Monday, October 10, 2011

माओबादी फुट्ने संकेत

गंगा बीसी
काठमाडौ, आश्विन २३ - माओवादीको संस्थापन पक्षले राष्ट्रिय प्रशिक्षण तय गरेको अघिल्लै दिन असोज २८ गते वैद्य समूहले समानान्तर भेला बोलाएपछि पार्टी फुटको आरोप-प्रत्यारोप चलेको छ । 
दुवै पक्षले एकअर्कोलाई पार्टी फुटाउन लागेको आरोप लगाउँदै आन्तरिक रूपमा आ-आफ्नो तयारी थालेका छन् । वैद्य समूहले संस्थापन पक्षले एकपक्षीय ढंगले राष्ट्रिय प्रशिक्षण बोलाई पार्टी फुटको घोषणा गरेको आरोप लगाएको छ । संस्थापन पक्षको प्रशिक्षणलाई कमजोर पार्न उसले राष्ट्रिय भेला बोलाएको हो । आक्रोशित संस्थापन पक्षले प्रशिक्षण झन् भव्य बनाउने तयारी गरेको नेताहरूले बताए । माओवादीमा चुलिएको विवादले पार्टी फुटको दिशातिर उन्मुख हुन थालेको पार्टीकै नेताहरूले अनुमान गरेका छन् ।
पार्टी निर्णयअनुसार प्रशिक्षण बोलाए पनि त्यसलाई प्रतिवाद दिने उद्देश्यले भेला बोलाउनुलाई संस्थापन पक्षले 'गलत' भनेको छ भने वैद्य समूहले राष्ट्रिय प्रशिक्षण तोक्नु 'दुर्नियतपूर्ण' भनेको छ ।
संस्थापन पक्षका स्थायी समिति सदस्य वर्षमान पुनले प्रशिक्षणको मुखमा वैद्य पक्षले अलग्गै भेला बोलाउनु बेठीक भएको उल्लेख गर्दै उनीहरूले फरक विचार प्रशिक्षणमै राख्नुपर्ने बताए । उपाध्यक्ष वैद्यले सहिद, बेपत्ता परिवार र जनताको चाहनाअनुसार पार्टी फुटाउन नहुने उनको भनाइ थियो । 'प्रशिक्षणको मुखमा अलग्गै भेला बोलाउनु बेठीक हो,' उनले भने, 'किरण (वैद्य) जीले सहिद, बेपत्ता र जनताको चाहनाअनुसार पार्टी फुट्न दिनुहुने छैन ।'
वैद्यपक्षीय स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले केन्द्रीय समिति बैठक नबोलाई राजनीतिक बहसबाट वञ्चित गरी संस्थापनले पार्टी फुटको घोषणा गरेको आरोप लगाए । 'केन्द्रीय समिति बैठक गरी बाटो बिराएको राजनीतिक बहस गर्न वञ्चित गरिएको छ,' उनले कान्तिपुरसँग भने, 'केन्द्रीय समितिमा छलफल गर्नुको सट्टा उल्टो प्रक्रियाबाट प्रशिक्षण तोकी मूल नेतृत्वबाटै पार्टी फुटको घोषणा गरेको देखिएको छ ।' यसअघि वैद्य समूहले असोज ४ गते राजधानीमा राष्ट्रिय भेला गरी संस्थापन पक्ष दक्षिणपन्थी भएको र मुलुकलाई सिक्किमीकरणको दिशातिर लगेको आरोप लगाएको थियो ।
दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले समानान्तर भेलालाई महत्त्वहीन भन्दै त्यसको औचित्य नभएको बताए । समानान्तर भेला गर्नु फुटको संकेत भएको उनको भनाइ छ । 'समानान्तर भेलाको मूल्य, मान्यता र औचित्य छैन,' उनले कान्तिपुरसँग भने, 'पार्टी पद्धतिविपरीत भेला बोलाउनु फुटतिरको संकेत हो ।'
चन्दले भने संस्थापन पक्षको प्रशिक्षणमा आफूहरू सहभागी नहुने उल्लेख गर्दै समानान्तर भेला बोलाइएको बताए । '२८ गतेको भेला पनि २९ गतेकै जस्तै हो । यसमा सबै राज्य समितिका सदस्य सहभागी हुन्छन्,' उनले भने, 'हामीले सबैलाई सहभागी बनाउनेछौं ।'
पुनले चाहिँ २८ गते वैद्य विचार समूहको भेला भए पनि राष्ट्रिय प्रशिक्षणमा सहभागी गराउन कुराकानी थाल्ने बताए । 'किरणजीको विचार समूहको भेला भए पनि २९ को राष्ट्रिय प्रशिक्षणमा सहभागी गराउन छलफल गर्नेछौं ।' उनले कुनै विषय चित्त नबुझे महाधिवेशनमा जानुपर्ने बताए । 'कुनै विषयमा चित्त नबुझे महाधिवेशनमा जान सकिन्छ । माघ, फागुनमा महाधिवेशन गर्ने भनिएको छ,' उनले भने, 'त्यहाँ पनि चित्त नबुझे जनतामाझ जान सकिन्छ । तर पार्टी फुट्न दिनु हुँदैन, एकताबद्ध बनाउनुपर्छ ।'
पुनले प्रशिक्षणमा वैद्य पक्षलाई सहभागी गराउने प्रयास गरिने बताए पनि चन्दले बहिष्कार गर्ने जनाएका छन् । 
वैद्य समूहले समानान्तर भेला मात्र नभई देशव्यापी रूपमा समानान्तर समिति बनाइरहेकाले पार्टी फुटाउने तयारी गरेको संस्थापन पक्षको आरोप छ । 'वैद्य पक्षका गतिविधिले पार्टी फुटाउने तयारी देखिएको छ,' संस्थापन पक्षका एक नेताले भने, 'उनीहरू पार्टी मिलाउने होइन, फुटाउने निहुँ खाज्दै हुनुहुन्छ ।' मध्यमार्गी नेताका रूपमा देखिएका स्थायी समिति सदस्य अमिक शेरचनले पार्टी फुटाए अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यको भलो नहुने बताए । उनले राष्ट्रिय प्रशिक्षण केन्द्रीय समितिको निर्णयअनुसार भएकाले चर्काउन नहुने बताए ।
'पार्टी फुटाएर कसैको भलो हुँदैन,' उनले भनाइ थियो, 'अन्तरविरोधहरू हल गर्ने विधि बनाउन सकिन्छ तर विवाद चकाएर समाधान हुँदैन ।' उनले विवाद नचर्काउन दुवै पक्षलाई दबाब दिएको बताए ।
बहस जनतामै पुग्छः वैद्य
दाङ- माओवादी उपाध्यक्ष मोहन वैद्यले पार्टीविरुद्ध सडक आन्दोलन नयाँ प्रयोग भएको र विवादको विषय जनतामै लैजाने बताएका छन् ।
'यस्ता आन्दोलन चीनमा पनि भएका छन् र अन्यत्र पनि छन्,' पत्रकार महासंघ जिल्ला शाखाले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, 'यहाँ पनि नयाँ प्रयोग गर्न खोजेका छौं । यो जटिल परिस्थिति पनि हो ।'
हतियारका कन्टेनरको साँचो बुझाउने र मधेसी मोर्चासँग भएको सहमतिका विषयमा आवाज उठाउनैपर्ने भएकाले सडकमा आएको उनले बताए । 'केही कुरा भित्र पनि हुन्छन् । भित्र हुन नसकेका कुरा सडकबाट हुन्छन्,' वैद्यले भने, 'पार्टी र सरकारले केही काम गर्दा मलाई पनि बोलाउनुपर्‍यो । एक्लै गर्न थालेपछि के गर्नु ? पार्टीभित्र नमिलेका कुरामा अझ गहिरो छलफल हुन्छ । बहस जनतासम्मै पुग्छ ।'
असोज २९ मा गर्न थालेको राष्ट्रिय प्रशिक्षण दाहाल पक्षको मात्रै भएको उनले बताए । 'भेला प्रशिक्षण गर्नलाई पार्टीमा निर्णय हुनुपर्छ । त्यसबारे निर्णय भएको छैन,' वैद्यले भने, 'त्यो दाहाल पक्षको मात्रै कार्यक्रम हुन्छ । हाम्रो सहभागिता हुँदैन ।'
पार्टी सम्झौतावादमा फस्छ कि भन्ने चिन्ताले मतभेद सुरु भएको उनले बताए । '२००७ साल, ०४६ साल जहिले पनि सम्झौतामा आन्दोलन सकिएका छन् । यसपटक त्यसैगरी क्रान्ति सकिन्छ कि भन्ने डर भयो,' उनले भने, 'तर हामी क्रान्तिको झन्डा झुक्न दिँदैनौं । जनताका लागि लडेको सेनालाई अपमानजनक ढंगले समायोजन हुन दिँदैनौं ।'
जग्गा फिर्ता गर्ने सरकारी निर्णय गलत भएको पनि उनले बताए । 'सुकुम्बासी, किसानलाई वैकल्पिक व्यवस्था नभएसम्म जग्गा फिर्ता नगर्ने पार्टीको निर्णय नै हो । त्यसको विपरीत यो निर्णय भयो,' उनले भने, 'यसको विरोधमा हामी आवाज उठाउँछौं ।'
वैद्यले पत्रकार सम्मेलनका लागि घरबाहिर नजाने भनेपछि पत्रकार महासंघले घोराही-११ रतनपुरस्थित उनका भाइको घरमै कार्यक्रम आयोजना गरेको थियो । वैद्यका साथमा थारूवान राज्य समिति सदस्य हेमराज शर्मा डायमन्ड, सभासद शिवराज गौतम र जिल्ला सेक्रेटरी सुवास पुनलगायत केही कार्यकर्ता मात्र थिए ।
प्रकाशित मिति: २०६८ आश्विन २३ ०९:५०

No comments: