचमा कूटनीतिक पुल बन्ने कुरालाई प्राथमिकताका साथ उठाउनुको अर्थ छ । संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा प्रधानमन्त्री बाबुराम भट्टराईले औपचारिक रूपमा भारत र चीनबीच मजबुत पुल बन्न चाहेको विचार राखे । खासगरी संस्थापन पक्ष भारतसित पौंठेजोरी खेल्नुभन्दा राजनीतिक सम्बन्ध विस्तारमा लागेको देखिन्छ । विशाल देश भारतसँग गरम र चीनसित नरम हुनु भनेको माओवादीको लागि प्रतिउत्पादक हुने विश्लेषण संस्थापन पक्षको छ । भारतसँग पौंठेजोरी खोज्नु भनेको पहरोमा मुड्की बजार्नु सरह हुने संस्थापन पक्षले महसुस गरेको हुनुपर्छ र उसले कूटनीतिक र राजनीतिक सम्बन्ध सुधारको विभिन्न प्रयास थालिसकेको छ ।
प्रचण्डले पछिल्लो समयमा भारत विरुद्ध बढी आक्रामक र चीनसित सकारात्मक हुनु वस्तुसंगत नहुने विश्लेषण गरेको उनले देेखाएको व्यवहारबाट संकेत पाउन सकिन्छ । राजनीतिक हिसाबले दुई देशबीच हुने सन्तुलित सम्बन्धले मुलुक र स्वयम् माओवादीको लागि हितकर हुने बुझेरै हुनुपर्छ, उनले दिल्लीसित विभिन्न चरणमा अनौपचारिक वार्ता गरेका छन् । जसको कारण आगामी दिनमा आफ्नो राजनीति अझ बढी सुरक्षित हुने वातावरण बन्नसक्ने उनमा विश्वास पलाएको बुझिन्छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने उनको भनाइ र राजतन्त्र अन्त्य गर्न कोशेढुंगा सावित भएको माओवादी र सात दलबीच भएको १२ बुँदे समझदारीजस्तै अब भारतको सद्भाव आवश्यक महसुस गर्नु प्रचण्डको कूटनीतिक पहल मान्न सकिन्छ ।
गत मंसिरमा भएको पालुङटार बैठकमा प्रचण्ड र भट्टराईबीच भारतलाई हेर्नेबारे ठूलो मतभेद थियो । प्रचण्ड र वैद्य यसमा नजिक थिए । जब प्रचण्डले जनविद्रोहको कार्यदिशा छाडेर शान्ति र संविधानको पक्षमा लागे, उनको भारत नीति पनि विस्तारै बदलाव आएको महसुस हुनथाल्यो । शान्ति र संविधानको कार्यनीतिमा प्रचण्ड र बाबुराम सहमत भएपछि भारतसँगको अन्तरविरोध गौण बन्न पुग्यो । प्रचण्ड र बाबुराम एकठाउँमा आउनु नै भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु हो भनेर अथ्र्याउनेहरू धेरै छन् । किनकि बाबुराम आन्तरिक राष्ट्रियता बलियो भएमात्र बाह्य राष्ट्रियता बलियो बनाउन सकिने तर्क गर्छन् । आन्तरिक राष्ट्रियता शान्ति र संविधानसँग जोडिएको र त्यसलाई सफल बनाउन दुवै नेताको एउटै स्वर भएको हुनाले भारतलाई हेर्ने नीतिमा समानता देखिएको भन्ने आधार धेरै छ ।
स्वयम् माओवादी नेताहरू पनि दिल्लीको दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको बताउन थालेका छन् । पहिले आक्रामक भारतीय संस्थापन पक्ष यतिबेला मौन बसेको तिनको बुझाइ छ । पछिल्लो समयमा माओवादीको बुझाइ र भारतको गराइमा कहीं न कहीं मेल खाएको देखिन्छ । नेपालको संविधानसभाको ठूलो पार्टीसँग द्वन्द्व बढाउनु भारतका लागि त्यति वस्तुसंगत छैन । परिस्थिति यति बदलिइसकेको छ कि भारतले नेपालका राजनीतिक पार्टीसँग सन्तुलित सम्बन्ध राख्न सकेमात्र आफ्ना चासो सम्बोधन गर्न सक्छ । माओवादीलाई चिढाएर होइन, सन्तुलित सम्बन्ध राखेर अघि बढ्दा भारतको हित हुने बुझाइ उसको हुनसक्छ ।
माओवादीको आधिकारिक प्रतिवेदनमा भारतसँग प्रमुख अन्तरविरोध उल्लेख छ । भट्टराईको असहमतिबीच यो प्रतिवेदन पारित भएको थियो । माओवादीमा प्रमुख अन्तरविरोध कोसँग हो भन्ने विषयमा त्यति बहस छैन । प्रमुख अन्तरविरोधको विषय नचर्काउनुको अर्को अर्थ हुन्छ, भारतसँग द्वन्द्व बढाउन नचाहनु । खनाल प्रधानमन्त्री नहुँदासम्म प्रचण्डले यो विषयलाई बढी महत्त्व दिएका थिए । त्यसपछि उनको ध्यान शान्ति र संविधानलाई मुख्य कार्यभार बनाएर अघि बढ्नु रह्यो । भारतसँग द्वन्द्व हुने खालको राष्ट्रिय स्वाधीनताको विषय दोस्रो नम्बरमा राखे । उनले भारतसँग एकहिसाबले सम्बन्ध सुधार गर्न चाहेर यसो गरेका हुन् । त्यसका लागि प्रत्यक्ष-अप्रत्यक्ष धेरै च्यानल प्रयोग गरे र केही हदसम्म सफल पनि भए । जानकारहरूका अनुसार उनले बाबुराममार्फत पनि भारतसँग सम्बन्ध सुधारको प्रयास बढाएका थिए । भारत र चीनलाई सन्तुलनमा नराखे भावी नेपालको 'शक्तिशाली' नेता बन्न गाह्रो हुने कुरा प्रचण्डले राम्रैसँग बुझेका कारण उनले त्यसअनुरूप रणनीति अघि सारेका हुनसक्छन् ।
 

Sunday, October 9, 2011

Priminister Baburam Bhattarai was blessed by older men

When Baburam Bhattarai reached birthhome......

के माओबादी फुटको संघारमा हो ?

गंगा बीसी
काठमाडौ, आश्विन २२ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षको विरोधबीच संस्थापन पक्षले असोज २९ गते राष्ट्रिय प्रशिक्षण कार्यक्रम तय गरेको छ । पार्टी निर्णयविपरीत कार्यक्रम तय गरेको भन्दै वैद्य पक्षले सहभागी नहुने घोषणा गरेको छ ।
केन्द्रीय समिति बैठक स्थगित गरी एकतर्फी रूपमा केन्द्रीय प्रशिक्षण तय गरेको भन्दै वैद्य पक्षले चर्को आपत्ति जनाएको हो । संस्थापन पक्षले भने पार्टीभित्र वैद्य पक्षले भ्रम सिर्जना गरेकाले लडाकु समायोजन, मधेसी मोर्चासँगको चारबुँदे सहमतिबारे स्पष्ट पार्न राष्ट्रि्र्रय प्रशिक्षण गर्न लागेको जनाएको छ ।
प्रवक्ता दीनानाथ शर्माले पार्टीको स्थानीय तहसम्म घोषित नीतिबारे भ्रम सिर्जना भएकाले प्रशिक्षण कार्यक्रम राखेको बताए । 'पार्टीको घोषित नीतिमा तल्लो तहसम्म भ्रम उत्पन्न भएको छ,' उनले कान्तिपुरसँग भने, 'स्थायी, केन्द्रीय समितिले गरेका निर्णय स्पष्ट गर्न प्रशिक्षण कार्यक्रम राखिएको हो ।'
वैद्य पक्षीय सचिव सीपी गजुरेलले भने प्रशिक्षण कार्यक्रम तय गर्नु आधिकारिक निर्णय नभएको बताए । 'यो कुनै पनि आधिकारिक कमिटीको निर्णय होइन,' उनले कान्तिपुरसँग भने,   'हामी हावा कुराको भरमा सहभागी हुने कुरै भएन ।'
यसअघि वैद्य पक्षले असोज ४ गते राजधानीमा राष्ट्रिय भेला गरेको थियो ।
भेलामा जिल्ला सचिव, सभासद र केन्द्रीय नेताहरू गरी करिब दुई सय ५० को सहभागिता थियो । भेलाले संस्थापन पक्षले मधेसी मोर्चासँग चार बुँदे 'राष्ट्रघाती' सहमति गरेको भन्दै मुलुकलाई 'सिक्किमीकरण' को बाटोमा लगेको आरोप लगाएका थिए ।
असोज १३ मा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरी १५ गते बोलाएको स्थायी समिति बैठक वैद्य पक्षले बहिष्कार गरेका थिए । दसैं लागेको भन्दै असोज १३ गते केन्द्रीय समिति स्थगित गरिएको थियो । तिहारका कारण स्थगित भएको केन्द्रीय समितिको मिति तय नगरी प्रशिक्षण कार्यक्रम तय गरेकाले वैद्य पक्षले आपत्ति जनाएका हुन् ।
दाहाल निकट पोलिटब्युरो सदस्य जनार्दन शर्माले प्रशिक्षणमा विवादित विषय स्पष्ट गरी एकरूपता ल्याइने जनाए । वैद्य पक्षले विशेष गरी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले मुलुकलाई 'सिक्किमीकरण' गर्न लागेको आरोप लगाउन थालेपछि त्यसलाई निस्तेज पार्न संस्थापन पक्षले प्रशिक्षण कार्यक्रम गर्न निधो गरेको हो । प्रशिक्षणमा राज्य समिति तहका नेता सहभागी हुनेछन् । वैद्य पक्षले देशव्यापी छुट्टै कार्यक्रम गरी संस्थापन पक्ष 'एमालेकरण' भएको भन्दै चर्को आलोचना गरेपछि संस्थापन पक्षले राष्ट्रिय प्रशिक्षण गर्न लागेको हो । संस्थापन पक्षले सबै पक्षका नेताहरूलाई सहभागी हुन निर्देशन दिएको छ । हतियारका कन्टेनरको साँचो बुझाउने कार्यबाट सुरु भएको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।

Tuesday, October 4, 2011

दशैको दर्शन


दशैको रन्को यति लाग्यो कि हिन्दू नेपालीलाई फुस्रद छैन । खाने बस्ने तास खेल्ने यसो बिजुली पानी तान्ने काम पनि तलारुकताका साथ भइरहेको छ । बृद्धाहरु आशिष सोच्दैछन् युवाहरु अनुशासन तोड्दै प्रचलित मूल्य मान्यतालाई रमाइलो गर्न मस्त छन् । बालवालिकहरु पनि के कम गृहकार्य झोलामा थक्याएर सिनेमा कार्टुन हेर्न मस्त ।



तास खेलेर खल्ती जति रित्तिए पनि चिल्लो पिरोले स्वाथ बिगि्रए पनि हामीलाई के मतलब बर्षमा एकपटक आउने दशैलाई धित मरुाजेल मनाउन नपाए के दशै दशैपछि बरु दशानै किन नहोस् दर्श मनाउन काजुस्याई गरिन्न । यस्ता कुरा पनि भइरहेका छन् ।



गाउँमा गएकाहरु गाउँमै शहरमा रहेकाहरु शहरमै र बिदेशमा भएकाहरु बिदेशमै दशै मनाइरहेका छन् । घर जान नपाएकाहरु घर पुगेकाहरु दशैलाई भव्य पार्ने प्रयासमा छन् । परिस्थिति यस्तै छ । असोजको पहिलो साता ६।९ रेक्टर स्केलको भूँइचालोले तसा्रएका हामीहरु यो दशैमा रमाइलो गरी सद्धे हुनु परेको छ ।



काठमाडौं खाली छ सडक शान्तसंग सुतेको छ । गाउँका बाटाहरु बारीका पाटाहरु कमेरो र रातो माटोले लिपेका घरहरु भरिभराउ छन् । के हिमाल के पहाड के तराई गाउँमा रौनक आएको छ । सहरबाट फर्केका र गाउँमा रहेकाहरु बीच अनुभव साटासाट हुँदाको क्षण कम्ति रमाइलो छैन । गाउँ यतिबेला ुफ्युजनु भएका छन् । किनकी आधा सहर गाउँ पुगेको छ । गाउँ र सहरबीच भलाकुसारी हुने बेला पनि यतिबेला नै हो ।



गाउँमा धान पाकेर झुल्ने बेला हो यो । पहाडहरु हरियो साडीको सप्को मारेर सजिएको बेला घरहरु दुलहीझै रंगीएका । घरको पिढीमा बसेर बुढेउलीले छोएकाहरु बिगतका आफ्ना अनुभब युवाहरुसंग बाँड्दा उनीहरु युवा भएको महसुस गर्छन् । यतिबेला के छैन गाउँमा सहरको संस्कृति बिकृति राम्रो नरामं्रो सबै कुरा छ त्यहाँ ।



जो जहा भए पनि जसरी रहे पनि विजया दशमी २०६८ को अवसरमा सबैलाई शुभकामना दिनैपर्छ । किनकी फेसबुक एसएमएसबाट दर्जनौका शुभकामना पं्राप्त छन् । मेरो पनि सबैलाई शुभकामना ।



Sunday, October 2, 2011

अहिलेको सरकारको म्याद मंसिर १४ हो : प्रधानमन्त्री बाबुराम भट्टराई

प्रधानमन्त्री बाबुराम भट्टराईले सेना समायोजनलगायतका विषयमा छिट्टै सहमति हुने दाबी गरेका छन् । उनले सहमतिको मिति तोक्न नसके पनि प्रमुख प्रतिपक्षी कांग्रेससँग धेरै विषयमा कुरा मिलिसकेको उल्लेख गर्दै त्यसको परिणाम छिट्टै आउने बताए । शान्ति प्रक्रियालाई अगाडि बढाउन आफ्नो पार्टीको विवादले असर नगर्ने पनि उनको भनाइ थियो । प्रधानमन्त्री भट्टराईसँग शान्ति प्रक्रिया, पार्टी विवाद, सरकार सञ्चालनको एक महिना, वैदेशिक सम्बन्धलगायतका विषयमा कान्तिपुरका लागि सुधीर शर्मा गंगा बीसीले शनिबार मध्याह्न गरेको कुराकानीः

सरकारका अरू काममा तपाईंले जुन गति दिनुभएको छ, शान्ति प्रक्रिया त ठप्पजस्तै भयो नि ?
शान्ति प्रक्रिया ठप्प भएको छैन, किनकि मैले सरकार निर्माण भएपछि पहिलो प्राथमिकता सेना समायोजन र पुनःस्थापनालाई प्रमुख प्राथमिकता दिन्छु भनेको थिएँ । सरकार बनेको भोलिपल्टै माओवादी सेनाका लडाकुहरू, हतियार र चाबी विशेष समितिलाई हस्तान्तरण गर्ने निर्णय गर्‍यौं । त्यसपछि विशेष समिति बैठक बोलाएर राजनीतिक दलसँग सहमति जुटाएर अघि बढ्ने प्रयत्न गरेँ । शान्ति प्रक्रिया एउटा पार्टी र प्रधानमन्त्रीको एक्लो पहलले अघि बढ्न सक्दैन । विशेष समितिको प्रावधान सहमतिबाट अघि बढ्नेछ । हाम्रो प्रमुख राजनीतिक दलहरूसँग आन्तरिक गृहकार्य भइरहेको छ । छिट्टै त्यसको परिणाम देखिनेछ । छलफल सकारात्मक ढंगले अघि बढेको छ ।
शान्ति प्रक्रियालाई लिएर तपाईंकै पार्टीभित्र विरोध छ, विपक्षी दलहरूसँग पनि तपाईंहरूले समझदारी गर्न सक्नुभएको छैन, खास समस्या कतापट्ट बढी हो ?
हाम्रो पार्टीको एउटा पक्षले त पहिलेदेखि नै विस्तृत शान्ति सम्झौता, संविधान निर्माणलगायतको प्रक्रियामा सैद्धान्तिक विमति राख्दै आएको छ । पार्टीको एउटा पक्षको विरोधले यो प्रक्रियामा असर पारेको छैन र पार्दैन । मुख्य कुरा प्रमुख राजनीतिक दलसँग भएको सहमति हो । हाम्रो पार्टीले गत जेठ ५ गते आम रूपमा र भदौ ८ गते बढी ठोस रूपमा शान्ति प्रक्रिया, मुख्यतः सेना समायोजनसम्बन्धी प्रस्ताव अघि सार्‍यो, त्यसको वरिपरि नै छलफल गरी सहमति जुटाउने प्रयास भइरहेको छ । कांग्रेस र एमालेले न त हाम्रो प्रस्तावमा सहमति जनाएका छन्, न त उहाँहरूको तर्फबाट प्रस्ताव आएको छ । उहाँहरूकै कारणले ढिलाइ भएको हो । तर पनि पछिल्ला दिनका छलफल सकारात्मक छन् । छिट्टै सहमति जुट्छ भन्ने मलाई लाग्छ ।
छिट्टै सहमति जुट्ने आधार के छन् ?
शान्ति प्रक्रिया भनेको सेना समायोजन, पुनःस्थापना, विभिन्न आयोगको गठन, भूमि समस्या समाधान सबै हुन् । अहिले सेना समायोजन र पुनःस्थापनाका ठोस विषयवस्तुमा कुराकानी भइरहेको छ । समायोजनको 'मोडालिटी', मापदण्ड, दर्जा निर्धारण र पुनःस्थापनामा जानेहरूको 'प्याकेज' र मोटामोटी संख्या निर्धारण गरी पुनर्वर्गीकरण सुरु गर्ने कुरामा छलफल भइरहेको छ । हामी धेरै कुरामा सहमति नजिक पुगेका छौँ, एकाध विषय बाँकी छन् । सकेसम्म प्याकेजमा सहमति गरी अघि जाऔँ भन्ने हाम्रो प्रयत्न छ, त्यसो हुन सकेन भने पुनर्वर्गीकरणका लागि अत्यावश्यक पर्ने काम सुरु गरौँ भन्नेमा जोड छ ।
प्याकेजमा सहमति गरेर मात्रै वर्गीकरण गरौँ भन्ने अडान त कांग्रेसको होइन र ?
प्याकेजमा सहमति गरौँ भन्ने हाम्रो अडान हो किनकि माओवादी सेनाका लडाकुको सम्मानजनक समायोजन हुन्छ कि हुँदैन भन्नेमा बढी चासो हाम्रो छ । तर प्याकेजमा सहमति गर्न समय लाग्ने भयो भने छिटो टुंग्याउनुपर्ने विषयमा अहिले सहमति गरौँ र वर्गीकरण थालौँ भनेको हो । को समायोजनमा जान चाहन्छन् र को पुनःस्थापनामा जान चाहन्छन्, यसले करिब एक महिनाको समय लिन्छ । वर्गीकरण सुरु भइहाल्यो भने समयको बचत हुन्छ ।
पुनर्वर्गीकरण मात्र थाल्दा समायोजन हुनेको संख्याचाहिँ कसरी निर्धारण गर्ने ?
समायोजन मोडालिटीबारे मोटामोटी सहमति गर्ने र मुख्य गरी पुनःस्थापनामा जानेहरूको प्याकेजमा टुंग्याइदिने भन्ने हो । त्यसो गर्दा संख्या निर्धारण हुन्छ । पुनःस्थापनामा जानेका लागि प्याकेज दिने हो भने संख्याको मोटामोटी टुंगो लाग्न सक्छ ।
तपाईंले प्रधानमन्त्री हुने बेला सेना समायोजनका लागि ४५ दिनको समयसीमा तोक्नुभएको थियो, अहिले आएर कुरा फेर्नुभयो नि ?
मैले कुरा फेरेको भन्ने सही होइन । म जे बोल्छु, त्यसमा अडान लिन्छु । ४५ दिनको कुरा कहाँबाट आयो भने माओवादीले भदौ ८ गते प्रस्ताव सारेर राष्ट्रिय सहमतिको सरकार बनाई शान्ति प्रक्रियामा सहमति भए ४५ दिनमा शान्ति प्रक्रियाको मोटामोटी काम टुंग्याउन सक्छाँै भनेको थियो । त्यही आधारमा मैले ४५ दिनमा शान्ति प्रक्रिया टुंग्याउन सक्छौँ भनेको हुँ । शान्ति प्रक्रियामा सबै पक्ष सहमत भएनन् भने प्रधानमन्त्री एक्लैले निर्णय गर्न सक्दैन । ४५ दिनभित्र काम गर्न सकिन्छ भन्नेमा म अहिले पनि प्रतिबद्ध छु, अरू पक्षले सघाउनुपर्‍यो भनेको मात्र हो ।
समायोजनका लागि ४५ दिनको गणना कहिलेबाट सुरु हुन्छ त ?
भदौ ६ गते जुन प्रस्ताव अघि सारेका थियौँ, त्यसमा राष्ट्रिय सहमति बनेमा, सेना समायोजनमा सहमति बन्ने हो भने कार्यान्वयन गर्न ४५ दिन लाग्छ भनेको हो । अहिले पनि ४५ दिनभित्रै पूरा गर्न प्रतिबद्ध छु ।
विशेष समितिमा सहमति हुन सकेन भने त्यसको कार्यविधि बदलेर बहुमतीय आधारमा निर्णय गरेर अगाडि बढ्ने सोचाइ छैन ?
मन्त्रिपरिषद्ले(विशेष समितिको) कार्यविधि संशोधन गर्न सक्छ, तर त्यसो गर्नु उपयुक्त हुँदैन । यस्ता संवेदनशील विषयमा राष्ट्रिय सहमति जुटाउनु उपयुक्त हुन्छ । सहमतिको आधारमा निर्णय गर्ने पद्धति नै सही हुन्छ ।
पछिल्लो समयमा तपाईं शान्ति र संविधान निर्माणको काम छाडेर 'कस्मेटिक’ प्रकृतिका देखावटी काममा लाग्नुभयो भन्ने आरोप छ नि ?
मलाई त्यस्तो लाग्दैन । मैले शान्ति प्रक्रिया, संविधान निर्माण, सुशासन र तत्कालीन राहत एवं दीर्घकालीन आर्थिक विकासका काममा आफूलाई केन्दि्रत गरेको छु । यी चारवटै कुरालाई सँगसँगै लैजाने प्रयास गरेको छु । यस क्रममा देखावटी कुरा मात्र होइन, शान्ति र संविधान दीर्घकालीन कुरा हुन् । दीर्घकालीन आर्थिक निर्माणको कुरालाई पनि मैले विशेष जोड दिएको छु । खासगरी आर्थिक नीतिमा संयोजनको अभाव देखिएको छ । त्यसलाई पूरा गर्न प्रधानमन्त्री कार्यालयमा आर्थिक सल्लाहकार परिषद् निर्माण गरेर त्यसमार्फत दीर्घकालीन काम गर्ने योजना बनाएको छु । त्यसका लागि राम्रो छवि भएका पूर्वसचिव रामेश्वर खनाललाई आर्थिक सल्लाहकार बनाएर अघि जाने प्रयत्न गरेको छु । म अर्थमन्त्री हुँदा अघि सारिएको लगानी बोर्डको जुन अवधारणा थियो, त्यो हालै विधेयकका रूपमा पारित भएर आएको छ । त्यसलाई अघि बढाउन कार्यकारी प्रमुख छान्ने काम अघि बढेको छ र छिट्टै ठूला परियोजना देशमा सुरु गर्ने सोच बनाएको छु ।
तपाईंकै पार्टीका मोहन वैद्य पक्षले सरकारको विरोधमा मसाल जुलुस गर्न थालेका छन्, यसले सरकारलाई अप्ठ्यारोमा पार्दैन ?
एउटा पार्टीमा विभिन्न मत हुनु, मतभिन्नता हुनु स्वाभाविक हो । तर पार्टीकै केही साथीहरू अस्वाभाविक ढंगले विरोधका कार्यक्रम गरेर बाहिर जानुभएको छ, योचाहिँ पार्टीका स्वीकृत मान्यताअन्तर्गत पर्दैन । यो विषयमा हामी छलफल गर्दै छौँ । यसले सरकारका कामकारबाहीमा प्रतिकूल असर पार्ने अवस्था छैन । पार्टीको मूल पंक्ति सरकारले गरेका कामका पक्षमा छ ।
आन्तरिक विवाद बढ्दै जाँदा पार्टी फुट्ने अवस्था देख्नुहुन्न ?
म त्यस्तो सम्भावना देख्दिनँ । किनभने विभिन्न मतभिन्नताका बाबजुद तत्काल शान्ति र संविधानकै मार्गमा अघि बढेर मात्रै आमूल परिवर्तन गर्न सकिन्छ भन्ने पार्टीको आधिकारिक निर्णय हो । हाम्रो पार्टीको पछिल्लो केन्द्रीय समितिले शान्ति, संविधान र राष्ट्रिय सरकार भन्ने प्रस्ताव पारित गरेको छ । त्यो सर्वसम्मतिले पारित भएको हो । शान्ति र संविधानलाई कार्यान्वयन गर्दा पार्टी विभाजन हुने सम्भावना देखिँदैन, भलै केही साथीहरूको यसमा असहमति रहन सक्छ ।
माओवादीभित्र दुई पार्टीजस्तो स्थिति भइसकेको छ, कसरी मिलाउनुहुन्छ ?
स्वीकृत विधिबाहिर गएर साथीहरूले विरोध प्रदर्शनका कार्यक्रम गरिरहनुभएको छ । योचाहिँ त्यति मेल खाँदैन । यो विषयमा पार्टीभित्र गम्भीर छलफल हुन्छ ।
तपाईं र अध्यक्ष पुष्पकमल दाहाल मिलेर उपाध्यक्ष वैद्य पक्षलाई पेल्न खोजेको हो ?
यो बिल्कुल गलत कुरा हो । कसैले कसैलाई पेल्ने पक्षमा हामी छैनौँ । पार्टीमा फरक मत राख्न पाउनुपर्छ भन्ने मान्छे भएको हुनाले म किरणजीको विचारको स्वागत गर्छु । मैले त जनवादी केन्द्रीयताका स्वीकृत विधिहरू अपुग भएका छन् भने अझै विकास गरौँ, आफूलाई लागेका विचार बाहिर लाने वातावरण बनाऔँ भनेर कुरा गरेको छु । कसैलाई पेलेर जाने कुरा हुँदैन ।
तपाईंले धोबीघाट भेलाको सहमति तोडेर प्रधानमन्त्री भएपछि धोका दिनुभयो भन्ने उपाध्यक्ष मोहन वैद्य पक्षको आरोप छ नि ?
मैले त्यस्तो सुनेको छैन । शान्ति र संविधानका पक्षमा दृढतापूर्वक अघि बढेर मात्रै नेपालमा नयाँ ढंगले परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता मैले राख्दै आएको छु । त्यसमै केही साथीहरूले असहमति जनाउनुभएको हो । धोबीघाट प्रकरणका सन्दर्भमा कतिपय सांगठनिक विषयमा मात्रै किरणजी (वैद्य) सँग सहकार्य गरेका थियौँ । जब कि राजनीतिक कार्यदिशाबारे मतभिन्नता कायमै
थियो । मतभिन्नता कायम हुँदै मिलेर जाने कम्युनिस्ट पार्टीको मान्यता हुन्छ । त्यसबेला असहमतिसहितको एकता थियो । अहिलेको असहमति पनि एकतासहितकै असहमति हो । यसलाई अन्यथा मान्नु हुँदैन ।
वैद्य पक्षले तपाईंको सरकारलाई राष्ट्रघातीको आरोपसमेत लगाउन थालेको छ, मधेसी मोर्चासँग भएको चारबुँदे सम्झौता खारेज हुनुपर्ने माग पनि राखेको छ । यसलाई कसरी लिनुभएको छ ?
राष्ट्रियताको मुद्दा एउटा पार्टी वा व्यक्तिविशेषको हुँदैन । राष्ट्रियताको मुद्दा सबैको साझा मुद्दा
हुन्छ । यो विषयमा हाम्रा राजनीतिक दल र नेताहरूले आफूलाई सच्याउनैपर्छ । संकीर्ण रूपमा राष्ट्रियताको मुद्दा उठाएर जनतामा भ्रम सिर्जना गर्ने काम कसैले गर्न हुँदैन । सरकार निर्माण गर्ने कुरामा चारबुँदे सहमति भएको हो, यो पार्टीभित्र एकमतले भएको निर्णय हो किनकि प्रधानमन्त्रीको निर्वाचन भएकै दिन पार्टी केन्द्रीय पदाधिकारीको बैठक बसेको थियो, बैठकले चारबुँदे सहमतिलाई स्वीकार गरी सरकार बनेको हो । त्यसबेला साथीहरूले राष्ट्रियताको मुद्दा उठाउन आवश्यक नठान्ने, तर पछि अन्य कुरामा मतभिन्नता भएपछि राष्ट्रियताको मुद्दा उछाल्नु युक्तिसंगत र नैतिकताको हिसाबले उपयुक्त हुँदैन । चारबुँदेले राष्ट्रिय एकताको आधारलाई अझ बलियो बनाउने काम गरेको छ किनकि पुरानो सामन्ती राष्ट्रियता भनेको जाति, विभिन्न भाषाभाषीको पहिचान मेटाउने गरी कायम गरिएको राष्ट्रियता हुन्थ्यो भने अहिलेको राष्ट्रियता भनेको विविध उत्पीडित जातजाति, भाषाभाषीको अधिकारसहितको अधिकार र संघीयतासहितको हो । कतिपय मानिसले यो कुरा नबुझेर प्रश्न उठाएका हुन सक्छन् । चारबुँदेले संघीयतासहितको राष्ट्रियताको पक्षपोषण गरेको छ ।
नेपालमा राष्ट्रियताको कुरा गर्दा बढी भारतसँगको सम्बन्धमा जोडिन्छ, तपाईंको बुझाइचाहिँ कस्तो रहेको छ ?
राष्ट्रियताको परिभाषा गर्दा भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर जानुपर्छ भन्ने पृथ्वीनारायण शाहदेखिको मान्यता हो । सामन्ती युगमा दुइटा देशबीच पर्खाल वा 'बफर' राष्ट्रका रूपमा रहेर राष्ट्रियताको रक्षा हुन्छ भन्ने मान्यता थियो । एक्काइसौं शताब्दीमा विज्ञानप्रविधिको विकास भएको अवस्थामा अब हामी कुनै देशको बीचमा जीवन्त पुल बनेर आर्थिक समृद्धिसहित र आन्तरिक एकतासहित राष्ट्रियताको रक्षा गर्न सक्छौँ । आन्तरिक राष्ट्रियता मजबुत पार्ने, दुइटा छिमेकीबीच गतिशील पुल बन्ने राष्ट्रियताको हामीले निर्माण गर्नुपर्छ ।
तपाईंमाथि भारतप्रति नरम भएको आरोप लाग्ने गर्छ, त्यस्तै हो ?
बिल्कुल गलत कुरा हो । यो कुरा पहिले कहाँबाट उठ्यो भने जनयुद्धकालमा पार्टीभित्र कार्यनीतिक बहस भयो । त्यतिबेला राजतन्त्रसँग मिलेर संसद्वादी शक्तिलाई पेलेर जाने कि संसद्वादी शक्तिसँग मिलेर राजतन्त्रको अन्त्य गर्ने भन्ने बहस उठ्यो । त्यतिबेला मैले संसद्वादी शक्तिसँग मिलेर राजतन्त्रको अन्त्य गर्नुपर्छ भन्ने वकालत गरेँ । त्यसो गर्ने क्रममा हामी जसलाई रायमाझी प्रवृत्ति भन्छौँ, त्यस्तो शक्तिले राजतन्त्रसँग मिलेर संसद्वादी शक्तिसँग लड्नुपर्छ भन्थ्यो । त्यही शक्तिले मलाई दरबारिया कोणबाट भारतको नजिक भनेर आरोप लगायो । मान्छेले गलत ढंगले प्रचारमा लगे । इतिहासले के पुष्टि गर्‍यो भने मैले जुन कार्यनीतिमा जोड दिएको थिएँ, त्यो नै सत्य सावित हुँदै आएको छ । यतिबेला कतिपय दरबारिया शक्तिले प्रतिशोध साध्न यस्ता प्रचार गर्ने गर्छन् । गणतन्त्र आइसकेको सन्दर्भमा राष्ट्रियताको नयाँ ढंगले परिभाषित भएको सन्दर्भमा त्यो आरोपको स्वतः खण्डन भएको छ ।
न्युयोर्क भ्रमणका बेला तपाईंको भारतका प्रधानमन्त्रीसँग कस्तो कुराकानी भयो ?
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने क्रममा मेरो राष्ट्रसंघका महासचिव बान कि मुनलगायत प्रमुख पदाधिकारीदेखि लिएर कतिपय मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेट भयो । त्यस क्रममा भारतका प्रधानमन्त्री डा. मनमोहन सिंह र चिनियाँ विदेशमन्त्रीसँगको भ्रमण विशेष उल्लेखनीय भयो । दुवैले नेपालको शान्ति प्रक्रियामा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुवैतर्फबाट भ्रमणको निम्ति पनि आयो । म छिट्टै दुवै देशको भ्रमण गर्ने योजना बनाउँदै छु । भारतको भ्रमण अक्टोबरको अन्त्यसम्ममा हुन्छ, त्यसपछि उपयुक्त समयमा चीन भ्रमण हुन्छ ।
तपाईंको भारत भ्रमणका मुख्य एजेन्डा केके हुनेछन् ?
मैले भारत भ्रमणको तयारीका लागि अधिकारीहरूलाई निर्देशन दिइसकेको छु । खासगरी भारत भ्रमणमा विशेष ध्यान दिनुपर्ने पक्ष के छन् ? पुरानो समझदारीका टुंग्याउनुपर्ने कुरा के छन् ? राष्ट्रियताको सवालमा उठाउनुपर्ने मुद्दा केके हुन सक्छन् ? यस्ता विषयमा पर्याप्त गृहकार्य सुरु भइसकेको छ । मेरो भारत भ्रमण सद्भावना भ्रमण भएको र देश संक्रमणकालमा भएको हुनाले दीर्घकालीन अर्थ र महत्त्व राख्ने सम्झौता गर्नु उपयुक्त हुँदैन। तत्कालीन रूपमा व्यापारको असन्तुलन छ, त्यसलाई कसरी सन्तुलनमा ल्याउन सकिन्छ र नेपालमा ऊर्जा संकट समाधानका लागि केकस्तो सहयोग लिन सकिन्छ, त्यस विषयमा बढी जोड दिएर उठाउने कुरा गरेको छु । भारतीय पक्षले हामीबाट के अपेक्षा गर्छ, त्यस विषयमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहमतिमा पुग्ने प्रयत्न हुन्छ ।
तपाईं प्रधानमन्त्री भएको एक महिनालाई फर्केर हेर्दा के पाउनुहुन्छ ?
म प्रधानमन्त्री भएलगत्तै शान्ति र संविधानलाई मुख्य मुद्दा बनाएर अघि बढेको हुनाले त्यस क्रममा जनतामा आशा र विश्वास सञ्चार भएको छ, मुख्य उपलब्धि त्यही हो । साथसाथै जनतालाई सुशासन र राहत दिने, दीर्घकालीन आर्थिक आधार तयार पार्ने प्रयास भएको छ । मेरो एक महिनाको उपलब्धि यही नै हो । यी काम पर्याप्त हुँदैनन् । तैपनि केही पनि हुँदैन भन्ने जुन निराशा उत्पन्न भएको थियो, अब आशा पलाएको छ । राष्ट्रिय सहमतिको वातावरण बन्छ कि भन्ने आशाको सञ्चार भएको छ ।
तपाईंले जहिले पनि राष्ट्रिय सहमतिको सरकारको कुरा गर्नुभयो, अहिले मधेसवादी दलहरूसँग मात्र बसेर काम गर्दै हुनुहुन्छ । दुई प्रमुख दल बाहिर रहेको अवस्थालाई कसरी लिनुभएको छ ?
म अहिले पनि राष्ट्रिय सहमतिको सरकार निर्माणका पक्षमा छु । प्राविधिक रूपमा बहुमतीय रूपमा सरकार गठन भए पनि यसलाई राष्ट्रियस्वरूप प्रदान गर्नुपर्छ । शान्ति प्रक्रियाले गति लिने कुरा सँगसँगै कांग्रेस, एमाले सरकारमा सहभागी हुने वातावरण बन्छ, त्यसबेला राष्ट्रिय सरकार बन्ने विश्वास छ ।
तपाईंको मन्त्रिपरिषद्का दुई सदस्यहरू रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधारमन्त्री प्रभु साह निकै विवादित बनेका छन्, के तपाईं अझै उनीहरूलाई हटाउने पक्षमा हुनुहुन्न ?
बहस, विवाद र आरोप लाग्दैमा पुष्टि भएको ठान्नु हुँदैन । सबै कुराको एउटा प्रक्रिया हुन्छ । जुन विषयवस्तु उठेका छन्, त्यसलाई मैले गम्भीर रूपमा लिएको छु । आरोप लाग्दैमा दण्डित गर्नु लोकतान्त्रिक हुँदैन । तर मैले सबै विषयलाई गम्भीरतापूर्वक लिइरहेको छु ।
तपाईंले यसबीचमा काम गर्न नसके राजीनामा दिने कुरा पनि गर्नुभयो, काम गर्न नसकेर निराश हुन थाल्नुभएको हो ?
राजीनामाको कुरा गरेको होइन । मेरो सरकारको औचित्य भनेको शान्ति र संविधानलाई पूरा गर्ने हो । त्यही अठोटका साथ सरकारको नेतृत्व गरेको छु । त्यसका लागि सबै पक्षको सहयोग चाहिन्छ, म त्यसका लागि लाग्छु भनेको छु । मैले सकिनँ भने सरकारको औचित्य रहँदैन भनेको हो । यसको अर्थ मैले निराशावादी कोणबाट होइन, शान्ति र संविधान निर्माणको प्रक्रिया पूरा गरेरै छाड्छु भन्ने अर्थमा भनेको हो । मेरो अभिव्यक्तिमा त्रुटि भएर भ्रम परेको हो ।
यो सरकारको अवधि कहिलेसम्म हो ?
संविधानसभाको म्याद मंसिर १४ हो । संविधानसभाको म्यादसँगै सरकारको म्याद जोडिएको हुन्छ । अहिलेको सरकारको म्याद मंसिर १४ हो । त्यो बीचमा शान्ति र संविधानलाई सार्थक निष्कर्षमा पुर्‍याउन सक्छु भन्ने मेरो विश्वास हो । त्यसबेला आवश्यक समय थपिन सक्छ । त्यसपछि म्याद निर्धारण हुन सक्छ ।