Sunday, September 30, 2012

प्रधानमन्त्रीले भने 'राष्ट्रपति-प्रधानमन्त्री दुवै कांग्रेसलाई हुन्न’


काठमाडौं, आश्विन १४ - प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसको भए प्राप्त उपलब्धिहरू जोखिममा पर्ने बताएका छन् । उनले कांग्रेस नेतृत्वमा चुनावी सरकार भए शक्ति सन्तुलनसमेत बिग्रने भएकाले स्वीकार्न नसकिने अडान व्यक्त गरे ।

सरकारी निवास बालुवाटारमा शनिबार केही सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले दलहरूबीच शंका बढेको अवस्थामा कांग्रेसको तर्फबाट राष्ट्रपति र प्रधानमन्त्री हुँदा शक्तिको दुरुपयोग हुने खतरा भएको दाबी गरे । 'कांग्रेसलाई सरकारको नेतृत्व दिँदा भएका उपलब्धि जोखिममा पर्ने खतरा हुने भो भन्ने हिसाबले दिन हुँदैन भनेको हो,' उनले भने, 'दलहरूबीच शंका छ, यतिबेला जसले पायो उसले शक्तिको दुरुपयोग गर्ने स्थिति देखा पर्‍यो नि त । अहिलेको संविधानमा राष्ट्रपतिले केही पनि गर्ने अधिकार छैन । यो अवस्थामा कांग्रेस- एमालेले राष्ट्रपतिले पहल गर्नुपर्‍यो भनिरहेका छन् ।' उनले सरकारको नेतृत्वमा पहिलो दाबी माओवादीको, दोस्रो कांग्रेसको र त्यसपछि मात्र अरूको दाबी हुने बताए । 'सबै कुरा नयाँ ढंगले सल्लाह गरौं भनेको हो,' उनले भने, 'प्रक्रियामा सहमति भए सरकार तुरुन्त छाड्ने हो । विधि सहमतिमा नभएसम्म त्यत्तिकै छाड्ने कुरा हुँदैन ।'
उनले सरकारले पठाएका अध्यादेश स्वीकृति नगरेकामा राष्ट्रपतिप्रति असन्तुष्टि जनाए । 'मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपतिले सदर गर्ने कुरामा संवैधानिक प्रक्रियाले काम गरेको छैन भन्ने स्वतः देखिएको छ,' उनले भने, 'हिजो पनि अध्यादेश जारी भएका हुन् । सबै पालैपालो भएका सरकारले थुप्रै अध्यादेश जारी भएका छन् ।' दलहरूबीच सहमति हुन ढिलाइ भए दक्षिणपन्थी र उग्रपन्थीको चलखेल बढ्ने उल्लेख गर्दै उनले सहमति खोज्नुपर्ने बताए । उनले भने, 'अर्कोतर्फ किरण पक्षले नेतृत्व गर्ने एउटा सानो समूह छ, त्यो पनि शान्ति र संविधानको बाटोमा सहमत छैन । यो प्रक्रिया भत्किए हुन्थ्यो भन्ने उसको चाहना छ । यी दुई थरी दक्षिणपन्थ र उग्रपन्थ अघि बढ्ने खतरा हुन्छ ।' दुवै अतिवादको तयारी भइरहेको आफूले जानकारी पाएको उनको भनाइ थियो ।
उनले विपक्षी दलको सडक आन्दोलन गर्ने कुराले वातावरण बिग्रने बताए । 'कानुनी र संवैधानिक रूपले सरकार बनाउने निकास नखोजी झन् अन्योल अराजकतामा सडकमा गएर समाधान निस्कँदैन,' उनले भने, 'संवैधानिक प्रक्रिया भत्किएका बेलामा प्रमुख दलहरूले सडकको सट्टा निकास पो खोज्ने हो ।'
प्रकाशित मिति: २०६९ आश्विन १४ ०८:३६

No comments: