Saturday, October 15, 2011

बाबुरामलाई निल्नु न ओकल्नु

काठमाडौ, आश्विन २७ -
प्रतिपक्षी कांग्रेस-एमालेले मात्र होइन, माओवादीले नै रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा मागेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री बाबुराम भट्टराई यतिबेला अलमलमा परेका छन् । त्यसमाथि केन्द्रीय सदस्य एवं भूमिसुधारमन्त्री प्रभु साहलाई नहटाई संसद् चल्न नदिने कांग्रेस-एमालेको अडानले स्थिति थप जटिल पारिदिएको छ ।

प्रधानमन्त्रीको हैसियतले भण्डारीलाई तत्काल राजीनामा गराउन उनी सक्दैनन् । त्यस्तै पार्टीले बचाउ गर्ने निर्णय गरेका साहलाई मन्त्रीबाट हटाउँदा उनी भित्रैबाट अप्ठ्यारोमा पर्नेछन् । यसकारण भट्टराई तत्काल दुवै मन्त्रीलाई हटाएर प्रतिपक्षको माग र पार्टीको निर्णय कार्यान्वयन गर्न सक्ने अवस्थामा छनैन् । तैपनि उनले सरकारका तर्फबाट छिट्टै धारणा सार्वजनिक गर्ने मनस्थिति भने बनाएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले छिट्टै भट्टराईले धारणा स्पष्ट गर्ने जानकारी दिए । 'प्रतिपक्षको माग र पार्टी निर्णयबारे प्रधानमन्त्री गम्भीर हुनुहुन्छ,' उनले कान्तिपुरसँग भने, 'यसबारे एक-दुई दिनमै केही निर्णय गर्नुपर्ने हुन्छ ।'

शान्ति प्रक्रियाबारे छिट्टै सहमति हुने नेताहरूले बताइरहेकै बेला भट्टराईका थाप्लोमा दुई मन्त्रीको राजीनामा विषय गहु्रँगो बोझ बनेको छ ।

पत्रिकामा समाचार र पाठकपत्र आएकै भरमा ध्यानाकर्षण गर्ने प्रधानमन्त्रीलाई दुई मन्त्रीको राजीनामाको माग थामिनसक्नु गरी उठेको छ । निकटका केही नेताले समेत दुवै मन्त्रीलाई राजीनामा गराउनु उपयुक्त विकल्प हुने सुझाव दिन थालेका छन् ।

 पौडेलले दुवै मन्त्रीबारे संसद्मा समेत प्रश्न उठेकाले छिट्टै समाधान नगरे ढिला हुने जनाए । 'दुवै मन्त्रीलाई नैतिक प्रश्न उठेको छ,' उनको भनाइ थियो, 'यसबारे विशेष गरी मधेसवादी दलहरूसँग कुरा भइरहेको छ ।' मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ नेतालाई तत्काल राजीनामा

गराउँदा सत्ता समीकरणमा दरार उत्पन्न भई सरकार संकटमा पर्ने अड्कल पनि उनले गरे ।

 'विगतका सहमति र सत्ता समीकरणको विषय पनि छ,' उनले भने, 'हत्तपत्त निर्णय गर्नुभन्दा सोचविचार गरी निर्णय गर्नु उपयुक्त हुन्छ भन्ने लागेको छ ।'

 मन्त्री साहको राजीनामाको विषय प्रधानमन्त्रीका लागि झन् जटिल

बनेको छ । भट्टराई पक्षका कतिपय नेताहरूले पार्टीभित्र र बाहिरको षड्यन्त्रका कारण साहलाई फसाइएको बताएका छन् र उनीहरूले भट्टराईसँग त्यही धारणा राखेका छन् ।

 भट्टराई पक्षीय पोलिटब्युरो सदस्य एवं भोजपुरा राज्य समिति इन्चार्ज भीमप्रसाद गौतमले साहलाई पार्टीभित्र पनि षड्यन्त्र भएको बताए । 'प्रभुजीलाई पार्टीभित्रबाट पनि षड्यन्त्र भएको छ,' उनले वैद्य पक्षतिर संकेत गर्दै भने, 'उहाँ मधेसको खम्बा भएको र मन्त्री भएको देख्न नचाहने तत्त्व पनि पार्टीभित्रै

छन् ।' साहलाई बचाउ गर्ने पार्टी निर्णय र गौतमको कुरा विश्वास गर्ने हो भने भट्टराई साहलाई राजीनामा गराउने पक्षमा छैनन् ।

 प्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादवले साहविरुद्ध पार्टीभित्रबाट षड्यन्त्र भएको उल्लेख गर्दै छानबिन गर्नुपर्ने विचार व्यक्त गरे । 'प्रभुजीलाई पार्टीभित्र र बाहिरबाट षड्यन्त्र भएको छ,' उनले भने, 'भित्रको षड्यन्त्रका विषयमा पार्टीले छानबिन गर्नुपर्छ ।' भट्टराईले दुई मन्त्रीबारे जति छिटो समाधान गर्छन्, उति नै लडाकु समायोजन प्रक्रिया अघि बढ्छ । उनले त्यसो गर्न सकेनन् भने लडाकु समायोजन प्रक्रिया राजीनामा विवादका कारण अवरुद्ध हुनेछ । भट्टराईसामु दुई मन्त्रीको राजीनामा गराउनु जति सहज छ, अन्य विकल्प त्यति नै गाह्रो छ । किनकि अन्य विकल्प प्रतिपक्ष कांग्रेस-एमालेले मान्ने सम्भावना एकदम कम छ ।



प्रकाशित मिति: २०६८ आश्विन २८ ०८:३८

No comments: