Sunday, July 22, 2012

माओवादीमा हानाहान

काठमाडौ, श्रावण ५ -
गुट-उपगुट अन्त्य गर्ने घोषणा गरेर सुरु एमाओवादीको 'काठमाडांै प्लेनम' अर्थात् सातौं विस्तारित बैठक शुक्रबार यसरी छताछुल्ल हुन पुग्यो कि नेता-कार्यकर्ताहरू भिडन्तमै उत्रिए । उनीहरूबीच हात हालाहाल र कुर्सी हानाहान नै भयो । भृकुटीमण्डपभित्रको कार्यक्रमस्थल केहीबेरका लागि 'युद्धक्षेत्र' नै बन्यो ।

अध्यक्ष पुष्पकमल दाहाल पक्षीय र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई पक्षीय नेता-कार्यकर्ताको उक्त 'भिडन्त' का बेला बाहिर निस्कन खोजेका भट्टराईलाई दाहाल पक्षका नेताहरूले रोकेर निस्कन दिएनन् भने भट्टराई पक्षकाले दाहालमाथि कुर्सी प्रहार गरे । दुवै पक्षबीच नाराबाजी र कुर्सी हानाहान भएपछि 'ज्यान जोगाउन' केही नेता-कार्यकर्ता हलबाट दौडिरहेका थिए । मोबाइलमा 'यहाँ कुर्सी हानाहान भइरहेको छ, म ज्यान जोगाउन हलबाट बाहिर निस्कँदै छु' भन्दै दौडनेहरू थुप्रै थिए । फिल्मी शैलीको भिडन्तले 'युद्धक्षेत्र' बनेको हलमा केही समयपछि फिल्मी शैलीमै 'एकता' गरेर कार्यक्रम सुचारु भयो । 

यसरी भयो भिडन्त

राजधानीको भृकुटीमण्डपमा मंगलबार निर्धारित समयभन्दा आधा घन्टा ढिला ११ः३० मा बैठक सुरु भएको थियो । सौहार्दपूर्ण वातावरणमै बैठक अघि बढिरहेका बेला जब भोजपुरा -बारा, पर्सा, रौतहट) राज्यका प्रतिनिधिले बोल्ने पालो आयो, उक्त राज्य समितिको तर्फबाट 'को बोल्ने ?' भन्ने विवाद उत्पन्न भयो । अध्यक्ष दाहाल पक्ष र उपाध्यक्ष एवं प्रधानमन्त्री भट्टराई पक्षबीच टोली नेता चयनमा कुरा नमिलेपछि दुईजनाले नै बोल्ने सहमति भयो ।

भट्टराई पक्षका बलिराम साहले मञ्चमा बोल्न सुरु मात्र के गरेका थिए, दाहाल पक्षका कार्यकर्ता मञ्च नजिक पुगेर होहल्ला गर्न थाले । एक सहभागीका अनुसार साहले आफ्नो रिपोर्टिङ भाषण रोके । त्यसपछि भट्टराई पक्षका कार्यकर्ता पनि मञ्चतिर हानिए, होहल्ला सुरु गर्न थाले ।

आफ्नो पक्षका प्रतिनिधि साहलाई बोल्न नदिएपछि प्रधानमन्त्रीसमेत रहेका भट्टराई झोला समातेर मञ्चबाट उठ्न खोजेका थिए । दाहाल निकट नेताहरू जनार्दन शर्मालगायतले उनलाई उठ्नबाट रोक्ने प्रयास गरेको एक प्रत्यक्षदर्शीले जानकारी दिए । 'तपाईं बाहिर नजानोस्, यहीं बसेर समस्या समाधान गर्नुपर्छ,' शर्माको भनाइ थियो । त्यसबेला शर्मा बढी आक्रोशित देखिन्थे । त्यसलगत्तै मञ्चमै बसेका भट्टराई पत्नी एवं पोलिटब्युरो हिसिला यमी र उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल, पोलिटब्युरो नवराज सुवेदीलगायत आक्रोशित हुँदै उठे । मञ्चमा हुलमुल भएपछि बैठकको अध्यक्षता गरेका दाहाल पनि उभिए ।

मञ्चमा दाहाल पक्षका नेताहरूले भट्टराईलाई रोकेपछि उनी निकट एक कार्यकर्ता मञ्चमा उक्लिए । उनले दाहाल निकट जनार्दन शर्मालाई पछि धकेले, कुरा मिलाउन प्रवक्ता दीनानाथ शर्मा अघि बढे । ती कार्यकर्ताले शर्मालाई पनि धकेले । भुइँमा बसेका भोजपुरा राज्य सहइञ्चार्ज अन्जना विशंखे र सचिव प्रभु साहबीच करिब हात हालाहाल भएको एक सहभागीले जनाए ।

'त्यसपछि मञ्चमा स्थिति तनावपूर्ण रह्यो,' बैठकका एक सहभागीले भने, 'नेताहरूबीच धकेलाधकेल भएको जस्तो पनि देखिन्थ्यो । तर अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम मञ्चको कुनामा उभिनुभएको थियो ।' मञ्चमा बढी तनाव भएपछि केही पूर्वलडाकु र वाईसीएल कार्यकर्ताले दाहाललाई मञ्चबाट तल ओरालेर सुरक्षा घेरा दिए । भट्टराई पनि मञ्चबाट तल ओर्लिएर आफू निकट नेताहरूसँग उभिए । हल पूरै तनावपूर्ण बन्यो । त्यसैबेला एउटा प्लास्टिकको कुर्सी दाहालमाथि प्रहार भयो ।

हलपछाडि भट्टराईविरुद्ध चर्को नाराबाजी जारी थियो । हलभित्र दाहाल पक्ष र भट्टराई पक्षका कार्यकर्ताबीच कुर्सी हानाहान हुन थाल्यो, केहीबेरसम्म ।

पूर्वलडाकुहरूले भट्टराईलाई 'हतियार बुझाएको, सेना समायोजन बर्बाद गरेको' भन्दै अश्लील गाली गरेको एक सहभागीले बताए । हलमा दुवै पक्षका कार्यकर्ताबीच केहीबेर नाराबाजी र कुर्सी हानाहान भएपछि 'ज्यान जोगाउन' केही कार्यकर्ता हलबाट बाहिरिएका थिए । हलमा तनाब भइरहेका बेला एक कार्यकर्ताले आफू ज्यान जोगाउन हल बाहिर निस्कँदै गरेको टेलिफोनमा कान्तिपुरलाई बताएका थिए । 'यहाँ कुर्सी हानाहान भइरहेको छ, म ज्यान जोगाउन हलबाट बाहिर निस्कँदै छु,' उनको भनाइ थियो ।

 स्थिति असामान्य भएपछि दाहालले गला अवरुद्ध बोलीमा 'बैठक आधा घन्टा स्थगित भएको' जानकारी दिए । 'यो समस्या हामी पोलिटब्युरो बैठकबाट मिलाउँछौं, आधा घन्टाका लागि बैठक स्थगित भएको छ,' उनको भनाइ थियो । बैठक स्थगित भएपछि केही वाईसीएल र पूर्वलडाकुले उनलाई घेरा हाली गाडीमा चढाएका थिए । त्यसपछि बैठकमा सहभागी हुन उनी नजिकै रहेको पर्यटन बोर्डमा गएका थिए । भट्टराई मञ्चमै केहीबेर बसे । उनले मोबाइलबाट कुरा गरे, अनि मात्र प्रहरी र उनका अंगरक्षकको घेरामा पर्यटन बोर्डतिर लागेका थिए ।

आरोप-प्रत्यारोप

भट्टराई पक्षले दाहाल निकट नेताहरूले प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् । दाहाल पक्षले भने त्यसलाई अस्वीकार गरेको छ । 'जिम्मेवार नेताले बैठक छाड्न हुँदैन, यहीं बसेर समस्या समाधान गरौं भनेको हो,' एक नेताले भने ।

पछि नेताहरू बसेर 'कुरा मिलाएपछि' प्रधानमन्त्री भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले 'कुनै पनि नेतामाथि हात हालाहाल नभएको' दाबी गरे । 'कुनै नेतामाथि हात हालाहाल भएको छैन,' उनको भनाइ थियो ।

विस्तारित बैठक अवरुद्ध भइरहेकै बेला प्रधानमन्त्री भट्टराईमाथि पूर्वलडाकु डेपुटी कमान्डर जनार्दन शर्माले हातपात गरेको चर्चा शुक्रबार दिनभर चल्यो । प्रचारप्रसार उपसमितिका संयोजक विश्वभक्त दुलालले विज्ञप्ति जारी गरी त्यसको खण्डन गरे । 'विभिन्न सञ्चार माध्यमहरूबाट बन्दसत्रमा पोलिटब्युरो सदस्य जनार्दन शर्माले प्रधानमन्त्रीमाथि जाइलागेको र पार्टी अध्यक्षलाई प्रतिनिधिले कुर्सीले प्रहार गरेको भनी आएको समाचार विल्कुल गलत हो,' उनको विज्ञप्तिमा छ, 'भोजपुरा राज्य समितिका प्रतिनिधिहरूबीच विवाद भएको र हात हालाहालको स्थिति उत्पन्न भएको मात्र हो ।' अध्यक्ष दाहालले होहल्ला सुरु हुने बित्तिकै नरोकेकाले भिडन्त भएको आरोप भट्टाराई पक्षको छ । 'अध्यक्षले सुरुमै आफ्नो पक्षका कार्यकर्तालाई रोकेको भए यो स्थिति आउने थिएन,' भट्टराई निकट एक नेताले भने, 'यो सन्तुलित व्यवहार नभई पेल्ने नीति देखिन्छ ।'

विवादको कारण

बाहिरी रूपमा हेर्दा टोली नेता चयन गर्ने सम्बन्धमा विवाद देखिए पनि त्यसको भित्री कारण अरू पनि छन् । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि बोल्ने क्रममा अधिकांश टोली प्रतिनिधिहरूले भट्टराईले बिप्पा, जलस्रोत सम्झौतालगायत राष्ट्रघाती काम गरेको आरोप लगाउँदै 'भारतको दलाल' बताएका थिए ।

दाहाल निकट टोली नेताहरूले भट्टराई सरकारको चर्को विरोध गरेपछि उनी निकट कार्यकर्ता आक्रोशित भएका थिए । उनीहरू कहीं न कहीं त्यसप्रति आक्रोश पोख्न चाहन्थे । भोजपुरा -बारा, पर्सा र रौतहट) राज्य समितिको प्रतिनिधि चयनको विवाद पनि त्यही थियो । भट्टराई पक्षले सरकारको प्रतिरक्षा गर्न बैठकमा बोल्न खोजेका थिए ।

त्यसअघि बुधबार ताम्सालिङ, थारूवान, भोजपुरा राज्यबाट बैठक हलमा प्रवेश गराउने सम्बन्धमा विवाद भएको थियो । विशेषगरी ताम्सालिङ राज्यमा भट्टराई पक्षका कार्यकतालाई प्रवेशमा रोक लगाइएको थियो । अन्य राज्यमा पनि त्यो समस्या थियो । दुई पक्षबीच भित्रभित्रै असन्तुष्टिको आगो सल्कँदै गएकाले शुक्रबार त्यसले विस्फोटको रूप लिएको थियो । दाहाल र भट्टराईबीच राजनीतिक कार्यदिशा एउटै भए पनि सांगठिनक कार्यविभाजनमा थुप्रै समस्या छन् । दुई पक्षबीच अन्तरसंघर्ष पनि सांगठिनक विभाजनकै कारण भएको हो ।

विवाद यसरी मिल्यो

बैठक अवरुद्ध भएलगत्तै विवाद मिलाउन नजिकै पर्यटनबोर्डको कार्यालयमा पोलिटब्युरो बैठक बसेको थियो । बैठकले भोजपुरा र बोल्न चाहने राज्य समितिका दुवै पक्षका प्रतिनिधिलाई बोल्न दिने सहमति भएपछि विस्तारित बैठक सुचारु गरिएको थियो ।

'पोलिटब्युरो बैठकले हलमा देखिएका समस्याबारे समीक्षा गरी समाधान निकालेपछि विस्तारित बैठक सुचारु भएको हो,' प्रचार विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'भोजपुरा राज्यमा देखिएको समस्या समाधानका लागि एक कार्यदल बनाएर अध्ययन गर्ने निर्णय भएको छ ।' बैठकमा दुवै पक्षका कार्यकर्ताको कमजोरी भएको महसुस गरिएको एक पोलिटब्युरोले बताए ।

करिब एक घन्टा लामो बैठकपछि अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराई सरकारी 'मुस्ताङ म्याक्स' गाडीमा बैठकस्थल फर्किएका थिए । त्यसपछि बैठकमा विवादित राज्य भोजपुराबाट बलिराम साह -भट्टराई पक्ष) र अशोक जैसवाल -दाहाल पक्ष) ले बोलेका थिए । साहले दाहाल पक्षका जैसवालले अर्की श्रीमती विवाह गरेको भन्दै कारबाही गर्न माग गरेका थिए । 'घरमा दुईवटा श्रीमती ल्याएको छ, कारबाही गर्नुपर्छ,' उनको भनाइ थियो । त्यसपछि जैसवालले भोजपुरा राज्य सचिव प्रभु साहको आपराधिक समूहसँग साँठगाँठ भएको आरोप लगाउँदै कारबाही गर्न माग गरे । 'प्रभु साहको आपराधिक समूहसँग साँठगाँठ छ, उसलाई महाअभियोग लगाउनुपर्छ,' उनले भने ।

ँशीर्ष नेताहरू नै अयोग्य’

विवादपछि सुरु भएको विस्तारित बैठकमा बोल्ने टोली नेताहरूले शीर्ष नेताहरूले शान्ति र संविधानको लक्ष्य पूरा गर्न नसकेको भन्दै अयोग्य भएको आरोप लगाएका थिए ।

पूर्वलडाकु कमान्डर युवराज दुलालले लडाकुलाई आयोग्य भन्ने हैसियत नभएको भन्दै नेताहरू नै अयोग्य भएको टिप्पणी गरे । 'तपाईंहरू जनयुद्धमा लडेकालाई अयोग्य भन्ने ? के तपाइर्ंहरू अयोग्य होइन ?' उनले भने, 'जनसेना तपाईंहरूले जन्माएको सन्तान हो, तपाइर्ंहरूले हत्या गर्नुभयो । यसबाट हामी घाइते बाघझैं भएका छौं ।'

उनले कार्यकर्ताको विचार सुन्ने साहस गर्न उल्लेख गर्दै धेरै नाटक नगर्न नेतृत्वलाई आग्रह गरेका थिए । 'कार्यकर्ताका कुरा नसुन्ने हो भने करोडौं रुपैयाँ खर्च गरेर भएको बैठकको के अर्थ ?' उनले भने, 'हाम्रा कुरा सुन्ने साहस गर्नुहा्ेस्् । हामीले तपाईंहरूका धेरै नाटक हेरिसकेका छांै ।'

पार्टीभित्र गुटबन्दी अन्त्य गर्ने हो भने दाहालले स्वकीय सचिवालयबाट नातेदार हटाएर भट्टराईकहाँ पठाउन र भट्टराईले आफ्ना स्वकीय सचिवलाई दाहालकहाँ पठाउन आग्रह गरे । 'प्रचण्ड कमरेड तपाइर्ं समीरको ठाउँमा फणीन्द्र देवकोटा -भट्टराईका स्वकीय सचिव) लाई राख्नुस््, भट्टराई कमरेड फणीन्द्रको ठाउँमा समीरलाई राख्नोस्,्' उनले भने, 'सक्नु हुन्न भने गुट अन्त्यको कुरा छाड््नुस्् ।' उनले सरकारले भारतसँग बिप्पालगायत सम्झौता गरी 'राष्ट्रघात' गरेको आरोप लगाए ।

त्यसपछि ताम्सालिङका विजय स्याताङले मुख्य नेतृत्व -दाहाल) ले मोहन वैद्यलाई फकाउने नाममा गल्ती गरेको भन्दै भट्टराईको बचाउ गरे । 'पार्टीभित्र विचार समूह हुन्छ र रहनुपर्छ,' उनले सरकारको बचाउ गरे, 'बिप्पा सम्झौता सही छ । मुलुकलाई आर्थिक विकास गर्न यो आवश्यक छ ।'

पूर्वलडाकु कमान्डर कमला नहर्कीले पार्टीभित्र बहुविवाह गम्भीर भएको भन्दै कारबाही गर्न आग्रह गरिन्् । 'पार्टीभित्र बहुविवाह गम्भीर भएको छ । हिजो युद्धका बेला श्रीमतीलाई हिरोइन देख्नेले आज दोस्रो विवाह गर्दैछन्,्' उनले भनिन्, 'आज हाम्रै कमान्डरहरूले दोस्रो विवाह गरिरहेका छन्् । कारबाही हुनु पर्दैन ?' उनले युद्धमा विधवा भएकालाई पार्टीभित्रै 'सेकेन्ड ह््यान्ड' को संज्ञा दिएकामा आपत्ति पनि जनाइन् ।

प्रकाशित मिति: २०६९ श्रावण ६ ०९:१९

No comments: