Monday, July 2, 2012

एमाओवादीमा पार्टीभित्रका गुट/उपगुट अन्त्यको प्रस्ताव ल्याइने

दस्तावेज लेख्दै दाहाल

  • पार्टीभित्रका गुट/उपगुट अन्त्यको प्रस्ताव ल्याइने


काठमाडौ, असार १८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र गुट/उपगुट अन्त्य गरी नेतृत्व केन्द्रीकरणलाई कसिलो बनाउने तयारी गरेका छन् ।
तीन वर्षयता जनवाद (पार्टी आन्तरिक लोकतन्त्र) को नाममा भएको अराजकताले पार्टीलाई विभाजनतिर लगेको निष्कर्ष निकाल्दै उनले नेतृत्व केन्द्रीयतालाई कसिलो बनाउने निष्कर्ष निकालेका हुन् ।
कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता अर्थात् आन्तरिक लोकतन्त्र र नेतृत्व केन्द्रीकरणको सन्तुलन मिलाउनुपर्ने प्रावधान छ । दुवैका सन्तुलन भएन भने कि निरंकुशता हावी हुने कि अराजकताले ठाउँ लिने हुन्छ । एमाओवादीमा तीन वर्षयता जनवाद (आन्तरिक लोकतन्त्र) बढी भएको भन्दै दाहालले केन्द्रीयता -नेतृत्वमा अधिकार केन्द्रीकरण) कसिलो बनाउन लागेका हुन् । साउन पहिलो सातादेखि सुरु हुने सातौं विस्तारित बैठकमा दाहालले अन्तरसंघर्षको समीक्षा गर्दै राजनीतिक दस्तावेजमा पार्टीभित्रका गुट/उपगुटको अन्त्य गर्ने प्रस्ताव ल्याउन लागेका हुन् ।
हाल एमाओवादीमा दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गरी तीन गुट छ । यी तीनै गुट 'ध्वस्त' नगरी आफू शक्तिशाली नहुने भएकाले दाहालले गुट अन्त्य गर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन् । पार्टी फुटपछि आफू अप्ठ्यारोमा परेको महसुस गर्दै उनले सकभर भट्टराईलाई कमजोर गराउने रणनीति लिने सम्भावना छ ।
केही दिनदेखि दाहालले लाजिम्पाटस्थित निवासमा राजनीतिक दस्तावेज लेखिरहेका छोरा प्रकाशले जानकारी दिए । त्यसकै कारण उनी सार्वजनिक कार्यक्रम सहभागी हुन कम गरेका छन् भने भेटघाट पनि कम गरेका छन् । 'अध्यक्षले राजनीतिक दस्तावेज लेखिरहनु भएको छ,' प्रकाशले कान्तिपुरसँग भने, 'एक-दुई दिनमा सक्नुहुन्छ ।'
करिब चार वर्षअघि पार्टी बहुपदमा गएपछि दाहालको शक्ति विकेन्दि्रत भएको थियो । बहुपदप्रति दाहाल सन्तुष्ट छैनन् । 'विचार र संघर्षको विशिष्ट स्थितिमा हामीले बहुपदद्वारा समस्याको सम्बोधन गरौं भनेर दुई-तीन वर्ष धकेलधुकुल पारियो,' आफूनिकट 'क्रमभंग' पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका छन्, 'चर्को विवाद वैचारिक राजनीतिक लाइनमा परिसकेपछि एकअर्काप्रतिको अविश्वास र शंका चुलिँदै गएपछि यस (बहुपद) लाई एउटा अस्थायी हलका रूपमा लिइएको हो ।'
पार्टी विभाजनपछि राजधानीमा हुन लागेको विस्तारित बैठकमा दाहालले पेस गर्ने राजनीतिक दस्तावेजमा पार्टी अन्तरसंघर्षदेखि पार्टी विभाजनसम्मको समीक्षा गर्दै 'बाँकी क्रान्ति' पूरा गर्ने कार्यदिशा ल्याउन लागेको निकट नेताहरूले जनाएका छन् ।
मोहन वैद्यले नेतृत्व गरेको नवगठित नेकपा-माओवादीले एमाओवादीले लिएको शान्ति र संविधानको कार्यदिशा असफल भएको आरोप लगाइरहेकै बेला दाहालले 'सहमति भए चुनावबाट जनताको संविधान र त्यसो हुन नसके आन्दोलनबाट अघि बढ्ने' कार्यदिशा ल्याउन लागेका छन् । स्रोतका अनुसार उनले शान्ति र संविधानको कार्यदिशा असफल नभएको दाबीसहित एमाओवादीले संसदीय व्यवस्थालाई 'क्रस' गर्न खोज्दा संविधानसभा विघटन हुन खोजेको दस्तावेजमा ल्याउन लागेका छन् ।
'नेपालमा क्रान्ति मौलिक तरिकाले कसरी सम्पन्न गर्ने विषयमा आगामी कार्यदिशा आउँछ,' एमाओवादीका पोलिटब्युरो सदस्य अग्नि सापकोटाले भने, 'हाम्रो आगामी कार्यदिशाबारे भ्रम दिन खोजिएको छ, त्यसलाई चिर्ने काम हुन्छ ।' दाहालले राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा, सांगठनिक समस्या, विचार, राजनीति, कार्यनीति स्पष्ट पारिने उनले बताए ।
संविधानसभा विघटन हुनु दुःखद भएको उल्लेख गर्दै पहिचानसहितको संघीयतालाई आधार माने मात्र सहमति हुने उल्लेख गर्दै दाहालले त्यसबाट पार्टी पछि नहट्ने निष्कर्ष निकालेका छन् ।
राष्ट्रिय/अन्तर्राटि्रय परिस्थितिअनुसार क्रान्ति सम्पन्न गर्ने कार्यदिशा ल्याउने प्रयास उनले गरेका छन् । आफूनिकट 'क्रमभंग' द्वैमासिक वैचारिक पत्रिकालाई लामो अन्तर्वार्ता दिँदै क्रान्तिको विकास चरण-चरणमा हुने उल्लेख गरेका छन् । 'नयाँ जनवादी क्रान्ति पूरा भइसक्यो, अब सीधै समाजवादी क्रान्तिमा जाने हो भनेर मैले कहीं पनि भनेको होइन र मेरो त्यो स्पि्रट कतै छँदा पनि छैन,' उनले भनेका छन्, 'नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने कुरा र समाजवादी क्रान्तिको तयारी गर्ने कुराका बीचमा हामीले अलिकति नयाँ ढंगले विचार गर्नुपर्ने अवस्था छ ।'
उनले 'आफ्नो मौलिकतामा आजको विश्व परिस्थितिलाई विचार गरी प्राप्त उपलब्धिलाई आत्मसात गरी तिनमा टेकेर अगाडि जाने आँट गर्ने' बताएका छन् । यही विषयलाई आधार बनाएर उनले राजनीतिक दस्तावेज तयार गर्न लागेका छन् । उनले ल्याउने दस्तावेजमा शान्ति-संविधानको लोकतान्त्रिक बाटो र संघर्ष दुवै विकल्प राख्न लागेका छन् । वैद्यको राजनीतिक दस्तावेज र दाहालको सारमा खास फरक नपर्ने स्रोतले जनाएको छ । उनले संस्थापन एमाओवादीले क्रान्तिको
कार्यदिशा नछाडेको सन्देश दिन दस्तावेजमा 'चर्का क्रान्तिकारी मुद्दा' समावेश गर्नेछन् ।
नेकपा-माओवादीलाई उनले राजनीतिक रूपमा 'वामपन्थी लफ्फाजी र सांगठिनक रूपमा अराजकतावादी विचलन' को आरोप लगाएका छन् । 'अन्तरसंघर्षका क्रममा पार्टीले लगाउँदै आएको वैचारिक रूपले यान्त्रिक संकीर्ण र जडसूत्रवादी, राजनीतिक रूपले 'वामपन्थी' लफ्फाजीसहितको विसर्जनवादी र संगठनात्मक रूपले अराजकतावादी विचलनको आरोपलाई किरण समूहको यो घोषणाले पुष्टिमात्र गरेको छ,' पार्टी फुटेको अर्को दिन दाहालले जारी गरेको विज्ञप्तिमा उनले यो कुरा उल्लेख गरेका थिए ।
राजनीतिक दस्तावेजको मस्यौदा तयार भएपछि उनले उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठसँग छलफल गर्ने स्रोतले जनाएको छ । हाल उनले आफूनिकट नेताहरूसँग परामर्श लिएर दस्तावेज लेखिरहेका छन् । स्थायी समिति सदस्य कृष्णबहादुर महराको संयोजकत्वमा विस्तारित बैठक आयोजक समिति बनाइएको छ ।


प्रकाशित मिति: २०६९ असार १८ ०८:३३

No comments: