Sunday, October 9, 2011

के माओबादी फुटको संघारमा हो ?

गंगा बीसी
काठमाडौ, आश्विन २२ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षको विरोधबीच संस्थापन पक्षले असोज २९ गते राष्ट्रिय प्रशिक्षण कार्यक्रम तय गरेको छ । पार्टी निर्णयविपरीत कार्यक्रम तय गरेको भन्दै वैद्य पक्षले सहभागी नहुने घोषणा गरेको छ ।
केन्द्रीय समिति बैठक स्थगित गरी एकतर्फी रूपमा केन्द्रीय प्रशिक्षण तय गरेको भन्दै वैद्य पक्षले चर्को आपत्ति जनाएको हो । संस्थापन पक्षले भने पार्टीभित्र वैद्य पक्षले भ्रम सिर्जना गरेकाले लडाकु समायोजन, मधेसी मोर्चासँगको चारबुँदे सहमतिबारे स्पष्ट पार्न राष्ट्रि्र्रय प्रशिक्षण गर्न लागेको जनाएको छ ।
प्रवक्ता दीनानाथ शर्माले पार्टीको स्थानीय तहसम्म घोषित नीतिबारे भ्रम सिर्जना भएकाले प्रशिक्षण कार्यक्रम राखेको बताए । 'पार्टीको घोषित नीतिमा तल्लो तहसम्म भ्रम उत्पन्न भएको छ,' उनले कान्तिपुरसँग भने, 'स्थायी, केन्द्रीय समितिले गरेका निर्णय स्पष्ट गर्न प्रशिक्षण कार्यक्रम राखिएको हो ।'
वैद्य पक्षीय सचिव सीपी गजुरेलले भने प्रशिक्षण कार्यक्रम तय गर्नु आधिकारिक निर्णय नभएको बताए । 'यो कुनै पनि आधिकारिक कमिटीको निर्णय होइन,' उनले कान्तिपुरसँग भने,   'हामी हावा कुराको भरमा सहभागी हुने कुरै भएन ।'
यसअघि वैद्य पक्षले असोज ४ गते राजधानीमा राष्ट्रिय भेला गरेको थियो ।
भेलामा जिल्ला सचिव, सभासद र केन्द्रीय नेताहरू गरी करिब दुई सय ५० को सहभागिता थियो । भेलाले संस्थापन पक्षले मधेसी मोर्चासँग चार बुँदे 'राष्ट्रघाती' सहमति गरेको भन्दै मुलुकलाई 'सिक्किमीकरण' को बाटोमा लगेको आरोप लगाएका थिए ।
असोज १३ मा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरी १५ गते बोलाएको स्थायी समिति बैठक वैद्य पक्षले बहिष्कार गरेका थिए । दसैं लागेको भन्दै असोज १३ गते केन्द्रीय समिति स्थगित गरिएको थियो । तिहारका कारण स्थगित भएको केन्द्रीय समितिको मिति तय नगरी प्रशिक्षण कार्यक्रम तय गरेकाले वैद्य पक्षले आपत्ति जनाएका हुन् ।
दाहाल निकट पोलिटब्युरो सदस्य जनार्दन शर्माले प्रशिक्षणमा विवादित विषय स्पष्ट गरी एकरूपता ल्याइने जनाए । वैद्य पक्षले विशेष गरी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले मुलुकलाई 'सिक्किमीकरण' गर्न लागेको आरोप लगाउन थालेपछि त्यसलाई निस्तेज पार्न संस्थापन पक्षले प्रशिक्षण कार्यक्रम गर्न निधो गरेको हो । प्रशिक्षणमा राज्य समिति तहका नेता सहभागी हुनेछन् । वैद्य पक्षले देशव्यापी छुट्टै कार्यक्रम गरी संस्थापन पक्ष 'एमालेकरण' भएको भन्दै चर्को आलोचना गरेपछि संस्थापन पक्षले राष्ट्रिय प्रशिक्षण गर्न लागेको हो । संस्थापन पक्षले सबै पक्षका नेताहरूलाई सहभागी हुन निर्देशन दिएको छ । हतियारका कन्टेनरको साँचो बुझाउने कार्यबाट सुरु भएको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।

No comments: