Monday, July 9, 2012

दाहालले वैद्यलाई भने 'संविधानसभा ब्युँताउन सघाउनुस्’

काठमाडौं, असार २५ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा पुनःस्थापना उचित बाटो हुन सक्ने भन्दै त्यसका लागि सकारात्मक हुन नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई आग्रह गरेका छन् । पार्टी विभाजनपछि पहिलो पटक आफ्नै निवास लाजिम्पाटमा आइतबार दाहालले वैद्यलाई बोलाएर यस्तो आग्रह गरेका हुन् ।
दाहालको संविधानसभा पुनःस्थापनाको आग्रह विचारणीय भएको उल्लेख गर्दै त्यसअघि गोलमेच सभा गरी संविधानका नमिलेका विषयमा टुंगो लगाउनुपर्ने वैद्यले बताए । बैठकमा सहभागी नेकपा-माओवादी सचिव देव गुरुङले दाहालले संविधानसभा पुनःस्थापना उचित विकल्प हुन सक्ने आफूले देखेको उल्लेख गर्दै सकारात्मक हुन आग्रह गरेको जानकारी दिए । 'संविधानसभा पुनःस्थापना उचित बाटो देखिन्छ,' दाहालको भनाइ उद्धृत गर्दै उनले पार्टी सम्पर्क कार्यालय बुद्धनगरमा भने, 'तपाईंहरू सकारात्मक भएपछि मात्र यो सम्भव छ । यसमा तपाईं र हाम्रो मत महत्त्वपूर्ण हुन्छ ।'
वैद्य र गुरुङले गोलमेच सम्मेलनबाट संविधानका नमिलेका विषय टुंगो लागे संविधानसभा पुनःस्थापना विचारणीय भएको बताएका थिए । उनीहरूले आफ्नो पार्टीलाई हरेक महत्त्वपूर्ण निर्णयमा सहभागी गराउन आग्रह गरेका थिए । 'गोलमेच सम्मेलन भए संविधानसभा पुनःस्थापना विचारणीय हो,' गुरुङले भने, 'संविधानसभा पुनःस्थापना गर्दा आफ्नो दलको अस्तित्व स्वीकार हुन्छ/हुँदैन भन्ने कुरा पनि भयो ।'
एमाओवादी स्थायी समिति सदस्य कृष्णबहादुर महराले संविधानसभा पुनःस्थापनाका विषयमा कुरा भएको बताए । 'संविधानसभा पुनःस्थापनाका विषयमा कुरा भएको हो,' उनले कान्तिपुरसँग भने, 'यो प्रसंगवश आएको कुरा हो ।' उनले संविधानसभा पुनःस्थापना, चुनाव, गोलमेच सभाबारे कुरा भएको जनाए । 'राष्ट्रिय राजनीतिक विषयहरू संविधानसभा पुनःस्थापना वा चुनाव वा गोलमेचबारे कुरा भयो,' उनले भने, 'यो कुनै निष्कर्ष भने होइन ।' उनले दुई पक्षबीच खुला छलफल भने भएको बताए । छलफलमा एमाओवादीबाट दाहाल र महरा, माओवादीबाट वैद्य र गुरुङ थिए । महराले दुवै पक्षबीच संवाद गराउन मध्यस्थता गरेका थिए ।
गुरुङले गोलमेच सभामा आधारभूत रूपमा ठीकै भए पनि उचित विकल्प संविधानसभा पुनःस्थापना हुने बताएका थिए । 'प्रचण्डले गोलमेच सभा आधारभूत रूपमा ठीकै छ भन्नुभयो,' उनले भने, 'उहाँले अब प्रमुख दलको बैठक बस्दा हामीसहित ५ दलको बैठक बस्ने प्रतिबद्धता जनाउनुभएको छ ।'
संसद् पुनःस्थापनाबारे प्रधानमन्त्री बाबुराम भट्टराईको पनि समर्थन हो भनी वैद्य र गुरुङले जिज्ञासा रोखेका थिए । 'प्रचण्डले संसद् पुनःस्थापना उपयुक्त बाटो मेरो धारणा भएको बताउनुभयो,' गुरुङले भने । दलहरूबीच सहमति भए पुनःस्थापनामा आपत्ति नभएको भट्टराईले बताइसकेका छन् ।
वैद्य र गुरुङले भट्टराई सरकारको निरन्तरतामा संविधानसभाको पुनःस्थापनालगायत अन्य सहमति हुन नसक्ने बताएका थिए ।
'यो सरकार यथावत् राखेर संविधानसभालगायत अन्य सहमति हुन सक्दैन भन्यौं,' उनको भनाइ थियो 'दलहरूबीच सहमति नहुँदा संविधानसभा विघटन भयो । त्यसैगरी पुनःस्थापित संविधानसभाले समाधान निकाल्छ भन्ने के ग्यारेन्टी छ ।' उनीहरूले भट्टराई सरकारलाई हटाउन आग्रह गरेका थिए । 'उहाँ (प्रचण्ड) ले तत्काल सरकार हटाउन गाह्रो छ भन्नुभयो,' गुरुङको भनाइ छ, 'सरकार हटाउन सम्भव नभए तपाईं सरकारबाट निस्कनुस् भन्यौँ ।' उनका अनुसार दाहालले दलहरूबीच सहमति हुनेबित्तिकै यो सरकार हटेर राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका थिए । 'दलहरूबीच प्रक्रियामा सहमति भयो भने सरकार विघटन हुन्छ, प्रचण्डको भनाइ थियो,' उनले भने, 'त्यसका लागि पनि संविधानसभा पुनःस्थापना वा अन्य विकल्पमा सहमति हुनुपर्‍यो भन्ने भनाइ थियो ।' सरकारलाई निरन्तरता दिन खोज्दा संविधानसभा विघटन हुनु एउटा कारण हो ।
माओवादी अध्यक्ष वैद्यले सरकारले पूर्ण बजेट ल्याउन नहुने भन्दै दाहालको ध्यानाकर्षण गराएका थिए । 'उहाँ (प्रचण्ड) ले सरकार पूर्ण बजेट ल्याउने तयारी गरेको जानकारी आफूले पाएको भन्नुभयो,' गुरुङले भने, 'कामचलाउ सरकारले कामचलाउ बजेट ल्याउनुपर्छ ।'
गुरुङले तत्काल पार्टी एकता हुने सम्भावना नभए भविष्यमा अस्वीकार गर्न नसकिने बताए । 'हाल यथास्थानमा पार्टी एकता हुँदैन,' उनले भने, 'भविष्यमा पार्टी एकतालाई अस्वीकार गर्न सकिँदैन ।'
माओवादी प्रवक्ता पम्फा भुसालले एमाओवादीसँग केही विषयमा कार्यगत एकता हुन सक्ने बताइन् । 'पार्टी एकता नभए पनि केही विषय संयुक्त मोर्चा बनाउन सकिन्छ,' उनको भनाइ थियो ।
वैद्यको दस्तावेज पढ्दै दाहाल
दाहालले केही दिनअघि राजनीतिक दस्तावेज पठाइदिन वैद्यलाई आग्रह गरे । त्यसपछि वैद्यले राजनीतिक दस्तावेज दाहाललाई पठाइदिएका थिए । 'म तपाईंको दस्तावेज पढ्दै छु,' दाहालले वैद्यलाई भने, 'हाम्रोबारे चर्कै लेख्नुभएको रहेछ । तपाईंहरू केही समय पर्खेको भए हुन्थ्यो । अब पार्टी फुटे पनि छलफल चलाउँदै जान सकिन्छ ।'
साउनको पहिलो साता हुने सातौं विस्तारित बैठकमा पेस गर्ने राजनीतिक दस्तावेज लेखिरहेका बेला दाहालले वैद्यको दस्तावेज अध्ययन गरेका हुन् ।
ँविमानस्थल व्यवस्थापन भारतीय कम्पनीलाई दिन हुन्न’ दाहाल र वैद्यबीच छलफलका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिनेबारे पनि कुरा चलेको थियो । 'प्रचण्डले प्रधानमन्त्री भट्टराई भारत भ्रमणका बेला कुराकानी गर्नुभएको रहेछ, मलाई थाहा भएन । अहिले थाहा भयो,' दाहालको भनाइ उद्धृत गर्दै गुरुङले भने, 'उहाँले भारतीय कम्पनीलाई विमानस्थल व्यवस्थापन दिने पक्षमा आफू नभएको बताउनुभयो ।'
पार्टी कार्यालय बाँड्न कार्यदल बनाइने दुवै पार्टीबीच विवादमा रहेको पार्टी कार्यालय विभाजनका लागि कार्यदल बनाउने सहमति भएको छ । 'दुवै पक्षबीच भिडन्त नगर्ने, त्यसो भए राम्रो हुँदैन । समस्या समाधानका लागि दुवै पक्षबाट कार्यदल बनाउने कुरा भएको छ,' एमाओवादी स्थायी समिति सदस्य कृष्णबहादुर महराले भने ।
माओवादी सचिव गुरुङले मापदण्ड बनाएर कार्य बाँड्ने कुरा भएको जनाए । 'कार्यदल बनाएर जानुपर्छ भन्ने कुरा भयो,' उनले भने, 'बहुमतका आधारमा वा अर्को कुनै मापदण्ड बनाएर पार्टी कार्यालय विवाद मिलाउने कुरा भयो । त्यसबारे फेरि छलफल हुन्छ ।' दुई माओवादीबीच चितवनमा पार्टी कार्यालयको विषयलाई लिएर भिडन्त भएको थियो ।
प्रकाशित मिति: २०६९ असार २५ ०९:१३

No comments: