Sunday, July 15, 2012

कार्यदिशा बुझाइको समस्याले पार्टी फुट्यो: भट्टराई

काठमाडौ, असार ३१ - एकीकृत माओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानको कार्यदिशालाई बुझ्ने समस्याका कारण पार्टी विभाजनसम्म पुगेको बताएका छन् । छैटौं पालुङटार प्लेनमको प्रसंग कोट्याउँदै उनले कार्यदिशाको बुझाइमा नेता तथा कार्यकर्तामा एकरूपता नहुँदा कार्यान्वयनमा समस्या आएको बताएका हुन् ।
पालुङटार प्लेनममा अल्पमतमा परेका भट्टराईले त्यसबेला बहुमत 'जनविद्रोह' को कार्यदिशा लिएका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गरेका हुन् । शनिबार केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक दस्तावेजमाथि बोल्दै उनले नेता तथा कार्यकर्ताको बुझाइमा एकरूपता नभएका कारण शान्ति र संविधान कार्यान्वयनमा जटिलता आएको उल्लेख गरे । पालुङटारपछि दाहाल र तत्कालीन उपाध्यक्ष मोहन वैद्य एकै ठाउँमा भएकाले त्यस्तो जटिलता आएको संकेत उनको थियो ।
उनले बहुदलीय प्रतिस्पर्धामा अघि बढ्ने चुनवाङ बैठक र त्यसपछिका निर्णयलाई दृढतापूर्वक अघि बढाउन नसकेको परिणाम हाल उत्पन्न भएको जनाएका हुन् । 'चुनवाङ र त्यसपछिका निर्णयहरूलाई सांगठिक कार्यदिशाका रूपमा दृढतापूर्वक अघि बढाउनुपथ्र्यो, त्यसो हुन सकेन,' भट्टराईको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'किरण (मोहन वैद्य) जीहरूलाई सम्झाउने नाममा कमजोरी भयो । अन्ततः त्यसले पार्टी विभाजनतिर
लग्यो ।' चुनवाङ बैठकले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशामा असहमत वैद्य पक्षलाई 'बढी ठाउँ' दिनु कमजोरीको रूपमा रहेको बताए । प्रधानमन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले भने भट्टराईको भनाइ कुनै नेतृत्वप्रति लक्षित नभएको उल्लेख गर्दै समग्र समस्या उल्लेख गरेको बताए । '२०५७ सालको दोस्रो सम्मेलनदेखि यता कार्यदिशालाई लागू गर्ने सन्दर्भमा एकता हुन नसकेकाले समस्या आएको भनाइ हो,' उनले भने, 'हामीभित्र बुझाइमा एकरूपता भएन भने अघि जान सकिँदैन । विगतमा नयाँ प्रयोग गरेर आउने क्रममा त्यस्तै भयो ।'
भट्टराईले दाहालले ल्याएको राजनीतिक दस्तावेजको समर्थन गर्दै शान्ति र संविधानका विषयमा पार्टीभित्र पर्याप्त छलफल हुन नसक्नु कमजोरी भएको बताएका हुन् ।
साउन १ देखि हुने सातौं प्लेनमले पारित गर्ने शान्ति र संविधानको कार्यदिशाको बुझाइमा एकरूपता हुनुपर्ने उनको भनाइ थियो । 'यो विस्तारित बैठकले नयाँ कार्यदिशालाई बुझाइमा एकरूपता ल्याउनुपर्छ र दृढतापूर्वक कार्यान्वयन गरी जानुपर्छ,' उनको भनाइ थियो, 'किरण (वैद्य) जीहरू अलग भइसकेको अवस्थामा अब बुझाइमा समस्या हुनुहुँदैन ।' उनले विगतमा सरकारको मोर्चा प्रभावकारी नभएको भन्दै आगामी दिनमा सशक्त बनाउनुपर्ने बताए ।
भट्टराईले वर्गसंघर्षका साथै निम्न पुँजीवादी तप्कालाई समेटेर जानुपर्ने बताएका थिए । 'औद्योगिक सर्वहारा वर्गको बाहुल्यता नभएकाले निम्न पुँजीवादी तप्कालाई पनि समेटेर जानुपर्छ,' उनको भनाइ थियो ।
प्रवक्ता दीनानाथ शर्माले बोल्ने सबै नेताहरूले दाहालको दस्तावेजको मूल 'स्पि्रट' लाई समर्थन गरेको बताए । 'सबैले अध्यक्षको दस्तावेजलाई समर्थन गर्नुभएको छ,' उनले भने, 'पार्टीको आन्तरिक रूपमा विचारको बहसलाई कायम गरी कार्यदिशालाई एकरूपता ल्याउन स्कुल विभागलाई सक्रिय बनाउने सुझाव छ ।'
पोलिटब्युरो सदस्य नवराज सुवेदीले पार्टी एकतामा आएका सबै समूहलाई दस्तावेजमा उल्लेख गर्न आग्रह गरेका थिए । 'हामी सबै फुटबाट आजित भएका हौं, सबैलाई उत्तिकै न्याय गरी बलियो एकता कायम गर्न आवश्यक छ,' उनको भनाइ थियो । अर्का पोलिटब्युरो सदस्य निनु चापागाइर्ंले पार्टीलाई शुद्धीकरण गर्न आवश्यक भएको भन्दै नेताहरूको सांस्कृतिक आचरण सुधार गर्नुपर्ने बताए । अर्की पोलिटब्युरो सदस्य हिसिला यमीले राजनीतिकसँगै आर्थिक एजेन्डालाई अघि बढाउनुपर्ने उल्लेख गरिन् ।
यसैबीच, पार्टी विभाजनका बेला मोहन वैद्य पक्षमा लागेका केन्द्रीय सदस्य कृष्ण राई एमाओवादीमै फर्किएका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरी पार्टी फुटको औचित्य पुष्टि हुन नसकेको उल्लेख गर्दै माउ पार्टीमा र्फकने निर्णय गरेको बताए ।
विस्तारित बैठकमा ५ हजार कार्यकर्ता साउनको पहिलो साता राजधानीको भृकुटीमण्डपमा हुने एमाओवादीको सातांै विस्तारित बैठकमा करिब पाँच हजार नेता/कार्यकर्ता सहभागी हुने भएका छन् । बैठक गर्न करिब एक करोड खर्च हुने एमाओवादीले जनाएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक आयोजक समितिका संयोजक कृष्णबहादुर महराले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् । 'बैठकमा केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, राज्य समिति सदस्यहरू एवं राज्य समितिका सल्लाहकारसमेत गरी करिब पाँच हजार प्रतिनिधिको उपस्थिति रहनेछ,' महराले भने, 'बैठकका लागि करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । तर हामीले ६० लाखमा पुर्‍याउने कोसिस गरेका छौं ।'
बैठकको खर्चको मुख्य स्रोत चन्दा संकलन भएको उनले बताए । 'हामीले स्वैच्छिक चन्दा उठाएका छौं,' उनले भने, 'सहयोग राम्रै भएको छ ।' राजधानी बाहिरबाट आउने प्रतिनिधिलाई विभिन्न पार्टी प्यालेस र होटलमा व्यवस्था गरिएको उनले जानकारी दिए ।





 

No comments: