Saturday, May 5, 2012

साना दुःखले भएको सहमति होइन: प्रचण्ड

काठमाडौ, वैशाख २३ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार अलि थकित देखिन्थे भने उनको बोली सुकेको थियो । बिहीबार मध्यरातसम्म पाँचबुँदे सहमतिका लागि खटेकाले दाहाल शुक्रबार अपराह्न आफ्नै निवास लाजिम्पाटमा कान्तिपुरसँग कुरा गर्ने बेला केही थकित देखिए पनि संविधान बन्नेमा विश्वस्त देखिए ।
बिहीबारको सहमति शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन चाहने प्रमुख दलको 'साना दुःखले नभएको' बताइरहँदा उनको अनुहारमा सन्तुष्टि देखिन्थ्यो । भन्दै थिए, 'हिजो (बिहीबार) को सहमति साना दुःखले भएको होइन, ठूलो त्यागपछि भएको हो । मलाई खुसी लागेको छ, चाहे हाम्रा मन्त्री हुन् चाहे मधेसी मोर्चाका मन्त्रीहरू हुन्, उनीहरूले सजिलै मेरो भावनालाई आत्मसात गरेर पहिल्यै राजीनामा गरेपछि दुवै प्रक्रिया भाँड्न चाहनेको हतियार भाँचियो । धेरै ठूलो रस्साकस्सीपछि यो सहमति बनेको हो ।'
उनले नेताहरूको नामै नलिई माओवादीको भावनामा कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूको शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउने जबर्जस्त भूमिका नभएको भए प्रयास असफल हुने खतरा रहेको औंल्याए । 'यो केही दिनयता संविधान बनाएर लानुपर्छ भन्ने र संविधान किन बनाउनु पर्‍यो भन्नेबीचमा रस्साकस्सी परेको हो,' उनले भने, 'कुराको चुरो के हो भने संघीय संविधान बनाएर नेपाललाई स्थिरतातिर लैजाने कि संविधान नबनाएरै राजनीतिक शून्यता सिर्जना गरी फाइदा लिने भन्नेबीच पेचिलो संघर्ष चलेको छ । मैले हिजो दिनभरिको संघर्षलाई सम्झँदा यस्तो ठूलो भूमरीमा परेजस्तो महसुस गरेँ ।'
माओवादीलगायत अन्य पार्टीभित्र सहमतिविपरीत स्वरहरू जब्बर भए पनि पराजित भएको उनको बुझाइ छ । 'हरेक पार्टीभित्र सहमति नभइदिए हुन्थ्यो भन्ने प्रवृत्ति जब्बर छ,' उनको भनाइ थियो, 'यो सहमतिले जनता खुसी भए, शान्ति, संविधानप्रेमी खुसी थिए । जसले भाँड्न खोजेका थिए, बाहिर भाँड्न सकिएन भन्न पनि सक्दैनन् । सहमति भएपछि उनीहरूको अनुहार सोहोरिएर बडो कालोनीलो, सहमति नहुन लाग्दा अनुहार बडो उज्यालो देखिएको थियो ।'
आफ्नो पार्टीका उपाध्यक्ष मोहन वैद्यसँग सरकारमा सहभागी हुनेबारे कुरा गर्नु ठीकअघि दाहालले पछिल्लो सहमतिले मुलुकलाई एक खुड्किलो अघि बढाएको भन्दै खुसी व्यक्त गरे ।
'ढिलै भए पनि हिजोको निर्णयले देशका सबै प्रमुख राजनीतिक शक्तिहरू एकै ठाउँमा बसेर सहमतिको सरकार बनाउने काम भएको छ, त्यो दूरगामी छ, महत्त्वपूर्ण छ,' उनले भने । 'त्यसले यो देश र शान्ति स्थिरता र समृद्धितिर जाने नयाँ खुडकलो बनेको छ ।'
 संविधान निर्माण प्रक्रियालाई अप्ठ्यारामा पार्ने चलखेल बिहीबार दिनभर चलेको आफूले प्रस्ट देखेको उनले जनाए । भने, 'प्रतिगामी, अभिजात वर्गले प्रक्रिया असफल पार्न जे सोचेका थिए, हिजो उनीहरू असफल भएका छन् ।' यसो भनिरहँदा उनी मुस्कुराए । 'अब राज्य पुनर्संरचना र शासकीय स्वरूपमा सहमति गर्ने मूलभूत काम बाँकी छ,' उनले भने, 'त्यसमा छलफल गरेर धेरै नजिक पुगिसकिएको छ ।'
उनले थपे, 'शासकीय स्वरूपमा त झन्डै सहमति भइसक्या छ, मिश्रति प्रणालीमा ।' उनले राज्य पुनर्संरचनामा पनि पछिल्लो पटक प्रस्ताव गरेका १० प्रदेश सहमतिनजिक पुगको बताए । 'अहिले बिनापहिचानको संघीयता कल्पना गर्न सकिँदैन । उत्पीडनमा, भेदभावमा परेकाहरूले राम्रैसँग आफ्नो पहिचान गर्ने बेला छ । त्यसलाई सम्बोधन नगरे कोही टिक्नेवाला छैन,' उनले भने, 'मैले सबै कुरा विचार गरी सायद १० प्रदेश सम्झौताका लागि उपयुक्त हुन्छ भनेर अगाडि सारेको हो । तर हात्तीवन बैठकमा मैले ७ प्रदेश मानेको र हाल १० भनेको भन्ने कुरा शुद्ध बेइमानी र झूटबाहेक केही होइन ।'
उनले शासकीय स्वरूपमा राजनीतिक दलहरूको लामो छलफलपछि विवाद समाधान उपसमितिले कार्यदल बनाएर एकमतले मिश्रति प्रणालीमा जाने निष्कर्ष निकालेकाले त्यसमै सहमति हुने विश्वास व्यक्त गरे । 'जसमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रतिनिधिसभाद्वारा निर्वाचित प्रधानमन्त्री, कार्यकारी अधिकारको आवश्यक र उचित बाँडफाँड गर्दा हामी झन्डै सहमतिनजिक पुगेकै हो,' उनले भने, 'संविधान निर्माणका मूलभूत विषयमा सहमतिनजिक पुगेको अवस्थामा गम्भीर रूपले बस्ने हो भने एकैदिनमा पनि सहमतिमा पुग्ने अवस्था छ ।'
छोटो समयका लागि हुने बाबुराम भट्टराईको नेतृत्वको सरकारमा मन्त्रालयका लागि खास लुछाचुँडी नहुने बताए । 'मन्त्रालय बाँडफाँडबारे बिहानदेखि दलहरूबीच फोनमा कुराकानी भएको छ । यो छोटो समयका लागि झगडा होलाजस्तो लागेको छैन,' उनले भने, 'दलहरूको नानीदेखि लागेको बानी त्यति सजिलै गइहाल्छ भनेर सोच्ने ठाउँचाहिँ छैन । तर पनि हिजोको सहमतिले १५/२० को सरकारका लागि के लुँछाचुँडी गर्नु र ?'

"एक वर्षमा चुनाव हुन्छ"
कांग्रेसको नेतृत्वको सरकार बनेपछि एक वर्षमा चुनाव गरी मुलुकलाई राजनीतिक स्थिरतातिर लैजान सम्भव भएको अध्यक्ष दाहालको भनाइ थियो । 'एक वर्षमा चुनाव गर्नु जटिल त हुनेछ तर असम्भव हुने छैन,' उनले भने, 'मलाई लाग्छ, एकथरी तत्त्वहरू समाज विकासको यात्रालाई रोकेर आफ्नो पुरानो अभिष्ट पूरा गर्न चाहन्छन्, तिनले समस्या खडा गर्छन् । नयाँ संरचनामा जाने भएकाले थुप्रै जटिलताहरू पनि हुन्छन्,' उनले भने, 'नेपालमा शान्ति र स्थिरता होस्, विकासतिर जान पाइयोस् भन्ने जनताको चाहना छ । त्यसकारण एक वर्षमा चुनाव गर्न सम्भव छ । यसलाई सम्भव बनाउनुपर्छ ।'
दलहरूबीच विश्वासको वातावरण बन्दै गएको उनले बताए । 'धेरै हदसम्म विश्वासको वातावरण बन्यो । तर सबै चिज सहजै जान्छन् भन्ने छैन । केहीले परिवर्तनलाई आत्मसात गर्न चाहेका छैनन्, त्यसले कदमकदममा अप्ठ्यारो ल्याउने, कदमकदममा संविधान बन्न नदिने हर्कत हुन्छन् र भइरहेका छन्,' उनले भने ।
वैद्य पक्ष कांग्रेसको सरकारमा
वैद्य पक्षलाई यही सरकारमा ल्याउन प्रयास जारी रहे पनि कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा भने सहभागी हुने दाहालले विश्वास व्यक्त गरे । 'यही सरकारमा सहभागी गराउने कोसिस जारी छ । तर तुरन्तै बाबुरामजीकै सरकारमा आउनुहुन्छ भन्नेचाहिँ मलाई लाग्दैन,' उनले भने, 'यसमा आउनु भएन भने पनि नेपाली कांग्रेसको नेतृत्वमा जेठ १४ अघि बन्ने सरकारमा पक्कै आउनुहुन्छ भन्नेमा म ढुक्क छु । उनले पछिल्लो सहमतिले किरणजीहरूलाई पनि एकताबद्ध गराउने आधारको काम गरेको जनाए । कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने विषय उसकै भएको भन्दै उनले टिप्पणी गर्न चाहेनन् ।

No comments: