Wednesday, October 12, 2011

माओबादीमा अस्थाई समाधान

काठमाडौ, आश्विन २६ - संस्थापन र उपाध्यक्ष मोहन वैद्य पक्षले बोलाएको छुट्टाछुट्टै भेला स्थगित गरी माओवादीले केन्द्रीय समिति बैठक बोलाएपछि विवादको अस्थायी समाधान भएको छ । पदाधिकारीको बैठकमा केन्द्रीय समिति कात्तिक १७ गते बोलाउने सहमति
भएपछि माओवादीमा बाहिर सहमति भएको देखिएको छ तर भित्र भने संघर्ष जारी राखिने भएको छ ।
दुवै पक्षले उस्तै भेला गर्दा पार्टी फुट्ने खतरा महसुस गरी उसले मध्यमार्गी विकल्प निकालेको हो । केन्द्रीय समिति बैठकअघि एकले अर्कोलाई आरोप/प्रत्यारोप नगर्ने, सरकारको विरोध सार्वजनिक रूपमा नगर्ने, शान्ति र संविधानबारे निर्णय वार्ता टोली (पदाधिकारी) ले गर्नेलगायतका सहमति दुई पक्षबीच भएको छ । तर हतियारका कन्टेनरको साँचो बुझाउने निर्णय र मधेसी मोर्चासँग भएका चारबुँदे सहमतिबारे विवाद भने कायम छ । यी विवाद आगामी केन्द्रीय समिति बैठकमा खुलेरै छलफल गर्ने सहमति पनि नेतृत्वले गरेका छन् ।
पछिल्लो समयमा संस्थापन (अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई) को चर्को आलोचना गरिरहेको वैद्य पक्षले केन्द्रीय समिति बोलाउनु सकारात्मक भएको भन्दै केन्द्रीय समिति बैठकमा आफ्नो मत राख्ने जनाएको छ । 'सकारात्मक प्रक्रियाको सुरुआत भएको छ,' स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले कान्तिपुरसँग भने, 'बाहिर विवादास्पद काम नगर्ने र पार्टीभित्र पनि छलफल जारी राख्ने कुरा भएको छ । हाम्रा धारणा केन्द्रीय समिति बैठकमा राख्छांै ।'
संस्थापन पक्षका पोलिटब्युरो सदस्य जनार्दन शर्माले पार्टी फुटको खतरा समाधान गर्न पछिल्लो निर्णय गरिएको बताए । 'पार्टी फुटको तहसम्म भ्रम सिर्जना भएपछि संस्थापनबाट कदम चालिएको हो,' उनले भने, 'अब जिम्मेवारीपूर्वक पार्टी एकताबद्ध बनाउने प्रयास अध्यक्षबाट पहल भएको छ ।' उनले पार्टीको यो निर्णयले शान्ति प्रक्रिया अघि बढाउन सहज हुने उल्लेख गरे । 'यो अवधिमा शान्ति प्रक्रिया अघि पछिल्लो निर्णयले काम गर्छ,' उनको भनाइ छ ।
प्रवक्ता दीनानाथ शर्माले केन्द्रीय समितिले पार्टीमा देखिएका समस्याको समीक्षा गरी निर्णय गर्ने बताए । 'यसबीचमा पार्टीभित्रबाट गर्न हुने र नहुने सबै काम भएका छन्,' उनले भने, 'सबैले आत्मसमीक्षा गरी निर्णय हुन्छ, त्यो निर्णय कार्यान्वयनमा जान्छ ।
आगामी केन्द्रीय समिति बैठकले पार्टीको भविष्य निर्धारण गर्ने चन्दको भनाइ छ । 'त्यो बैठकबाट पार्टी रूपान्तरण, एकताको विकासको आधार पनि बनाउन सक्छ, फुटको आधार पनि बनाउन सक्छ,' उनको भनाइ छ,  'जे हुन्छ, अब बैठकमै हुन्छ ।' केन्द्रीय समिति बैठक स्थगित गरी राष्ट्रिय प्रशिक्षण बोलाएपछि वैद्य पक्षले समानान्तर भेला बोलाएको थियो । शान्ति प्रक्रियाअन्तर्गत लडाकु समायोजनको आधार तयार गर्न कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने कार्य पार्टी निर्णयविपरीत भएको भनी वैद्य पक्षले भ्रम सिर्जना गरेको भन्दै त्यसलाई स्पष्ट गर्न प्रशिक्षण बोलाएको थियो ।
यसबीचमा पार्टी र सरकारविरुद्ध वैद्य पक्षले सडक आन्दोलन गरेको थियो । विवादले यतिसम्म चरम रूप लिएको थियो कि वैद्य र महासचिव रामबहादुर थापाले पार्टीकै लेटरप्याडमा संस्थापन पक्षविरुद्ध वक्तव्य निकालेका थिए । वैद्य पक्षले देशव्यापी रूपमा छुट्टै संगठन बनाउने गृहकार्यसमेत सुरु गरेका थिए ।
संस्थापन पक्ष केन्द्रीय समिति बैठक बस्नुअघि नै वैद्य पक्षको असहमतिबीच लडाकु समायोजन प्रक्रियालाई गति दिने तयारीमा छन् । यस विषयमा कांग्रेस, एमालेसँग वार्ता गर्दा सबै वार्ता टोली (वैद्य, थापा, सचिव सीपी गजुरेलसमेत) सहभागी गराउने नेताहरूबीच सहमति भएको छ । लडाकु समायोजन अघि बढाउन खोज्दा उनीहरूको विरोध रहने भएकाले त्यसबेला अवरोध आउने सम्भावना छ ।

No comments: