Friday, September 28, 2012

नेकपा-माओवादीले भारतीय गाडी रोक्यो

काठमाडौ, आश्विन ११ -
नेकपा-माओवादीले 'राष्ट्रियताकोे आन्दोलन' चर्काउने भन्दै भारतीय नम्बरका गाडी प्रवेशमा बिहीबारदेखि रोक लगाएको छ । सरकारलाई बुझाएको ७० बुँदे मागको ७ नम्बर बुँदाअनुसार भारतीय गाडीहरू नेपाल आउन रोक लगाएको माओवादीले जनाएको छ । माओवादीले 'छाडा' हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिका बिक्री-वितरणमा समेत रोक लगाउने बताएको छ । माओवादी प्रवक्ता पम्फा भुसालले भारतीय गाडी रोक्ने आन्दोलन अनिश्चितकालसम्म रहने बताइन् । 'भारतीय गाडीहरू अनिश्चितकालका लागि बन्द गर्नुपर्छ,' उनले भनिन्, 'त्यसको सुरुवाती आन्दोलन हो ।' उनले भारतीय सिनेमा र पत्रपत्रिका सेन्सर गरी प्रवेश दिनुपर्ने बताइन् ।

सरकारले ७० बुँदे माग पूरा गर्ने तत्परता नदेखाएको भन्दै माओवादीले पहिलो चरणमै भारतीय गाडी र सिनेमा बन्द गराउन थालेको हो । माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गर्नुअघि यही प्रकृतिको आन्दोलन गरेको थियो । तत्कालीन संयुक्त जनमोर्चाका अध्यक्ष बाबुराम भट्टराईले सरकारलाई बुझाएको ४० मध्ये २९ माग माओवादीले जस्ताको तस्तै अहिले प्रधानमन्त्री रहेका उनै भट्टराईलाई बुझाएका थिए । भारतीय गाडी रोक्ने र सिनेमा बन्द गराउने माग २०५२ सालकै हो ।

माओवादी केन्द्रीय सदस्य एवं ताम्सालिङ राज्य समितिका अनिल शर्मा विरहीले मकवानपुर, नारायणगढ क्षेत्रबाट सयांै भारतीय गाडी फिर्ता पठाएको जनाए । 'भारतीय नम्बर प्लेटका सयौं गाडी फिर्ता पठाएका छौं,' उनले भने, 'पहिलो चरणमा मंसिर १० गतेसम्म यो आन्दोलन जान्छ ।'

उनले नारायणगढको पुल्चोक, टाँडीको तरकारी बजार र मकवानपुरको हनुमानथानबाट माओवादीका नेता तथा कार्यकर्ताले झन्डा र ब्यानरसहित बसेर भारतीय गाडी फिर्ता पठाएको जनाए । ती क्षेत्रबाट दैनिक आवश्यक पर्ने सामग्री लिएर सयौं भारतीय गाडी राजधानी प्रवेश गर्छन् । 'नेपालको सीमाबाट अनुमति लिएर अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्री ल्याएका गाडी भनेर हामीले फर्काएका छैनौं,' उनले भने, 'त्यस्तै भारतीय कृषिजन्य सामग्री बोकेका गाडी पनि छिर्न दिएका छैनौं ।'

उनले एलपी ग्यास, औषधिलगायत लोडअनलोड गर्न नमिल्ने बाहनहरू निश्चित समयभित्र नेपाली लगानीकर्तालाई दिने व्यवस्था मिलाउनुपर्ने विज्ञप्तिमार्फत माग गरेका छन् । बुधबार ताम्सालिङ राज्यमा भारतीय गाडी रोकेकामा बिहीबारदेखि देशभर बन्द गराएको विरहीले बताए ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि राष्ट्रियता कमजोर भएको भन्दै माओवादीले आन्दोलन थालेको हो । सरकारलाई बुझाएको ७० बुँदे मागमा सन् १९५० सन्धि खारेज हुनुपर्ने, महाकाली सन्धि सम्झौता खारेज गरी नयाँ सम्झौता गर्नुपर्ने, नेपाल र भारतबीच खुला सीमा समस्या नियन्त्रित र व्यवस्थित गरिनुपर्नेलगायत माग छन् ।

No comments: