Sunday, October 23, 2011

माओबादीमा बबण्डर

गंगा बीसी
काठमाडौ, कार्तिक ६ - प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसंग दिल्लीमा लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा) गरी स्वदेश नफर्कंदै उनको पार्टीभित्र चर्को बिवाद सुरु भएको छ । मधेशी मोर्चासंग भएको चार बुँदे सहमति र हतियारका कन्टेनरको साँचो बुझाउने बिवाद नसेलाउँदै माओवादीमा बिपा बिवाद थपिएको हो ।
प्रधानमन्त्री भट्टराईले अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा उक्त सम्झौता गरे पनि अर्को उपाध्यक्ष मोहन बैद्य र महासचिब रामबहादुर थापा आक्रोशित भएका छन् । बैद्य पक्षले सम्झौताले भारतीय हस्तक्षेपको आधार तयार पारेको आरोप लगाउँदै भट्टराईले पार्टी निर्णय बिपरित गरेको समेत दाबी गरेको छ ।  भट्टराई स्वयंले जोखिम मोलेर गरेको सम्झौता राष्ट्रघाती नभई भारतसंगको आथिर्क सम्बन्धमा ठूलो ढोका खोलेको’ दाबी गरिरहेका बेला बैद्यले ‘आश्चर्यजनक’ भएको बताएका छन् । आर्थिक उन्नति नभई राष्ट्रियता बलियो नहुने तर्क गर्दै आएका भट्टराईले आफू प्रधानमन्त्री भएको मौकामा बिपा सम्झौता गरेका हुन् ।
बैद्यले शनिबार ईकान्तिपुरसंग कुरा गर्दै यो सम्झौताले मुलुकको अर्थतन्त्र भारतको चंगुलमा फसेको बताए । ‘यो सम्झौताले भारतका लागि हस्तक्षेपको पुरै आधार बन्यो’ उनले भने– ‘यसले देश र जनताको लागि हित गर्दैन ।’ उनले यसले तेश्रो मुलुकका लागि प्रतिकुल असर गर्ने उल्लेख गर्दै मुलुकमा भारतको एकाधिकार बढाउने बताए । ‘अब नेपालको लगानीमा भारतको एकाधिकार हुने छ’ उनको भनाइ छ– ‘यस्तो सम्झौता गर्न उहाँलाई म्यान्डेट थिएन । उहाँले किन सम्झौता गर्नुभयो, हामी आश्चर्यमा परेका छौ ।’
मुलुक संक्रमणकालीन अवस्थामा उद्योगधन्दामा हड्ताल हुने र त्यस्तो उद्योगको पुरै संरक्षणको जिम्मा लिन सक्ने अवस्था नभएको बताए । ‘संक्रमणकालीन अवस्थमा उद्योगहरु बन्द भइहाल्छन्’ उनले भने– ‘यो बिवादास्पद मात्र होइन, एकदम गलत सम्झौता हो ।’
माओवादी स्थायी समिति बैठकले भ्रमण सद्भावना बनाउन निर्देशन दिए पनि भट्टराईले उल्लंघन गरेको बैद्य पक्षको भनाइ छ । उक्त पक्षले भारतप्रति भट्टराई नरम भएको आरोप गर्दै बिपा सम्झौता गरेको निष्कर्ष निकालेका छन् । बिपा सम्झौताबारे छलफल गर्न बैद्य पक्षको शनिबार बैठक बसेको थियो । बैठकले सम्झौता राष्ट्रघाती भएको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको एक नेताले बताए । यसअघि मधेशी मोर्चासंग भएको चार बुँदे सम्झौतालाई राष्ट्रघाती भएको भन्दै आन्दोलन गरेको थियो ।
बैद्यले यसरबारे आगामी केन्द्रीय समिति बैठकमा छलफल गर्ने जनाए । ‘यो पार्टी निर्णय बिपरित भएको छ’ उनले भने– ‘यसबारे पार्टीभित्र छलफल नहुने कुरै आएन ।’
संस्थापन पक्षले भने सम्झौता पार्टीको सहमतिमा   दाबी गरेको छ । सम्झौता गर्नुअघि र त्यसपछि उत्पन्न प्रतिक्रियाबारे भट्टराईले अध्यक्ष दाहालसंग टेलिफोनमा कुराकानी गरेका थिए । भट्टराईले शनिबार बिहान दाहालसंग टेलिफोनमा कुरा गर्दै बीपाबारे स्पष्ट पारेका थिए ।
दाहाल निकट पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले बिपा सम्झौता पार्टीको सहमतिमा भएको जनाए । ‘यो सम्झौता पार्टीको सहमतिमा भएको छ’ उनले भने– ‘यसबारे अध्यक्षसंग कुराकानी भएको छ ।’ उनले ‘मुलभूत रुपमा’ सम्झौता ठिक भएको बताएका छन् । ‘दोहोरो कर तिर्नु नपर्ने सम्झौता गरेको भए राम्रो हुन्थ्यो’ उनले कान्तिपुरसंग भने– ‘जुन सम्झौता भयो, यो मूलभूत रुपमा सही छ ।’ उनले आफ्नो कुरा मनाउन भारतका पनि केही चासो मानिदिन यो सम्झौता गरेको हुन सक्ने जनाए ।
प्रकाशित मिति: २०६८ कार्तिक ६ १२:१४

No comments: