Sunday, July 22, 2012

एमाओवादी पनि महाधिवेशनमा

काठमाडौ, श्रावण ६ -
एकीकृत माओवादी २१ वर्षपछि महाधिवेशनमा जाने भएको छ । विभाजनको लगत्तै आयोजित विस्तारित बैठक -प्लेनम) ले उक्त निर्णय गर्दै केन्द्रीय समितिसमेत विघटन गरेको छ । र, पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको छ ।

राजधानीको भृकुटीमण्डपमा पाँच दिन चलेको प्लेनमले माघमा महाधिवेशन गर्ने तय गरेको हो । आर्थिक अनियमितता, विलासिता आदि आलोचना खेपेपछि दाहाल सम्पत्ति र सुविधा फिर्ता गर्न पनि तयार भएका छन् ।  

फागुनमा होइन, माघमा अध्यक्ष दाहालको राजनीतिक दस्तावेजमा फागुनमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर उनैले संशोधन गरी माघमा गर्न प्रस्ताव ल्याएलगत्तै अनुमोदन भएको हो । 'मैले दस्तावेजमा फागुनमा महाधिवेशन गर्ने उल्लेख गरे पनि अब माघभित्रै गर्न प्रस्ताव गर्छु,' करिब २३ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका दाहालले बैठकमा भने, 'अब महाधिवेशनले नै हामी पार्टीको कार्यदिशा स्पष्ट गर्छौं । सातौं विस्तारित बैठकमा पारित दस्तावेजले माघमा हुने महाधिवेशनमा पूर्णता पाउने र त्यसले नेपाली क्रान्ति पूरा गर्ने विश्वास छ ।'

उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेपछि पदको झगडा अन्त्य हुने बताए । महाधिवेशन आयोजक समितिमा महिला, दलित, मुस्लिम, मधेसी, उत्पीडित क्षेत्र र वरिष्ठ नेतालाई थप्ने निर्णय पनि बैठकले गरेको छ । अध्यक्ष, उपाध्यक्ष र सचिव रहेको केन्द्रीय कार्यालय -हेडक्वाटर) बनाइएको छ । त्यसमा दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटी रहनेछन् । अरू आयोजक समितिका सदस्य हुनेछन् ।

एक महिनाअघि अलग भएको मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीेले पुसमा महाधिवेशन गर्ने घोषणा गरेका बेला एमाओवादीले एक महिनापछि तय गरेको हो । यो प्लेनमलाई दाहालले 'संघर्ष, रूपान्तरण, एकता र विजयको बैठक' भएको दाबी गर्दै यसले पार्टीलाई नयाँ जीवन दिने बताए । पार्टीभित्र नातावाद बढी भएको आरोप लागेपछि दाहाल, भट्टराई र अन्य केन्द्रीय पदाधिकारीका सहयोगीहरू साटफेर गर्ने निर्णय भएको छ । 'अब सचिवालयको आमूल परिवर्तन हुन्छ । पार्टीको निर्णयका आधारमा स्टाफ पनि साटफेर गरिनेछ,' दाहालले भने, 'पहिलेजस्तो हुँदैन ।'

पार्टीभित्र चरम भ्रष्टाचार भएको आरोप लागेपछि बैठकले केन्द्रीय आर्थिक र लेखा समिति बनाउने निर्णय गरेको छ । पार्टीका सबै राज्य समिति इञ्चार्ज, सहइञ्चार्ज र सचिवले बढी चलखेल गरेको भन्दै सबैको सरुवा गर्ने निर्णय गरेको छ । यसले पार्टीभित्र गुटबन्दी कम गर्ने बुझाइ उसको छ ।

दाहालले सुविधा छाड्ने अध्यक्ष दाहालले मासिक एक लाख तीन हजार रुपैयाँ भाडामा बस्दै आएको लाजिम्पाट निवास छाड्ने घोषणा गरेका छन् । सरकारले पूर्वप्रधानमन्त्रीका रूपमा व्यवस्था गरेपछि उनले सुविधासम्पन्न निवास छाड्ने निर्णय गरेका हुन् ।

बैठकमा कार्यकर्ताको चर्को आलोचना खेपेका उनले आफूलाई बस्न मन मरेको बताएका थिए । 'म बस्दै आएको लाजिम्पाटको घर किनेको भनेर चर्चा चल्यो । त्यसपछि मलाई त्यहाँ बस्न मन छैन,' उनले भने, 'राज्यले पूर्वप्रधानमन्त्रीको हैसियतमा दिने सुविधा देओस्, म तुरुन्त छाड्नेछु ।' उनले हाल चढ्दै आएको प्राडो गाडी नचढ्ने उल्लेख गर्दै प्रधानमन्त्री भट्टराईलाई स्कारपियो गाडी व्यवस्था गर्न आग्रहसमेत गरे ।

बैठकले अध्यक्ष र उपाध्यक्षहरूका जिम्मामा रहेका सबै चल/अचल सम्पत्ति आर्थिक समितिमा बुझाउने र त्यसमार्फत आवश्यकताअनुसार वितरण गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । यसअघि शीर्ष नेताहरूले पार्टीको सम्पत्ति मनपरी उपयोग गर्दै आएका थिए ।

ँहजार कमजोरीबीच जित एमाओवादीकै’ दाहालले कार्यकर्ताले उठाएका प्रश्नमा जवाफ दिँदै पार्टी र नेतृत्वका हजारांै कमजोरी भए पनि जित एमाओवादीकै हुने बताए । शान्ति प्रक्रियामा आएपछि पार्टी भ्रष्टाचारलगायत विसंगतिमा फसेको कुरा चर्को उठाएपछि दाहालले गल्तीबाटै अघि बढ्ने बताएका हुन् । 'हाम्रा हजारौं विसंगति र कमजोरी भए पनि आशा माओवादीप्रति छ,' उनले कार्यकर्तालाई विश्वस्त बनाउँदै भने, 'जित हाम्रै हुन्छ । तपाईंहरू ढुक्क भएर काम गर्नुस् ।'

उनले विगतमा आफूलाई वैद्य पक्षले देवत्वकरण गरेपछि आफूमा केही भ्रम भएको उल्लेख गर्दै आलोचनाको माग गरे । 'मेरा कमजोरी भनिदिनुस्, म सच्याएर जान तयार छु,' उनले भने, 'विगतमा मलाई केही भ्रम पनि पर्‍यो ।'

सेना समायोजनमा ँगल्ती भो’ बैठकमा दाहाल र भट्टराईले लडाकु समायोजन सम्मानजनक हुने एकदमै कम सम्भावना रहेको उल्लेख गर्दै गल्ती भएको स्वीकार गरेका थिए । बैठकमा सहभागीका अनुसार उनले शान्ति प्रक्रियासम्बन्धी सात बुँदे सम्झौता गर्दा यो परिणाम आउला भन्ने नसोचेको जनाए । 'अब सम्मानजनक समायोजन होला जस्तो लाग्दैन,' दाहालको भनाइ थियो, 'सहमति गर्दा यस्तो होला भन्ने सोचेका थिएनौं । हामीले सकेनौं ।' उनले लडाकुका सबै हतियार म्युजियममा राखिने उल्लेख गर्दै त्यसबारे चिन्ता नगर्न आग्रह गरे ।

कांग्रेस—एमालेले लचकता नअपनाए सबै लडाकुलाई स्वैच्छिक अवकाशमा लगेर आन्दोलनमा उतार्ने योजना पनि उनले सुनाए । बैठकमा बोल्दै भट्टराईले पनि सेना समायोजनमा आत्मालोचना गरे । 'सेना समायोजनमा ठीक गरियो

भन्ने पक्षमा म छैन,' उनले भने, 'अझै पनि सकेसम्म सम्मानजनक बनाउने प्रयास गर्छौं ।'

सरकारका कमजोरी स्वीकार बैठकमा सरकारको चर्को आलोचना भएपछि प्रधानमन्त्री भट्टराईले राम्रो काम गर्न नसकेको स्वीकार गरे । कमजोर धरातल र गठबन्धनमा सरकार गठन भएकाले राम्रो काम गर्न नसकेको उनको भनाइ थियो ।

'सरकार भूतले खाजा खाने बेला गठन भयो । गठबन्धन र धरातल पनि कमजोर थियो,' उनको भनाइ थियो, 'यसले राम्रो काम गर्न सकेन । शान्ति र संविधानलाई मुख्य जोड दिएको हुनाले अन्य काम हुन सकेनन् ।' दाहालले पनि सरकारले राम्रो काम गर्न नसकेको र संस्थागत रूपमा नचलेको बताए । 'सरकार सञ्चालन संस्थागत भएको छैन, त्यसलाई पार्टीले मिलाउनुपर्छ,' उनले भने, 'यस्तो बेलामा जो गएको भए पनि गर्न सक्ने अवस्था थिएन ।'

'धोबीघाट मोर्चा सही’

एक वर्षअघि मोहन वैद्य, आफू र उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको गठबन्धन सही भएको भट्टराईले बैठकमा बताए । 'धोबीघाट मोर्चा सही र आवश्यक थियो,' उनले भने, 'यसको छिनोफानो इतिहासले लगाउने छ । फरक विचार मिल्नेसँग सहकार्य भयो । पछि कार्यदिशा फरक भएपछि धोबीघाट मोर्चा विघटन भयो ।'

भारतसित कूटनीतिक सम्बन्ध

भट्टराईले भारतप्रति नरम भएको भन्ने कार्यकर्ताको आरोप अस्वीकार गर्दै सरकारमा भएकाले कूटनीतिक भाषा बोलेको बताए । उनले परिस्थितिअनुसार भारतविरुद्ध आन्दोलन गरेको उल्लेख गर्दै सरकारले गरेको बिप्पालगायत सम्झौता देशकै पक्षमा भएको दाबी गरे । 'अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई दिएको भन्ने सही होइन,' उनको भनाइ थियो । दाहालले पनि पार्टी सरकारमा भएकाले कूटनीतिक भाषामा मात्र आफ्नो दस्तावेजमा प्रयोग भएको बताउँदै बिप्पा सम्झौताबारे पार्टीभित्र फरक मत भएको बताए ।

बैठकमा बोल्दै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर भएको बताएका थिए । उनले राष्ट्रियताको आन्दोलन कमजोर भए अघि बढ्न नसकिनेसमेत बताए ।

ँदाहाल नेताका पनि नेता’ भट्टराई र श्रेष्ठले दाहाललाई नेताका पनि नेता भएको भन्दै प्रशंसा गरे । दुवै नेताले सशस्त्र युद्धदेखि हालसम्म दाहालले पार्टीको कुशल नेतृत्व गरेको भन्दै नेताका पनि नेता भएको टिप्पणी गरे ।

'अध्यक्ष सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति हो,' भट्टराईले भने, 'हाम्रो पार्टीमा अध्यक्ष प्रचण्ड नेताहरूको पनि नेता हो । यसमा कोही भ्रममा नपरे हुन्छ ।' कम्युनिस्ट पार्टी पिरामिड प्रणालीमा हुने उनले बताए । उपाध्यक्ष श्रेष्ठले २०४८ देखि हालसम्म दाहालले सही ढंगले पार्टी नेतृत्व गरेको जनाए । 'उहाँले दसवर्षे जनयुद्ध, शान्ति प्रक्रियामा आइसकेपछि सही ढंगले पार्टीलाई नेतृत्व गरेर आउनुभयो,' उनको भनाइ थियो ।

ँसंविधानसभाको बाटो सही’ सातौं विस्तारित बैठकले अध्यक्ष दाहालको राजनीतिक दस्तावेजलाई अनुमोदन गर्दै शान्ति र संविधानको कार्यदिशा नै सही भएको निष्कर्ष निकालेको छ । कमीकमजारीबीच संस्थापनले लिएको बाटो उपयुक्त भएको उल्लेख गर्दै बैठकले प्राप्त उपलब्धिमा टकेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ ।

बैठक समापनमा दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा टेकेर अघि बढ्ने बताए । 'अहिलेको कार्यदिशा नै सही छ । अब पछाडि र्फकने होइन,' उनको भनाइ थियो, 'संविधानसभाबाट संविधान जारी हुनुपर्छ । तपाईंहरू यही एजेन्डा लिएर गाउँ जानुहोस् । त्यहींबाट बाँकी क्रान्ति पूरा गर्ने ढोका खुल्ने छ ।' प्रधानमन्त्री भट्टराईले दाहालको दस्तावेजले नै बाँकी क्रान्ति पूरा गर्ने बताए । 'क्रान्तिलाई कसरी पूरा गर्ने भन्ने अध्यक्षको दस्तावेजमा आएको छ,' उनले भने, 'यो मेरो पूर्ण सहमतिका साथ आएको जानकारी गराउँछु ।'

उनले शुक्रबारको हात हालाहालको स्थिति अन्तरसंघर्षको उत्कर्ष भएको उल्लेख गर्दै गुट/उपगुटको अन्त्य गर्ने दाबी गरे । 'अरूलाई अब नेताहरू जुधेरै सकिने भए भन्ने लागेको होला । हाम्रो पार्टी र नेतालाई नबुभmनेले त्यसो भनेका हुन्,' उनले भने, 'यो अन्तरसंघर्षको उत्कर्ष थियो, अब विकसित कार्यदिशाले एक ठाउँमा ल्याउने छ ।'

अर्का उपाध्यक्ष श्रेष्ठले कम्युनिस्टहरूले राष्ट्रिय स्वाधीनता र देशभक्तिको आन्दोलनको नेतृत्व गर्न चुक्न नहुने धारणा राखे । 'क्रान्तिको कार्यदिशा निर्माण गर्दा राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न छुटाउन हुँदैन,' उनले भने ।

करिब पाँच हजार नेता तथा कार्यकर्ता सहभागी बैठकमा २७ जनाले मात्र धारणा राखेका थिए ।

No comments: